NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कहाँ होलान् ती बुढा टाँगावाला ?

साहित्यकार सनत रेग्मीकाे बाल्यकालीन नेपालगञ्ज स्मृति

नगरपालिकाले फुटपाथमा व्यापार गर्न दिन छाडेपछि भने सटरतिर सरेको छ । साँझपख भने सडकमा ठेलामा चाट बेच्नेहरू हुन्छन् ।

यसरी लाग्ने बजारमा भारु पैसा पो चल्थ्यो । त्यो बेला एक, दुई आनादेखि आठानासम्मका पैसा हुन्थे । मेरो सम्झनामा २०१७/०१८ सालसम्म यहाँ भारु पैसा नै चल्थ्यो । त्यो बेला बजारमा भारु कम भइदियो भने नेपाली पैसा नचल्ने, भारु बढि भइदियो भने १०/१२ आनासम्ममा भारुको खरिद विक्री हुन्थ्यो। ०१९ सालमा सरकारले भारुको दर तोकेर मुल्य स्थिर गरिदियो ।

मैले नारायण हाइस्कूलमा पढेको हुँ, जुन अहिले पनि छ । तीन, चार कक्षा पढिन्जेल हामी घरबाट बोरा बोकेर स्कूल जान्थ्यौं । त्यही बोरामा बसेर पढिन्थ्यो । लेख्नलाई काठको एउटा तख्तीलाई घोटेर चिल्लो बनाइएको हुन्थ्यो । त्यो काठको पाटी पनि घरबाटै लगिन्थ्यो । खरी घोलेर बनाइएको मसीमा बासको कलम चोपलेर लेख्ने गरिन्थ्यो । कहाँ आजको डिजिटल पढाई कहाँ त्यो कालो पाटी !

प्रकाश शमशेरको वर्षाती
म २००४ सालमा जन्मेको रहेछु । म जन्मिनु पहिले यहाँ झिँगटीका छाना भएका घरहरू थिए रे । नब्बे सालको भुइचालोमा धेरै घरहरूको झिँगटी छाना भत्किए । त्यसपछि मानिसहरूले चुनासुर्कीको छत हालेर बसे । त्यो बेला नेपालगञ्जमा बर्षा थिएन । तत्कालिन बडाहाकिम प्रकाश शमसेर (देव शमशेरका छोरा) घुमघाममा लखनउ गएका रहेछन् । त्यहाँ उनले पानी पर्दा ओत लागेर हिड्ने पक्की छानावाल बर्षाती देखेछन् । उनलाई लागेछ, यस्तै वर्षाती भए त हाम्रा रैतीले पनि सुख पाउँथे ।

उनले आएर नियम लगाए, ‘सबैले आफ्नो घरको अगाडि वर्षाती खडा गर्नु ।’ शासकको आदेश उलंघन गर्ने कसको हिम्मत । सबैले घर अगाडि वर्षाती बनाए । हामी सानो छउन्जेल बर्खामा त्यही वर्षातीमुनिबाट छेलिएर हिड्थ्यौं, भिज्नु पर्दैनथ्यो । पछि दुकानदारहरूले आ–आफ्नो अगाडिको सडक पनि कब्जा गरी वर्षातिमुनि पसल विस्तार गरे । बटुवाले भिजेर हिड्नु पर्ने स्थिति पैदा भयो । दुई/तीन अघि मात्रै सडक विस्तार गर्ने क्रममा त्यही वर्षाती भएको भाग भत्काएर सडक चौडा गरिएको छ ।

मुस्लिम आमाको अवधि लोरी
अवधि भाषी यहाँका रैथाने जाति हुन् । यहाँको समाजमा अवधि भाषा र संस्कृतिको ठूलो प्रभाव छ । मुस्लिमहरू पनि यहाँका आदिवासी नै हुन्। नेपालगञ्जमा अवधि भाषाको प्रभाव कतिसम्म छ भने मुस्लिम महिलाहरू पनि बच्चालाई अवधिमै लोरी सुनाउँथे । घरमा नातागोतालाई गरिने सम्बोधन र कुरानसम्बन्धि धार्मिक प्रार्थना उर्दुमा गर्थे । सांस्कृतिक गतिविधि मुस्लिम धर्म अनुसार नै मान्छन् । तर, बच्चा जन्मिदा होस् वा बिहेबटुलोमा गाइने लोकगीतहरू अवधि भाषामा हुन्थे । सञ्चारको भाषाको रुपमा अवधि नै बोल्थे । यद्यपी राणाकालदेखि नै उर्दुको महत्व थियो ।

त्यो बेला यहाँतिर मुस्लिमका जानकारहरू नै कम थिए । तर तत्कालिन शासकबाट मुन्सी जस्ता राम्रा पद पाउन उर्दु जान्नु जरुरी थियो । ती केही भारत गएर पढेर फर्कन्थे र तिनैले आफ्ना घरमा पनि सिकाउँथे। राणा शासकहरूले भारततिर सम्पर्क गर्न पनि उर्दु भाषी मुन्सी राखेका थिए । समय क्रमसँगै उनीहरू भारतको लखनउतिर गएर उर्दु लिपी लेख्न सिकेर आए । त्यताबाट फर्किएकाहरूले उर्दुमा गजल लेख्न र गाउन थाले । उर्दु लिपी लेख्न नजान्नेहरू भाषा उर्दु राखेर देवनागरी लिपीमा गजल लेख्थे, सुनाउँथे ।

उर्दुभाषी गजल धार्मिक सन्देशमुलक हुन्थ्यो । नात भन्ने हुन्थ्यो । २०१५ सालमा यहाँ बज्मे अदब भन्ने संस्था खुल्यो । फारुख मोहम्मदको पहलमा उक्त संस्था खुलेको थियो । त्यो संस्थामार्फत् चाहिँ अलिकति सामाजिक मुद्दाहरूमाथि पनि गजल लेख्ने चलन शुरु भयो । अहिले यो शहर गजलको शहर भएको छ। यहाँ धेरै पुराना, नयाँ श्रष्टाहरू गजल लेख्नुहुुन्छ। लामै इतिहास भएपनि उर्दु लेखिने गजल अझै निर्माण कालमै छ।

यहाँ उर्दुका ठूल्ठूला मुसायरा पनि भएका छन् । पारी नानपारा, बहराइच, लखनउबाट पनि सायरहरू आउने, यहाँकाले पनि गाउने । गजलको त्यही परम्परा अवधि हुँदै नेपाली भाषासम्म आइपुग्यो । अहिले यहाँ मुसलमान र हिन्दु दुवै धर्म सम्प्रदायका श्रष्टा गजल लेख्न थाले ।
हालकाे रानी ताल
हालकाे रानी ताल । तस्वीर साैजन्य : कपिल अञ्जान

बगियाको शहर
उहिले त यहाँ बगिया नै बगिया थिए । ती बगियामा दगुर्दै आँप चोर्न जाने साथीहरू अहिले कहाँ–कहाँ होलान् ? हिसाब लाउन खोज्छु । उमुख गर्मीमा पश्चिमी बतासको एक झोंक्का आएजस्तो बाल्यकालिन सम्झनाका पानाहरू पल्टिदै जान्छन् । बगियै बगियाका यो शहर, हामी एउटाबाट अर्को बगिया चाहाथ्र्यौं । कतै आँप, कतै बडहर ! जिब्रोमा झुण्डिने स्वाद सम्झेर आज पनि मुख रसाउँछ ।

उबेला माथि पहाडबाट बजार भर्न यतै झर्थे । पहाडे हटारुले भर्ने बजार प्रायः दैलेखी बगिया र सल्यानी बगियामा लाग्थ्यो। त्यतै बसेर व्यापार गर्थे । त्यसरी उनीहरूको सानोतिनो व्यापार चलेको थियो । दुई चार जना ठूला व्यापारी थिए। उनीहरू घिउ, सुठो र जडिबुटी भारततिर निर्यात गर्थे । तिनै ठूला व्यापारी मध्ये एकजना कृष्णगोपाल चन्दन जी हुन् । सच्दिानन्द चौवेका पूर्खाहरू राजधानीबाट आएर रायबरेलीबाट घिउको व्यापार गर्दथे । राजेश जैनका पितापूर्खाहरू पनि यही सोही व्यापारमा थिए ।

मान्छे डुब्ने ‘घिउ कढाई’
मनभरी खजमजिएर बसेका सम्झनाको चाङबाट फुत्त एउटा पत्ता बाहिर आयो। यसमा ‘घिउ कढाई’को बडो गज्जब कहानी छ। त्यो बेला नेपालगञ्जमा पहाडबाट टिनका टिन घिउ आउँथे। पहाडबाट खसानेहरू घिउका टिन बोकेर नेपालगञ्ज आइपुग्थे । घिउ खार्न ‘चोक बजार’मा स्थानीय घिउ व्यापारीको निकै ठूलो कढाई थियो। करीब आठ फिट गहिराई, छ फिट व्यास भएको त्यो कढाईमा मजस्तो मानिस एकजना डुबेर मेरामाथि अर्को उभिन मिल्थ्यो । कढाईको मुनिपट्टि ईंटाको ठूलो चुल्हो हुन्थ्यो, जसमा सिंगै मुढा जोतेर आगो बालिन्थ्यो। कढाईमा पहाडबाट झारिएको टीनका टीन घिउ खारेर भारत निर्यात गरिन्थ्यो ।

घिउको सिजन सकिएपछि कढाई खालि हुन्थ्यो । धेरै ठूलो आकारको हुँदा त्यो कढाई यताउति सार्न मिल्दैनथ्यो सायद, सँधै त्यही सडक किनारमै हुन्थ्यो । घिउ खारिरहेको बेला केटाकेटीलाई वरीपरी जान मनाही थियो । परैबाट हेर्दा नि कढाईबाट उठेको धुवाको राग डरलाग्दो हुन्थ्यो । त्यही डरलाग्दो कढाई होलीका बेला हामी केटाकेटीका लागि पौडी पोखरी जस्तो हुन्थ्यो । मानिसहरूले कुवाबाट ओसारेस कढाईमा पानी खन्याएका हुन्थे । पानीका रंगहरू हाल्यो अनि कढाईमा पसेर साथीसाथी चोपलियो । हामी केटाकेटीका लागि त्यो कुनै तलाउमा पसेर डुबुल्की मारे झैं रमाइलो हुन्थ्यो।

एकलइनी विस्तार
नेपालगञ्ज उद्योग व्यापार संघको कार्यालयको सामुन्ने एउटा गल्ली थियो । एकलाइनको सोझो गल्ली विस्कोरियन टोलको समाप्ती हुने ठाउँतिर जोडिन्थ्यो । पछि सोही गल्लीमा विसं. १९४२ को आसपासमा बसाइएको त्यो गल्लीलाई एकलइनी बजार भनिन्थ्यो । सदर लाइनबाट एकलइनी जोड्ने गल्लीको मुखमै भारतबाट आएका सिपाहीलाल हलुवाईको मिठाई पसल थियो । उनको दुकानको बगलबाट गएको हुनाले गल्लीको नाम नै सिपाहीलाल गल्ली भयो । गल्लीमा पनि क्रमशः बस्ती बढ्न थाल्यो र एकलइनीमा जोडियो । हुँदाहुँदा त्यो बाटोको नाम ‘एकलइनी जाने बाटो’ भयो । लामै समय त्यो बाटोलाई सोही नामबाट जानिए पनि पछि बोलिचालीमा सजिलो हुने गरी एकलइनी भन्न थालियो । समय क्रमसँगै पछिल्लो समयमा त यहाँ दुई लाइन बजार विस्तार भयो, तै पनि नाम एकलइनी नै हो । अहिले कौवाखानी टोल हुँदै हाम्रो घर गगनगञ्ज टोलसम्म आएको गल्लीलाई पनि एकलइनी नै भन्छन् । एकलइनीमा शुरुवाती कालदेखि नै व्यापार गर्ने निकै भिड हुन्थ्यो ।

नेपालगञ्जमा दुइटा चल्तीको शब्द छन्, ‘हटारु र खसियारी’ । यी शब्द यहाँभन्दा बाहिर खासै प्रयोग हुँदैन । यसको नाममा हटारु होटल पनि खुलेको थियो । एकलइनीमा ती हटारुको खुब भीड हुन्थ्यो ।

ऐतिहासिक कठमहल
रानी तलाउको इतिहास नेपालगञ्जको जन्मसँगै हुन्छ । बजार बसाएको उपलक्ष्यमा तलाउ खनाइएको रहेछ । तलाउको किनारामा रहेको कठमहलमा लोकभक्तेश्वर महादेवको मन्दिर बनाइयो । त्यो पशुपतिनाथ जस्तै प्यागोडा शैलीमा निर्मित रहेछ, नब्बे सालको भुइचालोले भत्कियो । पछि गुम्बजशैलीमा मन्दिरको पुनःनिर्माण गरिएछ । बागेश्वरीको जुँगे महादेवभन्दा पनि पुरानो मन्दिर यही हो । तत्कालीन बडाहाकिमको घरपछि पहिलो सरकारी कार्यालय पनि त्यही थियो– कठमहल १ । विसं. १९३९ मा सुब्बा पद्मनाभ र उनका छोराले मिलेर यो नगर पूर्णरूपमा बसाए।

मेरो बाल्यकालिन आँखाले देखेका सानो ‘वस्ति’ नेपालगञ्ज महानगर बनिसकेको छ। त्यससमयको आँप बगैचाहरू, खेतखलिहानमाथि घरैघर उभिएका छन्। वाटर फाउण्टेन पार्कहरू बन्दै छन्। हामी सानो ठाउँमा जताततै खेल्ने चौरहरू हुन्थे । अब बजारभित्र त त्यस्तो खुला खेल्ने ठाउँ खासै बाँकी रहेन । तर, अहिलेका केटाकेटीका लागि व्यावसायिक ‘फनपार्क’ बनेका छन् । मेरो बाल्यकालमा देखेको कुचुक्क परेको नेपालगञ्ज टाढाटाढासम्म फैलिसकेको छ । मलाई लाग्छ, अहिले साइकलमा घुम्ने हो भने दुई÷तीन घण्टा लाग्ने भइसक्यो । उसो त मेरो साइकल चढ्ने सोख अहिले पनि उस्तै छ । प्राथमिक तह पढिन्जेल पैदल हिडेर विद्यालय जान्थें । त्यसपछि मैले बुबाको साइकल पाएँ, त्यो चढेर म बाँके गाउँमा ट्युसन पढ्न जान्थें । त्यो बेला निकै टाढा लाग्ने बाँके गाउँ अहिले त हिड्दा पनि नजिकै जस्तो लाग्छ । अहिले मसँग त्यो साइकल छैन ।

अँधेरी बगिया
उहिले गुरुजीहरूको पिटाई नखाई पढाई नै हुँदैनथ्यो । मैले पनि बेलाबेला त्यसरी पिटाई खानु पर्थ्याे । कहिलेकाँही हामी गुरुजीहरूको पिटाईबाट बच्न विद्यालयबाट भाग्थ्यौं विभिन्न बगियातिर खेल्न पुग्थ्यौं। पश्चिम इदगाहा, दैलेखी बगियातिर जान्थ्यौं । बाँके बगिया घुमेको सम्झना त आज पनि ताजै छ । त्यहाँ भारतबाट आएका कलाकारले रामनवमी ताका रामलिला हेर्न निकै मज्जा लाग्थ्यो ।

हामी सानो छँदा हजुरआमाले एउटा उखान सुनाउनुहुन्थ्यो, ‘अँधेरी बगिया नजाओ, बडका सियार… ।’ सोही बगियामा आँप, लिची, बडहर लगायत धेरै फलफूलको यति घना रुखहरू थिए कि दिउँसै अँध्यारो जस्तो हुने । रुखबाट जताततै फलफूल झरेका हुन्थे, टिपेर बेस्सरी खान्थ्यौं । त्यतिबेलाका साथीहरू अब कहाँ होलान् त्यो दिन अब कहाँ पाउनु, न त अँधेरी बगिया नै रह्यो ।

पुरैनीतिर पुरैनी बगिया थियो। त्यहाँ महादेवको मन्दिरमा एक बाबाजी पनि बस्थे । त्यहाँ मेला लाग्थ्यो । मलाई सम्झना भए अनुसार बजरंग बहादुर श्रीवास्ताव तत्कालिन जिल्ला पञ्चायत उपसभापति थिए, उनले हाम्रो टोलको दिदीसँग विवाह गरेका थिए। उनीहरू बसोबास गर्ने लालपुर (हाल उदयपुर)मा उमराव सिंह (जमिन्दारका अत्याचारका विरुद्धमा लड्ने) नामका ऐतिहासिक पात्र बस्थे। उनकै नामबाट त्यस ठाउँलाई उमरसावसिंह पुरवा पनि भनिन्थ्यो । हामी साथीहरू मिलेर खेल्दैखेल्दै कहिलेकाँही दिदीको घरसम्म पुग्थ्यौं। उनले पनि माइतीका भाइहरू आए भनी मिष्ठान्न भोजन खुवाउँथिन् ।

सद्भावको शहर
नेपालगञ्ज सद्भावले गाँसिएको शहर पनि हो। यहाँ हिन्दु, मुस्लिम, क्रिष्चियन लगायत विविध धार्मिक सम्प्रादयको बसोबास छ। हिजैदेखि हिन्दु र मुस्लिम बीच पनि एकदमै सौहार्द सम्बन्ध थियो । कहिलेकाँही नागरिकको तहमा धार्मिक मुद्धाहरूमा वादविवाद हुने दंगा फसाद उठ्ने पनि गर्छ। तर विद्वेषको धुँवा धेरै माथिसम्म उठ्न नदिई सहिष्णुता कायम गर्नु यहाँको महत्वपूर्ण विशेषता हो। त्यस्ता विवाद वा विद्वेषको झिल्को उठ्यो भने यहाँका पण्डित, मौलाना र पादरी एक ठाउँ बसेर तुरुन्तै सुल्झाउँछन् । यो भूमि सबैको हो, आ–आफ्नै तरिकाले जिउने अधिकार पनि सबैलाई छ । यो सद्भावको न्यानो बाँडेर उभिएको छ नेपालगञ्ज ।

यसरी एउटा सानो वस्तिबाट नेपालगञ्ज अहिले त मध्य र सुदुरपश्चिमको केन्द्र नै बनेको छ । एक्का र टाँगा हराउँदै गएको शहरमा अचेल ठूला बाटाहरू छन्। मान्छेका सपना फेरिएका छन्, काम गर्ने शैली र तरिका फेरिए । तर आफूले भोगिआएको समयको याद, ती बगियाहरू, हटियाहरू, खेतका मेड र बर्षातेहरू आज पनि मेरो सम्झनामा ताजै छ । उखुम गर्मी भएपनि, शितलहरले समाते पनि मलाई दुनियाँकै सुन्दर शहर लाग्छ नेपालगञ्ज ।
हालकाे नेपालगञ्ज । तस्वीर : कपिल अञ्जान
हालकाे नेपालगञ्ज । तस्वीर साैजन्य : बिपिन बाबु खड्का

(रेग्मी नेपालगञ्जको इतिहासमाथि किताब लेखिरहेका छन्)

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८, १६:१५:००