NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पेटानीवाली थरुनीको सिद्राको ढकिया

साहित्यकार दधिराज सुवेदीको स्मृतिमा राणाकालीन विराटनगर

समयको यो अनवरत गतिलाई कसले यसरी गणनामा ल्यायो होला ? सोच्छु, यी दिन महिना र वर्षहरु लामा–लामा भइदिएको भए मैले भोगेको समय पनि छोटो हुन्थ्यो होला । तर त्यस्तो हुन सम्भव छैन । समयको यही गतिमा मैले विराटनगरको यो भूगोल टेकेको पनि साढेपाँच दशक भइसकेछ । विराटनगर अहिले फराकिलो महानगर बनेको छ । म भने मेरै समयको सानो विराटनगर बजार सम्झिरहेछु ।

घल्याच्याकघुल्चुक गरिहिड्ने गोरुगाडा, पेटानी मात्रै बेरेर हटिया आउने थरुनी, पिलपिले धोतीवाल अधबैंसे दूधवाला, क्रान्तिकालीन गफ सुनाइबस्ने मात्रिकाबाबु, ट्राफिक चोकबाजेको होटल । उहिलेको औलोमय विराटनगर, आदिवासीले आवाद गरेको भूमि विराटनगर, महाभारतकालीन राजा विराटको नाम बोकेको विराटनगर, राणाहरुविरुद्ध चिराग बाल्ने विराटनगर ! मेरो विराटनगर !
२०२५ साल असोजमा तीनपैनी बिराटेश्वर मन्दिर नजिकै । तस्बिर सौजन्यः सुनिल उलक

विसं. १९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम विराटनगरमा सरेसँगै यसले नयाँ इतिहास निर्माण गरेको पाइन्छ । त्यो बेलासम्म यस क्षेत्रमा फाटफुट सानासाना गाउँहरु थिए । गाउँका एकाध मानिसले किरानाका सामान घोडामा बोकेर घुमन्ते व्यापार गर्थे । ती गाउँमा धानुक, मुसहर, रौनियार, चौधरीलगायत आदिवासीको बसोबास थियो । मुकाम सरेपछि एउटा काली मन्दिर बनाइयो, जुन हालको बजारको बीचमै पर्छ । तत्कालिन बडाहाकिमले टोलटोल, हटियातिर चमार (स्थानीय सिमान्त जाति)लाई ढोल ठोक्दै कटुवाल लगाउन पठाए– ‘विराटनगरमा बजार पनि बस्यो । साक्षात् काली भगवतीको उत्पत्ति पनि भयो । अब बजारमा किलमेल गर्न आउनुहोस्, देवीको दर्शन पनि गर्नुहोस् ।’ नभन्दै घुमन्ते व्यापारी कटेरा, टहरा बनाएर स्थायी दोकान थाप्न थाले । गाउँतिरबाट मानिस आउन थाले । नूनतेल किनेर पनि लगे, देवीको दर्शन पनि गरे ।

गोला लुटिनु, पुलिन्दा पठाउनु, काटिने आदेश आउनु, उनीहरू भारत भाग्नु, भारत स्वतन्त्रता संग्रामको प्रभाव उनमा पर्नु, यी सबै कारणले राणाविरोधी आन्दोलन उठाउन बल मिल्यो । उनले भारतको स्वतन्त्रता संग्राम पनि भाग लिए ।

नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रणी, समाज सुधारक कृष्णप्रसाद कोइराला विराटनगरको बहुआयामिक विकाससँग प्रत्यक्ष सरोकार राख्छन् । उनका जेठा दाजु कालिदास कोइराला विसं. १९५० को दशकमा बडाहाकिम भएर रंगेली आइपुगेका थिए । कृष्णप्रसाद दाजुलाई पछ्याउँदै रंगेली आएर बसे । रंगेली नजिक सीमा पारी भारतमा रेल्वेस्टेशन थिएन । यता विराटनगरबाट जोगवनीमा रेल्वे स्टेशनमा नजिकै थियो । व्यापारिक सामान आदानप्रदान गर्न सहज हुने निक्र्योल गरी सदरमुकाम विराटनगर सारियो । रंगेलीबाट सदरमुकाम विराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराजलगायतले पहल गरेका थिए ।

जुटमिलले जोडेको नेपालको पहिलो बैंक

त्यतिबेला राणाहरू शिकार खेल्न मोरङको हरैंचासम्म पुग्थे । विसं. १९९२ सालमा जुद्धशमशेर राणा त्यस क्षेत्रमा शिकार खेल्न पुगे । विराटनगरका गन्नेमान्ने व्यक्तिहरू उनकै नेतृत्वमा भेट्न गएछन् । भेटमा जुद्धशमशेरले सोधेछन्, ‘के चाहियो तिमीहरूलाई ?’

कृष्णप्रसादले भने, ‘यहाँ जुट धेरै उत्पादन हुन्छ, हामीलाई यहाँ एउटा जुट मिल चाहियो ।’ जुद्धशमशेरले भने, ‘तिमीहरुको कुरा राम्रो लाग्यो मलार्ई । जुट मिलको मान्यता दिन्छु । निवेदन ल्याओ ।’ कृष्णप्रसादले निवेदन लेखे, सबैले सही गरेर राणा सरकारले स्वीकृत भयो । तिनै कृष्णप्रसादले आफ्नो पाँच विघा जग्गा दिएर सरकारको अधिनस्तको ‘विराटनगर जुट मिल’ स्थापना भयो । किसानले जुट ल्याउन थाले, मिलमा जुटका सामान बन्न थाले । जुटको व्यापार बढेसँगै पैसाको कारोबार गरिदिने बैंकको खाँचो पर्‍यो । त्यतिबेलासम्म कारोबार गर्न चार घण्टाको रेल यात्रामा पुगिने भारतको कटिहारको बैंकहरू प्रयोग गरिने चलन थियो । त्यो बेलातिर हुन्डी प्रणाली मात्रै थियो, बैंक थिएन, नेपालतिरबाट संस्थागत रुपमा ऋणमा माग्न जाँदा त्यहाँको बैंकले ऋण पनि दिन्थ्यो ।
२०२५ बैशाखमा जोशी भवन, काली मन्दिरपूर्व । तस्बिर सौजन्यः सुनिल उलक

तिनै राणा प्रधानमन्त्रीलाई फेरि बैंक खोलिदिन बिन्ति पत्र चढाइयो । विसं.१९९३ सालमा विराटनगर जुट मिलकै तर्फबाट पुगेको सो विन्तिपत्रका आधारमा बैंक खोल्ने अनुमति पनि मिल्यो । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड काठमाडौंमा स्थापना गरेर पहिलो शाखा विराटनगरमा खोलियो । जुटमिलको कारोबारको प्रयोजनार्थ खोलिएको बैंकले विसं. १९९४ देखि कारोबार सुरु गर्‍यो ।

विसं. १९९९ मा पद्मसुन्दर मल्ल भन्ने इन्जिनियरले मोरङको लेटाङमा बिजुली उत्पादन गरे । बिजुली बलेसँगै यहाँ उद्योगको ढोका खुल्यो । त्यतिन्जेल भारतबाट जेनेरेटर ल्याएर मिल जसोतसो चलाउँथे । विजुली आएपछि अरु उद्योग पनि एकपछि अर्को स्थापना हुँदै गए । कसैले कटन उद्योग, कसैले चिनीमिल, कसैले सलाई त कसैले कपडा उद्योग खोले । तीमध्ये धेरै त पछिल्ला कालमा बन्द भए । एक–दुई वर्षको अन्तरालमै आठ/दशवटा उद्योग भटाभट खुले । यसरी विराटनगरले नै देशको औद्योगिक यात्राको आरम्भ गर्‍यो । एक ग्रामिण गाउँ क्रमशः औद्योगिक नगरीमा प्रवेश गर्‍यो ।
त्यसअघि नै काठमाडौंको फर्पिङमा राजा र राणाहरूको दरबारमा बाल्ने उद्देश्यले पहिलो जलविद्युत् आयोजना बनिसकेको थियो ।

औद्योगिक विकासमा काठमाडौंलाई विराटनगरले उछिन्यो, किनभने, कारोबार भारतसँग गर्नुपथ्र्यो । यहाँबाट गोरुगाडामा माल लिएर पारीपट्टि भारत पुग्नेबित्तिकै बेच्न पाइने, काठमाडौंबाट त सामान वीरगञ्जको रक्सौल पुर्‍याएर रेलमा लामो दूरी पर्ने । यसरी सुविधाकेन्द्रित भएर विराटनगर वरिपरी नै उद्योग खुल्न थाले । विसं. २०१९/०२० सालतिर पूर्व–पश्चिम राजमार्गमा गाडी चल्न थाल्यो । त्यसपछि उद्योग देशका अन्य भेगमा फैलियो । जहाँ कच्चा पदार्थ पाइन्छ, त्यतै उद्योग खोल्न लागे । धान बढी फल्ने ठाउँमा राइस मिल, पाट प्रशस्त हुने ठाउँमा जुट मिल, गहुँ हुने ठाउँमा आँटा मिल खोल्न थाले । यसरी एक ठाउँ केन्द्रित भएका मिलहरु देशभरी छरिए ।
२०२५ साल भदौमा काली मन्दिर नजिकैको दृश्य । तस्बिर सौजन्यः सुनिल उलक

पहिलो सहकारी ‘उद्योगी गोला’

सुका, मोहरको मूल्य निकै ठूलो हुने त्यसकालमा मानिससँग पैसै थिएन, अर्थतन्त्रमा जनताको पहुँचै नहुने । रैती वर्गको जीवन सरल थियो, तर सहज थिएन । विसं. १९७३ मा कृष्णप्रसाद कोइरालाले एउटा सर्वहितकारी संस्था ‘उद्योगी गोला’ खोले, जुन सहकारी अवधारणाअन्तर्गत थियो । कोइरालासहित पाँचजना मिलेर खोलेको गोलाले नेपालका जडिबुटी, अनाज, वनस्पतिलगायत वस्तु जनताबाट किनेर भारत निकासी गरे । पारीका माल यता ल्याएर ठाउँ–ठाउँमा लगेर सुलभ मूल्यमा जनतालाई बेचे । जनताले सस्तो मोलमा चिनी, नून, मटितेल, कपडा पाउन थाले । जनजीवन निकै सहज बन्यो । यसरी पहिलो विदेशी मुद्रा आर्जन गर्ने श्रेय पनि गोलामार्फत् विराटनगरलाई जान्छ ।

उद्योगी गोलाबाट सर्वसाधारणले ऋण पनि पाउन थाले । राणाहरु जनताको उन्नति देख्न चाहँदैन थिए । एक कान दुई कान राणाहरूले उद्योगी गोलाको खबर थाहा पाए, यसरी आफू खुसी व्यापारिक कारोबार गरेको उनीहरुलाई मन परेन । ‘त्यो कृष्णप्रसाद भन्ने बाहुन दुम्जाबाट विराटनगर गएर उधुम मच्चाइसक्यो, सरकारलाई नै नाश गर्ने भयो’ भन्ने उजुरी राणाकहाँ पुग्यो । उजुरीका आधारमा राणाहरूले कोइरालासहितलाई पक्राउ गर्न विसं. १९७६ मा सेना पठायो । सेनाले गोलाका सम्पूर्ण झिटिझामटी, धनमाल जफत गर्‍यो । बिक्रीका लागि भारतबाट ल्याइएका, जनताबाट संकलित वस्तु सबै जफत गरे । कोही माल त्यही आगो लगाए, कति लिएर राजधानी फर्किए । त्यसरी नेपालको पहिलो सहकारी संस्थाको घाँटी निमोठियो । त्यसकालमा राणाहरुको हातमा पर्नु भनेको मृत्युदण्ड पाउनु सरह थियो । सेना आउनुअघि नै कोइरालाहरू भागेर भारत प्रवासिए ।

नेपालको पहिलो विद्यालय विराटनगरमा

देशकै पहिलो शैक्षिक संस्थाका रुपमा विसं. १९१० सालमा राणाहरूले काठमाडौंको रानी पोखरीनेर दरबार हाइस्कुल खोले । राणा र राजाका सन्तान मात्रै पढ्न पाउने गरी खोलिएको स्कुलको ढोका जनताका छोराछोरीका लागि भने बन्द थियो । ७६ वर्षपछि विसं. १९८६ मा उनै कृष्णप्रसादले विराटनगरमा जनताका छोराछोरी पढाउन आफ्नै गाइगोठमा ‘आदर्श विद्यालय’ खोले । यो नै पहिलो जनस्तरको विद्यालय भएको मेरो जिकिर छ ।
२०२२ असोजमा गुदरी बजार । तस्बिर सौजन्यः सुनिल उलक

उद्योगी गोलाकाण्डले स–परिवार भारतको शरणमा पुगेका कोइरालाले विसं. १९८१ मा उतै स्कुल खोलेका थिए । प्रधानमन्त्री जुद्धशमशेरबाट माफी पाएपछि उनी परिवार लिएर नेपाल फर्किए । फर्किदा उनले विद्यालयको हेडमास्टर, साइनबोर्डसहित स्कूलको संरचना विराटनगर ल्याए । गाईको कटेरोमा साइनबोर्ड झुण्ड्याएर स्कुल सुुरु गरे । उनकै पहलमा शिक्षा जनस्तरमा पुग्यो ।

विसं. १९७६ मा गोलाको लुटपाट भएकै साल उनले चन्द्रशमशेरलाई ढाक्रेका अमिलो पसिना गन्हाउने, जुम्रैजुम्रा भएका चिथरा लगैंटी, भोटो, घेरामात्रै बाँकी भएको टोपी पोको पारेर चिठीसहित पुलिन्दामा हालेर पठाएछन् । सो कार्यमा बिपी पनि संलग्न थिए ।

उनी महिलालाई पनि क्षमताअनुसार शिक्षित–दीक्षित गर्नु पर्छ भन्ने मान्यताका रहेछन् । उनले आफ्ना छोरी–बुहारीलाई घोडचढी विद्या सिकाए । पौडी खेल्न सिकाए । संगीत र गायनमा रुचि हुनेहरूलाई त्यसको शिक्षा पनि दिलाए । रुचि राख्ने अन्य महिलालाई पनि सिकाए । जेठी बुहारी (विपी कोइरालाकी पत्नी) सुशीला कोइरालालाई संगीतप्रति रुचि थियो । सुशीलालाई उनले दुईवर्ष भारतको पटनामा नृत्य प्रशिक्षण लिन पठाए । नृत्यमा प्रवीण बनेर फर्केकी सुशीलाले सोही आर्दश विद्यालयमा नारीहरूलाई नृत्य सिकाइन् । उनले बालकृष्ण समको म भन्ने नाटकको निर्देशन पनि गरिन् । नाटकको नायिका सुशीला आफैं थिइन्, नायकका रुपमा शैलजा आचार्यकी आमा इन्दिरा आचार्यले अभिनय गरेकी थिइन् । उनको निधनपछि विराटनगर हाटखोलास्थित गुरुकुलमा ‘सुशिला कोइराला नाटक घर’ बनेको छ । यहाँ अचेल रंगमञ्चको गतिविधि भइरहन्छ ।
२०२४ साल चैत्रमा पुरानो स्कूल । तस्बिर सौजन्यः सुनिल उलक

आदर्श विद्यालय अर्थात् श्री जुद्ध हाइस्कुल

जुद्धशमशेरले जनतामा लोकप्रिय हुन केही लचक नीति अपनाए । ठाउँ–ठाउँमा स्कुल खोल्ने अनुमति दिए । त्यसबापत उनले शैक्षिक तथा अन्य सार्वजनिक निकायमा आफ्नो नाम राख्न उर्दी गरे । जुद्धशमशेरले विद्यालय सञ्चालनका लागि १० हजार रुपैयाँ विराटनगर पठाइदिए । सोही पैसाले कोइरालाले विद्यालय भवन बनाए । कटेरे स्कुल छाना भएको भवनमा सर्‍यो । नयाँ भवनमा नयाँ साइन बोर्ड झुण्ड्याइयो– ‘श्री जुद्ध हाइस्कुल, विराटनगर ।’ धेरैलाई नयाँ भवन त मन पर्‍यो, तर साइनबोर्ड हेरेर विद्यार्थी अलमलमा परे । तीमध्ये केही विद्यार्थीले तुरुन्तै विद्रोह गरे– ‘हामी त्यो राणाको नामको विद्यालयमा पढ्दैनौं, ती पहिलेकै कटेरोमै गएर बसे । तर राणाहरूविरुद्ध विनासंगठन विद्रोह गर्नुको तुक छैन भन्ने कृष्णप्रसादले बुझेका थिए ।

ती विद्यार्थीलाई उनले सम्झाए, ‘बाबु हो, अहिले जुद्धशमशेर भइरहेकै बेलामा उनको विरोध गर्नु हुँदैन । यही भएको विद्यालय पनि आएर भत्काइदिन्छन्, तिमी–हामीलाई समातेर लैजान्छ, मृत्युदण्डसमेत दिन सक्छन् । त्यसो भयो भने जनताका छोराछोरीले भोलि यति पनि पढ्न पाउँदैनन् । त्यसो हुँदा अहिले चुपो लागेर बस । भोलि जुद्धशमशेरको शेखपछि फेरि हाम्रो आदर्श विद्यालय नै फिर्ता हुने छ ।’ ती विद्यार्थीलाई मनाउन उनलाई केही दिन लाग्यो । अन्ततः बेखुस अनुहार लाएर ती पढ्न आए । नभन्दै जुद्धशमशेरको मृत्युलगत्तै रातारात साइन बोर्ड फालेर आर्दश विद्यालय कायम भयो ।

विराटनगरको इतिहासबारे खोज गर्ने क्रममा २५ वर्षअघि मैले कोशी अञ्चल अस्पतालको स्टोरमा एउटा साइन बोर्ड भेटें ।

विराटनगरको शिक्षाको प्रभाव अन्यत्र पनि फैलिरहेको थियो । त्यसो त लामै समयदेखि राणाका बर्बर शासनका विरुद्ध जनतामा विद्रोहको आगो सल्किसकेको थियो । भित्रभित्रै राणा शासन फाल्ने क्रान्तिको लहर उनै कोइरालाहरूले फिजाइरहेका थिए । २००७ सालमा राणा शासनको जरा उखेलियो र प्रजातन्त्र आयो । त्यसपछि त्रिभुवन विश्वविद्यालय खुल्यो, आंगिक कलेजहरू खुले । राजा त्रिभुवनपछि उनका छोरा महेन्द्र राजा बने । त्यसपछि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा विराटनगरमै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्थापना भए । त्यसपछि देशैभरी खुलेका आंगिक क्याम्पस महेन्द्रकै नाममा स्थापना भए ।

एक लम्बर अस्पताल

विराटनगरको इतिहासबारे खोज गर्ने क्रममा २५ वर्षअघि मैले कोशी अञ्चल अस्पतालको स्टोरमा एउटा साइन बोर्ड भेटें । त्यसमा लेखिएको छ, ‘एक लम्बर पिवीर अस्पताल १९४७ साल ।’ खोजी गर्दै जाँदा ‘पि’को अर्थ पृथ्वीवीरविक्रम शाह, ‘वीर’ भनेको वीरशमशेर’ भनेर लेखिएको पाइयो । त्यो सालमा वीरशमशेरले पाँचवटा अस्पताल स्थापना गरेका रहेछन् । विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी र काठमाडौंमा । नम्बर हाल्दै जाँदा पूर्वबाट हालेछन्, विराटनगरको अस्पताल एक नम्बर कायम भयो । काठमाडौंको वीर अस्पताल पाँचौं नम्बरमा आएछ । मेरो जिकिर चाहिँ के हो भने एक नम्बर उल्लेख गरिएको हुँदा नेपालको पहिलो अस्पताल पनि विराटनगरको हालको कोशी अञ्चल अस्पताल हो । मेरो जिकिरले वीर अस्पतालको भने टाउको दुख्यो ।
२०२५ साल भदौमा गाडाहरू । तस्बिर सौजन्यः सुनिल उलक

गोरुगाढाको शहर

मेरो जन्मस्थल भोजपुरको दिङ्ला हो । २० वर्षको भर्भराउँदो उमेरमा विसं.२०२३ मा मैले विराटनगरको भूमि टेकेँ । जीवनका उर्बर समय यही खर्चिएँ । यहाँको जनजीवन, विकासको गतिको साक्षी बन्न पाएँ । छालासम्बन्धी रोगको उपचारको क्रममा यता झरेको मैले यसै भूमिलाई कर्मथलो बनाएँ । बसाइकै क्रममा मैले भाग्यवश यो देशको प्रजातान्त्रिक आन्दोलनका प्रणेता मात्रिकाप्रसाद कोइरालाको सामिप्यता पाएँ । मैले थाहा पाएका धेरै इतिहासको आधार उनकै मुखबाट सुनेको हुँ, थाहा पाएको हुँ । तिनै कुरालाई म किताबका रुपमा पनि लिपिबद्ध गर्दैछु ।

मैले देख्दा विराटनगर सानो बजार थियो । औलोसँगको डर कम हुँदै गएको थियो । पहाडतिरबाट भर्खर बसाइँ सर्नेहरू धमाधम थपिन थालेका थिए । पूर्व–पश्चिम राजमार्ग कालोपत्र भएको थिएन, जताततै माटो फिजारिएको थियो । धरान–विराटनगरको बाटो पनि कालोपत्रे भएको थिएन । बजारमा खाल्टाखुल्टी थिए । सामान ढुवानी गर्ने साधन गोरुगाढा मात्रै थिए । घल्ट्याक–घुल्टुक ! गाडा हिँडिरहेको हुन्थ्यो ।

व्यापार बढाउने प्रयोजनले तत्कालीन बडाहाकिमहरूले राजस्थानबाट मारवाडीहरू झिकाए । सुरुमा पाँचजना व्यापारीलाई दुई/दुई विघा जग्गा दिएर राखियो ।

गाडामा बसेका मान्छे घरीघरी हुत्तिएर झर्लान् जस्तो देखिने । अर्जुनसँगको अन्तिम युद्धमा महाभारतका योद्धा कर्णको रथ फसे झैं कतैकतै खाल्डामा जाकिएर गाढाहरू फसिरहेका, कतै पल्टिएका हुन्थे । जुत्ता लाएर हिड्ने बाटा थिएनन् । ठाउँ–ठाउँ इँटा सोलिङ गरिएका बाटा थिए । विजुलीको सुविधा गतिलो थिएन, झ्याप्पझुप्प गइरहने । पातलो गरी विद्यार्र्थी स्कुल, कलेज गइरहेका देखिन्थे ।

विराटनगर बस्दै जाँदा मैले तत्कालीन नगरपञ्चायतमा वैदारको जागिर पाएँ । मासिक ८५ रुपैयाँ तलब थियो । बासको व्यवस्था भने मामाहरूको घरमा जताजता कोठा खाली भयो त्यतै हुन्थ्यो । मासिक ७० रुपैयाँ तिरेर भात चाहिँ होटलमा खान्थें । १५ रुपैयाँ बचत हुन्थ्यो । पछि यतै घरजम गरें । कलेज र विश्वविद्यालयको मुख देखिनँ, प्राइभेटबाटै एमएमसम्मको पढाइ पूरा गरें ।

मारवाडी समुदायको उदय

व्यापार बढाउने प्रयोजनले तत्कालीन बडाहाकिमहरूले राजस्थानबाट मारवाडीहरू झिकाए । सुरुमा पाँचजना व्यापारीलाई दुई/दुई विघा जग्गा दिएर राखियो । क्रमशः यो समुदायको संख्या बाक्लिसकेको थियो । देशकै ठूला उद्योगीसमेत बनिसकेका उनीहरूसँग अहिले अथाह सम्पत्ति छ । यद्यपि, तत्कालिन राणा शासकबाट पूर्खाले पाएको दुई विघा जमिन भाइभाइमा बाँडेर बसेका छन् । यहाँका अग्रवाल, माहेश्वरी, बोहरालगायत देशका ठूला उद्योगीका रुपमा स्थापित छन् । हालका ठूला औद्योगिक घराना गोल्छा, दुगडलगायत पनि पछि आएर यतै उद्यम थाले । यसरी धेरै पहिले नै मारवाडीहरू यहाँ आएकै कारण विराटनगरले व्यापारिक–औद्योगिक छलाङ मारेको हो ।

आदिवासीले आवाद गरेको मधेस

यी मधेशी फाँट यतैका थारू, सतार, झाँगड, धिमाल आदि रैथानेले आवाद गरेको हो । यताउतिबाट कलवार, रौनियारहरु थपिए । बञ्जर मधेशलाई आवाद गर्दैगर्दा ती आदिवासीका धेरै पूर्खा औलोकै कारण बिते । औलोकै डरले पहाडियाहरू मधेस झर्दैनथे, फाट्टफुट्ट भने आउँथे । प्रजातन्त्र आएपछि मात्रै यता बसाइँ सराइ बढ्यो । २०२२÷०२३ सालतिर पहाडका मानिस ह्वार्रै झरे ।

महेन्द्रको आज्ञाले उनीहरूलाई तत्कालीन अञ्चलाधीशहरूले बस्ने अनुमति दिए । ती जुनजुन सीमा क्षेत्र नाघेर आए, त्यही नजिकै खाँबो गाड्दै गए ।

उत्पादन योग्य प्रशस्त फाँटहरु बाँझो थियो । राजा महेन्द्रले एउटा काम गरेछन्, ‘नेपालमा धेरै भूभाग खाली छ, प्रवासीएका नेपालीहरू फिर्ता आउ, बसोबासको व्यवस्था मिलाउँछु ।’ उता पटकपटक आसाम, बर्मा, भुटानतिरबाट नेपाली लखेटिँदै थिए । यता राजाले पनि बोलाए । लखेटिँदै आएका प्रवासी नेपाली आसाम, मेघालय, दार्जिलिङ, सिक्किमलगायत भारतबाट र बर्माबाट विभिन्न समयमा नेपाल छिरे ।

महेन्द्रको आज्ञाले उनीहरूलाई तत्कालीन अञ्चलाधीशहरूले बस्ने अनुमति दिए । ती जुनजुन सीमा क्षेत्र नाघेर आए, त्यही नजिकै खाँबो गाड्दै गए । झापा, मोरङतिर पनि आइपुगे । उनीहरूको बस्ती बर्मेली टोल, आसामेली टोलका नामले आज पनि अस्तित्वमा छन् । विराटनगरमा पनि त्यसरी आएर बसोबास गर्नेहरु आज पनि भेटिन्छन् ।

जमिन्दारको टाँडे घर

मधेसमा औलो महामारीले मान्छे भटाभटी टिप्थ्यो । घना जंगल, जंगली हात्तीलगायतको डर त्यतिकै । डरैडरमा उनीहरू एक ठाउँबाट अर्को ठाउँमा बसोबास सरिरहन्थे । एकप्रकारको शिकारी जीवनशैली । स्थायी रुपमै बसोबास गर्नेहरू कमै हुने रहेछन् । त्यसकालमा उनीहरूको चेतना शुन्यप्रायः रहेछ ।

समय क्रमसँगै थारू समूदायका कतिपय जमिन्दार भए । तिनीहरुलाई हात्ती चढेर हिड्नु पर्ने, बन्दुक बोकेर गाउँ घुम्नु पर्ने, ती सौखिन जमिन्दार बने ।

कृष्णप्रसादले विद्यालय खोलेर ज–जसलाई पढाए, संगत गरे ती मानिस अञ्चलाधीश, राष्ट्रिय पञ्चायत सदस्यजस्ता उपल्लो तहमा पुगे । चैतुलाल चौधरीलगायत केही नाम यस लहरमा सम्झिन सकिन्छ । एउटा स्कुल खोलेर सारा मानिसलाई शिक्षित गर्न नि संभव थिएन । बाँकी जन पछाडि नै छोडिए । त्यो वर्गलाई अबको राज्य व्यवस्थाले सम्बोधन गर्नुपर्छ ।

समय क्रमसँगै थारू समूदायका कतिपय जमिन्दार भए । तिनीहरुलाई हात्ती चढेर हिड्नु पर्ने, बन्दुक बोकेर गाउँ घुम्नु पर्ने, ती सौखिन जमिन्दार बने । ती आफ्ना अग्लो टाँडे घर बनाउँथे, वरिपरी गरिबका झुपडी हुनुपर्ने ।

विस्तारै भएका जमिन बेच्दै मोजमस्ती गर्न लागे । रक्सी र भोगविलासमा लम्पट भए र सकिँदै गए । तर अहिले समावेशी संगतले उनीहरूमा पनि चेतनाको विकास भएको छ । अहिले उनीहरू पनि मिश्रित वस्तीमा बस्न रुचाएको देखिन्छ ।
२०२५ साल जेठमा खनाल पेट्रोल पम्प, महेन्द्रचोक । तस्बिर सौजन्यः सुनिल उलक

पेटानीमा थरूनी

उहिले मान्छेको जनसंख्या नै कम थियो । समाज इमान, नैतिकतामा चल्थ्यो । व्यापार व्यवसायमा पनि त्यो इमान थियो । बोराभरी पैसा बोकाएर भरियालाई पठाउँथे, विश्वासमा चलेको थियो समाज । आज पाएसम्म सबै लुट्न तयार । देहातका ती वस्तीतिर गोरेटा हुन्थे, देहातीहरू पैदल यात्रा गर्थे । क्रमशः बाटो बन्न थाले ।

साइकल, मोटरसाइकलहुँदै हिजोआज कतिपय त सानो कार लिएर आउन थालेका छन् । थारू महिला हाँस, कुखुरा, अण्डा, चिउरा, सिद्राजस्ता वस्तु ढकियामा ल्याएर बजारमा बेच्थे । ती थरुनीहरू कम्मरमुनि पेटानी बेरेर हिड्थे, सानो फुर्को मात्रै अगाडि झार्ने, आधा आङ भने खुलै हुने । सँधै हटिया आइरहने मध्येकी एउटी थरूनी मलाई खुब मन पर्ने, खासमा उनको बोली र हसाई मन पर्ने, नाकको फूलीमा तिनै खुबै राम्री देखिने ।

केही किन्न जाँदा म उनलाई जिस्क्याउँथे, ती मुसुक्क हाँस्थिन् । कहाँ होलिन् तिनै अचेल ? आज पनि मलाई उनको उज्यालो अनुहार याद आउँछ । त्यो उनीहरूको परम्परागत जीवनशैली थियो । आज उनीहरू पनि शरीर ढाक्ने कपडा लगाउँछन् ।

चन्द्रशमशेरलाई ढाक्रेका अमिलो पसिना गन्हाउने, जुम्रै–जुम्रा भएका चिथरा लगैंटी, भोटो, घेरामात्रै बाँकी भएको टोपी पोको पारेर चिठीसहित पुलिन्दामा हालेर पठाएछन् ।

उहिले देहाती गाउँ होस् कि विराटनगर बजार, हरेक घरमा कमसेकम एउटा गाईभैंसी पालेका हुन्थे । मैले देख्दा बिहान सखारै साइकलमा दूधको भाँडो बोकेर बजार आइपुग्नेको लाइन हुन्थ्यो । डेढ दशक अघिसम्म यो प्रचलन थियो । बजारमा पनि पक्की घर धेरै थिएनन् । झोपडपट्टीहरु नै धेरै थिए । अहिलेको पुस्ता डेरी युगमा अभ्यस्त छ, गोठबाट भर्खर दुहेर ल्याएका ताजा दूधप्रति विश्वास गर्नै छोड्यो ।

चन्द्रशमशेरलाई लगौंटी कोशेली

राणाहरूका लागि रैती दाससरह थिए । उनीहरूको उर्दी नै लालमोहर लगाइएको कानूनजस्तो हुन्थ्यो । दशैंमा राणा शासकलाई मुलुकभरका रैतीले घिउ, खसी, फलफूललगायत गच्छे अनुसारको कोशेली टक्य्राउनु पथ्र्यो । कोइरालाहरूले पनि बुझाउँथे । त्यस्तो थिति उनलाई ठीक लागेको थिएन ।

विसं. १९७६ मा गोलाको लुटपाट भएकै साल उनले चन्द्रशमशेरलाई ढाक्रेका अमिलो पसिना गन्हाउने, जुम्रै–जुम्रा भएका चिथरा लगैंटी, भोटो, घेरामात्रै बाँकी भएको टोपी पोको पारेर चिठीसहित पुलिन्दामा हालेर पठाएछन् । चिठीमा लेखेछन्, ‘सरकार ! मैले यसपाली अरु सालजस्तो कोशेली पठाउन सकिनँ । सरकारलाई बोध होस् भन्नाका खातिर जनताको झलक देखाउने उनीहरूले लगाएको लुगाको नमूना पठाएको छु । हजुरले यसलाई नजर गर्दा परबाट नजर गरिबक्सेला । किनभने, यसमा रैतीको पसिना गन्हाउँछ ।’

गोला लुटिनु, पुलिन्दा पठाउनु, काटिने आदेश आउनु, उनीहरू भारत भाग्नु, भारत स्वतन्त्रता संग्रामको प्रभाव उनमा पर्नु, यी सबै कारणले राणाविरोधी आन्दोलन उठाउन बल मिल्यो ।

चिठी पाएपछि राणा शासक एकदम रिसाए र आदेश गरे, ‘यसले हाम्रो अपमान गर्‍यो, सर्वस्वहरण गरी यसलाई ल्याएर काट ।’ तत्कालिन बडाहाकिम जीतबहादुर खत्री सुवेदी रहेछन्, जो कृष्णप्रसादबाट रिझाइएका व्यक्ति परेछन् । उनले साँझ आएर गुप्त खबर सुनाएछन्, ‘भोलि हामी हजुरलाई धडपकड गर्न सखारै सातै बजे आउँछौं । हजुरहरूले भालेको डाकमै घर छोडिसक्नु ।’

त्यसैरात कोइरालाहरू भारत भागे । गोला लुटिनु, पुलिन्दा पठाउनु, काटिने आदेश आउनु, उनीहरू भारत भाग्नु, भारत स्वतन्त्रता संग्रामको प्रभाव उनमा पर्नु, यी सबै कारणले राणाविरोधी आन्दोलन उठाउन बल मिल्यो । उनले भारतको स्वतन्त्रता संग्राम पनि भाग लिए ।

राणाविरुद्ध सशस्त्र क्रान्ति

देशबाटै लखेटिएका विराटनगरका कोइरालाहरूले अब राणाविरुद्ध विद्रोह गर्नुको विकल्प थिएन, प्रवासमै जनसंगठन गर्न थाले । राणा शासनको विरोधमा कृष्णलाल अधिकारी ‘मकैको खेती’ लेखेर जेल परिसकेका थिए । नेपाल प्रजापरिषदमार्फत् दशरथ चन्द, टंकप्रसाद आचार्यहरू जुटिरहेका थिए ।

विराटनगर जुटमिलमा २००३ सालमा तिनै कृष्णप्रसादका छोरा गिरिजाप्रसादले नेतृत्व गरेर मजदुर हड्ताल भयो ।

दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई राणाहरूले मृत्यु दण्ड नै दिइसकेका थिए । काठमाडौंमा रहेरै विद्रोहमा उत्रिएका गणेशमान सिंह, चिनियालाल सिंह, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठहरूलाई राणाहरूले जेलमा कोचिसकेका थिए । यता विसं. १९७६ मै सर्वस्व हरणमा परी प्रवास पुगेका कृष्णप्रसाद र उनका छोराहरू बिपी, मात्रिकाले भारतमा राणाविरोधी राजनीतिक संगठन गरिरहेका थिए । क्रान्तिको उभार मजदुरहरूमा पनि परिसकेको थियो ।

विराटनगर जुटमिलमा २००३ सालमा तिनै कृष्णप्रसादका छोरा गिरिजाप्रसादले नेतृत्व गरेर मजदुर हड्ताल भयो । यसले पनि राणाविरोधी आन्दोलनलाई सघाएका थियो । कोइरालाहरूको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसहुँदै विसं. २००६ मा नेपाली कांग्रेस पार्टी बन्यो । मात्रिकाप्रसादकै नेतृत्वमा देशका विभिन्न ठाउँमा मुक्ति सेना गठन गरी राणाविरुद्ध सशस्त्र क्रान्ति गरिए ।

अन्ततः सबै मिलेर २००७ सालको क्रान्ति भयो, राणाहरू गए र प्रजातन्त्र आयो । यसरी राणाविरोधी आन्दोलनको मसाल अन्यत्र विद्रोहको उभार उठ्नुअघि नै विराटनगरले उचालेको थियो । पटकपटक सर्वस्वहरणमा परेका कोइराला प्रजातन्त्र आउनुअघि नै २००१ सालमा काठमाडौं जेलमा बिते । परिवारका महिलाहरूले बाग्मतीको तीरमा लगी दाह संस्कार गरे, राणाहरूको डरले कोही पनि मलामी आएनन् ।

देख्छु, यही शहरभित्र बूढो हाड घोटेर रिक्सा तानिरहेको मधेसी अनुहार । के तिनको प्राणमा गणतन्त्रको एक बुँदसम्म सल्बलाएको होला ?

यसरी बसाइएको विराटनगर देशकै ठूलो औद्योगिक क्षेत्र भएको छ । उहिले स्याल कराउने झोपडपट्टी वस्ति विराटनगर आज महानगर भएको छ । यहाँ प्रशासनिक, शैक्षिक, स्वास्थ्यलगायत पूर्वाधारले युक्त छ । अग्लाअग्ला भरिभराउ भवन छन् । फराकिला राजमार्ग, ठूल्ठूला अस्पताल, विश्वविद्यालय, प्रदेश सरकारका मन्त्रालयसम्म छन् ।

अग्ला भवनको माथिबाट तल हेर्दा शासकले भनेजस्तो समृद्ध देखिएको छ विराटनगर । तर यिनै फराकिला सडकको किनारैकिनार हिडिरहँदा देख्छु सखारै औद्यागिक क्षेत्रतिर ताँती लागेर गइरहेका मजदुरहरू । देख्छु, यही शहरभित्र बूढो हाड घोटेर रिक्सा तानिरहेको मधेसी अनुहार । के तिनको प्राणमा गणतन्त्रको एक बुँदसम्म सल्बलाएको होला ? विराटनगरको सम्झना चित्रमा अचेल म यिनै अनुहार देखिबस्छु ।

०००

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८, १९:५२:००