NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रिय माछापुछ्रे, फेवातालसँग प्रेम गाँस्दै जुगजुग बाँचिरहनू !

साहित्यकार सरूभक्तको बाल्यकालीन पोखरा स्मृति

पोखरा धेरैलाई मन पर्ने शहर हो । साहित्यकार सरुभक्त त्यही शहरमा जन्मे, हुर्के । नेपालवाचकर्मी शकुन्तला जोशीसँगको सम्वादमा उनले पोखराका अनगिन्ती सम्झनामध्ये केही व्यक्त गरेका छन् । उनकै अभिव्यक्तिको सम्पादित स्वरूप यहाँ प्रस्तुत छः

उहिले जंगलको साम्राज्य थियो– पोखरा । जंगल साम्राज्यमा तालहरू थिए, नदी थियो, माथि सेताम्य हिमाल थियो । अनेक जंगली जनावर थिए, चराचुरुङ्गी थिए । त्यही जंगलको साम्राज्यमा थोरै मानिसले पनि आश्रय लिएका थिए ।

मानिस चतुर ! समयक्रमसँगै उसले प्रकृतिबाट खोस्दै त्यो साम्राज्यको अधिपति आफू बन्यो । आज जंगलहरू क्रमशः किनारा लागे, किनारातिरैबाट चराहरू आतेसका आँखाले पोखरालाई नियाल्छन् । चराहरू उड्ने यहाँको आकाशमा पनि अचेल मानिसहरू नै कावा खाइरहेका हुन्छन् । निलो तालहरू खुम्चिँदै र धमिलिँदै गए । यस्तो लाग्छ, माछापुछ्रे र अन्नपूर्ण हिमाल निहुरिएर फेवातालमा आफ्नो निरीह अनुहार हेर्छन् । त्यो उन्मुक्त प्रकृति अब मान्छेको खटनपटनमा चल्नुपर्ने भएको छ । अहो ! अचेल पोखरा घरैघरले ढाकिएको कंक्रिटको जंगल भएको छ ।


उत्तरी पोखरा २०१२ सालमा । तस्बिर सौजन्यः सुनिल उलक

म यहीँको भूमिमा जन्मिएको हुँ । ६६ वर्षे यो उमेरमा अक्सर घाम छेकिइरहने कोठाको झ्यालमा बसेर म यो शहरको आदिम सुगन्ध खोजिरहेछु । सम्झिँदैछु पोखराको आदिम अनुहार ।

हाम्रो टोललाई उहिले बागबजार भन्थे, अचेल यसको नाम बगर भएको छ । आदिकालमा अन्नपूर्ण हिमश्रृंखला हुँदै पोखरा भएर बग्ने पवित्र नदी सेतीगंगा (सेतीनदी)को बगर क्षेत्र भएको हुनाले अचेल यो बगर भयो । यसो मास्तिर थुम्कोमा छ विन्दवासिनी मन्दिर । आजकाल बेलाबेला बाल्यकालीन सम्झनामा डुबुल्की मार्छु । अब कहिल्यै देख्न नपाइने ती दिनका गल्ली, पाटन र चौतारीहरूको सम्झना आउँछ । अचेल मलाई मेरो बाल्यकालीन पोखराको याद आउँछ ।

त्यो बेला हाम्रो घर दुई तले थियो । सायद मलाई आमाले हिमाल हेर्दै जन्माउनु भएको थियो । हिमालकै काखमा छु, तर ती हिउँको शिखर हेरेर कहिल्यै अघाउँदिन । यसो सम्झिन्छु, ३० को दशकतिर, क्याम्पस पढ्नेताका, म घरको आफ्नै कोठाको खाटमा सुतिसुति हिमाल हेर्थें ।

यहाँकाे प्राकृतिक छटाले मोहित भएरै होला, राणकालीन पोखरा भ्रमणमा आइपुगेका स्विटजरल्याण्डका प्रख्यात भूगर्भविद् टोनी हेगनले ‘पोखरा विश्वकै सबभन्दा सुन्दर ठाउँ हो’ भन्ने अभिव्यक्ति दिए ।

पोखराभन्दा बाहिरबाट पृथ्वीनारायण क्याम्पसमा पढ्न आएका साथीहरू कहिलेकाहीँ घरमा आउँथे । कोठाबाटै हिमाल देख्दा छक्क पर्थे । अब ती छेकिए । त्यो दशकदेखि तीव्र गतिमा शहरीकरण भएसँगै बहुतले घर बन्न थाले । अब घरको छतमा गएर मात्रै म हिमालतिर आँखा लाउन सक्छु ।

मेरो बाल्यकालको पोखरा एउटा सानो बस्ती थियो, टोलटोललाई जोड्ने बाटोमा ढुंगा छापिएका हुन्थे । बिजुली बत्ती थिएन, प्रायः ढुंगाकै छाना भएका घरहरू साँझ परेपछि टुकीको मधुरो उज्यालोमा चम्किन्थे । शान्त र अलौकिक सौन्दर्य थियो पोखराको ।

यहाँकाे प्राकृतिक छटाले मोहित भएरै होला, राणकालीन पोखरा भ्रमणमा आइपुगेका स्विटजरल्याण्डका प्रख्यात भूगर्भविद् टोनी हेगनले ‘पोखरा विश्वकै सबभन्दा सुन्दर ठाउँ हो’ भन्ने अभिव्यक्ति दिए । यति सुन्दर पोखरामा जन्मन पाउनुमा म गर्व गर्छु । तर म जन्मँदा पनि टोनी हेगनले देखेको पोखरामा परिवर्तन त आइसकेको थियो । तैपनि प्राकृतिक रूपमा अहिलेभन्दा धेरै सुरक्षित थियो भन्ठान्छु म ।


दक्षिणी पोखरा २०३१ सालमा। तस्बिर सौजन्यः सुनिल उलक

भक्तपुरबाट झिकाइएका २६ कुरिया नेवार
इतिहासको आँखाबाट चिहाउँदा पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि पोखरा तत्कालीन चौबिसे राज्य अन्तर्गतको शाहवंशीय कस्केली राज्यमा पथ्र्योे । त्यसकालमा राजाहरू पनि अग्लो स्थानमा हुने कोटहरूबाट राज्य गर्थे, जनताको बसोबास पनि पोखरा उपत्यकामा भन्दा वरिपरीका डाँडाकाँडातिरै हुन्थ्यो ।

खेती किसानीभन्दा बाहेक विनिमयको माध्यम खासै विकास भएको थिएन । १७ औं शताब्दीमा कास्कीका राजा सिद्धिनारायण शाहले भक्तपुरबाट २६ कुरीया (घर) नेवारहरूलाई बोलाएर व्यापारिक बस्ती बसाएको भनिन्छ । जुनबेलामा उपत्यकाबाट हिँडेर पोखरा पुग्न कमसेकम नौ दिन लाग्थ्यो । कालान्तरमा नेवार समुदाय नै पोखराको आर्थिक विकासको आधारभूत जग भए ।
नेवार समुदाय आएपछि नै यहाँको बजारको प्रारूप तयार भएको मानिन्छ । मध्यवर्ती पोखराको भैरव, गणेशथान नजिक उनीहरूको बस्ती बसाइएको थियो । यहाँका पुराना घरहरू ढुंगाका छाना, इँटा र ढुंगाकै गाह्रोबाट बनाइएका हुन्थे ।

उबेला जंगल थियो, बाघले किसानका पशु खाइदिन्थे । त्यसको प्रतिरोधस्वरुप उक्त जात्रा गरिने रहेछ । जात्रामा राजाका रिसल्लाहरू बाजागाजासहित घोडामा चढेर दगुर्थे ।

अहिले पनि गणेशटोलतिर केही राणाकालीन घरलाई संरक्षण गरिएको छ । नेवारहरू आएपछि १८ औं शताब्दीमा यहाँ भीमदेउको मन्दिर स्थापना भयो । ती भीमदेउ महाभारतको पाँच पाण्डवका माइलो भाइ भीमसेन नभएर नेवारहरूको इष्ट देव हुन् । जसलाई पछिल्लो अपभ्रंश गरी भीमसेनथान भन्न थालियो ।

हरायो बाघजात्रा
भक्तपुरबाट आउँदा नेवार समुदायले आफ्नो संस्कृति पनि सँगै ल्याएका थिए । यसैले पोखरामा अहिले पनि गाईजात्रा, भैरव जात्रालगायत जात्रा पर्व हुने गरेको छ । प्रत्येक १२ वर्षमा ‘१२ भैरव नृत्य’ हुने गथ्र्यो । अचेल यो पाँच÷छ वर्षमा एकपटक हुने गरेको छ ।

प्रत्येक वर्षमा हुने गाईजात्रा त भक्तपुरमा भन्दा पनि उन्नत जस्तो लाग्छ । त्यो बेलातिर यहाँ बाघजात्रा पनि हुन्थ्यो । महिनादिन भन्दा बढी चल्ने यो जात्रा एकप्रकारले सडक नाटक नै थियो । उबेला जंगल थियो, बाघले किसानका पशु खाइदिन्थे । त्यसको प्रतिरोधस्वरुप उक्त जात्रा गरिने रहेछ । जात्रामा राजाका रिसल्लाहरू बाजागाजासहित घोडामा चढेर दगुर्थे ।

एक जना कलाकार बाघको मुकुण्डो लाएर शिकार खेल्दै आएको अभिनय गर्थे । सहभागीहरू बाघ मार्न दौडेको अभिनय गर्थे । जात्राको अन्तिम दिन बाजागाजासहितको ठूलो झाँकी निस्कन्थ्यो । अन्तमा राजाले बन्दुक हानेर बाघ मारेपछि जात्रा समाप्त हुन्थ्यो ।

अचेल बाघ पनि हरायो, बाघजात्रा पनि हुन छोड्यो । बिस्केट जात्राको बेलामा गणेश मन्दिरको भगवानलाई खटमा राखेर नगर परिक्रमा गराइने चलन थियो । त्यो जात्राका बेला बाटोतिर नाङ्लोमा राखेर मिठाइहरू बेच्थे । हामी पाँच, दश पैसाको मिठाइ किनेर खाँदै जात्रामा हिड्थ्यौं । गाईजात्रा जस्ता नृत्य नाटिकाले भने निरन्तरता पाइरहेकै छ ।


विन्ध्यवासिनीछेउ । तस्बिर सौजन्यः सुनिल उलक

त्यसैकालतिर विन्दवासिनी मन्दिर आसपासमा ३६ कुरिया व्राम्हणहरूको बस्ती पनि बसाइएछ । पछि तिनै टोलतिर क्षेत्रीहरू पनि थपिए । उनीहरूका पनि आफ्नै खालका सांस्कृतिक गतिविधि हुन्थे । पोखराभित्रै बालन, कृष्णलीला जस्ता लोक नाट्यहरू देख्न नपाएको अहिले धेरै भयो ।

त्यसकालमा बजार क्षेत्रका रुपमा बागबजार टोल, भैरव टोल, मोहरिया टोल, भिमसेन टोल, गणेश टोलहरू थिए, नेवारहरू बस्थे । अहिलेको पोखराको मुख्य बजार क्षेत्र चिप्ले ढुंगा, महेन्द्रपुल, नयाँ सडक हुँदै पृथ्वीचोकसम्म उहिले त बञ्जर इलाका पो थियो । जहाँ केटाकेटीमा हामी दिउँसै पनि जान डराउँथ्यौं । मान्छेहरूको चलहपहल नै कम हुने त्यसकालमा सेती खोलावारिका फुलबारीलगायत र पारि पर्ने साघुँमुख बजार, मालेपाटन जोड्ने एउटा साँघु थियो । साँघु तरेर वारिपारि गर्न हामी डराउँथ्यौं ।

सोही ठाउँमा पछि राजा महेन्द्रको नाममा पुल ‘महेन्द्र पुल’ बनाइयो । पुल बनेसँगै त्यस वरपर घरहरू विस्तार भए । क्रमशः व्यापारिक क्षेत्रका रूपमा पनि विकास भयो । यसको आधार भने नेवार समुदायले तयार गरे । ३० को दशकपछि यी क्षेत्र विकासले यसरी गति लियो ।

गाउँबाट लाहुरे झरे
मान्छेको चहलपहल बढेसँगै पोखरामा बजारको सुविधा विस्तार हुन थाल्यो । अनि उच्च पहाडी भेगतिरबाट बसाँइ आउने क्रम बढ्यो । गुरुङ, मगरलगायत जनजातिहरू पहाडतिरै बसोबास गर्थे । राणाकालमै अंग्रेजसँगको युद्धमा पराजित भएर सुगौली सन्धिसम्म आइपुग्दा लाहुर भर्ति हुने क्रमको थालनी भयो । त्यससँगै ती जनजाति पोखरामा जग्गा–जमिन किनेर बसोबास बस्न थाले ।

पोखराका धेरै जनजातिको गाउँमा पनि घरजग्गा छ । हाम्रा टोलमा पातलो गरी बसोबास गर्न आएका ती छिमेकीहरूलाई हामी त्यतिबेलातिर ‘उ त्यो मगरको घर, त्यो गुरुङको’ भनेर औंल्याउँथ्यौं ।

क्रमशः नेवारभन्दा तिनै जनजातिको बाहुल्य बढ्यो । गुरुङ, मगर, थकालीलगायत जनजातिले पनि आ–आफ्ना संस्कृति पोखरा भित्र्याए । सोरठी, घाटु गुरुङ जातिको लोक नाट्य हुन् । महानगर हुँदै गरेको पोखरा अचेल तिनै संस्कृतिको ‘कस्मेटिक ब्राण्डिङ’ गरिरहेको छ ।


मोहरिया टोल २०३० सालमा । तस्बिर सौजन्यः सुनिल उलक

ट्रेडमार्क बनेको थकाली भोजनालय
हामी सानो छँदा हाम्रो टोलतिर थोरै थकालीका घर पनि थिए । मुस्ताङबाट झरेका केही थकाली बाग्लुङतिर बसे । केही थकाली व्यापार गर्न पोखरा आए । तिनैमध्ये भीमसेन टोलबासी अमृतप्रसाद शेरचन सबभन्दा नाम चलेका समाजसेवी र व्यवसायी रूपमा चिनिन्थे ।

यो समुदायका मानिस सुरुसुरुमा कपडाको व्यापार गर्थे । पछि भोजनालयतिर लागे । स्वादिष्ट खानको परिकार बनाउन सिपालु यो समुदायको पछिल्लो समय ‘थकाली भोजनालय’ ब्राण्डकै रुपमा स्थापित भएको छ । विशेष गरी पृथ्वी राजमार्ग खुलेपछि मुग्लिङतिर खुलेका ‘थकाली भोजनालय’ले देशैभरजसो ब्राण्ड बनायो । मिठो खानाको ट्रेडमार्क नै बन्यो ‘थकाली भोजनालय’ ।

केही समयअघि नाती लिएर सौराहा घुम्न गएको थिएँ । खाना खाने सोच्दै थिएँ, ‘थकाली भोजनालय’मा आँखा पर्‍यो, त्यतै पस्यौं । खाना पनि मिठै थियो, पछि थाहा भयो त्यो त थारुले चलाएको ‘थकाली भोजनालय’ पो रहेछ । सोधेँ, ‘होटलको नाम किन आफ्नै पहिचानको नराखेको नि ?’ साहुजीले भने, ‘सर ! हाम्रो भन्दा थकाली नाम नै बिक्छ, के गर्नु !’ लौ गज्जब ! ‘थारुले चलाएको थकाली भान्साघर !’ हामी हाँस्दै निस्कियौं ।

भूपि शेरचन पोखराकै थकाली हुन् । अरुण थापाले गाएको चर्चित गीत ‘जति माया लाए पनि’का गीतकार विनोद गौचन, कवि उषा शेरचनदेखि अहिलेको पुस्ताको लेखक सरस्वती प्रतिक्षा यहीँका थकाली हुन् ।

त्यो बेला हाम्रो टोलमा कविरप्रसाद शेरचन काकाको कपडा पसल थियो । हाम्रो घरको सामुन्ने साथी विनोद गौचनका बुबा रामप्रसाद गौचनको चल्तीको किराना पसल थियो । थकालीहरूको मोरिया टोलमा पनि एकाध कपडा पसल थिए । तत्कालीन समयमा ती राम्रा र ठूला पसल मानिन्थे । व्यापारिक काममा उनीहरू अरूभन्दा निपुण मानिन्थे ।

अहिले पोखरामा करीब डेढ सय घर जति थकाली होलान् । पोखराको व्यवसायिक तथा सामाजिक विकासमा नेवारहरू पछि थकालीको योगदान छ । अमृतप्रसाद शेरचन त पोखरा उद्योग वाणिज्य संघको सभापति पनि हुनुभयो ।

उसो त कला साहित्य लगायतको क्षेत्रमा पनि थकालीहरू अब्बल नै देखिए । भूपि शेरचन पोखराकै थकाली हुन् । अरुण थापाले गाएको चर्चित गीत ‘जति माया लाए पनि’का गीतकार विनोद गौचन, कवि उषा शेरचनदेखि अहिलेको पुस्ताको लेखक सरस्वती प्रतिक्षा यहीँका थकाली हुन् । उसो त पोखरामै जन्मेका कवि शिरोमणि लेखनाथ पौड्याल, झलकमान गन्धर्व, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ यहीँकै हुन् ।

यसरी एउटा ग्रामीण पोखरा व्यापारिक केन्द्रको यात्रामा अघि बढेको थियो । पोखरा तत्कालीन समयमा भारत र चीन दुवै देशको नाका जस्तो थियो । एकातिर मनाङ, मुस्ताङ हुँदै भोट जोड्ने व्यापारिक नाका, अर्कातिर भैरहवा–बुटवल हुँदै जोडिने केन्द्र पनि थियो ।


भैरव टोल । तस्बिर सौजन्यः सुनिल उलक

भूपि शेरचनको दरबार
२००७ साल अघिको राणा शासकको प्रशासकका रूपमा देशका विभिन्न ठाउँमा बडाहाकिम बस्थे । पोखराका अन्तिम बडाहाकिम धन शमसेर जबरा थिए । उनले पोखरामा निकै फराकिलो क्षेत्रमा दरबार नै बनाएर बसेका थिए । ००७ सालको क्रान्तिपछि उनी काठमाडौं फर्किए ।

उनको दरबार भूपि शेरचनका बुबा हितमान शेरचन किने । उनी मुस्ताङका धनीमानी सुब्बा थिए । पछि अंशवण्डा गर्दा उक्त दरबार भूपि शेरचनको भागमा पर्‍यो । अहिले त्यसमा भूपिका जेठी श्रीमतीपट्टिका सन्तान बस्छन् ।

उहाँका सन्तान दरबारक्षेत्रको धेरै जग्गा बिक्री गरी हाल सानो क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ । भूपि शेरचन भने त्यहाँ खासै बस्नु भएन । उहाँ कान्छी श्रीमती कान्ती शेरचनका साथ प्रायः काठमाडौं बस्नुहुन्थ्यो । नारायण गोपाल, चेतन कार्कीलगायत साथीहरूसँग आउँदा भने उहाँ यहाँको घरमा बस्नुहुन्थ्यो ।

तिनै धन शमसेरको पालामा पोखरामा पनि सानो एउटा नाचघर बनाइएको र त्यसमा नाट्यकर्म हुने गरेको पुराना पुस्ताले बताउँथे । अहिले पनि पोखरा रंगमञ्चको अब्बल अभ्यास हुने शहर हो । तर त्यो बेला शासकहरूलाई मनोरञ्जन दिन नाटक देखाइन्थ्यो । अहिले जनता जगाउन नाटक मञ्चन हुन्छन् । हामीले अघि बढाएका नाट्यकर्म अहिले आफ्नै नाटक घर बन्ने तहमा आइपुगेको छ । यो निकै गज्जब कुरा हो ।

पहले काकाले सिलाएको हाफकट्टु
त्यो बेलाको जीवन जति सरल थियो, सुविधाको अभावमा त्यतिकै जटिल पनि । स्रोत साधन अहिलेजस्तो फालाफाल हुँदैनथ्यो । हामी थाङ्नामा हुर्केका । राती सुत्दा थाङ्नाभोगटामा गुटुमुटिएर सुत्ने । सानो छँदा भोटो र कट्टु लगाउने । त्यस्ता भोटो र कट्टु पहिलेपहिले आमा, हजुरआमाले हातैले सिइदिनुहुन्थ्यो, पछिपछि दमाइँले ।

वर्षको एकपल्ट दशैंमा लुगा किनिदिने चलन हुन्थ्यो । हाम्रो घरभन्दा केही पर पहले दमाइँ (काका) लुगा सिउँथे । बुबाले दशैंको १५ दिनअघि सर्ट पाइन्टको कपडा किनेर सिलाउन दिनुहुन्थ्यो । पहले काका हाम्रो घरै आएर नाप लिन्थे, तर उहाँकोमा लुगा सिलाउनेको ताँती हुने । पहले काकाले कहिले हाम्रो लुगा सिलाइदेलान् र लाउन पाइएला ! लुगा नसिलाइन्जेलसम्म पहले काकाको घर वरपर नै हामी भौतारिरहन्थ्यौं । साँच्चै, पहले काकाले सिलाई दिएको पुरानो हाफकट्टु अहिले कहाँ होला हगि ?


भीमसेन मन्दिर । तस्बिर सौजन्यः सुनिल उलक

फेवातालमा भोज
अचेल सँधैं मेलैमेला छ । उबेला त मेला भर्न दशैं कुर्नु पथ्र्यो । दशैंको पूर्णिमाको दिनमा फेवातालको बाराही मन्दिरमा ठूलो मेला लाग्थ्यो । त्यतिबेला फेवाताल वरपर कुनै बस्ती नै थिएन । अहिले ठुल्ठूला घरहरूले छेकियो फेवाताल ।

त्यसबेला एकाछेउतिर भने खरले छाएका स–साना झुपडी थिए । त्यो ठाउँलाई बैदाम भनिन्छ । फेवातालको पुरानो नाम पनि ‘बैदामे ताल’ । बैदामकै स्थानीयहरू जो डुंगा व्यवसायी, उनीहरूकै चिया पसल हुन्थे । त्यहाँ चल्ने डुंगा प्रायः एउटै रुखको काठबाट बनाइएको हुन्थ्यो । त्यो बेलाको एकाध डुंगा अहिले पनि फेवातालमा चल्छन् ।

मेला भर्न जाने अघिल्लै दिनदेखि आमाहरू तयारी गर्नुहुन्थ्यो । पूर्णिमाको दिन राती नै उठेर अनेक परिकार पकाउनु हुन्थ्यो । ती परिकार बोकेर हामी बिहानै सपरिवार बगरबाट हिड्थ्यौं । मेलामा हामी पहले काकाले सिलाइदिएका नयाँ सर्ट–पाइन्टमा ठाँटिएर गमक्क परेर जान्थ्यौं ।

हामी केटाकेटीसहितको हुल जाँदा झण्डै दुई/अढाई घण्टामा फेवाताल पुगिन्थ्यो । बुबाहरूले चिनेको कुनै बोटेको डुंगा चढेर तालबाराही मन्दिर जान्थ्यौं । मन्दिरमा बुबाआमाले पूजा गर्नुहुन्थ्यो र हामीलाई टीका लगाइदिनुहुन्थ्यो ।

हामी फेरि डुंगा चढेर फर्किन्थ्यौं । त्यो बेला जनको पाँच, दश पैसा भाडा लाग्थ्यो होला । वारि आएर ठूलो रुखको छायामा, कहिले पाटनमा बसेर भोज खान्थ्यौं र फेवातालको पानी पिउँथ्यौं । फेवाताल त्यति स्वच्छ थियो ।

त्यो बेला पोखरामा धेरै पाटन, बरपीपलका रुख भएका चौतारी, पोखरी थिए । हामी मेला जाँदा तिनै चौतारीहरूमा बिसौनी लाउँदै जान्थ्यौं । दशैका बेलामा चौतारामा बरको हाँगामा लठ्ठे पिङ हुन्थे । पाटनहरूमा चाहिँ काठे चौडाली (रोटे) पिङ पनि हालिएको हुन्थ्यो । हामी ठाउँठाउँ पिङ पनि खेल्थ्यौं ।

हाम्रो घरभन्दा केही पर पुरानो टुँडिखेलमा पनि दशैंको फूलपातीका दिन मेला लाग्थ्यो । त्यहाँ मुस्ताङका थकाली, भोटेहरूले भेडाच्याङ्ग्रा बेच्न ल्याउँथे । मेलामा किन्ने भन्दा भेडा–च्याङ्ग्रा हेर्नेकै भीड हुन्थ्यो । हाम्रो बुबाले पनि एउटा च्याङ्ग्रा किन्नुहुन्थ्यो । हामी केटाकेटी दिनभरी जसो तिनै भेडा–च्याङ्ग्रा हेरेर रमाउँथ्यौं ।

म सात/आठ वर्षको थिएँ । तेर्सापट्टीमा एउटा पुरानो फिल्म हल थियो । बाको खल्तीमा पैसा चोरेर हामी हल पुग्थ्यौं र थर्ड क्लासमा बसेर हेथ्र्यौं । एकदिन बुबा हलमै पुग्नु भएछ । मध्यान्तरका बेला कानमा समातेर मकैबारी हुँदै हिँडाएर घर ल्याउनुभयो ।

‘ढुंगे साघुँको मेलामा …’ गीत त्यसै बनेको हैन । पोखराछेउमा ढुंगे साघुँ भन्ने ठाउँमा माघमा मेला लाग्थ्यो । त्यो पनि हाम्रो घुमघामको माध्यम थियो । लेकसाइडको झिलिमिलि हेर्दै हिँड्दा मलाई भने त्यो बेलाको मेलाहरूको झल्को आउँछ ।

सिनेमा हलमा बा

पोखरा सडक सञ्जालसँग भन्दा पहिले राजधानीसँग हवाइ मार्गले जोडिएको हो । त्यो बेला विमानस्थल भन्नु घाँसे चौर हुन्थ्यो । पुरानो डकोटा विमान आउँथ्यो । सुरुसुरुमा डकोटा आउँदा विमानस्थल वरिपरि हेर्नेको घुँइचो हुन्थ्यो ।

त्यो बेलाका चराहरू कावा खाँदै उड्ने आकाश पनि अचेल व्यवसायिक बनेको छ । अचेल प्याराग्लाइडिङ गर्नेहरूले आकाश व्यस्त हुन्छ । सायद चराहरूको लागि आतंक होला पोखराको आकाश ।

हाम्रो टोलमै स्कूल, पाँच कक्षासम्म स्थानीय विद्यालयमै पढेँ । त्यो उमेरसम्म टोले साथीहरूसँग खेल्न गइन्थ्यो । वनतिर काफल खान पुगिन्थ्यो । सेती आसपासका याम्दी र काली खोलामा नुहाउन गइन्थ्यो । कहिले जयमूल पोखरीमा पौडी खेल्न पुगिन्थ्यो ।

म सात/आठ वर्षको थिएँ । तेर्सापट्टीमा एउटा पुरानो फिल्म हल थियो । बाको खल्तीमा पैसा चोरेर हामी हल पुग्थ्यौं र थर्ड क्लासमा बसेर हेथ्र्यौं । एकदिन बुबा हलमै पुग्नु भएछ । मध्यान्तरका बेला कानमा समातेर मकैबारी हुँदै हिँडाएर घर ल्याउनुभयो।

मेरो प्यारो पोखरा अचेल अतिक्रमणमा छ । फेवातालको आकार खुम्चिँदै गएको छ । मैले देखेको ती पाटनहरू, चौतारी र सानासाना पोखरीमाथि अचेल क–कसका घर होलान् ? वा व्यापारिक महल होलान् ?

०२२/०२३ मा युनाइटेड मिसन टु नेपाल भन्ने संस्थाले पोखराभन्दा केही पर लामाचौरमा नेपाली आर्दश विद्या मन्दिर बोर्डिङ स्कूल खोल्यो । बुबाले मलाई पनि होस्टेल राखेर त्यहीँ पढाउन थाल्नुभयो । टोले साथीहरूसँगको बाक्लो संगत पनि टुट्यो ।

कसरी बने घाटमाथि घर ?
संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिका जिम्मेवारीका बेला अलिक बेसी काठमाडौं बसियो । विभिन्न सन्दर्भमा पोखरा बाहिर जानुपर्छ मलाई । तर, देश–विदेश जहाँ पुगे पनि धेरै दिन अडिन मुस्किल पर्छ । मलाई त कहिले पोखरा पुगेर आनन्दको श्वास फेर्ने भन्ने हुन्छ ।

मेरो प्यारो पोखरा अचेल अतिक्रमणमा छ । फेवातालको आकार खुम्चिँदै गएको छ । मैले देखेको ती पाटनहरू, चौतारी र सानासाना पोखरीमाथि अचेल क–कसका घर होलान् ? वा व्यापारिक महल होलान् ? म घोत्लिएर अक्षरसँग खेलिबस्ने मान्छे, मलाई तिनका अन्तरकथा थाहा हुने कुरै भएन । तर सेती नदीको घाटतिर पनि घरैघर बनेको देख्दा अचम्म लाग्छ ।

यो मेरो प्राण जोडिएको भूमि, हिउँदको न्यानो घाम ओढेर यसो नियाल्दै भनिरहेछु माछापुछ्रेसँग– प्रिय हिमाल यसरी निरास नहोऊ !

त्यो सार्वजनिक सम्पत्ति, त्यो प्रकृतिका भूक्षेत्र कसरी व्यक्तिका नाममा गइसके, कसरी मिलाए हुन् त्यो साँठगाँठ, म त छक्क पर्छु।

यो खुम्चिँदै गएको प्रकृति देख्दा मेरो पनि मन यसै खुम्चिन्छ । मेरो नातिको नातिलाई पोखरा दन्त्य कथा जस्तो नलागोस्, मेरो इच्छा यही छ । यो मेरो प्राण जोडिएको भूमि, हिउँदको न्यानो घाम ओढेर यसो नियाल्दै भनिरहेछु माछापुछ्रेसँग– प्रिय हिमाल यसरी निरास नहोऊ ! तिमीलाई प्रेम गर्ने मानिस पनि छन् यो धरतीमा । म त जाउँला एकदिन, तर फेवातालसँग प्रेम गाँस्दै तिमी जुगजुग बाँचिरहनू !
०००

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८, १४:२५:००