NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

श्रीमानको मृत्यु–पीडा बिर्सन इराक

काठमाडाैं । ३ साउन २०६१ मा १२ नेपालीको सामूहिक हत्या भएपछि इराकको नाम सुन्नासाथ धेरैको आङ जिरिङ्ग हुन्छ । त्यसैले ‘इराक जाने’ भनेर कसैले भन्नासाथ ‘नजा’ भन्छन् । तर खोटाङ हलेसीकी २८ वर्षीया सपना थापा मगरलाई भने ‘इराक नजा’ भन्ने कोही भएनन् ।

सँगै मर्ने–बाँच्ने कसम खाएका श्रीमानको मृत्यु नभएको भए उनले चाहिँ सपनालाई त्यसो भन्थे कि ! अहिले त उनी इराक पुगेको पनि तीन वर्ष भयो ।

पीडा बिर्सन इराक

इराक पुगिएला भन्ने सपनाले सपनामा पनि सोचेकी थिइनन् । सिन्धुपाल्चोककी सपनाले खोटाङमा घरजम जोडेकी थिइन् । समय राम्ररी बित्दै थियो । छोरो वर्षीको हुँदै थियो । काठमाडौंमा खाद्यान्न पसल थियो, व्यापार राम्रै थियो ।

श्रीमानले व्यापार बढाउने मन गरे, गाडी किने । तर त्यही गाडी नै उनीहरूको जीवनको वियोगात्मक मोडको कारक बन्न पुग्यो ।

व्यापारकै सिलसिलामा यात्रा गरिरहेका श्रीमान हेटौंडानजिकै दुर्घटनामा परे । हेटौंडामै उनको श्रीमानको मृत्यु भयो । उनलाई त्यसले निकै ठूलो बज्रपात पर्यो । सपना भन्छिन्, ‘म एउटा विवाहमा सहभागी हुन माइती पुगेकी थिएँ । वर्षीको छोरो र मलाई छोडेर उहाँ सधैंका लागि बिदा हुनु भयो । जिन्दगीको सहारा नै नरहेपछि के गर्ने के नगर्ने ! मलाई जिन्दगी नै अन्धकार लाग्यो ।’

श्रीमान नभएपछि व्यवसायको गति पनि पहिलेझैं रहेन । एकातिर व्यापारमा घाटा, अर्कातिर छोरोको भविष्यको चिन्ता । सपनालाई जीवन सम्हाल्नै गाह्रो पर्न थाल्यो ।

‘झन् श्रीमानको वियोगलाई सहनै गाह्रो । जता गए पनि श्रीमानकै याद आउने । तर, पनि जीवन त चलाउनै पर्यो । श्रीमानको मृत्युको पीडा भुल्न विदेश जाने सोच पलायो,’ उनी इराक जानुको पृष्ठभूमि खोतल्छिन् ।

उनलाई लाग्यो–फरक ठाउँमा गएपछि पीडा भुल्न सजिलो होला, अनि आम्दानीले जीवन चलाउन सजिलो होला । त्यसपछि उनले इराक जाने निर्णय गरिन् ।

छोरोले बिर्सेला भन्ने चिन्ता

उनले राहदानी भने पहिले नै बनाइराखेकी थिइन् । उनलाई पनि राम्रो मानिएकोे देश (यूरोप–अमेरिका) जान मन नभएको होइन । तर, त्यहाँ जान धेरै पैसा चाहिने ।

‘आफ्नो पढाइ पनि कम । एक जना साथीले इराक जाने प्रस्ताव राखिन् । एक जना नातेदार इराकमै पनि हुनुहुन्थ्यो,’ उनले सुनाइन् ।

उनले उतै रहेको आफ्नो नातेदार एजेन्टमार्फत इराक जाने सोच बनाइन् र दुई वर्षको छोरो छोडेर इराक जान भारतको दिल्ली उडिन् । छोरो, आफन्त र परिवारजन छोड्दा मनै गह्रुँगो भयो ।

‘घरबाट हिँड्दा अरूलाई पनि चिन्ता हुन्छ भनेर मन दह्रो बनाएँ । बसमा त धेरै रोएँ,’ उनी त्यसबेलाको मनस्थिति सम्झेर अहिले पनि भावुक हुँदै भन्छिन्, ‘भित्रैदेखि मन कुँडिएको थियो । छोरो र जन्म दिने बुबाको साह्रो चिन्ता लागि रह्यो ।’

प्लेनको यात्राभर उनलाई छोरोकै चिन्ता लागिरह्यो । सबैभन्दा धेरै त छोरोले बिर्सेला भन्ने चिन्ताले सताइरह्यो । त्यो क्षण सम्झदा अहिले पनि उनको आँखा रसाइहाल्छ ।

इराक जाने प्रक्रियाका लागि उनी १५ दिन भारतको दिल्ली बसिन् । एजेन्टले खाने–बस्ने व्यवस्था गरेकै थिए । झण्डै तीन सय नेपाली इराक जान त्यहाँ पुगेका थिए ।

‘नेपालबाट इराक जानु अवैधानिक हो भन्ने बुझ्दा–बुझ्दै पनि दिल्ली–यूनाइटेड अरब इमिरेट्स(युएई) हुँदै इराक पुग्यौं,’ उनी यात्रावृतान्त बताउँछिन्, ‘नेपालबाट हिँडेको १६औँ दिन युएई पुगियो । त्यहाँबाट अर्को दिन इराकको अर्बिल । अर्बिलबाट अर्को उडानमा बग्दाद पुगियो ।’

चार लाख पचास हजारमा इराक

एजेन्टले घरमा काम गर्नेलाई पैसा तिर्नु पर्दैन भनेको थियो । कम्पनीको कामका लागि भने चार लाख ५० हजार तिर्नुपर्ने थियो । उनलाई सजिलो के थियो भने नातेदारले इराकमै आएर काम सुरु गरेपछि पैसा दिए हुन्छ भनेकी थिइन् । उनले त्यसै गरिन् ।

बाह्र नेपालीको सामूहिक हत्या भएपछि इराकको नाम सुनेर तर्सिने नेपाली धेरै छन् । तर तीन वर्षदेखि त्यहाँ कार्यरत सपना मगरको भनाइ भने पृथक छ । उनी भन्छिन्–यसै पनि नेपाली यहाँ आइरहेकै छन् । सरकारले अन्य देशमा जस्तै इराक आउन पनि श्रम स्वीकृति खुला दिए हुन्छ । कमाइ र कर दुवै हिसाबले इराक राम्रो छ ।

उनले पहिलो महिनाको तलब आफैंले राखिन् । सोचिन्–इराकको ठाउँ, के थाहा भोलि नै फर्किनु पर्ने हो कि ?

उनको काम थियो ब्युटिपार्लरमा सरसफाइ गर्ने । सुरुमा पाँच सय अमेरिकी डलर तलब थियो । अहिले भने आठ सय पुगेको छ । तलब ‘क्यास’ नै आउँछ ।

इराक पुगेको तीन महिनापछि उनले ‘मनी एक्स्चेन्ज’मार्फत नेपाल पैसा पठाइन् । व्यवसाय गर्दा लागेको ऋण तिर्न थालिन् । त्यसैगरी झण्डै साढे १६ लाख ऋण तिरिसकिन् ।

सपना भन्छिन्, ‘समस्याहरू आइराख्छ, टार्दै गइरहेको छु । अहिलेसम्म खासै बचत नभए पनि आर्थिक समस्या भने परेको छैन । जीवनमा पैसाले त कहाँ पुग्छ र ?’

इराकमा आफूलाई केही भयो भने छोरालाई कसले हेर्ला भन्ने चिन्ता लागिरहन्थ्यो ।

सुरुको छ महिना त धेरै–धेरै गाह्रो भयो । तर, अहिले भने इराकमै भए पनि सुरक्षित छु जस्तो लाग्छ उनलाई । छोराको हेरविचार बहिनीले गरिरहेकी छिन् ।

चाडबाड आउँदा भने निकै खल्लो लाग्छ । परिवारको सबैजना सँगै हुन पाए हुन्थ्यो भन्ने लाग्छ । अनिचाहिँ विदेश जानु परेकोमा दिक्क लाग्छ ।

इराक राम्रै छ

अहिले पनि मनमा डर भए पनि राम्रो कमाइ हुन्छ भनेर इराक जाने नेपाली धेरै छन् । त्यसैले उनी सरकारलाई सुझाव दिन्छिन्, ‘आखिर नेपालीहरू जसरी पनि इराक आइरहेकै छन् । त्यसैले इराक आउन पनि श्रम स्वीकृति दिएर सहज बनाउँदा हुन्छ । अमेरिका–अस्ट्रेलिया जहाँ गए पनि प्रवासिनुको दुःख एउटै हो । काम त गर्नैपर्छ । कमाइ र कर नलाग्ने भएकाले इराकमा कमाइ र बचत राम्रो छ ।’

तीन वर्ष इराक बस्दा उनलाई सुने–पढेजस्तो खतरापूर्ण लागेन । ‘हामीलाई कतै घुम्न जाने परे पनि सजिलै जान पाइन्छ । काम गर्न, बस्न र खान राम्रो र सुरक्षित नै छ । हामी विशेष काम नपरी बाहिर जादैनाँै’, उनले भनिन् ।

समाचारहरूमा नेपालीहरू इराकमा अलपत्र परेका कुरा उनले पनि नसुनेकी होइनन्, तर उनले भने त्यस्तो देख्नु–भोग्नुपरेको छैन ।

छोराले बिर्सेला कि भन्ने पीर लागिरह्यो

इराक जान खोज्नेहरूलाई उनको सुझाव छ–सामान्य अरेबिक भाषा सिक्दा राम्रो । अंग्रेजी जानेको पनि राम्रो हो तर सबैले अंग्रेजी बोल्दैनन् । उनी थप्छिन्, ‘सीपचाहिँ यहाँ पनि अनिवार्य चाहिन्छ । जे कामका लागि जाने हो, त्यससम्बन्धी तालिम लिएर जानुपर्छ । मैले विवाहपहिले नै ब्युटिपार्लरको काम सिकेकी थिएँ, सजिलो भयो ।’

तत्काल नेपाल नफर्किने

सपनालाई घर फर्कन निकै मन छ । विशेषगरी चाडबाडमा घरको याद धेरै आउँछ । तर, अवैधानिक बाटो हुँदै इराक गएको हुनाले घर गएपछि फर्कन गाह्रो छ । त्यसैले घर आएपछि इराक नफर्किनेगरी आउन चाहन्छिन् ।

रोजगारदाताले भने सधैंका लागि होइन, छुट्टीमा गएर आउनु भनेका छन् । तथापि उनको तत्काल घर फर्किने योजना छैन । उनी लामो सास फेर्दै भन्छिन्, ‘घर जाने दिन कहिले आउला भन्ने त लागिरहन्छ ।’

अनि घर फर्किएपछि गर्ने कामको योजना पनि मनमनै बुनिरहेकै छिन् । ढिलो–चाँडो घर फर्किएपछि सपनालाई पहिले सिकेको डल(पुतली) बनाउने सीपलाई प्रयोग गरी पसल चलाउन मन छ । अहिले उनकी बहिनीले डल पसल चलाइरहेकै छिन् । सपना भन्छिन्, ‘त्यसैलाई निरन्तरता दिएर अझै व्यवस्थित बनाउन मन छ ।’

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८, १७:००:००