NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गजराजसिंहले बसाएको प्राचीन इलाम

श्रीअन्तुबाट बिहान झिसमिसेमै चियाका बुट्टामाथि सूर्यका किरण ओर्लिन्छन् । चम्किन थालेका चियाका पात हेर्दै मेरो बिहान सुरु हुन्छ । घामको झुल्कोसँगै डोको बोकेका मजदुरहरू कमानमा चिया टिप्न आउँछन्, अनि जाग्छ इलाम । यस्तो इलाम बोध गर्न थालेको तीन दशक भइसकेछ । यसकै प्राकृतिक सौन्दर्यमोहले खिचिएर म जन्मेको थातथलो पाँचथर छोडेर यता बसेको हुँ ।

इलामेली माटोको अग्र्यानिक सुगन्धले तानेपछि मैले काठमाडौंमा पनि आफूलाई अड्याउन सकिनँ । चिया बगानको अनुपम सौन्दर्यबोध गर्दै बाँच्नु जीवनको लत बनिसकेको छ । आज, यही प्रिय सहरको केही ऐतिहासिक पाटोको चर्चा गर्दैछु ।


गजराजसिंह थापा र पामरगनी मैया (बाँया), लालदरबार (दायाँ)
गजराजसिंह थापा र पामरगनी मैया (बाँया), लालदरबार (दायाँ)

आजको इलाम बजार भएको स्थान १९३१ सालपहिले सुनसान गाउँजस्तै थियो । अहिलेको इलाम जिल्लाको माइखोलादेखि पूर्वी भाग उतिबेला लेप्चा जातिको राज्यक्षेत्र थियो । माइखोला पश्चिमको भाग भने १० लिम्बू राजामध्ये इमेहाङको राज्य पथ्र्यो ।

लेप्चा राजा दावा करफोकले करफोक दरबारमा बसेर राज्य चलाएका थिए । इमेहाङले आङदाङ गढीबाट आफ्नो अपुङ्गी (टुक्रेराज्य) राज्य चलाएका थिए । विसं २००७ का क्रान्ति सेनानी तथा लेखक नरेन्द्रनाथ बास्तोलाले इलामबारे लेख्दा यी तथ्य उल्लेख गरेका छन् ।

सुगौली सन्धि पहिले नेपालको पूर्वी सिमाना टिष्टा नदीसम्म थियो । सन्धिपछि नेपालको सिमाना इलामको मेची नदी कायम भयो । त्यसपहिले इलामको खलङ्गा (सदरमुकाम) दार्जीलिङको मिरिकमा थियो । सन्धिको सर्तअनुसार ५० दिनभित्र आफ्नै सिमानाभित्र सदरमुकाम सार्नुपर्ने भयो । यो विसं १८७२ को कुरा थियो ।

विसं १९३५ मा बेलायतबाट चिया प्रशोधन गर्ने मेसिन झिकाई आधुनिक चिया प्रशोधन कारखाना बसाइयो । नेपालको औद्योगिक इतिहासमा इलाम चिया कारखाना नै पहिलो कारखाना हो ।

त्यसपछि १८७३ सालमा इलामको करफोक सदरमुकाम सर्‍यो । भारतसँग नजिक भएकाले सुरक्षाको कारण विसं १८७५ मा इलामको सदरमुकाम अहिलेको इलाम बजार भएको स्थानमा स्थापना भएको हो । उतिबेला सदरमुकाम नभनिएर गौंडा भनिन्थ्यो । इलाम गौंडाको प्रथम प्रशासक जयन्त खत्री थिए । इलाम गौंडा राणाशासन कालभरि कायम थियो ।
No description available.
तत्कालीन चिया कारखाना

इलाम नामाकरणको कथा

इलाम लिम्बू भाषाको ‘आइलाम’ र लेप्चा भाषाको ‘इलोम’ शब्दबाट नामाकरण भएको हो भन्ने देखिन्छ । लिम्बू भाषामा ‘आइ’को अर्थ ‘घुमाउरो’ र ‘लाम’को अर्थ बाटो हो भन्ने लाग्छ । यस्तै लेप्चा भाषामा ‘इ’ को अर्थ ‘पुत्का जातको मौरी’ र ‘लोम’को अर्थ ‘बस्ने ठाउँ’ हो भन्ने लाग्छ ।

इलाममा पहिले यिनै लेप्चा र लिम्बू जातिको राज्य भएकाले उनीहरूकै भाषा अपभ्रंश भएर इलाम भएको हो भन्ने कुरा वस्तुपरक देखिन्छ । यस भनाइमा इतिहासकारहरूबीच मतैक्यता छ । इलामका बाटाघाटाहरू अहिले पनि घुमाउरो छन् भने पुत्का प्रजातिको मौरी इलामको जिर्मलेमा पाइन्छ । पुत्का लोपोन्मुख प्रजातिको मौरी हो ।

शब्दचित्रमा पुरानो इलाम बजार

काजी हेमदल थापा विसं ( १८७६–१९२०) इलाम गौंडाको बडाहाकिम थिए । उनकै पालामा थापाले इलाममा थ¥याइँ (राणाकालिन स्थानीय प्रशासक थरी) बसाएको पाइन्छ । थापाले २० घर परिवार बराबर एकजना थरीको व्यवस्था गरेका थिए । तत्कालीन समयमा थरीले सरकारको प्रतिनिधिको रूपमा काम गर्नुपथ्र्यो ।
No description available.
बगानमा चिया टिप्दै मजदुर

त्यतिबेला इलाम बजार (तत्कालीन गौंडा आसपास)मा पाँच–सात वटा खरले छाएका घर मात्र थिए । बाँसघारी र नाङ्गो चौर मात्र थियो । इलाम गौंडाका पछिल्ला बडाहाकिम सन्तवीर लामाले आफ्ना पुर्खाबाट सुनेका यी कथा आफ्नो कृति इलाम दर्पण (२०१६) मा उल्लेख गरेका छन् ।

हेमदल थापा श्री ३ जङ्गबहादुर राणाको बेलायत यात्राका सदस्य थिए । साइनोले सम्धी पनि । आफ्नो जेठी श्रीमतीबाट जन्मिएकी जेठी छोरी पामरगनी मैयाँको बिहे हेमदलको छोरा गजराजसिंह थापासँग गरिदिएका थिए ।

गजराजसिंह थापाको आगमन र परिवर्तित इलाम

गजराजसिंह थापा इलामको मात्र नभएर नेपालकै इतिहास पुरुष हुन् (प्रा.युद्धप्रसाद बैद्य) । थापा जङ्गबहादुरको छोरीज्वाईं हुन् भन्ने कुरा अघि पनि उल्लेख भएकै छ । विसं (१९२०–१९४७) मा उनी इलाम गौंडाका बडाहाकिम थिए ।

उनलाई आफ्ना ससुरा श्री ३ जङ्गबहादुरले इलाम बिर्ता (खुवा) को रूपमा दिएका थिए । आफूले इलाम विर्ता पाएपछि आफ्नो बिर्ता क्षेत्रमा विसं १९२० मा चिया रोपाए । उनलाई जङ्गबहादुरले ब्रायन हजसनको सहयोगमा दार्जीलिङको मिसन स्कूलमा अंग्रेजी शिक्षा पढाएका थिए ।

No description available.

दार्जीलिङमा उनले चिया खेती देखेका थिए । त्यसैकारण उनले इलाममा चियाखेती गराए । विसं १९३५ मा बेलायतबाट चिया प्रशोधन गर्ने मेसिन झिकाई आधुनिक चिया प्रशोधन कारखाना बसाइयो । नेपालको औद्योगिक इतिहासमा इलाम चिया कारखाना नै पहिलो कारखाना हो ।

आज सम्झिँदा ती दिनहरू सपना जस्तो लाग्छ । हेर्दाहेर्दै मेरै आँखाले के के देख्यो, के के भोगेँ । अहिले त यी झिलिमिली सहरै सहर । बिजुली बत्ती बल्यो, गाडी आए, टिभी, फुन सप्पै ।

इतिहासकार प्राज्ञ दिनेशराज पन्तका अनुसार इलाममा चियाखेती थालनी भएसँगै बगानमा काम गर्ने केही मजदुर र दक्ष कामदार पनि दार्जीलिङबाट झिकाइए । उनीहरूलाई धुरा (मजदुरको आवास क्षेत्र)मा बसाइयो । गौंडा भएपछि गाउँका अन्य केही मानिस पनि इलाममा आएर बस्न थाले ।
No description available.
विसं १९२० मा गजराजसिंह थापाले राेपेकाे चियाकाे बाेट

समय बित्दै गयो, गाउँका मानिस थपिदै गए, बस्ती बाक्लो हुँदै बजारको रूपमा स्थापित भएको हो । थापाले इलाममा लालदरबार बनाए, घोडेटो बाटोहरू खनाए, मन्दिर, पाटीपौवा बनाए । उनकै पालामा इलाममा टुँडिखेल पनि बन्यो । विसं १९२२ मा इलामको सोक्तिममा अर्को चिया कमान बनाए । विभिन्न ठाउँमा फलफूलका विरुवा रोपेर बगैँचा बनाए । त्यसरी थापाले इलामको आधुनिकीकरण गरे । पहिलेको सुनसान गाउँले सानो बजारको रूप धारण गर्‍योे । टोकला र सोक्तिम इलामे चियाका चर्चित ब्राण्ड नै बने ।

त्यसरी इलाममा थापाले चिया रोपाएको सुन्दर हरियाली चिया बगान देखेपछि नै स्रष्टा मन भएका चिया मजदुरहरूले ‘इलामै सहर च्याबारी राम्रो, त्यैं पर्‍यो घर हाम्रो’ भन्दै गीत गुनगुनाउन थालेका हुन् । यो गीत कालजयी बनेको छ । यसलाई चिया साहित्य पनि भन्न सकिन्छ । यसरी हेर्दा चिया साहित्यको उद्भवस्थल पनि इलाम हो भन्ने देखिन्छ । चिया साहित्यको जनक गजराजसिंह थापा हुन् भन्ने पुष्टि हुन्छ । यो त भयो विसं १९५० भन्दा पहिले अर्थात् गजराजसिंह थापाकालीन इलामको शब्दचित्र ।
No description available.
१०३ वर्षीय टंकनाथ भुर्तेल

अब अलिकति यताका कुरा, इलाम बरबोटे निवासी १०९ बर्षीय टंकनाथ भुर्तेलको कथनीबाट चर्चा गर्छु ।

खोइ कहाँ देख्नु र उतिबेलाको इलाम अहिले !

पुरानो इलामको कथा सुनौं भनेर म बयोवृद्ध टंकनाथ भुर्तेलको बरबोटेस्थित घरमा पुगेँ । म पुग्दा उनी आँगनमा बसेर बिहानको घाम ताप्दै थिए । पुरानो इलाम भन्ने बित्तिकै उनका आँखाले टाढा–टाढा हेर्न थाले । अनि, स्टीलको ठूलो गिलासबाट दूध चिया सुरुप्प पारे र सम्झिन थाले पुराना दिन ।

‘ओहो बाबै ! उतिबेलाको इलाम कहाँ देख्नु, कहाँ भेट्नु र अहिले ? यतिबेला म १०९ वर्षमा हिन्दैछु । चार पाँच वर्षको हुँदा मैले देखेका, सुनेका कुरा अझै आँखामा आउँछन्, कानमा गुन्जिन्छ नानी । म सानो छँदा इलाम बजार सानो बस्तीजस्तो थियो । अहिलेको चोक बजार भएको ठाउँमा पानीको आहाल थियो । बाँसघारी मात्रै थ्यो । बडाहाकिम गजराजसिंह थापाको दरबार पटाङ्गिनी मास्तिर डाँडामा थ्यो । बजारमा एउटा हावाघर थ्यो । माइथान थ्यो, त्यहाँ हजारुँ जोर परेवा बस्थे । चारो खान उड्दा सुर्जेनारानलाई नै छेक्थे । तेस्तो औधी थ्यो परेवा उतिबेला इलाममा । बजारको पारि पाखामा च्या पेल्ने कारखाना थ्यो ।

नब्बे सालमा भुइँचालो आ’को बेला जस्तो लाग्छ, म च्या पेलेको हेर्न भनेर गाको । गुनुन्न गरेर कराइरको थ्यो, छानाबाट ध्वाँको मुस्लो निस्न्किथ्यो । मगमग बासना नाकमा आउथ्यो । भित्र गएर हेर्छु भनेको चौकीदारले जानै देनन्, आहै ! अनि तेतिकै फर्केर आएँ । ढुंगा छापेको साँगुरो बाटो थ्यो दरबारमा जाने । त्यो सबै उधम (उद्यम) बडाहाकिम गजराजसिंह थापाले गरेका हुन् भन्नुहुन्थ्यो मेरा पिताजी ।

मैले जान्दा चारानामा २ धार्नी घिउ आउँथ्यो, १७ रुप्पेमा एकतोला सुन आउँथ्यो । महावीर शमशेर बडाहाकिम भएको बेला माथि भाँडीखोलादेखि फलामको पाएप (पाइप)बाट इलाम बजारमा पानी ल्याए । उनले एकपल्ट इलाममा हात्ती पनि ल्याएका थे । पछि सन्तवीर लामा बडाहाकिम हुँदा गाडीको बाटो खनेर इलाममा गाडी ल्यायो । यो त हिजोअस्ति २०१२ सालको कुरा हो । आज सम्झिँदा ती दिनहरू सपना जस्तो लाग्छ । हेर्दाहेर्दै मेरै आँखाले के के देख्यो, के के भोगेँ । अहिले त यी झिलिमिली सहरै सहर । बिजुली बत्ती बल्यो, गाडी आए, टिभी, फुन सप्पै ।

अँ, म १०० वर्ष पुगेको बेला मलाई इलाम बजार लगेका थे । तेतिबेला हेर्दा गजराजले रोपेको च्याको बुट्टा, उसैले बनाएको च्या कारखाना भने उस्तै नै थ्यो बाबै । कारखाना लडेको रैनछ, च्याको बोट पनि मरेको रैनछ । कान्छा छोराले गाडी रोक्न लगाइओरी हेरेर आएँ । थापाको दरबार पनि अझै छ भन्छ कान्छा । तेत्ति नै हो बाबै पुरानो इलामको दशीप्रमान । अरू सबै हराएर गए ।’

भुर्तेल बाले भनेजस्तै इलामले आफ्नो इतिहासका कति कुरा हरायो, कति संरक्षण गरेर ल्यायो । जे होस्, बडाहाकिम गजमानले बसाएको यो शहर आज देशकै ठूलो पर्यटकीय नगरी बनेको छ । चियासँग अलैंची, अदुवा, दुग्धजन्य उत्पादनहरू देश–विदेशसम्म पुग्छ । चिया पारखीका लागि इलामले आफ्नै स्वाद पस्केको छ, ब्राण्ड बनाएको छ । इलामको सौन्दर्य पान गर्न जुनकुनै पनि मौसममा स्वदेशी तथा विदेशी जन यता आइरहन्छन् । म भने इलामकै आँगनमा बस्न पाएर मनमग्न छु ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, १८:४६:००