NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रोजगारका लागि २० वर्षमा ६ देशको चक्कर

काठमाडौं । चितवनका श्रीराम त्रिपाठीलाई आफू दुःख पाउनकै लागि जन्मिएजस्तो लाग्छ । परिवार पाल्न वैदेशिक रोजगारीका लागि २० वर्षको अवधिमा उनी भारत, मलेसिया, साउदी, यूएई र कतारको चक्कर काट्दै अहिले रोमानिया पुगिसकेका छन् ।

अझै राम्रो अवसर आएमा फेरि अर्को देश जाने सोच छ उनको । लामो सुस्केरा हाल्दै त्रिपाठीले भने, ‘अझै कति समय विदेशिनु पर्ने, के हो के थाहा ?’ उनका लागि विदेशिनु रहर नभएर व्यवहारिक बाध्यता बनिसकेको छ ।

विद्यालय पढ्दा पनि कम सकसपूर्ण थिएन उनलाई । ‘फाटेको कट्टु र थोत्रो जुत्तामा स्कूल जानुपथ्र्यो । भ्वाङ परेको झोलाभित्र पुराना किताव खस्लाकी भन्ने पिर हुन्थ्यो,’ विगत कोट्याउँदै उनले भने, ‘घरको जेठो छोरा थिएँ । बुबा–आमाको खेती किसानीले दैनिकी धान्न धौ–धौ थियो । विद्यालय पछि कलेज जाने रहर मन भित्रै मार्नुपर्‍यो ।’

एसएलसी पास गरेर बुबा–आमाको मुहारमा खुशी ल्याउँदै गर्दा अरु दुई भाईलाई पढाउने जिम्मा पनि उनैको काँधमा आइपरेको थियो । चितवनको माडीमा जग्गा–जमिन त थियो तर नगद पैसा आउने बाटो थिएन । भाइहरूको पनि जिम्मेवारी आएको र घरमा पनि आर्थिक अवस्था कमजोर भएपछि उनले विदेशिने सोच बनाए । अरू देश जान पैसा नभएपछि पहिलो रोजाइमै भारत पर्‍यो ।

विसं २०५८ सालमा भारत पुगेर मासिक सात सय रूपैयाँमा काम थाले । त्यहाँ तीन वर्षसम्म बस्दा उनको तलब सात हजार पुग्यो । तै पनि घर खर्च धान्न धौ–धौ पथ्र्यो । काम पनि सजिलो, कमाई पनि कम । आर्थिक अवस्थाले नधान्ने स्थिति नआएपछि साथीहरूले पनि बढी पैसा कमाउने सोचमा मलेसिया जाने निधो गरे । त्रिपाठी पनि मलेसिया जाने सोचले नेपाल आए ।

मलेशियाबाट फर्किएपछि स्वदेशमै चार वर्ष

०६२ सालमा उनी हाते पन्जा बनाउने कम्पनीमा काम गर्न भनेर मलेसिया पुगे । तर, त्यहाँ जाँदा उनले जे सपना बुनेका थिए त्यो पूरा भएन । तीन वर्षमा साहुको तीनवटै कम्पनी बन्द भएसँगै उनको मलेसिया गएर पूरा गर्ने भनेका आशमा पूर्णविराम लाग्यो । त्यसपछि उनी नेपाल फर्किए ।

‘वृद्धावस्थामा आमाले माडीमै बसेर पसल चलाई रहनु भएको छ । बाबु–नानी अनि परिवारको याद त जहिल्यै आउँछ,’ त्रिपाठी टोलाउँदै भन्छन्, ‘जे कुरा आफूसँग छैन त्यसकै महत्व बढी अनि त्यसकै याद बढी आउने रहेछ ।’

मलेसियाबाट फर्किएपछि विवाह गरे । घरजम भएपछि नेपालमै बसेर केही गर्ने योजना बन्यो । उनले कुखुरा फारम, बंगुर फारम खोल्नेदेखि मासु काट्ने काम पनि गरे ।

त्यही बीचमा उनले किसानहरूको धान किनेर बेच्ने ‘गल्ला’ को काम पनि गर्न थालेका थिए । तर, भनेको समयमा धान बिक्री नभएर कुहिएपछि उनलाई १७ लाख रूपैयाँ घाटा लाग्यो । त्यसपछि त आर्थिक रूपमा माथि उठ्नै नसकेको उनको कथन छ ।

चार वर्षपछि त्यही झोला बोकेर साउदी

त्रिपाठीले मलेसियाबाट नेपाल आएको चार वर्षमा विभिन्न व्यापार व्यवसाय गरे । यहाँ गरेमध्ये कुनै पनि काममा सफलता नमिलेपछि फेरि उही पासपोर्ट र झोला बोकेर उनी साउदीतिर लागे ।

साउदीमै ड्राइभिङ गरेर २८ महिना नेपाल बस्दा लागेको ऋण तिरे । त्यहाँ काम र दाम दुवै राम्रो थियो । बेला–बेलामा छुट्टिमा घर आउँथे । ‘त्यतिबेला घर फर्किएपछि फेरि जानै मन लाग्थेन,’ उनले भने, ‘तर, बाध्यताको सामु कसको के लाग्छ र ?’

नफापेको कतार र यूएई

साउदीबाट आएको ६ महिनासम्म घरमै बसेपछि त्रिपाठी ड्राभिङकै लागि कतार गए । तर, त्यहाँ त अवस्था झनै खराब भयो । काम नलाग्ने कम्पनी परेपछि भविष्य फेरि अन्योलमा पर्‍यो । उनले जेनतेन एक वर्षमा घर फर्कने टिकटको जोहो गरे । ‘कर्मले ठगेपछि यस्तै हुने रहेछ । मान्छेले एकपटक मौका पाउँछ भन्थे, हो रहेछ छ,’ उनले भने, ‘साउदीमा १४–१५ घण्टा काम गर्नुपर्ने हुन्थ्यो । दाम पनि राम्रै थियो । तर, कतारमा त भाग्यले ठगे जस्तो भयो ।’

नेपाल फर्किएर फेरि व्यापार व्यवसाय गर्ने योजना थिएन । विदेशिनुबाहेकको विकल्प नभएपछि कतारबाट फर्र्किएर उनी यूनाइटेड अरब इमिरेट्स (यूएई) उडे । यूएईमा झन् अहिलेसम्म नभोेगेकोे दुःख पाए । नेपालमा हुँदा जति पनि कमाई नभएपछि गएको दुई महिनामै उनी नेपाल फर्किए ।

यूएईबाट फर्किएपछि ट्याक्सी साहु

यूएईबाट फर्किएपछि के गर्ने के नगर्ने अन्योल पर्‍यो । त्रिपाठी भन्छन्, ‘गोजीमा पैसा छैन, जता जाऊ कम्पिटिशन । दैनिकी अस्तव्यस्त बन्यो ।’ त्यसपछि उनले ट्याक्सी किने । नेपाल बसेर करिब ४ वर्ष ट्याक्सी चलाए । काम राम्रै हुन थालेपछि उनले अब विदेश नजाने अठोट गरिसकेका थिए ।

‘एक समय त पासपोर्ट नै च्यातीदिउँ जस्तो लागेको थियो,’ उनले भने । तर, विदेश नजाने सोच उनको दिमागमा लामो समय रहनै सकेन । एकदिन ट्याक्सी चढेका यात्रुले यूरोप जाने हो भनेर सोधेपछि उनको माथिंगल हल्लियो । पैसा राम्रो कमाइ हुन्छ भनेपछि त उनको लोभी मन फेरि युरोप पुगिसकेकोे थियो ।

यूरोप यात्रा

यूरोप जाने तयारी गरेपछि रोमानियन साहुले स्काइपबाट त्रिपाठीको अन्तर्वाता लिए । ‘फुड एन्ड बेभरेज’ को काममा पहिलेको अनुभव भएपछि उनी त्यसमा पास भए । पासपोर्ट त पुरानै थियो । त्रिपाठी भन्छन्, ‘भिसा लागेपछि श्रम स्वीकृति मेनपावरले गरिदियो । स्वास्थ्य चेक गरियो । विदेश जानु पूर्व दुईदिने अभिमुखिकरण तालिम लिएँ ।’ विदेश उड्ने १५ दिनअघि उनले आफूसँग भएको ट्याक्सी पनि बेचे ।

बिछोडमा परिवार रुन्छन् भनेर एक्लै विमानस्थल

करिब सात लाख रूपैयाँ बुझाएर उनी रोमानिया जाने भए । बेलुकी आठ बजेको उडान थियो । उनलाई विमानस्थलसम्म छोड्नका लागि घर–परिवार पनि सँगै आउन रहर गरेका थिए । तर, बिछोडमा परिवार रोएको देख्दा आफू पनि कमजोर भइने डरले घरबाट कसैलाई पनि बिदाइको लागि बोलाएनन् ।

त्रिपाठी भन्छन्, ‘घर छोड्दा सबैलाई पीडा हुन्छ । बरु परिवारहरू पिर माने पनि वा रोए पनि घरमै रोउन् । एयर्पोर्टमा उनीहरू रोए भने आफू पनि कमजोर होइन्छ । बिछोडमा त परिवार रुन्छन् नै, त्यसैले एजेन्टले नै विमानस्थल छोडिदिए । माला पनि उनैले लगाइदिए ।’

विगतका घटनाले रोमानियाको लागि उड्दै गर्दा उनको मन वेचैन थियो । पहिलाजस्तै हण्डर खानुपर्ने त होइन ? भन्ने प्रश्नले बेलाबेलामा झस्काउथ्यो । त्रिपाठी आफ्नो यात्रा स्मरण गर्दै भन्छन्, ‘धेरै देशमा गएर हन्डर खाए जस्तै हुने त होइन भन्ने शंकाले डेरा जमाइरह्यो । अझ यूरोपमा गएर विचल्ली पर्ने धेरै सुनेको थिएँ । कतै एजेन्टले समस्यामा पार्ने त होइन जस्तो लाग्थ्यो ।’ नेपालदेखि कतार पुग्दासम्म उनको मनमा यस्तै तर्कना आए ।

रोमानियाका लागि उनीसहित १७ जना अन्य साथीहरू पनि थिए । ‘रोमानिया नओर्लिएसम्म अन्तै लैजाने पो हो कि भन्ने लागेको थियो,’ उनले भने, ‘यात्रा भरी गन्तव्यसम्म राम्रोसँग पुग्न पाऊँ भन्दै भगवार पुकारिरहेँ ।’

त्यहाँ पुग्दा रातको करिब १० बजेको थियो । रोमानिया पुगेपछि सम्बन्धित कम्पनीको मान्छे नआउँदासम्म उनीहरूलाई विमानस्थलबाट जान दिइएन । भाषाको समस्याले निकै सास्ती खेप्नुपरेको उनी बताउँछन् । किनभने त्यहाँ ९५ प्रतिशतले आफ्नै स्थानिय भाषा बोल्थे । अंग्रेजी नबोल्ने हुँदा कठिन भयो । कम्पनी र रोमानियास्थित दूतावासका प्रतिनिधि आएपछि उनीहरूलाई त्यहाँबाट जान दिइयो ।

त्यहाँ पुगेपछि भनेअनुसारको कम्पनी र तलबसुविधा थियो । खाडी मुलुक र मलेसियामा कामदारहरूलाई एउटै गाडीमा राखेर कार्यालय लगिन्थ्यो । त्यहाँ भने जिपिएसको माध्यमबाट आफैं ठेगाना खोजेर गन्तव्यसम्म पुग्नुपर्ने थियो ।

एक महिनापछि ३० हजार रूपैयाँ तलब हात प-यो । त्यसबाट उनले १० हजार रूपैयाँ आफैंले खर्च गरे । बाँकी २० हजार रूपैयाँ साथीको मोबाइल बैंकिङबाट सिधै नेपालको बैंक खातामा पठाए । त्यतिबेला रोमानियामा नेपालीको संख्या कम थियो । हुन्डी र अन्य माध्यमबाट पैसाको कारोबार हुन्थेन ।

सुनेको र भोगेको रोमानिया

आफूले सुनेको र भोगेको रोमानिया फरक भएको बताउँछन् त्रिपाठी । उनीहरूलाई रोमानिया सेन्जेन (अन्य यूरोपियन देशमा बिना भिसा जान पाउने समूह)मा पर्छ भनिएको थियो । तर, वास्तवमा रोमानियाको भिसा भएकाले अर्को यूरोपियन देश जान फेरि भिसा लिनुपर्ने रहेछ ।

विकासका हिसाबले राम्रो भए पनि कमाइका हिसाबले रोमानिया भने र सुनेभन्दा कठिन भएको उनको अनुभव छ । उनी रोमानिया आउन चाहने नेपालीलाई सबै कुरा राम्ररी बुझेर मात्रै आउन सुझाउँछन् । ‘एजेन्टले यूरोप भनेर बढी पैसा लिन्छ, त्यसैले मिल्छ भने सेन्जेन कन्ट्रीमै जाँदा राम्रो हुन्छ,’ उनले भने ।

रोमानियाको कमाइले चितवनमा घर, फेरि अर्को देश जाने सोच

त्रिपाठी अबको तीन–चार महिनामा छुट्टीमा नेपाल आउने तयारीमा छन् । आफूले सोचेजस्तो परिवेश बनेमा उनी फेरि अर्को देश जाने तयारीमा छन् । विदेशको कमाइले चितवनमा उनले जग्गा र घर जोडेका छन् । रोमानियाको कमाइले पनि घरपरिवारको खर्चमात्रै धान्ने स्थिति भएकाले उनले फेरि अर्को देश जाने सोचेका हुन् ।

‘यहाँ पनि खासै कमाइ नहुने रहेछ । त्यसैले पनि अब अर्को देश जाने सोचेको छु,’ उनले भने, ‘हुन त भोलि के हुन्छ कसलाई थाहा छ र ? तै पनि अझै एक–दुई देश जाने योजना छ ।’

जहाँ जे छैन, त्यसैको याद

त्रिपाठी चाडबाडमा बुढी आमाको धेरै याद आउने बताउँछन् । ‘वृद्धावस्थामा आमाले माडीमै बसेर पसल चलाई रहनु भएको छ । बाबु–नानी अनि परिवारको याद त जहिल्यै आउँछ,’ त्रिपाठी टोलाउँदै भन्छन्, ‘जे कुरा आफूसँग छैन त्यसकै महत्व बढी अनि त्यसकै याद बढी आउने रहेछ ।’ उनी काम गर्ने ठाउँमा जम्मा चारजनामात्रै नेपाली छन् । चाडपर्वमा उनीहरू मिलेर दिन कटाउँछन् ।

सामाजिक संलग्नता

परदेशीका लागि साथी नै परिवार हुन्छन् । कसैलाई समस्या परिहाल्यो भने केही सहयोग गर्नुपर्छ भन्ने भावननाले उनले नेपाल सरकारबाटै दर्ता गराएर मेची महाकाली सामाजिक संस्था दीन दुःखीको साहारा भन्ने संस्था स्थापना गरेका छन् । अहिले साउदी र मलेसियासम्म संस्थाको शाखा फैलिसकेको छ । त्रिपाठीका अनुसार रोमानियाबाट पनि ८० भन्दा बढी नेपालीहरू त्यसमा जोडिएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८, १७:१९:००