NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्वदेश फर्किएर डेरी व्यवसाय, आम्दानी मनग्य

डेरीमा रमेका बालकृष्णको कथा

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका काभ्रेका बालकृष्ण घिमिरेको कमाइ राम्रो थियो । तर स्वास्थ्यले साथ दिएन । विदेशिएको आठ वर्षपछि विदेशको बसाइ बिट मारेर उनी स्वदेश फर्किए ।

त्रिभुवन विमास्थल फर्किंदा सूर्यमाथि अँध्यारोले साम्राज्य फैलाइसकेको थियो । आफ्नो माटो स्पर्श गर्न पाउँदा एकातिर मनको एउटा कुनामा उत्साह थियो भने अब के गर्ने भन्ने प्रश्नको सुर्ताले अर्को कुनामा त्रस्त पारिरहेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा इराकलगायत द्वन्द्वग्रस्त मुलुक चहारेका घिमिरे स्वदेशमा डेरी सञ्चालन गरेर विदेशमा भन्दा राम्रो आम्दानी गरिरहेका छन्

विमानस्थलबाट घर फर्कंन विमानस्थलमा ट्याक्सी समातेर गन्तव्य हानिए । बाटो खाली भए पो, उनी अस्तव्यस्त सवारी ट्राफिक जाममा फसे । अन्तरकुन्तरमा ड्राइभिङ पेसा अँगाल्ने सपना पालेका उनी झसंग भए ।

विदेशका चिल्ला सडक, व्यवस्थित सवारी ट्राफिक प्रणालीमा अभ्यस्त उनलाई यो अस्तव्यस्ततामा काम गर्न जाँगर चलेन ।

सडकको यस्तो हरिविजोग अवस्था देखेपछि उनले तत्काल संकल्प गरे– ड्राइभिङ होइन, डेरी व्यवसाय गर्छु ।’
यो उनले मनमा कोरेको खाका थियो । त्यसलाई उनी एक्लैले अनुमोदन गर्न सक्दैनथे । परिवारको बीचमा प्रस्ताव गरे । ‘ओके’ भयो ।

No description available.

तीनकुनेमा बालकृष्णको डेरी खुल्यो । अनुभवविहीन क्षेत्रमा हात हालेका थिए । विदेशमा खुनपसिना बगाएर जोडेको रकम डुब्ने हो कि त्रासले चिमोट्थ्यो । तर मनको बाघले खाएन । व्यापार राम्रै भयो ।

आम्दानी अपेक्षित त थियो तर दूधका लागि सधैं अरूको भर पर्नुपर्ने । चित्त नबुझी नबुझी करिब ६ वर्ष त्यसरी नै घिसिपिटे उनको ‘व्यापारको रथ’ अघि बढ्यो ।

डेरी व्यवसायको यो परम्परागत स्वरूपलाई नबदली उँभो नलागिने बालकृष्णले बुझिसकेका थिए । त्यसैले उनले यही व्यवसायलाई फरक ढंगले विस्तार गर्ने योजना बनाए ।

बनेपास्थित धनेश्वर मन्दिरनजिक विदेश जानु पहिले नै किनेको जग्गा थियो । घर बनाए । त्यही दुग्ध संकलन केन्द्र स्थापना गरे ।

गाउँभरिको दूध अब त्यहीँ संकलन र प्रशोधन हुने भयो । दही, घ्यू, पनिरलगायत परिकार बनाउन थाले । अहिले बनेपामा डेरीका उत्पादनमा उनको एकछत्र राज छ भन्दा हुन्छ । अधिकांश दूधजन्य परिकार उनकै उत्पादन हुन् । बनेपावाहेक भक्तपुर, काठमाडौं र ललितपुरका डेरीमा पनि उनले आफ्नो उत्पादन पुर्याउने गरेका छन् ।

No description available.

विदेशमा छँदा बुझेको समयको महत्त्व र कामप्रतिको लगाव अहिले उनले पूर्ण रूपमा डेरी व्यवसायमा लगाएका छन् । फलतः व्यवसायबाट मनग्य आम्दानी पनि भएको छ । व्यवसायमा उनी एक्ला छैनन् । सिंगो परिवार नै समर्पित छ ।

उनकी श्रीमती, छोरी र छोराले समेत काममा सघाउँदै आएका छन् । नेपाल फर्किंएपछि आफ्नै घरमा दुग्ध संकलन तथा प्रशोधन केन्द्रले मात्रै नपुगेर घिमिरेले व्यवसायको ‘साम्राज्य’ विस्तार गरिसकेका छन् ।

अहिले बनेपाको गोदामचोकमा पनि उनले न्यू संकल्प दूध दही पसल सञ्चालनमा ल्याएका छन् । त्यस्तैगरी काठमाडौंको बानेश्वरमा उनले आफ्नै बुहारी (भाइको श्रीमती) र जगातीमा रहेको छोरीको पसलमा समेत दूध र यसका परिकारहरू पुर्याउँछन् ।

उनी र उनीजस्तै अन्य २६ उद्यमीहरूको लगानीमा संयुक्त डेरी एन्ड फुड कम्पनी पनि खुलेको छ । त्यहाँ भने आफ्नै दूध बोक्ने ट्यांकरले चितवन देखि दूध ल्याउँछ ।

बाबु-बाजेको बिडोलाई व्यवसायिकता

काभ्रेको नालामा जन्मिएका घिमिरेको गाउँघरमा धेरै छिमेकीहरू डेरी व्यवसायमा लागेका थिए । उनका बाबु–बाजेले पनि घरमै गाई–भैंसी पालेर दूध बेचे । आफू सानो हुँदा बुवाले ४० लिटरको दूधको क्यान बोकेको घिमिरेलाई हिजोजस्तो लाग्छ ।

बुझ्ने भएपछि घरको काम सघाउनका लागि उनले ४० लिटरको दूधको क्यान नालादेखि बनेपासम्म बोकेर पुर्याउँथे । यति ड्युटी नियमित सकाएपछि मात्रै स्कुल जान पाउँथे । पारिवारिक पेसा नै त्यही भएका कारण पछि डेरी व्यवसायमा संलग्न हुन सहज भएको उनी सुनाउँछन् ।

No description available.

‘डेरी व्यवसायबारे सानैदेखि ज्ञान थियो । त्यसमाथि अहिले त प्रविधि पनि विकास भएको छ,’ उनले भने, ‘अहिले प्रविधि र गुणस्तरका हिसाबले डेरी व्यवसाय केही सुधारिएको छ ।’

सानो आकारमा सुरु उनको व्यवसाय फैलिएर अहिले २ करोड हाराहारीमा पुगेको छ ।

इराक र कुवेतका आठ वर्ष

नेपालमा हुँदा घिमिरेले सुरूमा टेम्पो चलाए । टेम्पोबाट माइक्रो हुँदै ठूला गाडीका स्टेरिङमा हात राखेर उनले धूलो उडाउँदै यात्रुलाई सुरक्षितपूर्वक गन्तव्यमा पुर्याए । ड्राइभर पेशाबाट जेनतेन परिवार त पालिरहेका थिए । तर, लामो समयसम्म व्यवहार धान्न गाह्रो हुने देख्न थाले । अन्यौलको भविष्य, तिर्नुपर्ने चार लाख रूपैयाँ ऋण, तीन छोरी र एक छोराको सुन्दर भविष्यका लागि विदेशिने निर्णय गरे ।

No description available.

छोराछोरीको जिम्मेवारी श्रीमतीलाई सुम्पिएर उनी कुवेतको एक कम्पनीमा गाडी चालकको रूपमा छानिएर गए ।

कुवेत पुगेको केही वर्षपछि उनलाई इराक जान भनियो । उनले नाइँनास्ती गरेनन् । त्यतिबेला इराकमा दिनहुँ बमबारी हुन्थ्यो । अमेरिकी सेनाहरूले हरबखत स्कर्टिङ गरिरहेका हुन्थे । यस्तो त्रासको अवस्थामा गाडी चलाएर उनलाई इराकका कुना काप्चामा पुग्नुपथ्र्योे । इराकमा केही समय बसेपछि उनी फेरि कुवेत फर्किए ।

कुवेत र इराकमा आठ वर्ष बिताइसकेपछि उनलाई शरीरले पनि साथ दिन छाड्यो । आँखा चिलाउने र पायल्सको समस्याले विस्तारै गाँज्यो । उता घरमा पनि छोरा–छोरी र श्रीमती न्यास्रिने । यता आधामात्रै सञ्चो ज्यान लिएर काम गर्नुपर्ने । उनले सधैंका लागि नेपाल फर्किंने निर्णय गरे ।

कुवेतमा भाइ गुमाउँदाको पीडा

उनी कुवेतमा सवारी चालकको काम गर्थे । उनका भाइ गोकर्णले पनि उनकै कम्पनीमा आउने इच्छा राखे । उनले नै कम्पनीमा प्रस्ताव राखे । कम्पनीले पनि उनका भाइका लागि कुवेत आउन ढोका खोलिदियो । केही वर्ष दाजुभाइले एउटै कम्पनीमा काम गरे । उनले सधैंका लागि कुवेत छोड्दै गर्दा गोकर्णले निकै खल्लो मानेका थिए । भाइलाई पनि छिटै नेपाल फर्किंन भन्दै उनी नेपाल आए ।

त्यहाँ रहँदा भाइको पनि काम राम्रो थियो । आफ्नै कमाइले कार पनि किनेका थिए । अन्य ठाउँमा पनि काम गरेर अतिरिक्त कमाइ गर्थे । तर समय सधैं एकनास नहुने रहेछ । ०७६ असार २३ मा उनका भाइ गोकर्ण सडक दुर्घटनामा परी सधैंका लागि संसारबाट अलप भए । मृत्यपछि भाइका श्रीमती र छोराछोरीको हेरविचार गर्ने अभिभावकीय जिम्मेवारी उनकै काँधमा आयो ।

त्यसमाथि विदेशबाट भाइको शव ल्याउन पनि लामै कसरत गर्नुपर्यो । श्रम स्वीकृतिको अवधि सकिएको भन्दै श्रम मन्त्रालय तथा अन्य निकायबाट शव ल्याउनका लागि कुनै आर्थिक सहयोग नपाएको उनले गुनासो गरे ।

‘सडक दुर्घटनामा मृत्यु भएको भाइको परिवारले अहिलेसम्म दुर्घटना बीमा वा केही सहयोग पाएको छैन । श्रम मन्त्रालय गयो, परराष्ट्रको काम हो भन्छन् । परराष्ट्र गयो, दूतावासको काम भन्छन् । कता जाने, कसलाई भन्ने ? परिवार गुमाएपछिको चोट त छँदै छ, झनै चोट थपियो,’ विगत सम्झिँदै उनले गुनासो गरे ।

राजनीतिक अस्थिरताले व्यापार व्यवसाय गर्न गाह्रो

देशको अस्थिर राजनीतिक अवस्था, सरकारी संयन्त्र र अस्वस्थ प्रतिस्पर्धाका कारण स्वदेश फर्किएपछि पनि व्यापार व्यवसाय गर्न सहज नभएको उनी बताउँछन् । भन्छन, ‘विदेश जाँदा गरिरहेको काम अनि साथी संगति टुट्छ । ऊर्जाशील समय विदेशमै बित्छ । सरकारले विदेशबाट फर्किएकालाई आकर्षक योजनासहित सहुलियत कर्जालगायत योजना ल्याउँछ । तर कार्यान्वयनमा कोटा सकिएको भन्दै सामान्य किसान वा व्यवसायीहरूलाई यो सुविधा नै दिइँदैन ।’

कुरा केही समयअघिको हो । बैंकले महिला उद्यमी कर्जा दिने चाल पाएपछि उनलाई केही ऋण लिने सोच आयो । यसका लागि धेरै बैंकको ढोका चहारे । तर कतै कोटा सकिएको, कतै अझै कार्यन्वयन गर्न परिपत्र नआएको भन्दै ऋण दिइएन ।

No description available.

केही गरौं भन्ने उच्च मनोबलका साथ अघि बढ्दा आवश्यक सहयोग नपाएका गुनासाका चाङ बालकृष्णसँग छन् ।
घिमिरेको बुझाइमा नीति–निर्माण तहमा जबसम्म सानास्तरका व्यापारी प्राथामिकतामा पर्दैनन, तबसम्म ापहुँच नभएका कृषक र व्यापारीले सहुलियत कर्जा पाउँदैनन ।

समास्याको घेराबाट बाहिर नरहे पनि डेरी व्यवसायबाट उनी प्रसन्न छन् । समयमै ठीक निर्णय लिइएछ भन्ने उनलाई लागेको छ । अहिले घिमिरेको दैनिकी बिहान ४ बजेबाटै सुरु हुन्छ । बिहानैदेखि संकलन भएको दूध र त्यहाँ उत्पादन भएका दुग्ध परिकार काठमाडौं, भक्तपुर पुर्याउने, बनेपाको पसल चलाउने, दूध संकलन र प्रशोधन गर्नमै उनको दिन बित्छ । सबै काम आफूले भ्याउँदैनन् । त्यसैले सपरिवार नै यसमा लागेका छन् ।

विदेशको बसाइले उनलाई सिकाएको पाठ हो, ‘कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन । देख्नलाई सजिलो काम गर्न भने गाह्रो हुने उनको अनुभव छ ।

आफैंले गरिरहेको डेरी व्यवसायमा धेरै चुनौती भएको बताउँछन् उनी ।

No description available.

किसानलाई दूधको उचित मूल्य दिनु, उनीहरूबाट लिएको दूधलाई तापक्रमको मात्रा मिलाएर प्रशोधन (दूध उमालेर चिस्याउने) गर्नु वास्तबमै गाह्रो काम भएको उनको बुझाइ छ । त्यसमाथि सबैभन्दा चुनौतीपूर्ण कुरा त, आफ्नो उत्पादनको गुणस्तरलाई कायम राख्नु भएको उनी बताउँछन् । यो चुनौतिपूर्ण व्यपारको पनि गुणस्तर टिकाउने एउटै सूत्र भनेको पारिवारिक सहयोग भएको उनले बताए । ‘परिवारको सहयोग भएमा र निरन्तर मिहिनत गरेमा व्यापार–व्यवसायमा टिक्न सकिन्छ,’ उनले भने, ‘विदेशमा हामी १२–१३ घण्टा खट्छौ, यहाँ पनि त्यस्तै खट्न सके जीवन निर्वाहका लागि कठिन छैन ।’

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८, ०९:४९:००