NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

किताब जात्राको विश्व यात्रा

किताबमा समाजको मुहार हेर्न चाहने युवाको कथा

‘एउटा मान्छेले जीवनमा कहाँसम्म पुग्ने सपना देख्न सक्छ ?’, किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारी निदाउनुअघि प्रायः सपनाबारे सोच्छन् । निदाएपछिका सपना भने तुरुन्तै बिर्सिन्छन् ।

उनी जागै हुँदा यसकारण सपना देख्छन् कि जसमार्फत समाजसँग जोडिइरहन सकियोस् । समाजका लागि केही योगदान गर्न सकियोस् ।

एक दशकअघि भारतको नयाँ दिल्ली, लक्ष्मीनगरको एक साँघुरो कोठामा देखेको यस्तै जागा सपनाले उनलाई अहिले दिल्ली नै पुर्याएको छ– तर फरक स्वरूपमा । उनी केही दिनपछि दिल्ली उड्दैछन् । जहाँ उनी अध्यक्ष रहेको किताब जात्रा फाउन्डेसनले आउने ८ पुसमा ‘किताब जात्रा’को नयाँ दिल्ली संस्करण गर्दैछ ।


लालबन्दीस्थित घर

ऋषिराम सर्लाहीको लालबन्दीमा जन्मे । उनको बुबा प्रेमप्रसाद अधिकारी समाजसेवी थिए, खासगरी शिक्षाप्रेमी । आफ्नै जग्गा दिएर स्कूल खोल्थे । स्थानीय जनता साक्षर र शिक्षित होउन् भन्ने उनको चाहना थियो । रामायण, महाभारत जस्ता धार्मिक किताब पढिरहन्थे ।

छोरा ऋषिराम बुबाले ती किताबबाट वाचन गरेका श्लोकहरू सुन्थे, किताब सुम्सुम्याउँथे । बुबाले पढ्ने ती किताबको सुगन्ध बोध गर्न पाएका थिए । तर बुबाको न्यानो उनले धेरै उमेर पाएनन्, १४ वर्षको हुँदा बुबा बिते । बालखा ऋषिले बुबाको अर्थीमा काँधिकाठ लगाए ।

‘बुबा चितामा जलिरहनु भएको थियो । म सानै थिएँ, मलाई नजिक बोलाइरहने मेरा बा अब मसँग हुनुहुन्न भन्ने सोचेर म चिसिएजस्तो भएको थिएँ । रोएँ, तर उहाँले मलाई फेरि नजिक आएर भन्नु भएजस्तो लाग्यो– नरो ! म सधैँ तेरै आसपास हुन्छु । अब समाजका लागि तैँले केही खास काम गर्नू ।’ त्यसपछि उनलाई फेरि बुबाको न्यानोबोध भयो, जुन उनी सधैँ गाथमा बोकेर हिँडेका छन् ।

लालबन्दी मधेसको एक भूगोल, उनीहरूको आफ्नै आमगाछी (आपको बगैंचा) थियो । उनका साथीहरू तिनै आँपका रुखवरिपरी झुम्थे । त्यही बगैंचाबाट उनी भने आँखाले देखुन्जेलसम्म क्षितिज नियाल्थे । फराकिलो दुनियाँमा यात्रा गर्ने सपनाको भ्रुण उनको मस्तिष्कमा उतिबेलै अंकुराएको हुँदो हो ।


सगरमाथा बेसक्याम्पमा किताब यात्राको लोगो फहराउँदै

बुबा बितिसकेका थिए । आमालगायत परिवार उनलाई आफ्नै आँखा वरिपरी देख्न चाहन्थे । तर, उनी भने आफू हिँड्ने बाटो आफैं बनाउन चाहन्थे । सोही आवेगमा १५ वर्षको किशोर उमेरमा उनी काठमाडौं आए ।

उनी खेलिरहेको लालबन्दी भन्दा धेरै फराकिलो थियो राजधानी । उनलाई चाहिएको पनि त अझ फराक थियो । त्यसैले प्लस टु सकेपछि उनी चार्टर्ड एकान्उन्टेन्सी (सीए) पढ्न भारतको नयाँ दिल्ली पुगे ।

दिल्लीमा उनले आफ्ना सपना रोपिएको मस्तिष्क सँगै लगेका थिए, नेपाल मन पनि सँगै बोकेका थिए । त्यहाँ रहेका नेपाली समाजसँग जोडिन दुवैले अह्राए, जोडिए । तिनका खबर लेख्न पत्रकारिता अपनाए । रातभर गुल्जार हुने दिल्लीको दुनियाँले उनलाई मान्छेका चरम दुःखको धरातल पनि चिनायो, उज्यालो संसारसम्म पुग्ने नयाँ बाटो पनि देखायो ।


सगरमाथा बेसक्याम्पमा किताब यात्राको लोगो फहराउँदैमध्यरातमा जन्मेको किताब यात्रा
उनका धेरै साथीहरू सिए बन्न घुँडा धसेर लागिपरेका थिए । पढ्न त उनी पनि पढ्दै थिए । उनको अन्तरमन भने अर्कै उडान भर्न चाहन्थ्यो । पढाइ चलिरहेकै थियो तर, उनलाई सीए पढेर एउटा जागिरे हुन मनै भएन ।

‘हैन केही नयाँ त गर्नैपर्छ !’ उनी साथीहरूसँग आफ्नो हुटहुटी पोखिरहन्थे । एक रात पढाइले थाक्दा मध्यरात ढल्किसकेको थियो, कोठामा प्रेसरकुकरले सिटी हान्दै थियो । साथीहरूबीच छलफल जारी थियो । उनको दिमागमा बुबाले पढ्ने किताबको याद आयो । एकछिन भावुक बने । त्यहीबेला दिमागमा आयो ‘नेपालमा अनलाइन किताब बेचौं ।’

अचानक आएको उनको प्रस्ताव साथीहरूलाई पनि मन पर्‍यो । किताब त बेच्ने, तर कम्पनीको नाम के राख्ने ? नेपाली, अंग्रेजी अनेक प्रकारका नाम आए, चित्त बुझिरहेको थिएन । फेरि नाम अनुसारको डोमेन पनि पाइनु पर्‍यो, छलफल जारी थियो ।

उनी शौचालय छिरे, शौचकै क्रममा उनको दिमागमा एउटा नाम आयो– ‘किताब यात्रा’ । बाहिर निस्केर साथीहरूलाई सुनाए, ‘वाह ! गज्जब नाम यार ! यो ठिक छ ।’ साथीहरूको प्रतिक्रियाले उनी झन् उचालिए ।


किताब डेलिभरी ब्याग

त्यही नामको डोमेन होला त ? हतारहतार सर्च गरे, डोमेन पनि पाइयो । ओहो ! जीवनको नयाँ ढोका खुल्यो कि क्या हो ! उनलाई चमत्कार जस्तो बोध भयो ।

यसरी एकरातको छलफलले उनलाई नेपाल फर्कायो । समाज तीव्र गतिमा ‘डिजिटलाइज्ड’ बन्दो थियो । उनले त्यही माध्यमबाट किताब बेच्न चाहे । तर, के छ नेपालमा किताबको बजार, पाठकको रुचि, त्यसमा पनि अनलाइन बजारको सम्भावना ? केही थाहा थिएन । तैपनि अन्यौलमै हाम फाले । आखिर नयाँ नदीको वहाव थाहा पाएरमात्रै पौडी खेल्ने कुरा पनि त भएन ।

केही दर्जन किताब बोकेर काठमाडौं फर्केपछि उनलाई दिल्लीमा अधुरो छाडेको पढाइले सघायो, व्यापारमा अघि बढ्ने तौरतरिकामा नौलो अनुभव गर्नुपरेन ।

अनेक जमर्कोले कम्पनी बन्यो, कार्यालय खोले । तर, उनी हरदम बजारतिरै हुन्छन् । कहाँ जान्छ होला यो मान्छे हरदिन ? सहकर्मीहरूको मनमा बारम्बार प्रश्न उठ्दो हो । तर उनीसँग हर दिनको जवाफ हुन्छ । कसैको गाली खाएको दिन होस् वा कसैले स्यावास् भनेको पल, उनी उस्तै उत्साह बोकेर सहकर्मीहरूमाझ फर्किन्छन् ।

भन्छन्, ‘एक दशकमा मेरो चप्पल र जुत्ताहरू जुनजुन ठाउँमा पुगे, त्यहाँका अनेकौं कथाहरू मेरो मनमा एक–एक लेखिएको छ । कथाहरूको पात्र आफू स्वयम् हुँदा म कवि मार्गरेट एटउडले भनेको सम्झन्छु, ‘र, अन्त्यमा हामी सबै एक कथा हुनेछौं ।’

उनले २७ हजार पाँच सय भारतीय रूपैयाँको किताब दिल्लीबाट किनेर ल्याएका थिए व्यापारका लागि । अब यात्रालाई अघि बढाउन टिम जरुरी थियो । उनले दिल्लीमा सीए पढेका साथी कृपेशकिशोर घिमिरे, आफ्नै मामाका छोरा विकेश वशिष्ठ भट्टराईको साथ पाए ।


किताब यात्रा कार्यालयमा काम गर्दै अधिकारी

अनामनगरमा साथीको अफिससँगै एउटा कोठा लिए । घरमा भएको पुरानो कम्प्युटर उठाएर ल्याए, साथीहरूको प्रिन्टर र इन्टरनेट प्रयोग गरे । एउटा टेबल, तीन ओटा कुर्सी किनेर अफिस सुरु गरे । वेबसाइट बनाउने, प्रिन्टर र र्‍याक किन्ने पैसाधरी थिएन ।

नजिकका साथीहरूसँग केही पैसा सापटी लिए । किताब भित्तामा चाङ लगाइएको थियो । फेसबुक पेज, इन्स्टाग्राम, ट्विटर सुरु गरे । दिल्ली छँदै अनलाइन अर्डर गर्ने क्रेताहरू पनि थिए । फेसबुक पेजबाट पनि अर्डर आउन थाले ।

उनीहरू तीन जना, बाइक जम्मा एउटा थियो । केही घण्टाको लागि साथीहरूसँग माग्थे र तिनै जना अर्डरका किताब डेलिभरी गर्न दौडिन्थे । ल्याएका किताब सकिए, बिक्री हिसाब गर्दा ४३ हजार भारू भएछ । २७ हजार पाँच सयबाट ४३ हजार ! उनीहरूमा ‘गर्‍यो भने त हुने रहेछ’ भन्ने उत्साह सञ्चार भयो ।

त्यसपछि यहाँका प्रकाशन गृह र भारतबाट पनि किताब मगाउँदै बिक्री गर्न थाले । करिब ६ महिना आफैं दौडेपछि किताब यात्राले गति पक्रियो । वेबसाइट बनाए । डेलिभरीब्वाइ र अन्य कर्मचारीहरू थपे । कुरियरबाट देशका अन्य ठाउँमा पनि किताब पठाउन थाले । क्रमशः विदेशमा रहेका नेपालीहरू पनि किताब यात्रामा जोडिए । अहिले ७० देशमा किताब यात्राले किताब पठाउँछ ।

उनी भन्छन्, ‘काम गर्ने क्रममा दिनदिनै नयाँ नयाँ चुनौती आउँथे, हामीले त्यसलाई अवसरको रुपमा लियौं । हरेक बेलुका हामी दिनभरिका हिसाबकिताब राख्थ्यौं, अर्को दिनको अर्डर व्यवस्थापन गथ्र्यौं । अनि सेलिब्रेट गथ्र्यौं । पहिलो दिन वेबसाइटमा एउटा अर्डर आउँदा हामी तीनजना खुसीले साँच्चिकै नाचेका थियौं ।’

किताब यात्रा कार्यालयमा काम गर्दै प्रशासकीय प्रमुख विनय बराल

अहिले व्यवस्थित कर्पोरेट कार्यालयसहित उनीहरूको व्यावसायिक यात्रा चलिरहेको छ । वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ । त्यसो त कम्पनीका लागि लगानी पनि दुई करोड हाराहारी गरिसकेका छन् ।

ऋषिले नेतृत्व गरेर कम्पनीलाई एक तहमा ल्याइपुर्‍याए । काममा विविधता रुचाउने उनले दुई वर्षपछि नै विकेश वशिष्ठ भट्टराईलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हस्तान्तरण गरे । आफूभन्दा अझै युवालाई जिम्मेवारी दिँदा व्यवसायमा नयाँ आयाम थपिनेमा उनी विश्वस्त छन् ।

किताब जात्राका कुरा
लालबन्दीमै छँदा उनी विश्वभर पुग्ने सपनाको उडान भर्न चाहन्थे । किताब बेच्नलाई उनीसँग गज्जबको अनलाइन प्लेटफर्म बनिसकेको थियो । त्यसैले नाफा कमाउने काम किताब यात्रालाई छोडे । उनी भने समाजका अन्य आयाममा जोडिन चाहे ।

उनको चाहनामा सहकर्मीहरूले हरपाइला साथ र उर्जा दिए । त्यसपछि जन्मिएको हो– किताब जात्रा फाउन्डेशन । दिल्ली बसाइमा विभिन्न महोत्सवहरू देखेका थिए । ‘जयपुर लिटरेचर फेस्टिभल’ पुगेका थिए । भर्चुअल हुने जर्मनको ‘फ्य्राङकफर्ट बुक फेयर’ हेरे । नेपालमै पनि ‘नेपाल लिटरेचर फेस्टिभल’लाई नजिकबाट नियाल्दै थिए । यी कार्यक्रमबाट उनी केही न केही सिकिरहेका थिए । त्यसैले उनी जुटे ‘किताब जात्रा’ गर्न । त्यही माध्यमबाट लेखक, पाठक, राजनीतिज्ञ, समाजशास्त्री, अर्थशास्त्री, कलाकार, वैज्ञानिक, उद्यमीलगायत विविध क्षेत्रका मानिसलाई बहसमा उभ्याउन चाहे ।


आइसिटी अवार्ड सेरेमोनीमा पब्लिक च्वाइस अवार्ड ग्रहण गर्दै किताब यात्रा टिम

आँटले थालेको काम नहुने कुरै थिएन । फाउण्डेशनले सन् २०१८ मा होटल र्‍याडिसनमा एकदिने ‘किताब जात्रा’ गर्‍यो, दोस्रो वर्ष होटल एभरेष्टमा । आँट बढेर आइरहेको थियो, तर कोरोना कहर सुरु भयो । त्यसैबीचमा ‘किताब जात्रा’ रोकिएन ।

सात दिने भर्चुअल ‘किताब जात्रा’ भयो । संकटको समयमा किताब र यसका अन्य आयाममाथि बहसमा सहभागी हुँदा र हेर्दा दर्शकले सह्राए ।

कोरोना कहर जारी थियो । त्यसैले तेस्रो वर्ष किताब जात्राले आमसञ्चारको माध्यम उपयोग गर्यो । दर्शकले एपी वान एचडी टेलिभिजनको स्क्रिनमा ‘किताब जात्रा’ हेरे ।

कोरानाको मार अलिक कम भएको लागेपछि ‘किताब जात्रा’को टिम देशका सातै प्रदेशमा जात्रा आयोजना गर्न देश दौडाहामा निस्कियो । उनीहरूलाई साथ दिन ठाउँठाउँमा उत्साही हातहरू पनि तयार भए । तर, कोभिड महामारीले भौतिक बाटो छेक्यो।

त्यसपछि यस वर्षको ‘किताब जात्रा’ टेलिभिजनमै भया– गत असोज १० देखि १६ गतेसम्म ।

अर्डर आफैं डेलिभरी गर्दै किताब यात्राका को–फाउन्डर कृपेशकिशोर घिमिरे र विकेश भट्टराई

दिल्लीमा किताब जात्रा
सपना देख्न देशको सीमाले छेक्दैन भन्ठान्ने उनी एक दशकमा फेरि नयाँ दिल्ली फर्किदै छन्– ‘किताब जात्रा’को दिल्ली संस्करण लिएर पुग्दै छन् । आउँदो डिसेम्बर २३ (पुष ८ गते) नयाँ दिल्लीको इण्डिया ह्याबिटेट सेन्टरमा भारतीय समय बिहान नौ बजेदेखि बेलुका सात बजेसम्म एक दिने ‘किताब जात्रा’ हुने छ । जहाँ भारतीय र नेपाली लेखक, उद्यमी, कुटनीतिज्ञ आदिले विविध आयाममा ‘प्यानल डिस्कसन’ गर्नेछन् ।

दिल्ली पुगेर कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण छ । तर, उनले आँटे, उनको आँटलाई हातेमालो गर्न साथीसंगी, शुभचिन्तक तथा विभिन्न संघ–संस्थाहरू तयार छन् । थालेको चार वर्षमै उनको सपनाले नयाँ दिल्लीसम्म उडान भर्दैछ ।

किताब डेलिभरीको लागि प्याकेजिङ गर्दै

दिल्लीबाटै ‘किताब जात्रा’को विदेश संस्करण सुरु हुँदैछ । जात्रामा विश्वव्यापी पहिचान बनाएका व्यक्तित्वले अनुभव बाँड्ने छन् । नेपाली लेखकका किताब विमोचन गर्न पनि पहल हुँदैछ । कविता वाचन, नेपाली, हिन्दी तथा अंग्रेजी भाषाका किताब प्रदर्शनी पनि हुने नै छ ।

निरन्तर नयाँ काम गर्न रुचाउने ऋषिराम भन्छन्, ‘कोभिड महामारीले गर्दा अझ हामीले सोचेजस्तो किताब जात्रा गर्न सकेका छैनौं । हामीलाई त यति ठूलो उत्सवको आयोजना गर्न मन छ कि जहाँ हजारौं मानिस आउन् । मन परेका किताब पढून्, किनेर लैजाउन्, मन परेका मानिसलाई दिन पाउन्, मन परेका किताब साटेर लिएर जाउन् । पाठकले मन परेका लेखकलाई भेट्न पाउन् । राजनीतिज्ञ, नीति निर्माता, उद्यमी, वैज्ञानिक सबैसँग अन्तरक्रिया गर्न पाउन् । यस्तो एक कम्प्लिट डिस्कसन प्लेटफर्म बनाउन प्रयत्नरत छौं ।’

जात्रा भन्ने शब्द हाम्रो संस्कृतिमा जोडिएको छ, त्यसलाई सम्बोधन हुने प्रकृतिको काम गर्न उनलाई मन छ । यसको खर्च ठूलै छ, तर विल्कुलै नाफाको लागि भन्दा पनि एउटा अभियानका रूपमा उत्सव आयोजना गरिरहेकाले त्यसलाई व्यवस्थापनको भार उठाउन तयार भएका छन् उनी । त्यसमा विविध क्षेत्रको हार्दिक सहयोग त छँदैछ । विविध क्षेत्रका प्रतिनिधिहरूलाई जोड्ने गैरनाफामुखी अभियान भए पनि यसले किताब यात्रालाई पनि लाभ त पुग्छ नै । यस्ता उत्सवमा किताब यात्राले नयाँ क्रेता पाउने, किताब बेच्ने अवसर पनि पाइरहेकै छ ।

‘किताब जात्रा’ले नेपाल ठूलो पर्यटकीय सम्भावना भएको देश हो भन्ने सन्देश भारतीयमाझ प्रवाह गर्ने योजना बनाएको छ । यो एउटा कार्यक्रमले ठूलै परिवर्तन ल्याउँछ भन्ने दाबी त उनी गर्दैनन्, तर यस्ता प्रयास भोलि हजारौं संस्थाले गरुन्, जसका लागि आफूले चालेको पाइला प्रेरक बनोस् भन्ने उनलाई लाग्छ ।

त्यसो त, किताब जात्राको यो पहिलो विदेश यात्रा हो । उनी भन्छन्, ‘पक्कै पनि यो अन्तिम गन्तव्य हैन । हामी अन्य देशहरूमा पनि जात्रा गर्ने सोचमा छौं । तर पहिलो कुरा हामी कहाँसम्म हिड्न सक्छौं ? स्रोत साधनले कति साथ दिन्छ ? सहकार्य गर्ने हातहरू कति पाउन सकिन्छ ? अझ मुख्य कुरा यो अभियानको प्रभाव र औचित्य कस्तो रहन्छ ? यस्ता जात्राहरूले नेपाली भाषाका किताबलाई ती देशका पाठकसम्म जोड्ने माध्यम बन्न सक्छ कि सक्दैन ? भन्ने हो । नेपाली साहित्यको बजार विस्तार, पर्यटनका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा थप टेवा मिल्नेजस्ता सन्दर्भमा प्रभाव रहोस् भन्नेमा हाम्रो ध्यान छ ।’

उनी आफूलाई लामो यात्राको घोडा भन्न रुचाउँछन्, दौडिन सक्ने बेलासम्म दौडिन, गति कम भए पनि सपनाको काममा जुटिरहन प्रतिबद्ध छन् । जसको मूल ध्येय त छँदैछ– निरन्तर समाजलाई जोड्ने र समाजसँग जोडिने कर्ममा जीवनलाई खर्चिने।

भन्छन्, ‘यसमा म सधैँ तत्पर छु ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, १८:२२:००