NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नागरिक पत्रकारिताका लागि ७२ घन्टामा ६८१ आवेदन

यस्तो छ, ‘सञ्चारमाध्यममा आफ्नै अनुहार, आफ्नै समाचार’ छलफल सामग्री

काठमाडौं । नेपालवाच डटकमले घोषणा गरेको नागरिक पत्रकारिता अभियानका लागि ७२ घन्टामा ६८१ आवेदन प्राप्त भएको छ ।

नेपालवाचले बिहीबार मध्यान्ह सूचना प्रकाशित गर्दै नागरिक पत्रकारिता अभियान ‘सञ्चारमाध्यममा आफ्नै अनुहार, आफ्नै समाचार’का लागि देश र प्रवासमा गरि ६४५ जना नागरिक पत्रकार आह्वान गरेको थियो ।

‘इच्छुकहरू सम्पर्कमा आउने क्रम जारी छ । सोचेभन्दा बढी आवेदन आएकाले समयमै सम्बोधन गर्न सकिएको छैन’, सम्पादक कला अनुरागीले भने, ‘अभियानबारे बुझ्न सजिलो होस् भनेर छलफल सामग्री पठाउन थालेका छौं ।’

सम्पर्कमा आउनेमध्ये कतिपयमा नागरिक पत्रकारिताबारे दुविधा रहेकाले राम्ररी छलफल गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

‘धेरैलाई यो जागीर हो भन्ने लागेको रहेछ । त्यसो होइन । हरेक नागरिकले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्रयोग गर्नु लोकतन्त्रलाई बलियो बनाउनु हो । हामीले त्यसलाई सञ्चारमाध्यममा अधिक स्थान दिन खोजेका हौं’, उनले भने ।

यस्तो छ छलफल सामग्री

नागरिक पत्रकारिता

सञ्चारमाध्यममा आफ्नै अनुहार, आफ्नै समाचार

छलफल सामग्री

नमस्कार,

नेपालवाच डटकमको ‘नागरिक पत्रकारिता’अन्तर्गत ‘सञ्चारमाध्यममा आफ्नै अनुहार, आफ्नै समाचार’ अभियानप्रति चासो राखेर सम्पर्क गर्नुभएकोमा हार्दिक धन्यवाद !

आउनुहोस्, छलफल सुरु गरौं

पत्रकारिता गरिरहनुभएको छ वा पत्रकारिताको विद्यार्थी हुनुहुन्छ भने नागरिक पत्रकारिताबारे थाहा छँदैछ ।

सञ्चारमाध्यमको पाठक, श्रोता वा दर्शकमात्रै हुनुहुन्छ भने यो छलफल तपाईंका लागि उपयोगी हुनेछ । र, सुरुमै भनौं– यो अभियान तपाईंकै लागि हो । सञ्चारमाध्यमको पाठक, श्रोता वा दर्शकलाई नागरिक पत्रकारमा रूपान्तरण गर्नु अभियानको मूल ध्येय हो । पत्रकारिताका विद्यार्थीका लागि यो अभियान पत्रकारिता अभ्यासको खुट्किलो बन्न सक्छ ।

राज्य सञ्चालन, नीति–निर्माण र निर्णयको तहमा नागरिकको सक्रिय सहभागिताले नै लोकतन्त्रलाई बलियो बनाउँछ । त्यस प्रक्रियामा सूचना, सञ्चार र अभिव्यक्तिको मौलिक हक प्रयोग नागरिकका लागि बलिया साधन हुन् । नागरिक पत्रकारिताको अभ्यास तिनै साधनलाई प्रयोग गर्ने अवधारणामा आधारित छ । हाम्रो अभियान र यसबारे छलफलको आधार पनि सोही अवधारणा हो ।

नागरिक पत्रकारिता किन ?

थुप्रै पत्रिका छन्, रेडियो उत्तिकै, टेलिभिजन पनि दर्जनौं छन् । अनि, अनलाइन त कति हो कति ! अहिले त धेरैजसो जानकारी, समाचार वा विचार फेसबुक, ट्विटर, युट्युब वा टिकटकबाट प्राप्त हुन्छ ।

पत्रिका वा अनलाइन पढिन्छ, रेडियो सुनिन्छ, टेलिभिजन हेरिन्छ । फेसबुक, ट्विटर वा टिकटक चलाइन्छ । कतिको आफ्नै युट्युब च्यानल छ, नभए पनि हेरिन्छ नै । अहिले समाचार, ज्ञान वा विचारका स्रोत यिनै त हुन् ।

अब प्रश्नचाहिँ यो हो कि यस्ता माध्यममा तपाईं वा तपाईंवरिपरि भएका सूचना, समाचार, ज्ञान वा विचार समेटिएका छन् कि छैनन् ? छन् भने निकै राम्रो । तैपनि, अझ बढी होस् भन्ने प्रयत्न गर्नु नै छ ।

छैन भने त झन् अब जिम्मेवारी तपाईंकै काँधमा छ । नागरिक पत्रकार बनेर तपाईं वा तपाईंवरिपरि भएका सूचना, समाचार, ज्ञान वा विचार संसारसमक्ष प्रस्तुत गर्नुहोस् । त्यसपछि तपाईंले नागरिक र सञ्चारमाध्यमको शक्ति आफैं महसुस गर्न सक्नुहुनेछ ।

नागरिक पत्रकार को हुन सक्छन् ?

नागरिक पत्रकार हुन कुनै मापदण्ड छैन । जोकोही नागरिक पत्रकार बन्न सक्छन् । बस्, तपाईंसँग त्यस्ता सूचना हुनु आवश्यक छ, जो अरूलाई पढाउन, सुनाउन वा देखाउन जरुरी छ । त्यो सार्वजनिक चासोको कुरा हुनसक्छ, नितान्त व्यक्तिगत भावना वा विचार पनि हुनसक्छ ।

लेख्न जान्नैपर्छ भन्ने पनि छैन । फोटो, भिडियो वा बोली, कुनै पनि माध्यमबाट आफूसँग भएको सूचना वा समाचार प्रवाह गर्न सकिन्छ । मात्रै यति हो कि त्यस्ता फोटो वा भिडियोबारे केही न केही जानकारीचाहिँ दिनुपर्ने हुन्छ । त्यस्ता समाचार, विचार, फोटो, अडियो वा भिडियो तपाईंको स्वामित्वको हुनुपर्छ । कसैबाट सारेको वा लिएको हुनुहुन्न ।

तपाईं विद्यार्थी, किसान, मजदुर, शिक्षक, गृहिणी, नेता, कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, प्रहरी, डाक्टर, नर्स, ट्राफिक, कलाकार, सेना, ड्राइभर वा जुनसुकै पेशा तथा व्यवसायमा गरिरहेको व्यक्ति हुन सक्नुहुन्छ । युट्युबर, ब्लगर, भ्लगर, लेखक, कवि, सामाजिक वा राजनीतिक अभियन्ता पनि हुन सक्नुहुन्छ । यहाँ नसमेटिएको कुनै क्षेत्रमा सक्रिय भए पनि नागरिक पत्रकार बन्न सक्नुहुन्छ ।

नागरिक पत्रकार बन्नु नागरिकको अधिकार र दायित्व दुवै हो । आफ्नो कुरा भन्न वा अभिव्यक्त गर्न पाउनु मौलिक अधिकार हो भने देखे–भोगेको विकास, उन्नति–प्रगतिलगायतका उज्याला पक्ष वा विकृति, विसंगति, भ्रष्टाचार, दलाली, अपराधजस्तो अँध्यारो पाटाबारे अरूलाई सुसूचित गराउनु दायित्व हो ।

कस्ता सामग्री पठाउन सकिन्छ ?

जुन कुरा सार्वजनिक सरोकारको हो र संसारले थाहा पाउनुपर्ने हो भन्ने लाग्छ, ती सबै सामग्री पठाउन सकिन्छ । त्यसमा आफू संलग्न क्षेत्र वा वरिपरिको सूचना हुनसक्छ । आफूले गरिरहेको काम वा कार्यक्रमबारे समाचार हुन सक्छ । आफूलाई भन्न मन लागेको विचार वा भावना हुनसक्छ । आफूले भोगिरहेको वा आफूले देखिरहेको जीवन–कथा हुन सक्छ । त्यसमा सकारात्मक कामको कथा हुन सक्छ वा दुःखको कथा पनि ।

महिला, दलित, आदिवासी, जनजाति, मधेसी वा अल्पसंख्यक हुनुहुन्छ भने त अन्याय, अत्याचार, उत्पीडन र दलनका अनेकन् घटना तपाईंकै जीवनमा भएका होलान् । ती सबै त्यस्ता सामग्री हुन्, जसलाई बलियोगरि प्रस्तुत गर्नु जरुरी छ । जसले त्यस्ता अन्याय, अत्याचार, उत्पीडन र दलनविरुद्ध संघर्ष गरिरहेकाहरूलाई एकताबद्ध गराउन मद्दत गर्नेछ ।

हाम्रो देशको सक्रिय जनसंख्याको आधा हिस्सा त देशबाहिरै छ । प्रवासमा रहँदाका दुःखका कथा हुन्छन्, सुखका कथा हुन्छन् । त्यहाँ सिकेका कामलाग्दा ज्ञान तपाईंसँग हुन्छ । त्यहाँका प्रविधि, विकास, अनुशासन, प्रगतिशील संस्कार आदिका अनेकन् मानकको साक्षी भइरहनुभएको छ । तिनलाई सूचना, समाचार, विचार वा अनुभूतिका रूपमा अभिव्यक्त गर्न सक्नुहुन्छ ।

कुनै न कुनै व्यवसायमा संलग्न हुनुहुन्छ वा कतै काम गर्नुहुन्छ । त्यहाँका समस्याबारे सूचना वा समाचार हुन सक्छ । नीतिमा देखिएका समस्या हुनसक्छ वा भ्रष्टाचार, बेथिति, दलालीजस्ता विसंगतिबारे विचार, सूचना वा समाचार हुनसक्छ । त्यस्ता कति कुराको तपाईंसँग प्रमाण हुन सक्छ । तर, त्यस्ता कुरा बाहिर ल्याउँदा खतरा महसुस गरिरहनुभएको हुन सक्छ । त्यस्ता सामग्री हामीलाई पठाउँदा गोपनियताको पूर्ण सुनिश्चिता गर्नेछौं ।

सुरक्षा निकाय वा अन्य त्यस्तै संवेदनशील क्षेत्रमा काम गरिरहनुभएको छ भने कतिपय कुरा राष्ट्रको हितका लागि गोप्य राख्नुपर्छ, त्यसलाई पूर्ण परिपालना गर्नुपर्छ । तर त्यहाँ पनि नीतिगत भ्रष्टाचार वा अन्य विसंगतिका अनेक घटना छन्, सूचना छन् । जुन हम्मेसी बाहिर आउँदैन । त्यस्तो कुरा भने बाहिर आउनैपर्छ । नत्र, राष्ट्र झन् खतरामा पर्छ । तपाईंले हामीलाई ढुक्क भएर त्यस्तो सूचना दिन सक्नुहुन्छ । तपाईंलाई कुनै खतरा नहुनेगरि संरक्षण गर्न हामी प्रतिबद्ध छौं ।

सूचनादाताको संरक्षण कसरी हुनेछ ?

सार्वजनिक निकायमा भएको वा भैरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानून बमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्वभित्रै पर्छ । त्यस्ता सूचना दिने सूचनादाताको पहिचान गोप्य राख्नु हाम्रो कर्तव्य हुनेछ ।

सूचना दिएको कारणले सूचनादातालाई पदबाट मुक्त गर्न वा कुनै किसिमको कानूनी दायित्व बहन गराउने गरी सजाय गर्न वा हानि–नोक्सानी पुर्‍याउन नपाइने कानूनी व्यवस्था छ ।

सूचनादातालाई सजाय गरेमा वा हानि–नोक्सानी पुर्‍याएमा सूचनादाताले सो निर्णय बदर गराउन क्षतिपूर्ति मागसहितको उजुरी सूचना आयोगमा गर्न सकिने कानूनी व्यवस्था छ । आयोगले उजुरीमा जाँचबुझ गर्दा सूचनादातालाई पदमुक्त गरेको भए त्यस्तो निर्णय बदर गर्न र सूचनादातालाई कुनै नोक्सानी पुगेको रहेछ भने क्षतिपूर्ति भराउनसमेत आदेश दिन सक्नेछ ।

यिनै कानूनको सहयोगमा सूचना दिएकै आधारमा तपाईंलाई कुनै हानि–नोक्सानी नहुने सुनिश्चितताको विश्वास दिलाउन चाहन्छौं । त्यसका लागि हामी कानूनी व्यवस्थाको अधिकतम् उपयोग गर्नेछौं ।

सूचनाहरू कहाँ–कहाँ हुन्छन् ?

आफू र आफूवरिपरिका सूचना त तपाईंसँग हुन्छ नै । त्यसका साथै तपाईं एक सचेत नागरिक भएकाले सार्वजनिक चासो हुने हरेक निकायबाट सूचना लिन र त्यसलाई नेपालवाच डटकममार्फत प्रवाह गर्न सक्नुहुनेछ । कानूनले परिभाषित गरेअनुसारका सार्वजनिक निकायसँग सम्बन्धित सूचना लिने तपाईंलाई अधिकार छ ।

त्यस्ता सूचना संविधानअन्तर्गतका निकाय वा ऐनद्वारा स्थापित निकायबारे हुन सक्छ । नेपाल सरकारद्वारा गठित निकायले प्रवाह गरिरहेको सेवा र त्यसको स्थितिबारे तपाईंलाई जान्ने अधिकार हुन्छ । त्यसअन्तर्गत प्रदेश सरकारका कार्यालय वा प्रदेश सरकारद्वारा गठित निकाय पनि पर्छन् । स्थानीय तह वा त्यसका कार्यालयहरू पनि पर्छन् ।

कानूनद्वारा स्थापित सार्वजनिक सेवाप्रदायक सङ्गठित संस्था वा प्रतिष्ठानमा यस्ता सूचना हुन्छन् । प्रचलित कानून बमोजिम दर्ता भएका राजनैतिक दल तथा सङ्गठन पनि यसै दायरामा पर्छन् । नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको, अनुदानमा सञ्चालित वा नेपाल सरकारको अनुदान प्राप्त सङ्गठित संस्थासम्बद्ध सूचना हरेक नागरिकले लिन पाइन्छ।

नेपाल सरकार वा कानूनद्वारा स्थापित निकायले कुनै सम्झौता गरी गठन गरेको सङ्गठित संस्था सार्वजनिक निकायअन्तर्गत नै पर्दछ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल सरकार वा विदेशी राष्ट्र वा अन्तरराष्ट्रिय संघ/संस्थाबाट रकम प्राप्त गरेर सञ्चालन भएका गैरसरकारी संघ/संस्थाहरूबारे पनि तपाईंले सूचना लिन सक्नुहुनेछ ।

प्रदेश सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको, अनुदानमा सञ्चालित वा प्रदेश सरकारको अनुदान प्राप्त संगठित संस्थाका सूचनामा तपाईंको पहुँच आवश्यक छ । प्रदेश सरकार वा कानूनद्वारा स्थापित निकायले कुनै सम्झौता गरी गठन गरेको संगठित संस्थासँग सम्बन्धित सूचना पनि जान्न पाउने तपाईंको हक छ ।

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रदेश सरकारबाट रकम प्राप्त गरेर सञ्चालन भएका गैरसरकारी संघ र संस्थाहरूबारे तपाईंलाई जान्ने अधिकार छ । त्यस्तै, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकेका अन्य निकाय वा संस्थाका सूचना तपाईंले थाहा पाउनु आवश्यक छ ।

यस्ता निकायमा कार्यरत हुनुहुन्छ वा त्यसले दिएको सेवाबाट लाभान्वित हुनुभएको छ भने त्यसबारे जानकारी बाँड्दा धेरैले लाभ लिन सक्छन् । त्यस्ता निकायबाट प्रवाह हुनुपर्ने सेवामा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता, दलाली भएको देख्नु वा भोग्नुभएको छ भने तुरुन्तै सार्वजनिक गर्नु तपाईंको कर्तव्य हो । त्यसो गर्दा आम नागरिक थप पीडित हुनबाट जोगिनेछन् भने त्यस्ता निकायलाई नागरिकप्रति उत्तरदायी बनाउन तपाईंको भूमिका प्रभावशाली हुनेछ ।

सूचनाको हक भनेको के हो ?

सूचनाको अधिकार भनेको सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार हो । हरेक नागरिकलाई सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्न पाउने अधिकार छ । त्यससँग सम्बन्धित लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने अधिकार पनि हरेकलाई छ ।

यसै अधिकारअन्तर्गत सार्वजनिक महत्वको निर्माण कार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्न पाइन्छ । त्यससँग सम्बन्धित कुनै सामग्रीको प्रमाणित नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तै यन्त्रमार्पmत प्राप्त गर्ने हक हरेक नागरिकलाई कानूनले सुनिश्चित गरेको छ ।

सूचना पाइएन भने के गर्ने ?

सार्वजनिक निकायबाट आवश्यक सूचना पाइएन भने तपाईंले ‘सूचनाको हक’ प्रयोग गर्न सक्नुहुन्छ । कतिलाई सूचनाको हक व्यवसायिक पत्रकारिता गर्ने पत्रकारका लागिमात्रै हो भन्ने परेको हुन सक्छ । कुरा त्यसो होइन । सूचनाको हक नागरिकको मौलिक हक हो । नेपालको संविधान– २०७२ को धारा २७ मा यो हक उल्लेख छ । त्यसैअन्तर्गत ऐन र सूचना आयोग बनेको छ ।

सार्वजनिक निकायमा भएका राम्रा वा नराम्रा कामबारे किन भएको हो, कसरी भएको छ भन्ने जान्न त्यस्ता निकायका लागि तोकिएका सूचना अधिकारीलाई सम्पर्क गर्न सकिन्छ । कतिपय सूचना मौखिक रूपमा माग्न सकिनेछ भने कतिका लागि लिखिन निवेदन दिनुपर्ने हुन्छ ।

सूचना दिइएन भने राष्ट्रिय सूचना आयोगको सहयोग लिन सकिन्छ । यदि तपाईंलाई त्यस्ता सूचनाबारे थाहा छ तर कसरी लिने थाहा छैन, वा सूचना माग्दा दिइएन भने के गर्ने भन्ने अन्योल छ भने हामी त्यसका लागि पूर्ण सहयोग गर्नेछौं ।

के नागरिक पत्रकारले तलब पाउँछन् ?

नागरिक पत्रकारिताको अवधारणा नागरिकको अधिकार र दायित्व दुवैको समुच्च अभिव्यक्ति हो । राज्य वा आफ्नो जीवनसँग सरोकार राख्ने कुनै पनि निकायको निर्णय प्रक्रियामा सहभागी हुनु र अनुचित निर्णय वा क्रियाकलापलाई रोक्नु सबै नागरिकको अधिकार र दायित्व दुवै हो । यो अभियानअन्तर्गत हामी उक्त अधिकार र कर्तव्यलाई उचित मञ्च प्रदान गर्छौं ।

हामीलाई लाग्छ– यो आफ्नो अधिकारलाई पूर्ण प्रयोग गर्ने र दायित्व निर्वाह गर्ने प्रक्रिया हो । यस्तो अधिकार वा दायित्व पैसासँग जोडिँदैन र जोडिनु पनि हुँदैन । पैसा पाएमात्रै आफ्नो सरोकारका विषयमा बोल्ने, नत्र नबोल्ने भन्ने कुरै हुँदैन । त्यसैले हामीले यस कार्यका लागि पारिश्रमिक वा तलबको व्यवस्था गरेका छैनौं ।

त्यसो भन्दैमा तपाईंले निकै जोखिम लिएर वा समय खर्च गरेर धेरैभन्दा धेरै मानिसको जीवनमा प्रभाव पार्ने सूचना संकलन गर्नुभएको छ भने त्यसलाई सित्तैंमा उपयोग गर्ने छैनौं । त्यस्ता मापदण्डका सूचना दिएबापत उचित पुरस्कार नगदमै व्यवस्था गर्नेछौं ।

त्यसैगरी, नागरिक पत्रकारका रूपमा नेपालवाचसँग जोडिएर नियमित समाचार, सूचना वा विचार प्रदान गर्नेहरूलाई आवधिक रूपमा सम्मान वा पुरस्कारको व्यवस्था गर्नेछौं । त्यस्ता सम्मान वा पुरस्कार व्यक्तिगत वा सामाजिक जीवनमा सघाउ पु¥याउने प्रकृतिको हुनेछ । त्यसलाई हामी तपाईंले प्राप्त गरेको सामाजिक सम्मानका रूपमा नेपालवाच डटकममार्फत स्थापित गर्नेछौं ।

कस्ता सामग्री पठाउँदा पैसा पाइन्छ ?

कुनै पनि निकायमा भइरहेको भ्रष्टाचार वा अन्य गलत क्रियाकलापको प्रमाणसहितको सूचना छ भने त्यसबापत तपाईंलाई नगदसहितको सम्मान प्राप्त हुनेछ । प्रमाण लिखित, अडियो वा भिडियोलगायत कुनै पनि प्रकृतिको हुन सक्नेछ । त्यसको मूल्यांकन सूचनाको सार्वजनिक महत्व हेरेर नेपालवाच सम्पादकीय ब्यूरोले गर्नेछ ।

त्यस्ता सूचना दिँदा तपाईंले कुनै किसिमको खतरा महसुस गर्नुहुन्छ भने आफ्नो परिचय गोप्य राख्न सक्नुहुनेछ । हामी कानूनअनुसार स्रोतको संरक्षणप्रति प्रतिबद्ध छौं ।

नागरिक पत्रकारिता नेपालवाचमै किन ?

यति विषयमा छलफल गरेपछि तपाईंलाई लाग्ला– यसरी गर्ने पत्रकारिताका लागि नेपालवाचमै किन जोडिनु, स्वतन्त्र ढंगले पनि त गर्न सकिन्छ । फेसबुक, ट्विटर, टिकटक वा युट्युबजस्ता माध्यम छँदैछन् । त्यहाँ नै यी सबै कुरा अभिव्यक्त गर्दा भइहाल्छ नि ।

तपाईंले सोच्नुभएको कुरामा सत्यता छ । त्यसै आधारमा, तपाईंले सामाजिक सञ्जालमा निरन्तर सूचना, समाचार वा विचार प्रवाह गरिरहनुभएकै छ । तर के ती अभिव्यक्ति सञ्चारमाध्यममा आएका सामग्रीजत्तिकै प्रभावकारी भएका छन् त ? छैनन् भने तपार्इंले थाहा पाइसक्नुभयो– सामाजिक सञ्जाल र सञ्चारमाध्यमको शक्ति तथा प्रभावकारिता फरक कुरा हो ।

यसको अर्थ सामाजिक सञ्जालको शक्तिलाई न्यूनिकरण गर्न खोजिएको भने पटक्कै होइन । त्यसको आफ्नै शक्ति र सुन्दरता छ, प्रयोग पनि उत्तिकै जरुरी छ ।

सञ्चारमाध्यममा सञ्चारसामग्रीलाई विश्वसनीय, तथ्यपूर्ण र सन्तुलित बनाउन व्यवसायिक जनशक्तिको व्यवस्था हुन्छ । त्यस्तै, संविधानप्रदत्त सञ्चारको हक नागरिकलाई दिलाउन प्रतिबद्ध हुने उत्तरदायित्व बोकेको हुन्छ । त्यसैले सञ्चारमाध्यम आफैंमा कानूनी अधिकारसहितको संस्थागत शक्ति हो । राष्ट्रको चौथो अंगको रूपमा यसले जुन शक्ति आर्जन गरेको हुन्छ, त्यसको प्रयोग नागरिकको हितकै लागि गर्नुपर्छ । यसैलाई आधार मानेर हामीले नेपालवाच डटकमलाई तपाईंको मिडियाको रूपमा अघि सारेका छौं । जहाँ, तपाईं लेख्न, सुनाउन र देखाउन पाउनुहुनेछ ।

नेपालवाच डटकम ‘बेथितिमाथि निगरानी’ नाराका साथ युवा पत्रकारहरूले सञ्चालन गरेको सञ्चारमाध्यम हो । यसमा तपाईंले कुनै पनि पूर्वाग्रह र बाधा–व्यवधानसहित सूचना प्रसार गर्न र विचार राख्न पाउनुहुनेछ । यसमा जोडिँदा तपाईंलाई राष्ट्रको एउटा परिचित सञ्चारमाध्यममा जोडिनुको गर्वबोध हुनेछ भने दुनियाँसँग सरोकार भएको विषय उजागर गर्ने दायित्व निर्वाहको अवसर प्राप्त हुनेछ ।

हामी तपाईंले उठाउनु भएको मुद्दा वा झेलेका समस्यालाई प्रकाशन गरेरमात्रै छोड्नेछैनौं । त्यसलाई व्यवसायिक पत्रकारहरूमार्फत पछ्याउनेछौं । समाधान खोज्न सम्बन्धित निकायमाथि पत्रकारिताको कोणबाट निगरानी राख्नेछौं । साथै, नीतिगत समस्या हल गर्न बहस चलाउँनेछौं ।

नीतिगत बहसका लागि हामीले हरेक वर्ष गर्नेगरि ‘नेपाल नीति सम्मेलन’ सुरु गरेका छौं । जसमा हामीले बागबजारमा मकै पोलेर जीवन गुजारा गर्ने महिला निर्मला थापाको भावनालाई मुख्य मन्तव्य बनायौं । उहाँलाई साक्षी राखेर नीति–निर्माण तहमा काम गरेका व्यक्तित्वबीच बहस गराएका थियौं ।

नेपालवाच डटकम र यससँग जोडिएका यस्ता अनेकन महत्वपूर्ण कार्यक्रम र मञ्चमा तपाईंले हाम्रो नागरिक पत्रकारका रूपमा सहभागी हुने मौका पाउनुहुनेछ । साथै, तपाईंको प्रत्यक्ष प्रतिक्रिया लिएर यसमा प्रकाशित हुने हरेक सामग्रीमा अपनत्व अनुभूत गराउने अधिकतम प्रयत्न गर्नेछौं ।

नेपालवाच नागरिक पत्रकारले कस्तो परिचय–पत्र पाउँछन् ?

नेपालवाच नागरिक पत्रकारले नेपालवाच सद्भावना दूत (NepalWatch Goodwill Ambassador) उल्लेख गरिएको परिचय–पत्र पाउनुहुनेछ । यो परिचय–पत्र नेपालवाचले तपाईंलाई सम्मानस्वरूप प्रदान गर्ने हो । यसलाई व्यक्तिगत र सामाजिक सत्कर्मका लागि उपयोग गर्न सक्नुहुनेछ ।

नेपालवाच सद्भावना दूतका रूपमा यो परिचय–पत्र प्रयोग गरेर तपाईं कुनै पनि सामाजिक कार्यक्रम र सार्वजनिक सरोकारका क्षेत्रमा सहभागी हुन सक्नुहुनेछ । त्यसका लागि आवश्यक परेमा हामी थप सहजीकरणसमेत गर्नेछौं । तथापि, यसलाई कुनै पनि प्रयोजनमा दुरुपयोग गर्न भने निषेध गरिएको छ ।

पठाएको सामग्री प्रकाशन हुन कति समय लाग्छ ?

तपाईंले पठाएको सामग्रीको प्रकृति हेरेर समय निर्धारण हुनेछ । धेरै नै सम्पादकीय काम गर्नुपर्ने सामग्रीलाई केही दिनको समय लिनुपर्ने हुन्छ । नत्र, सकेसम्म छिटो तपाईंको सामग्री प्रकाशित हुनेछ । सामग्री प्राप्त भएर मूल्यांकन हुनेबित्तिकै त्यसको अवस्थाबारे हामी तत्काल जानकारी दिनेछौं । त्यस्तै सामग्री प्रकाशित भएपछि त्यसको जानकारी तुरुन्तै दिनेछौं ।

सामग्री कहाँ पठाउन सकिन्छ ?

अहिले हामीले सामग्री पठाउनका लागि इमेल र फेसबुक ठेगाना तल उल्लेख गरेका छौं । छिट्टै नै तपाईंलाई बेवसाइटमै सामग्री पठाउने माध्यमको व्यवस्था गर्नेछौं । तपाईंसँग गोप्य वा उच्च महत्वको सामग्री छ भने हामीलाई इमेल वा फेसबुक म्यासेजमा संकेत गर्नुहोला । हामी तुरुन्त सम्पर्क गरेर उपयुक्त माध्यम बताउनेछौं ।

कस्ता सामग्री प्रकाशित हुने छैनन् ?

नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तरराष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने कुनै पनि सामग्री भने प्रकाशित हुनेछैन । त्यसैगरी अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने, आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैङ्किङ्ग वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने सामग्री पनि प्रकाशनका लागि अयोग्य ठहरिनेछन् ।

विभिन्न जातजाति वा सम्प्रदायबीचको सु–सम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने, व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य, वा सुरक्षामा खतरा पुर्‍याउने सामग्री प्रकाशन हुने छैन ।

र, अन्त्यमा

यो अभियानको उद्देश्य तपाईंको अभिव्यक्तिको अधिकारलाई प्रबद्र्धन गर्नु त हुँदै हो, सूचनामा विविधता रहोस् र बहुल समाज बनोस् भन्ने पनि हो ।

हामी सञ्चार शिक्षित समाज निर्माण गर्न चाहन्छौं । त्यसैले हाम्रो सञ्चारमाध्यम नेपालवाच डटकममा पत्रकार वा सम्पादकले देखेको, जानेको, सोचेको वा चाहेका विषयमात्रै होइन, तपाईंले देखेको, जानेको, सोचेको वा चाहेको विषय धेरै आउनुपर्छ भन्ने मान्यता छ ।

सुरुमै भनियो– आम नागरिकको सहभागिता र संवादले लोकतान्त्रिक प्रक्रियालाई अझ बलियो बनाउँछ । त्यसैमार्फत राज्यमा दीगो शान्ति स्थापना हुन्छ । तसर्थ, समाज विकास र राज्यको नीति–निर्माण तथा निर्णय प्रक्रियासम्ममा आम नागरिकको सक्रिय सहभागितामा हामी फेरि पनि जोड दिन्छौं । नागरिक पत्रकार भएर तपाईं यस प्रक्रियामा जिम्मेवारीपूर्वक सक्रिय बन्न सक्नुहुन्छ ।

नागरिक समाज, आमसञ्चार र सूचना तथा सञ्चार प्रविधिको सम्मिलन समाज वा राज्यलाई उन्नत र समृद्ध बनाउने ठूलो शक्ति हो । र, यस्तो सम्मिलन तपाईंको अनिवार्य सहभागिताबाटमात्रै सम्भव छ ।

यति छलफल गरिसकेपछि तपाईंलाई धेरै कुरा स्पष्ट भयो होला । अझै केही दुविधा बाँकी छन् भने तल उल्लेख गरिएको माध्यममा सम्पर्क गरेर अझ स्पष्ट हुन सक्नुहुन्छ ।

अब, तपाईंलाई नागरिक पत्रकारका रूपमा मञ्च प्रदान गर्न र हातेमालो गर्न हामी तयार छौं । के तपाईं पनि हामीसँग सहकार्य गर्न तयार हुनुहुन्छ ?

०००

नेपालवाच सम्पर्क

www.nepalwatch.com

इमेलः [email protected]

फेसबुकः facebook.com/nepalwatchonline

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८, १२:००:००