NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नसिब गार्मेन्टदेखि पाँचतारे होटलसम्म

देशलाई टेक्स्टाइलको अन्तराष्ट्रिय हब बनाउने सपना बोकेका उद्यमी विष्णु भुसालको संघर्षको कथा

रुपन्देही तिलोतमाका उद्यमी विष्णु भुसाल घटटट्ट मेशिन बजेका आवाज सुनेर आफ्नो दिनचर्या शुरु गर्छन् । गार्मेन्टमा एकछत्र काम गरिरहेका मजदुरहरु देख्दा उनलाई लाग्छ, दुनियाँ एउटै गतिमा हिडिरहेको छ । एक उद्यमीका लागि आफ्नो कारखानाको सुगन्धवोध जति प्रिय केही हुँदैन । कर्मप्रतिको यही लगाबले एक सामान्य किसानका छोरो, बाल्यकालमा साइकलमा मानिसका घरघर भैंसीका दूध ओसार्ने एक ठिटो आज अर्बौं लगानीका उद्यम हाँक्ने उद्यमी बने । उनका गार्मेन्ट, हाउजिङ, टेक्स्टाइल, होटललगायत उद्योग तथा व्यवसाय छन् ।

No description available.

पर्वतमा जन्मेका उनी तिलोतमाकै भूमिमा हुर्के । आफ्नै क्षेत्रलाई कर्मभूमि बनाएका उनको उद्योग–व्यवसाय लुम्बिनी क्षेत्रमै विस्तारित छन् । कामका व्यस्तताकै बीचमा उनी बेलाबेला आफ्नो विगततिर फर्किन्छन् । सम्झन्छन्, ‘आमाबुबा रातदिन खेतबारी काम गरिरहने । दश नंग्रा खियाएर उहाँहरुले म, भाइ र बहिनीलाई पढाउनु भयो । आज पनि मेशिनमा घोेप्टिएर काम गरिरहेका कामदारलाई देख्दा आमाबुबाको खटाईको याद आउँछ ।’

१५ वर्ष लेखन्दास

उनले सानै उमेरमा काम र पैसाको महत्व बुझे । एसएलसी पास गर्ने बित्तिकै भैरहवाको मालपोतमा लेखन्दासको काम पाए । २०५४ सालको कुरा हो, पहिलो दिन उनले ३५ रुपैयाँ आर्जन गरे । त्यो पैसाले उनले साथीहरुलाई भोज पनि खुवाए, एकदिनको गाडी भाडाा पनि तिरे र केही बचाएर घरमा आमालाई पनि दिए । १५ वर्षसम्म यो पेशमा रहँदा उनले जीवनलाई हिडाउने धेरै बाटो भेटे ।

हार खाएर उद्योग नै बन्द गर्ने अवस्थामा पुगियो । तर त्यही विन्दुमा अडिन सक्नु नै अगाडीको बाटो खुल्नु रहेछ । आफ्ना कमजोरीहरु पहिचान गर्‍यौं । पुराना उद्यमीको चेन ब्रेक गर्दै आयातित बजारसँग प्रतिस्पर्धा गर्न सकिने ठाउँहरु हेर्‍यौं । त्यसपछि पछाडी फर्केर हेर्नु परेन ।

मालपोतमा काम गर्दा उनले दुई खाले मान्छे भेट्थे । कोही मान्छे कारोबारमा बिग्रेर टुंगिएर आउने, हिजोसम्म सामान्य हैंसियतका कोही रातारात प्रगति गरेको देख्थे । यसरी कोही किन बिग्रन्छ ? कोही कसरी बन्दो पनि रहेछ ? उनले नजिकबाट जान्ने मौका पाए ।

यो पेशामा एक दशक बितिसकेको थियो । उनलाई फरक काम गर्ने सोच पलायो । त्यहीबेला बालसखा रामकिशोर लोनियाँले एउटा प्रस्ताव ल्याए । जुन प्रस्तावले उनी उद्यमको बाटो हिडे । लोनियाँ अरु कसैको गार्मेण्टका कालिगढ थिए । लोनियाँले प्रस्ताव गरे, ‘१० लाख रुपैयाँ लगानी गर्नुस्, म कालिगढ व्यवस्थापन गर्छु । महिनाको २५÷२५ हजार रुपैयाँ दुवैलाई फाइदा हुन्छ ।’

उनलाई प्रस्ताव मन पर्‍यो । बैंकसँग कर्जा समेत लिएर नसिब गार्मेन्टको जग हाले । उद्योग सुरु भयो । स्कूलका विद्यार्थीका लागि चाहिने ट्य्राकसुटदेखि महिलाका विभिन्न वस्त्र नसिवमा उत्पादन हुन्छ । बजार विस्तार हुँदै गयो । त्यति लगानीले पुग्ने कुरा भएन । लगानी थप्न प¥यो । लगानी गर्न नसकेपछि केही वर्षमा लोनियाँ भने व्यवसायबाट स्वेच्छाले बाहिरिए ।

काम गर्न सजिलो थिएन । लगानी गरे, उद्योग शुरु पनि भयो, तर बजारमा विश्वास बनाउन सबैभन्दा गाह्रो थियो । पाँच/छ वर्ष यात्रामा निकै अप्ठ्यारो झेले । सामान बजारमा पठायो, कतै फिनिसिङ भएन भन्थे र फिर्ता आउने, कतै साइज वा रंग मिलेन भन्ने कमेण्ट । फेरि चीनियाँ सस्तो दरका सामानले बजारमा प्रतिस्पर्धा गर्ने गाह्रो । उनलाई लाग्यो, गलत ठाउँमा पैसा फसाइएछ ।

उनले भने, ‘हामी हार खाएर उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका थियौं, तर त्यही विन्दुमा अडिन सक्नु नै अगाडीको बाटो खुल्नु रहेछ । हामीले हाम्रा कमजोरीहरुको पहिचान गर्‍यौं । पुराना उद्यमीको चेन ब्रेक गर्दै आयातित बजारसँग प्रतिस्पर्धा गर्न सकिने ठाउँहरु पनि हेर्‍यौं । त्यसपछि पछाडी फर्केर हेर्नु परेन ।’ त्यसपछि उनीहरुले आस्तेआस्ते बजार बन्दै गए, ग्राहकले नसिबका उत्पादन मन पराउन थाले ।

मेरो सिकाईले भन्छ, जहाँ मन्डी छ, त्यहाँ व्यापार हुन्छ । एउटा मात्रै पसल भएको ठाउँमा भन्दा छनोटको विकल्प धेरै भएकै ठाउँमा मान्छे जान्छन् ।

पाँच वटा मेसिन र १० जना कामदारबाट सुरु गरेको नसिब गार्मेन्टमा अहिले तीन सय जना प्रत्यक्ष रोजगार छन् । एक हजार स्कूलमा उनकै गार्मेन्टका ट्य्राकसुट पुग्छन् । गार्मेन्टका लागि भारत, चीन, बंगलादेश र केही विराटनगर तथा विरगञ्जतिरका स्वदेशी कपडामा पनि आउँछन् । नसिबले जेन्ट्स अण्डरवयर र सेन्डो, ट्य्राकसुट, टीसर्ट, महिलाका चाहिँ ५० वटा जति आइटम बन्छन् । उनको गार्मेन्टबाट एक सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्मका हुडी सेटसम्म बन्छन् । मासिक एक लाख ५० हजार पीस जति कपडा तयार हुने गार्मेन्टमा ७५ प्रतिशत स्वदेशी तथा बाँकी भारतीय कालिगढहरु काम गर्छन् ।

गाउँ-गाउँमा कपास खेती

उनको एउटा उद्योगमा तयारी कपडा आउँछ, अर्कोमा धागो । बाँझै रहेका हाम्रा डाँडापाखामा कपास खेती गर्न पाए त धागो यहीँ, कपडा यहीँ बन्थ्यो । उनलाई अब कपास खेती गर्नु छ, तर आफैं हैन । उनी भन्छन्, ‘हामीसँग जमिन छ, किसान छन्, कपास खेती त गर्ने हो । धागो उद्योग चलाउन अरबौं रूपैयाँको लगानी गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सके सहकारीहरुमार्फत्, नभए यो अवधारणा अनुसार । केही वर्षमै यस योजना अघि बढ्ने छ ।’

No description available.

अहिलेलाई उनले धागो ल्याएर कपडा यहीँ बुन्न ‘नसिव निटिङ एण्ड टेक्स्टाइल’ नाममा उद्योग स्थापना गरे । उद्योगमा छ महिनादेखि उत्पादन शुरु भएको छ । उद्योगमा जडित प्लान्टले कपासको धागो पनि उत्पादन गर्न मिल्छ । प्लान्ट लगाउनुपूर्व उनले झण्डै दुई वर्ष भारतका विभिन्न उद्योगको भ्रमण गरे ।

हुन त नेपालमा धागोबाट कपडा बुन्ने उद्योग अरु पनि छन् । तर, पुरुषले लगाउने सेन्डो उत्पादन गर्ने यो पहिलो नेपाली उद्योगको हो । सुति, पोलिस्टर, पोलारलगायत दैनिक २ टन कपडा उत्पादन हुन्छ । केही महिनाभित्रै पाँच टन उत्पादन हुने गरी उद्योगको क्षमता विस्तार गरिदैछ । कपडा रंगाउने (डाइङ गर्ने)सहितको मेसिन थपिदै छन् ।

व्यवसाय गर्न बजार हल्ला जस्तो न सजिलो अप्ठ्यारो महसुस हुन्छ । उद्योग–व्यवसायका लागि नीति राम्रै बने पनि कार्यान्वयन गर्ने तल्लो निकायमा चाहिँ केही असहजता छन्, तर गर्नै नसकिने अवस्था नभएको पनि उनी बताउँछन् । अन्य देशमा जस्तो स्वदेशी उद्योग प्रवद्र्धन गर्न राज्यले पर्याप्त सुविधा नदिएको भन्ने चाहिँ उनको पनि गुनासो छ ।

बैंकको चर्को व्याजदरले उद्योगी निकै मारमा भएको पनि उनी बताउँछन् । उनी भन्छन्, ‘रोजगारी सिर्जना उद्योग र ट्रेडिङलाई एउटै कित्तामा राखेर हेर्ने सरकारको नीति चाहिँ ठिक छैन । मानौं, गाडी किन्न र उद्योग चलाउने मेसिन वा कच्चा पदार्थ ल्याउनेलाई एउटै व्याजदर लगाउन मिल्छ ? यहाँनेर सोच्नु पर्ने हो ।’

कामकाजीका छोराछोरीलाई नमस्ते एकेडेमी

एउटा कामले अर्को कामको बाटो देखाउँदो रहेछ । उद्यमी बन्दै जाँदा उनले देखे, धेरै कामकाजी मानिसले आफ्ना छोराछोरीको पढाईमा ध्यान दिन नपाउँदा रहेछन् । अर्कातिर, गुणस्तरीय र सुविधायुक्त स्कूल खोज्दै काठमाडौंसम्म लैजाने गरेको पनि देखे । त्यस वर्गका विद्यार्थी लक्षित गरेर उनकै पहलमा चार वर्षअघि तिलोतमा नगरपालिकाभित्रै नमस्ते एकेडेमी खोले । यहाँ मन्टेश्वरीदेखि दश जोड दुईसम्मको अध्यापन हुन्छ । आधुनिक भौतिक पूर्वाधार सम्पन्न स्कूलमा चार सय विद्यार्थी छन् ।

एउटै काममा अल्झिएर बस्न नरुचाउने भुसाल सँधैं नयाँ संभावनाको खोजीमा हुन्छन् । यसैक्रममा उनले बोरा उत्पादन गर्ने अर्को उद्योग पनि सुरु गरे । कालिका बोरा उद्योगमा उनीसहित चार जनाको १० करोड रूपैयाँ लगानीे छ । उद्योगबाट सिमेन्ट, दानालगायत उद्योगमा चाहिने बोरा बनाउँछ । चाँडै नै उद्योगको क्षमता विस्तार हुँदैछ ।

ड्रिम प्रोजेक्ट तिलोत्तमा होम्स्

मध्यपश्चिमको ठूलो केन्द्र बुटवल र आसपासका क्षेत्रका खेतीयोग्य जमिन दिनानुदिन घरले भरिन थाल्यो, शहरको अनुहार कुरुप हुँदै गयो । एकिकृत वस्तिमा भन्दा छिरोलिएको वस्तिमा पूर्वाधारका सुविधा पुर्‍याउन राज्यले धेरै खर्च गर्नु पर्ने हुन्छ । यही कारण ल्याण्डपुलिङ गरी एकिकृत वस्ति विकास गर्ने योजना पनि सरकारले अघि सार्‍यो ।

No description available.

सरकारकै तर्फबाट आवास क्षेत्र निर्माण गर्न धेरै ठूलो बजेट आवश्यक पर्ने, जुन तत्काल संभव पनि थिएन । तर निजी क्षेत्रको तर्फबाट राजधानी लामै समयदेखि र पोखरामा केही अघिदेखि एकिकृत आवास निर्माण भइरहेको छ ।

हामी हाम्रै क्षेत्रलाई बनाउन चाहन्छौं । त्यही भएर रुपन्देहीमै पाँचतारे होटलको परिकल्पना गरेका हौं । दुई/तीन वर्षमा यो सपनाले आकार लिनेछ ।

‘हाम्रै क्षेत्रमा किन हामीले नै यसको शुरुआत नगर्ने ?’ उद्यमी भुसालको मनमा लागिरहेको थियो । यसैबीच तिलोतमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले त नगरपालिकाभित्रको कुनै पनि उत्पादनयोग्य भूमि खाली राख्न नपाइने स्थानीय ऐन नै बनाए । साथै आवास क्षेत्रलाई स्मार्ट सिटी बनाउने अवधारणा अन्तर्गत पूर्वाधार विकासमा नगरभित्र निरन्तर काम गरिरहेका थिए । तर, एकिकृत वस्ति नै स्थानीय सरकारको तर्फबाट बनाउन उनको पालिकासँग पनि लगानी हुने कुरा भएन ।

यही सन्दर्भमा भुसाल, नगरप्रमुख घिमिरे र व्यवसायी नेत्र वनबीच निजी लगानीमा भएपनि काम गर्ने योजना बन्यो । नगरपालिकाभित्रै यसरी सुरु भयो तिलोतमा होम्स् परियोजना । लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रालिमार्फत् अघि बढाइएको परियोजनाको कूल लागत १ अर्ब ५० करोड रूपैयाँ रहेको छ ।

भुसाल भन्छन्, ‘लुम्बिनी प्रदेशकै लागि यो पहिलो र नमूना प्रोजेक्ट हो । साथीहरूसँग यस कार्यका लागि सोच र सपना मिल्यो र अघि बढ्यौं । छ विगाहा जग्गामा बन्दै गरेको हाउजिङमा १ सय ९ ओटा घरहरु हुनेछन् । फराकिलो बाटो, स्विमिङ पुल, चिल्ड्रेन पार्क, स्पोर्टस् क्लब, सुरक्षा संयन्त्र लगायत सुविधा हुने आवास क्षेत्रमा मध्यपश्चिमकै नमूनाको रुपमा निर्माण हुँदै छ । यस क्षेत्रका लागि हाम्रो प्रोजेक्ट नमूना हो । हामीले थालेपछि अहिले दर्जनौं हाउजिङ आयोजना शुरु भएका छन् ।’

आठ महिनाअघि शुरु भएको परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी ग्राहकलाई हस्तान्तरण गर्दैछन् । यस क्षेत्रमा पनि सामूहिक आवासमा बस्न रुचाउनेहरु बढेका छन् । ४० वटा घरको अग्रिम बुकिङ भइसकेको छ । उनीहरु चाँडै नै बुटवल क्षेत्रमा अपार्टमेण्ट पनि निर्माण गर्दैछन् । बुद्धभूमिको लुम्बिनीको सन्निकट पर्ने यस क्षेत्रमा पाँच तारे होटल खोल्ने पनि उनको समूहको योजना छ । उनी भन्छन्, ‘हामी हाम्रै क्षेत्रलाई बनाउन चाहन्छौं, जे गरेपनि आफ्नै ठाउँमा गर्न मन लाग्छ । त्यही भएर यसै क्षेत्रमा पाँचतारे होटलको परिकल्पना गरेका हौं । दुई/तीन वर्षमा यो सपनाले आकार लिनेछ ।’

राजमार्गमा अर्गानिक होटल

पूर्व पश्चिम राजमार्ग हुँदै लामो यात्रामा निस्केका यात्रीको पहिलो चिन्ता ती बाटोमा खाइने खानाको हुन्छ । ती रुटमा यात्रा गर्दा खानाकै कारण कतिपटक आफैं पनि अस्वस्थ भएका छन् । यात्रुहरुले खाना खाँदै गर्दा गरेको गाली कयौं पटक उनको कानमा परेका छन् । पैसा नहुनेका दुःख त छँदै छन्, भएर पनि राम्रो खाना खान नपाएका गुनासा सुनिरहन्थे ।

भारतका दिल्ली, पञ्जाबतिरको यात्रा गर्दा बाटोभरी एकदमै सफा होटलहरु देखे, जुन क्षेत्रमा एक हजार जति कार, गाडीका यात्रुलाई सहजै खाना खुवाइरहेको देखे । यिनै गुनासा र अनुभवले उनलाई एउटा अर्गानिक होटल खोल्न घच्घच्यायो ।

केही साथीसँगको सहकार्यमा कपिलवस्तुमा २५ विगाहा जग्गामा अर्गानिक होटल खोल्दै छन् । उनले भने, ‘हाम्रो होटलमा यात्रामा बासी, सडेका खाना खाएर दिक्क भएका यात्रुले अर्गानिक स्वादको खाना पाउने छन् । हामी वरिपरीको खेतबारीमा फलेका अर्गानिक खाद्यन्न प्रयोग गर्ने छौं । स्थानीय उत्पादनको प्रयोग गर्दै अर्गानिक खाना पस्किनु हाम्रो उद्देश्य हुने छ ।’ हाल जग्गा खरिद हुँदै गरेको होटल एक डेढ वर्षभित्रमा बन्न थाल्ने छ ।

कुनै पनि व्यवसाय अघि बढाउन प्रणाली निर्माण मुख्य कुरा हो भन्ने लाग्छ उनलाई । प्रणालीमा लगेपछि आफैं चल्न थाल्छ । भन्छन्, ‘एउटै काममा अडिरहँदा मलाई जीवन यसै खेरफाले जस्तो लाग्छ । हिडिरहे कहिँ न कहिँ पुगिन्छ । चलिरहेको व्यवसायमा नियमित तर थोरै समय दिए पनि पुग्छ । अनि नयाँ काममा अघि बढ्न समय मिल्छ, त्यसैले हिडिरहेछु । त्यसो त सबै काम हामीले गर्छौं भन्ने होइन, तर हामीले जेजति गर्छौं, त्यसबाट आउने पुस्ता प्रेरित होउन् र देशमै केही गरुन् भन्ने हो ।’

कुनै पनि व्यवसाय गर्दा उनी सम्बन्धित क्षेत्रकै हबका रुपमा विकास होस् भन्ने सोच राख्छन् । हब बन्नका लागि एक्लैले लगानी गरेर हुन्न, धेरैले एकै क्षेत्रमा लाग्नु प¥यो । उनी भन्छन्, ‘म पनि काम गर्दै जाँदा सिक्दै, भोग्दै छु । मेरो सिकाईले भन्छ, जहाँ मन्डी छ, त्यहाँ व्यापार हुन्छ । एउटा मात्रै पसल भएको ठाउँमा भन्दा छनोटको विकल्प धेरै भएकै ठाउँमा मान्छे जान्छन् ।

यसैले गार्मेन्ट उद्योग चलाउँदै जाँदा लाग्यो, नेपाल यो व्यवसायको अन्तरराष्ट्रिय हब बनाउन सकियोस् । बल्ल अमेरिकादेखि पनि यहाँ गार्मेन्टका लागि आइपुग्छन् । नेपाललाई हब बनाउन सकिने धेरै क्षेत्र छन् । यसतर्फ चाहिँ निजी क्षेत्रले त आफ्नोतर्फबाट काम गरिरहेकै हुन्छ । तर राज्यले नीतिगत तहबाटै सोच्नु पर्छ ।’ यही फराकिलो सोचका कारण बाल्यकालमा साइकलमा दूध बेच्ने घरघर पुग्ने भुसाल आज व्यवसायिक सफलताको उकालो चढिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८, १६:३०:००