NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘अमेरिका होइन, उद्यम रोजेँ’

अमेरिका जाने प्रक्रिया थाल्दा देशबाट भाग्न लागेको अनुभूति गरेका किरणको उद्यम–यात्रा

‘बन्द खामभित्रको चिठीमा मान्छेले के–के लेख्दा हुन् ? अझ चिठी नै किन लेख्दा हुन् ?’

आठ-नौ वर्षको उमेरमा किरण तिम्सिनाका मनमा उठेका सवाल हुन् यी । बुवाको अफिसमा आउने चिठीका चाङ हेर्दा उनलाई यस्तो लाग्थ्यो । त्यही चिठी ओसारपसार गर्ने हुलाक कार्यालयका अधिकृत बुबा हरिकृष्णले एक दिन भने, ‘यस्ता चिठीमा प्रायः घर छोडेर टाढा परदेश पुगेकाले आफ्नो हालखबर लेखिपठाउँछन् । आफन्तको माया मिसिएको चिठी कहिले आउला भनेर गाउँघरका मान्छे हाम्रो बाटो हेरिबस्छन् । चिठी पाएपछि उनीहरू खुब खुसी हुन्छन् । उनीहरूले पनि ती परदेशीलाई चिठीमा उत्तर लेखिपठाउँछन् ।’

बुवाको कुराले उनलाई हजुरआमाको गुप्त सन्दुकबाट गुलियो मिठाइ पाएजस्तो अनुभूति भयो । ‘ठूलो भएर म पनि बुवाजस्तै बन्छु, पोष्ट अफिसर बन्छु’ मनमनै उनले विचार गरे । तर समयले उनलाई अर्कै बाटो हिँडायो । उनी उद्यमी बने । उद्यमकै बाटोबाट आम मान्छेका खुसीको रंगसँग जोडिएका छन् । पछिल्लो समय उत्सव वा खुसी मनाउने माध्यमका रूपमा केक काट्ने प्रचलन बढ्यो । त्यसैलाई उद्यममा जोड्दै उनको कम्पनी ‘अर्बान गर्ल’ले युजी ब्राण्डको केक उत्पादन गरी बजार पठाउँछ ।

बुवा सरकारी जागिरे, ठाउँठाउँमा सरुवा भइरहने, उनको बाल्यकाल यात्रामै बित्यो । स्थायी घर झापाको दमक भएपनि उनी सिराहाको लहानमा जन्मे । पहिलोपल्ट स्कूल टेक्दा तेह्रथुम पुगेका थिए । कहिले खोटाङ, कहिले दमक, कहिले विराटनगर, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी । उनलाई कहिले रमाइलो, कहिले दिक्क लाग्थ्यो ।

‘ठूलो भएर म पनि बुबाजस्तै बन्छु, पोष्ट अफिसर बन्छु’ मनमनै उनले विचार गरे । तर समयले उनलाई अर्कै बाटो हिँडायो । उनी उद्यमी बने ।

अहिले लाग्छ, तिनै यात्राले उनलाई सम्भावनाको नयाँ बाटो खोज्न सिकायो ।

तीन वर्षमै युजी ब्राण्डले केक पारखीमाझ आफ्नो स्वाद पस्किसकेको छ । अर्की उद्यमी निकिता आचार्यसहितको टिम यसमा काम गरिरहेका छन् । उनको व्यवसायिक टिममा ४५ जना सहयात्री छन् । युजीले दैनिक लाख रुपैयाँसम्मको कारोबार गरिरहेको छ ।

यो व्यवसायसम्म आइपुग्न उनले ३० वर्षे उमेरमा निकै उबडखाबड यात्रा तय गरेका छन् । उनले कक्षा सात पढ्दाताका बल्ल कम्युटर देखेका थिए । हाल व्यवसायको सिंगो वासलात उनी कम्प्युटरमै राख्छन् । उनको केक उद्योगमा कार्यरत महिला बेकरहरू केक अर्डरको विस्तृत विवरण कम्प्युटरकै स्क्रिनमा हेर्छन् । यसरी अनलाइन व्यवसायसम्म आइपुग्न नौ-दश कक्षाताका कम्प्युटरमा प्रोग्रामिङ गर्न लागेको लतले काम गरेको छ ।

अहिले सरकारको शैक्षिक पाठ्यक्रममै कम्प्युटर शिक्षा अनिवार्य गरेको छ । दुर्गम गाउँका विद्यार्थी पनि कम्प्युटरसँग जोडिन पाएका छन् । उनले स्कूल पढ्ने बेलासम्म त्यस्तो थिएन । उनी कम्प्युटर भएको स्कूलमै पढ्ने जिकिर गर्दै काठमाडौं आए । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा कक्षा नौमा भर्ना भए ।

बुवाको जागिर पनि काठमाडौं सरुवा भयो । उनीहरू तीन–चार हजार रुपैयाँ भाडा तिर्ने गरी साँघुरो कोठामा बसे । उनका दाइ प्रवीण त्यसअघि नै सेन्ट जेभियर कलेज पढ्न यता आइसकेका थिए ।

निकै करकरपछि कक्षा दशमा बुबाले कम्प्युटर किनिदिए । उनका सहपाठी रविचन्द्र शाहको संगतले उनलाई कम्प्युटर हार्डवयरमा पनि निकै रुचि बढेको थियो । उच्च शिक्षा त्यतै केन्द्रित गर्न चाहन्थे । तर हार्डवयर गर्नु भनेको त्यतिबेलासम्म मेकानिक हुनु हो भन्ने बुझाइ थियो । त्यसो भएर बुबा उनलाई सिभिल इञ्जिनियर बनाउन चाहन्थे । उनलाई भने कम्प्युटर इञ्जिनियर बन्न मन थियो । उनले दुवै बाटो छोडेर ब्याचलर अफ कम्प्युटर इन्फरमेशन (बिसिआइएस) पढे ।

संविधान माग्दै सडकमा

उच्च शिक्षा अध्ययनका लागि आमाको रुचिलाई ध्यानमा राख्दै उनी अमेरिका जाने तयारीमा जुटे । प्रक्रियाका लागि शुल्क बुझाउन नबिल बैंक पुग्दा अचानक उनलाई ‘देशबाट भाग्न लागेको’ जस्तो भान अनुभूति भयो । उनी फरक्क फर्केर घर आए । आमा रिसाइन्, अलिक दिन उनलाई पनि यसै छटपटी भयो ।

संविधान सभाको निर्वाचन नभएर देश अलमलमा थियो । केही स्कुल, कलेजका साथी मिलेर उनीहरूले ‘कमन युथ स्ट्याण्ड अप’ भनेर सामाजिक राजनीतिक अभियान चलाए । संविधान चाँडै आओस् भन्ने दबाबस्वरुप करिब एक वर्ष अभियान चलाए ।

संविधान सभाको निर्वाचन नभएर देश अलमलमा थियो । केही स्कुल, कलेजका साथी मिलेर उनीहरूले ‘कमन युथ स्ट्याण्ड अप’ भनेर सामाजिक राजनीतिक अभियान चलाए । संविधान चाँडै आओस् भन्ने दबाबस्वरुप करिब एक वर्ष अभियान चलाए । त्यही अभियानमा भेटिइन् निकिता र स्कूलका साथी प्रवेश रिजाल । उनीहरू मिलेर एउटा कम्पनी खोले, त्यो चलेन ।

केही त गर्नै पथ्र्यो, सन् २०१२ को अन्त्यतिर निकिता र किरण मिलेर अनलाइन मार्केट चलाउने विचार गरे । नाम जुराए अर्बान गर्ल । उनीहरूले यूएफओलगायत स्थापित ब्राण्डसँग जोडिएर काम गर्न खोजे, कसैले पत्याएनन् । चीनको प्रख्यात अनलाइन मार्केट अलिबाबाबाट ‘रेप्लिका ज्वेलरी’ मगाएर बेच्न थाले । तर, नेपाल बाहिर पैसा पठाउन नपाइने प्रावधानले निकै झन्झट खेपे । तर प्रयत्न जारी थियो ।

जहाँ समस्या त्यहाँ उपाय ! उनीहरूले शान्तिनगरमा एउटा कोठाको अफिस खोले, एक जना डेलिभरी गर्ने मानिस राखे । बिक्री र प्यकेजिङको काम उनीहरू आफैंले हेर्थे । फेसबुक पेज बनाए, अर्डर आउन थाल्यो । बेकरीहरूबाट लिएर केक बेच्न थाले । तर, कहिले समयमा सामान तयार नहुने, कहिले अर्डरभन्दा फरक पर्ने । ग्राहकको गाली खाएर हैरान । उनीहरूले बुझे, अर्काको भर परेर व्यापार नहुने भो । त्यसबेलासम्म उनीहरूसँग केही रकम बचत भइसकेको थियो । भिमसेनगोलामा १० लाख रुपैयाँ लगानीमा आफैंले सानो केक उद्योग शुरु गरे । तर त्यसअघि नै अफिस भने मीनभवनमा थियो । यही दुरीका कारण अर्डर र पेमेन्टलाई कम्प्युटर प्रणालीमा राख्न बाध्य भए । एप पनि बनाए ।

व्यापार बढ्दै गयो, फराकिलो ठाउँको खाँचो प¥यो । छ वर्षका लागि उनीहरूले मध्य बानेश्वरको पशुपति कोलोनीमा एउटा ठाउँ लिए । त्यहीँबाट अहिले उनीहरूको उत्पादनदेखि बजार व्यवस्थापनसम्मको काम हुँदै आएको छ । युजीलाई उनीहरूले आज उनको कारखानामा १४ जना महिला बेकर र सहयोगीहरू काम गर्छन् । बेकरहरू कम्प्युटरमा आफैं अर्डर हेरेर केक बनाउँछन् ।

‘सुरुआती दिनमा त्यसरी जुत्ता नखियाएको भए, अप्ठ्याराहरूसँग नजुधेको भए सामान्य जागिरे हुन्थे होला । तर अहिले यतिका मानिसलाई रोजगारी दिएको छु ।

किरण र निकिता केकबारे जानकार वा व्यवसायिक ज्ञान भएरै यस क्षेत्रमा लागेका थिएनन् । हिँड्दै जाँदा यहाँ आइपुगे । अहिले केक पारखीहरूमाझ युजी केकले एउटा पहिचान बनाएको छ । ग्राहकले अर्वानको एप वा इमेलबाट केक अर्डर गर्न सक्छन्, डेलिभरीपूर्व नै केकको फोटो हेर्न सक्छन् । केही कमेन्ट भए गर्न सक्छन् । किरण आफ्ना ग्राहक र स्टाफ दुवै पक्ष खुसी भएको देख्न चाहन्छन् । भन्छन्, ‘ग्राहकलाई हामीसँग जोडिराख्न अनेक उपाय गर्छौं । हाम्रो प्रयत्न ग्राहकलाई गुनासो गर्ने ठाउँ नछोड्ने हो । ‘ह्याप्पी पेड स्टाफ र ह्याप्पी ग्राहक’ हाम्रो व्यवसायको मन्त्र हो ।

‘केक टेस्टिङ’ अफर

अर्बान गर्लसँग ग्राहक आकर्षित गर्ने अनेक व्यावसायिक योजना छन् । दुई महिनादेखि ‘केक टेस्टिङ’ अफर लागू गरेको छ । हरेक शुक्रबार उनीहरूको कारखानामा ५० देखि एक सय जनासम्म केक चाख्न पुग्छन् । जन्मदिन मनाउन चाहने कसैसँग पैसा छैन भने युजीमै आएर मनाउन सक्छन् । एक हजारसम्मको केक कम्पनीले उपहार दिन्छ । किरण भन्छन्, ‘हामी केक बेच्छौं । सँगै मानिससँग जीवनको उत्सव बाँड्न चाहन्छौं ।’

व्यवसाय सिक्दा काटेका अनेक कहरहरू अहिले उनका लागि सम्पत्ति भएको छ । भन्छन्, ‘सुरुआती दिनमा त्यसरी जुत्ता नखियाएको भए, अप्ठ्याराहरूसँग नजुधेको भए सामान्य जागिरे हुन्थे होला । तर अहिले यतिका मानिसलाई रोजगारी दिएको छु । भोलिका दिनमा अझ धेरैलाई रोजगारी दिनेछौँ ।’ निकिता र किरणको संकल्पले सन् २०२२ मा काठमाडौं बारिह पाइला राख्दै छ । राजधानी बाहिरका मुख्य ८ सहरमा युजीले फ्रेन्चाइज खोल्ने अनुमति दिदैछ । यसरी व्यवसायिक फड्को मार्दै गरेको युजी केक विवाहको सिजनमा दैनिक २ सय पाउण्डसम्म र अन्य दिनहरूमा १ सय पाउण्ड बिक्री हुने गरेको छ ।

पैंतीस पाउण्डसम्मका केक

युजीले विभिन्न फ्लेवरका केक उत्पादन गर्छ । ब्ल्याक फरेस्ट, ह्वाइट फरेष्ट भेनिला यी सामान्यतः धेरैलाई मन पर्ने केक हुन् । त्यस्तै, क्लासिक, प्रिमियम, ट्रफल फ्लेभरका केक छन् । त्यसभन्दा महँगोमा रेड भेल्भेट, मोका, फलफूलमा ब्लूबेरी, स्ट्रबेरी, पाइनापल, बटर स्कच, चकलेट बटर स्कचलगायत फ्लेभरमा पाइन्छ ।

यसरी स्वादिलो–रसिलो केकले मान्छेको मन जोड्दै आएका किरणले केही समय मध्य बानेश्वरमै रहेको राजधानी मोडेल कलेजमा अध्यापन गरे । अहिले सोही कलेजका बिएचएमका दुई जना विद्यार्थी एक महिना लगाएर ब्राउनी बनाइरहेका छन् । फाइनल रेसिपी तयार भएपछि यसको पनि उत्पादन सुरु हुनेछ । यसै हिउँदमा आइस केक पनि बन्दै छ । युजीले आधा पाउण्डदेखि ३५ पाउन्डसम्मका केक तयार पार्छ ।

‘हामी जस्ता धेरै युवा देशमै बस्न चाहन्छन् । तिनलाई लगानीको वातावरण दिने जिम्मा सरकारको हो । तर स्टार्टअप व्यवसायलाई अहिलेसम्म उत्साही बनाउने वातावरण खासै बनाउन सकेको छैन । यसमा ध्यान दिइनुपर्छ ।’

निकट भविष्यमा व्यवसायलाई थप विविधिकरण गर्ने सोचका किरण भर्खरै किङ्ग्स कलेजमा एमबीए (टेक्नोलोजी एण्ड इन्नेभेसन) पढ्न थालेका छन् । अमेरिका जाने सपना त्यागेर स्वदेशमै रोजगारी सिर्जना गरिरहेका किरण भन्छन्, ‘हामी जस्ता धेरै युवा देशमै बस्न चाहन्छन् । तिनलाई लगानीको वातावरण दिने जिम्मा सरकारको हो । तर स्टार्टअप व्यवसायलाई अहिलेसम्म उत्साही बनाउने वातावरण खासै बनाउन सकेको छैन । यसमा ध्यान दिइनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८, १८:२१:००