NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रेजिनाले देखेको बहराइनको जूनतारा

दिनभरिको कामको थकानले लखतरान छ रेजिना छिनालको ज्यान । कौशीमा बसेर उनी बहराइनको आकाशतिर हेर्छिन् । जून झुल्केर केही माथि आएको छ, ताराहरु टहटह लागेका छन्।

उनलाई लाग्छ, काठमाडौं बसेर आमाबुबाले हेर्ने ताराजून पनि यही त हो । देश छोडेको साढे चार वर्ष भएछ, उनको मन भने उडेर काठमाडौं पुग्छ । मन उडे पनि उनी भने कहिलेकाहीँ निद्रा नलाग्दा रातको दुई-तीन बजेसम्म जूनतारा नै हेरिरहन्छिन् ।

घर सम्झिन थालेपछि उनलाई अहिल्यै देश फर्किहालौं जस्तो लाग्छ । तर, परिवारका लागि आर्थिक उपार्जन गर्नु उनको वाध्यता छ । त्यहीं बसेर उनी आफ्ना पुराना दिन भने सम्झिरहन्छिन् ।

रेजिनाको पुख्र्यौली थलो गोरखा घैरुङ हो । उनी जन्मनुअघि नै बुवा–आमा काठमाडौं आएका, यतै घरजम पनि गरेका रहेछन् । खासमा उनकी दिदीले जन्मेको ५ दिनमा तेल लगाउँदालगाउदै जीवन गुमाइन्। भूतप्रेत लागेको भन्ने अन्धविश्वासका कारण उनकी दिदीले अस्पतालको मुख देख्न नपाई ज्यान गुमाइन् । नवजात छोरी गुमाएपछि विरक्तिएका उनका बुबाआमा काठमाडौं बसोबास गर्न थाले । यसरी रेजिना र उनका भाइबहिनीको जन्मस्थल काठमाडौं बन्यो ।

उनका बुवा काठमाडौंमा लुगा सिलाउनु हुन्थ्यो । कोरोनाअघिसम्म बुवाको काम राम्रै थियो, तर कोरोनाले बुवाको काम खोस्यो । आमाले घरव्यवहार सानो छोरोको रेखदेख गरी बचेको समयमा टोपी बुुनेर केही पैसा कमाउँछिन्।

एउटा भाइ र दुई बहिनी पढाउने र घरखर्च चलाउने जिम्मा उनकै छ । काठमाडौंमा डेराको बसाई, नुनदेखि पानीसम्म, तरकारीदेखि लत्ताकपडासम्म किन्नु पर्ने, महंगी पनि त्यस्तै । उनलाई काठमाडौंमा अवसरभन्दा चुनौति छ भन्ने लाग्थ्यो । उनी भन्छिन्, ‘गरिब भएकाले होला हामीलाई ऋण पनि हत्तपत्त नपत्याउने।’

विदेशिइन् उनी

रेजिना नेपाल छँदा पढाईसँगै ट्राभल एजेन्सीमा जागिर गर्थिन्। उनको मासिक तलब ८ हजार हुन्थ्यो । पहिलो महिनाको तलबले मोबाइल फोन किनेकी थिइन्। नेपालको कमाइ आज थाप्यो, भोलि सकिने, बचत नै नहुने। केही आफन्त र साथीसंगीको सुझाव थियो, पैसाको बचत गर्न विदेश जानुपर्छ। देशमै बस्ने मन भएपनि उनी परदेश लागिन् ।

नेपाल छँदा रेजिना ट्राभल एजेन्सीका साथै म्यानपावरमा पनि काम गर्थिन् । त्यहींबाट बहराइनको एउटा कम्पनीमा ‘सेल्स गर्ल’को आवश्यकता भएको थाहा पाइन् । खाइबसी ५० हजार तलब पाउने, उनले आवेदन गरिन्।

परिवारका लागि विदेशिने अठोट बोकेर अन्तरर्वार्ता दिन गइन्। सामान्य अंग्रेजीमा लिइएको अन्तर्वार्तामा छानिइन् । यतिबेरसम्म उनीसँग राहदानी थिएन। राहदानीका लागि सिफरिस लिन गोरखा गईन्। काठमाडांै फर्केर राहदानी लिएसँगै एक हप्ते अभिमुखिकरण तालिम पनि लिइन्। मेडिकल पनि गरिन्। श्रम स्वीकृतिको लागि आफंै श्रम विभाग पुगिन्। त्यहाँ पनि केही प्रश्नोत्तरको सामना गरिन्। राहदानी बनाउनदेखि म्यानपावरमा बुझाउँदासम्म उनले एक लाख रुपैयाँ खर्च लाग्यो । त्यो रकम उनले ऋण खोजेर जोहो गरेकी थिइन्।

खाडी गए विवाह हुनै गाह्रो

बहराइन जान एक लाख रुपैयाँ जुटाउन पर्ने भयो, उनी ऋण खोज्न लागिन्। उनलाई धेरैले ‘कहाँ जाने ?’ भनेर सोधे । खाडी मुलुक जान लागेको भन्ने थाहा पाएर धेरैले उनको कुरा काटे। बुबाआमालाई केही आफन्तले भनेछन्, ‘यस्ता देशमा गए विवाह नभएकी छोरी बिग्रिन्छे।’ तर उनलाई लाग्यो, ‘नेपाल, यूरोप, अमेरिका जहाँ बसेपनि बिग्रिने–नबिग्रिने आफैंमा निर्भर हुन्छ।

बहराइन आएपछि थाहा भयो, यो महिलाका लागि सुरक्षित देश रहेछ । हामी रातिको १२ बजे कामबाट फर्किदा पनि सुरक्षित नै छौं। आफ्नो दुःख सम्झेर काममा दत्तचित्त भए जहाँ गए पनि राम्रो हुन्छ।’

रुँदै पुगिन् बहराइन

साँझका ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार साथीहरुहरुसँग बिदा मागेर उनी विमान चढ्न डिपार्चरतिर लागिन्। वैशाखको दिन गर्मी हुनुपर्ने, उनलाई भने हुरी चलेजस्तो लागिरहेथ्यो, मन त्यसै भारी। यूनाइटेड अरब इमिरेट्स(यूएई)को सारजहाको ८ घण्टा ट्रान्जिट हुँदै बहराइन पुग्नु थियो।

घरकी जेठी छोरी परदेशिन थालिन्, रोएरै थाकेकी आमा उनलाई विमानस्थलसम्म बिदाई गर्न पनि आउन सकिनन् । मामा–माइजु, बुवा–भाइलगायत धेरै जना विमानस्थल छोड्न आएका थिए । १३ जना महिला साथीहरु एउटै कम्पनीमा जाँदै गरेकाले उनलाई केही सहज त भयो।

तर परिवार, खासगरी आमाको यादले यात्राभर आँखा ओभाएन । त्यो यात्रा सम्झदै उनी भन्छिन्, ‘सँगै सिटमा बसेकी साथी पनि रोइरहेकी थिइन्, म पनि । हामी एकार्का हात समातेर बसेका थियौं । दुवै जना धेरै बोल्न सकिरहेका थिएनौं, तर हाम्रा आँखाहरुले सोधिरहेका थिए– कस्तो होला त्यो नयाँ देश ? अब कहिले फर्कने होला स्वदेश ?’

बहराइनको काम

उनीहरु बहराइन उत्रिँदा मध्यान्ह भएको थियो। लामो उडान र ट्रान्जिटले रेजिनालाई अनिँदो र थकान बोध भएको थियो। बहराइन त उमुख गर्मी रहेछ, विमानबाट बाहिर निस्कदा उनलाई आगोको भुंग्रोमा हाम फालेजस्तो तातो लाग्यो। विमानस्थलमा कम्पनीका चालक गाडी लिएर पर्खिरहेका रहेछन्।

चालकले नै कम्पनीमा साहुलाई भेटाए। उनीहरुले दुई दिनको आराम गर्न बासस्थान पु¥याए। काम सुरु भएपछि उनलाई साँच्चै विदेश आएजस्तो लाग्यो । कम्पनीसँग १२ घण्टा काम गर्ने शर्त (कन्ट्र्याक्ट) थियो। आउजाउ गर्न दुई घण्टा, १४ घण्टा जति त काममै बित्थ्यो। तर हप्ताको एक दिन छुट्टी मिल्थ्यो ।

तलब पनि नेपालमा भने जस्तै १ सय ८० बहराइन दिनार (करिब ५३ हजार नेपाली रुपैयाँ) थियो । उनले आफ्नो करार सम्झौताअनुसार नै सबै कुरा पाइन् । काम चाँही बजारमा सामान बेच्ने र हिसाब राख्ने थियो। पहिलो दिन ग्राहकसँग बोल्ने तरिका र त्यहाँको पैसा पहिचान गर्न सिकिन् ।

पहिलो तलबले ऋण तिर्दा

बहराइन जाँदाको ऋणले उनलाई पोलिरहेको थियो । तर, ५०-५५ हजार रुपैयाँ तलबले पहिलो महिना नै तिर्न त सकिन्नथ्यो । उनले सँगै बस्ने दुई जना साथीसँग सापटी लिइन् र नेपाल पठाइन् । ऋण पनि तिरियो, घरखर्च पनि ट¥यो।

उनले आफैं काम गर्ने कम्पनीको उत्पादनको विज्ञापनमा मोडेलिङ गर्ने अवसर पाइन् । उनी भन्छिन् ‘प्रतिभा भए जहाँ रहेपनि सम्मान पाइने रहेछ ।’

कामका हिसाबले उनको भोगाई राम्रै रहेपनि उनी सकेसम्म विदेश नआउन सुझाउँछिन् । ‘अझ घरेलु कामदारका रुपमा महिलाहरु त सकेसम्म आउनै हुन्न। आउनै परे पनि भाषाको जानकारीसहित कम्पनी, कामबारे राम्रोसँग बुझेर वैधानिक बाटोबाट मात्र आउनुपर्छ।

कम्पनीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने हो भने बहराइनमा पनि राम्रो छ।’ तर साथीहरुबाट सुनेकी छन्, बहराइनमै कतिपय कम्पनीमा बिरामी हुँदा छुट्टी नपाउने अवस्था पनि छ। बिरामी बिदा स्वीकृत गराउनै पर्ने, काममा समयलाई अत्यन्तै ख्याल गर्नु पर्ने रहेछ।

खान र सुत्नलाई समय नै नपुग्ने। तर सुरक्षाको र अन्य प्रणालीहरुको हिसाबले बहराइन धेरै राम्रो रहेछ भन्ने उनलाई लाग्छ। त्यहाँ बस्दै जाँदा उनका निकै विदेशी साथी पनि बनेका छन्। उनीहरुबाट उनले नयाँ कुरा सिक्ने मौका पाएकी छन्।

तर, कतिपय नेपालीको नै एकार्काको खुट्टा तान्ने प्रवृत्ति देख्दा भने दुःख लाग्छ। कहिलेकाँही आफूले नगरेको गल्तीमा पनि भनाइ खाँदा र कामका बेला नयाँ मान्छेको गाली पाउँदा भने दिक्दारिन्छिन्।

गोरखामा घर बनाउँदै

खाडी मुलुकको कमाईले बुबा–आमालाई भरथेग गर्न पाएकोमा उनी गर्व गर्छिन्। ‘जेठी छोरी भएकाले मेरो बढी जिम्मेवारी छ, बुवा–आमाको दुःखमा जेठो छोरोको भूमिका निर्वाह गरिरहेकी छु । भाइ–बहिनी पढाई खर्च र घरको आर्थिक कारोबार मैले नै धानिरहेको छु। आमाबुवाको खुसी मेरो खुसी हो।’ अहिले उनकै कमाईले गोरखामा घर बन्दैछ । आफ्ना सबै सपना पूरा नभएपनि केही पूरा भएकोमा उनी खुशी छन् ।

सम्झनामा घर

घरको सम्झना त सँधै हुन्छ । तर, बिरामी हुँदा उनलाई आमाको धेरै सम्झना आउँछ । ‘आमा भएको भए स्याहार पाइन्थ्यो जस्तो लाग्छ, यहाँ त भ्याए साथीहरुले गर्ने हो, तर सबै आ–आफ्नै काममा व्यस्त हुन्छन् । आफ्नो ख्याल आफैं राख्नुको विकल्प छैन ।

घरकी जेठी छोरी । बुवा–आमाले हरेक चाडबाडमा उनीलाई सोध्थे, सकेको माग पूरा गरी दिन्थे । रेजिना यतिबेला बहराइनमा एक्लै छिन्। चाडपर्वको बेला के खाइस–के गरिस् भन्ने कोही हुन्न। उनी भन्छिन् ‘दशैं–तिहार–तीज जस्ता चाडपर्वमा सबैले परिवारसहितको रमाइला फोटो राख्छन्।

त्यस्तो बेला त म फेसबुक पनि खोल्दिनँ । प्रत्येक चाडबाड त म रोएरै बिताउँछु।’ पहिलो वर्ष चाँही चिनजानको दिदीहरुसँग रमाईलो नै भयो, त्यसपछि त सधैं कामकै तनाब, समय मिलाउनै सकिन्न ।

नृत्यदेखि मोडेलिङसम्म

रेजिना नेपाल हुँदादेखि नै नाँच्न मन पराउँथिन्। गीत त बज्नै नहुने, नाँचिहाल्नु पर्ने । रेजिना भन्छिन् ‘मैले बिष्णु माझीको एउटा गीतमा अभिनय पनि गरेँ। तर रहर भएर मात्र नहुने रहेछ, बाध्यताले पढाई पनि बीचमै छोडियो, कलाकारिता पनि ।’

कामको व्यवस्तताकै बीचमा उनी गोरखा समाज बहराइन, अन्तराष्ट्रिय बहराइन कलाकार संघ, जनप्रगतिशील मञ्च बहराइनलगायत सामाजिक संस्थामा आवद्ध छिन्। यहाँ हुने सांस्कृतिक कार्यक्रममा उनी समय मिलाएर पुग्छिन्। नेपाली दुतावास, एनआरएन, नेपाली समाज बहराइनलगायतले पनि उनलाई नाँच्न बोलाउँछन्। कलालाई भूगोल र भाषाले छेक्दैन।

नेपाली पोशाक लगाएर बहराइनमा नाँच्न पाउदा उनलाई खुशी लाग्छ। कति विदेशीहरुले पनि उनको नृत्यलाई मन पराए। उनले आफैं काम गर्ने कम्पनीको उत्पादनको विज्ञापनमा मोडेलिङ गर्ने अवसर पाइन् । उनी भन्छिन् ‘प्रतिभा भए जहाँ रहेपनि सम्मान पाइने रहेछ ।’

कोरोनाको कहरमा झन दुःख

कम्पनीमा काम राम्रै चल्दै थियो । अकस्मात् कोरोना भाइरसले विश्वलाई आतंकित बनायो। काम रोकियो, उनीहरु चार महिना घरै बसे । परदेशको बसाई, आम्दानीको बाटो रोकिएपछि छटपटी त हुने नै भयो। महामारी रोकिने छाँटकाट थिएन।

साथीहरुसँग मिलेर अर्को काम खोजें। अन्ततः बहराइनको अन्तरराष्ट्रिय विमानस्थलमा काम मिल्यो, तलब पनि बढी पाइन् । पहिलेको साहुले अर्को कम्पनीमा जाने र काम गर्ने अनुमतिसहित राहदानी दिए । तर अझैसम्म दुई महिनाको तलब र चार वर्ष काम गरेको उपदान भने पाउन बाँकी नै छ । रेजिना भन्छिन्, ‘आशा छ, साहुले दिन्छु पनि भनेका छन् । हेरांै के हुन्छ, हात नपरेसम्म के भर !’

विवाहको योजना छैन

रहदै बस्दा बहराइनमा निकै समय बित्यो । रेजिना अविवाहित हुन् । घर–परिवार र आफन्तबाट विवाह गर्नुपर्ने दबाब आउन थालेको छ । तर उनको अहिले नै विवाह गर्न तत्कालै सधैंको लागि नेपाल फर्किने विचार छैन। तर उतै बसेर पनि उनी नेपाल एउटा व्यवसाय गर्न चाहन्छिन्।

‘अब यो महामारी टुंगिए हुन्थ्यो । राम्रो दिन आयो भने नेपालमा ट्रेकिङ व्यवसाय गर्ने योजना छ। म सँधैको लागि नेपाल बसुँला÷नबसुँला, बुवा–आमालाई सानो आम्दानीको श्रोत बनाउन सके खुशी हुन्थेँ ।’

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८, १८:२९:००