NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

शैलुङको डाँडादेखि चेन रेष्टुराँसम्म

माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई

तुसारोले कठाङ्ग्रिएको काठमाडौंमा घामको पातलो न्यानो खस्न थाल्छ । युवा उद्यमी वसन्त लामालाई घामको न्यानो ताप्न बौद्धस्थित आफ्नै रेष्टुराँ ‘द बर्गर हाउस एण्ड क्रञ्ची फ्राइड चिकेन’मा पुग्न हतार हुन्छ । कुन्ती मोक्तानले गाएको चर्चित सोही गीतले सम्बोधन गरेको दोलखाको शैलुङ क्षेत्रमा जन्मिएका उनले ३३ वर्षमै फास्टफुड रेष्टुराँको चेन विस्तार गर्ने युवा उद्यमीको श्रेय कमाएका छन् । हाल उनका राजधानी र बाहिर गरी ९० वटा चेन रेष्टुराँ विस्तार भइसकेका छन् ।

उनको जन्मघर शैलुङको ग्रामिण भेगमा पर्छ । गीतमा भनेजस्तो चांैरी नचराए पनि उनी बाल्यकालमा भेडाबाख्रा चराउँदै हुर्किए । बुवा नेपाली सेनाका जागिरे घरमा आमा र दुई उनीभन्दा साना दुईजना भाइ थिए । गाउँघरमै खेल्दै हुकिँदै थिए । माओवादीको युद्धका बेला संकटकाल लागेपछि उनका बुवाले जागिर छोडे र परिवारसहित काठमाडौं आए ।

मकैका टुसा उम्रिए झैं यो ब्राण्डले सहर भर्दै गयो । उनी भन्छन्, ‘एउटा सफलताले अर्को यात्राको ढोका खोल्दो रहेछ, हामी यति एग्रेसिभ्ली अगाडि बढ्यौं कि त्यसपछि पछाडि फर्केर हेर्नु परेन ।

गाउँको खुला फाँट, देउरालीमा खेलिहिड्ने एउटा ठिटो एकाएक राजधानीको साँघुरो परिवेशमा आइपुगे । यता आएपछि उनलाई गाँउघरको, साथीहरूको यादले खुब पिरोल्थ्यो । गाउँ छोड्दा उनी १३ वर्षका थिए । यता आएर आमा–बुवाले स्वयम्भूमा सानो होटल चलाए । आफ्नै होटलमा उनले ममः, चाउमिन बनाउन सिके । त्यति कमाइले परिवारको गुजारा चल्ने छाँट देखेनन् । बुवा–आमा छोराले धेरै पढोस् भन्ने चाहन्थे । उनलाई भने जागिर गरे पैसा कमाइन्छ भन्ने लाग्यो । तर उनी एसएलसी उतीर्ण गर्ने बित्तिकै काम गर्न निस्कने सुर कसे । गाउँकै नातेदारको फास्टफुड रेष्टुराँमा काम गर्न उनी पाटनको मंगलबजार पुगे । आफन्तको रेष्टुराँ, उनले किचनमै प्रवेश पाए । खानाका विभिन्न परिकार बनाउन सिक्न अवसर पाए । तलब त मासिक दुई हजार रूपैयाँ पाउँथे, तर उनको लागि त्यो सीप सिक्ने थलो थियो, सिके । उनले पाटन क्षेत्रकै आफन्तहरूकै रेष्टुराँमा कररिब सातवर्ष काम गरे । कुकिङको तरिका, ग्राहकको स्वाद, आतिथ्य सत्कार र बजारको अवस्थमा पनि बुझ्ने मौका पाए ।

त्यही सीप बोकेर उनी ०६८ सालमा दुबई गए । त्यहाँ पनि ५०÷६० हजार कमाइ हुने, यति त नेपालमै कमाउन सकिन्छ, नौ महिनामै उनी नेपाल फर्किए । ‘परदेशमा अर्काको अरनखटनमा त्यति जाबो कमाइका लागि के अल्झिनु भन्ने लाग्यो । १० वर्ष बस्दा पनि नेपालमा एउटा घडेरी किन्ने पैसा जम्मा नहुने रहेछ विरलैले अलिक राम्रो कमाउँलान्, तर नेपालीको औसत कमाइ त्यस्तै देखें । अनि म फर्किएँ,’ उनले भने ।

No description available.

नेपाल फर्किने बित्तिकै उनले पेशामा बदले । भाइ ( काकाका छोरा)सँग मिलेर एउटा निर्माण व्यवसायसम्बन्धी कम्पनी दर्ता गरे । उनको कम्पनीले दोलखाकै नेता जिपछिरिङ लामाको कन्स्ट्रक्सन कम्पनी मातहत सब कन्ट्रयाक्टरको काम गरे ।

काठमाडौंको शंखमुल करिडोर बनाउन उनी दुईवर्ष खटिए । यो कामबाट राम्रै आम्दानी भयो । पेशाको हिसाबले उनको लागि रेष्टुराँ व्यवसाय नै ठीक थियो । निर्माणको काम चल्दाचल्दै उनले पाटनमा आफ्नै २२ लाख रूपैयाँमा मामाको फास्टफुट रेष्टुराँ किनेर चलाउन थाले ।

भूकम्पको पराकम्पसँगै नयाँ पाइला

समय एउटै गतिमा नहिड्ने, व्यवसाय राम्रै चल्दै थियो । त्यसैबीच, ०७२ बैशाखमा भुकम्प गयो । राजधानीमा धेरै ठूलो धनजनको क्षति भयो । भूकम्पले पाटनका पुराना बस्तीमा पनि निकै क्षति ग¥यो । मानिसहरूबीच हाहाकार थियो । कति मानिस घरबाट सडकमा, पालमुनि आइपुगे । उनलाई लाग्यो, मान्छे यस्तो प्राणी हो, उ कुनै पनि संकटलाई चिरेर अगाडि निस्कन चाहन्छ । नयाँ उज्यालोको खोजीमा निस्कन्छ । भूकम्पको आतेस र संकटबाट बाहिर निस्कन चाहिरहेका तिनै अनुहारलाई लक्षित गर्दै उनले पाटनकै सौगालमा असारमा ४० लाख रूपैयाँ लगानीमा अर्को रेष्टुराँ खोले ।

नाम के राख्ने त ? साथीहरूसँग छलफल चल्यो । कसैले के कसैले के सुझाए । तर उनलाई लाग्यो, बर्गर धेरैको रोजाइ हो, यसैलाई जोड्नु पर्छ । नाम राखियो, बर्गर हाउस एण्ड बार्बिक्यू स्टेशन । प्रायः लोकल रक्सी, भुटन चिउरा पाइने सामान्य खाजा मात्रै चल्ने त्यस क्षेत्रमा अलिक व्यवस्थित रेष्टुराँ चल्दैन भन्ने धेरैको सुझाब थियो । त्यसमा पनि भुइँचालो चलिरहेको र व्यवसाय डुबिरहेको बेला उनले गरेको दुष्साहसलाई केहीले पागलपन पनि भने । तर उनी बेपर्वाह लागिरहे ।

उनी भन्छन्, ‘भुइँचालोको पराकम्प आइरहेकै थियो, रेष्टुराँको भुइँमा कामदारहरू टायल लगाउँदै थिए । भर्खर टाँसेको टायल नै उक्किन्थ्यो । बाटो हिड्नेहरू हामीलाई छक्क पर्दै हेर्थे । तर अप्ठ्यारोमै थालेको यात्राले यहाँसम्म आइपुगें ।’

आफूले थालेको सानो फास्टुफुड रेष्टुराँ चेन व्यवसायका रुपमा सहरभरी विस्तार होला भन्ने सोचका थिएनन् । तर, आफ्नै देशमा केही गर्ने सपना, त्यसलाई फुलाउने लगन, निरन्तरता र मातहतका टिमवर्कले यस व्यवसायको क्षेत्रमा उनको छुट्टै पहिचान निर्माण ग¥यो ।

परम्परागत खाजाघरमाभन्दा फरक स्वादका परिकार खान पाइने, ग्राहकको खासै कमी भएन । दुईवटै रेष्टुराँ चलिरहेकै थियो, एकदिन पुराना साथी (दाइ) निकेश ताम्राकार भेटिएपछि व्यवसायिक यात्राले नयाँ फड्को मा¥यो । सौगालको रेष्टुराँ राम्ररी चलेपछि निकेशसँग सल्लाह भयो, मुख्य बजारमा नयाँ ब्राण्डसहित अर्को रेष्टुराँ खोल्ने । मानिसहरू नयाँ वर्षको उत्सव सेलिब्रेसनको योजना बनाइरहेका थिए । तीमध्ये केहीका लागि नयाँ स्टेशन बन्यो– बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन । निकेशले क्रन्ची फ्राइड चिकेन सुझाए, तर बर्गर जोड्दा पर्ने प्रभाव उनले बोध गरिसकेका थिए । नयाँ ब्राण्ड, नयाँ मेनुसहित सजिसजाउ नयाँ स्टेसन बानेश्वरको शंखमुल घुम्ती बन्यो । नयाँ वर्ष मनाउनेहरू आए ।

सँधै नयाँ वर्ष थिएन, फेरि स्टेसन अण्डरग्राउण्डमा थियो, झट्ट ग्राहकको आँखा नपुग्ने । कसरी भित्राउने ग्राहक ? कसरी बनाउने तिनका लागि हरेक दिन उत्सव ? उनको टिमले व्यवसायिक योजनामाथि दिमाग चलाउन थाल्यो ।

अर्को ६ महिनामा मध्य बानेश्वरमा खोले । त्यसपछि यसरी मकैका टुसा उम्रिए झैं यो ब्राण्डले सहर भर्दै गयो । उनी भन्छन्, ‘एउटा सफलताले अर्को यात्राको ढोका खोल्दो रहेछ, हामी यति एग्रेसिभ्ली अगाडि बढ्यौं कि त्यसपछि पछाडि फर्केर हेर्नुपरेन ।’

रेष्टुराँको वरिपरी विभिन्न कार्यालय तथा व्यवसाय थिए । ती नियमित ग्राहक आकर्षित गर्न मेनु र ब्रोसर वितरण गरे । आउने ग्राहकलाई मेनुमा कहिले बर्गर आइटम, कहिले क्रन्ची फ्राइड चिकेन फ्रिमा दिने त कुनैमा डिस्काउण्टजस्ता अनेक आकर्षण स्किम दिए । रेष्टुराँबाहिर स्लसी (गर्मीमा पिउने जुस) बेचेँ । कहिले फ्रिमै आइसक्रिम बाँडे । करिब ६ महिना यसरी मिहिनेत गरेपछि उनको रेष्टुराँको स्वादका नियमति पारखी बढे । उनको व्यवसाय विस्तार हुँदै गयो ।

सुरुवाती दिनमा १५ हजारदेखि २० हजारसम्मको व्यापार हुने रेष्टुराँमा अहिले एक लाख रूपैयाँसम्मका कारोबार हुन्छ । शुक्रबार र शनिबार भिडभाड हुने रेष्टुराँमा दुई लाख रूपैयाँसम्मको व्यापार हुने उनको भनाइ छ ।

No description available.

सहरभरी फैलिँदो चेन रेष्टुराँ

शैलुङको फाँटमा गाई चराउँदै हुर्केका वसन्तले आफूले थालेको सानो फास्टुफुड रेष्टुराँ चेन व्यवसायका रूपमा सहरभरी विस्तार होला भन्ने सोचका थिएनन् । तर, आफ्नै देशमा केही गर्ने सपना, त्यसलाई फुलाउने लगन, निरन्तरता र मातहतका टिमवर्कले यस व्यवसायको क्षेत्रमा उनको छुट्टै पहिचान निर्माण ग¥यो । भन्छन्, ‘यतै केही गरौं भन्ने सपना त विदेशबाट फर्किदा बोकेर आएकै थिएँ । तर, समयले पनि साथ दियो, म एक्लै हिड्न खोजिनँ, आफन्त, नातेदार र साथीहरूलाई समेत एउटै व्यवसायमा जोड्दै अघि बढें । यसले वरिपरीकै न्यानो साथ पाएँ । यो पहलले इस्र्या गर्ने र खुट्टा तान्ने मौका धेरैले पाएनन् । मेरो सफलताको कडी यही हो भन्ठान्छु ।’

शंखमुलमा राम्रो व्यापार भएपछि उनले ठमेलमा खोले । अहिले आफ्नै लगानीका पाँचसहित फ्रेन्चाइज लिएर खोलिएको गरी काठमाडौं उपत्यका र बाहिर गरी ८८ अवटा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन सञ्चालनमा छन् । दुईवटा खुल्ने तयारीमा छन् । सुरु–सुरुमा आफ्नो रेष्टुराँका ब्राण्ड बनाउनु थियो, आफन्तहरूलाई उनले सित्तैमा फ्रेन्जाइज दिए । केही समयअघि मेरो एक साथीले आफ्नो छोरीको जन्मदिन मनाउन आउने निम्ता दिइन् । कहाँ आउनु ? घरमा ? उनको जवाफ थियो, बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन गठ्ठाघर । पछिल्लोसमय यसरी जन्मदिन, विवाह उत्सव जस्ता विशेष उत्सव मनाउन वा साथीसंगी, जमघटको रोजाइ उनको चेन रेष्टुराँ बनेको छ । वसन्त भन्छन्, ‘डेकोरटेड स्पेश, आरामदायी बसाइ, सुपथ मूल्यका खाना यी हाम्रा विशेषता हुन् । बजारका अन्य स्थानमाभन्दा हाम्रो मेनुको विविधता र मूल्य पनि सहुलियतपूर्ण छ । हाम्रो स्पेश आम ग्राहकको पहिलो रोजाइ बनेको छ । ग्राहकलाई थप खुसी पार्न अझ सुविधा र विशेषता बढाउने सोच छ ।’

बजार हल्ला छ, फ्रेञ्चाइज दिँदा उनले ठूलै रकम लिन्छन् । तर, यथार्थ अलिक फरक छ । धेरैजसो चिनजानकै आउने हुँदा उनले एउटा फ्रेन्चाइज दिएबापत पाँचलाख रूपैयाँसम्म मात्रै लिने गरेका छन् । भन्छन्, ‘पैसै मात्र ठूलो होइन, कमाउन विदेश जानुभन्दा यतै केही गरुन् भन्ने मेरो सोच हो । त्यसैले कतिलाई पैसा नै लिइनँ, लिएकालाई पनि एकदम कम । राजधानी बाहिरको प्रस्ताव पनि आउन थालेका छन् । अब भने व्यवसायिक दर निर्धारण गर्नुपर्ला ।’ घर बाहिर खाने प्रचलन राजधानीबाहिर पनि मौलाएको छ । उनको चेन रेष्टुराँ पूर्वको दमकदेखि जनकपुर, भैरहवा, वीरगञ्ज, चितवन, पोखराहुँदै महेन्द्रनगरसम्म ३० वटा छन् ।

उनले अरुकहाँ काम गर्ने बेलासम्म पनि मानिस घरबाहिर निस्केर खाने प्रचलन कमै थियो । होटल, रेष्टुराँ जाने हैंसियत धनाढ्यहरूको मात्रै हुन्छ भन्ने थियो । तर, अब यो सोच भत्किएको छ । सामान्य आर्जन भएकाहरू एकअर्का मिलेर पनि जमघट हुन थालेका छन् । यो एक-डेढ दशकमा यस्तो प्रचलन ह्वात्तै बढेको छ ।

देशभर फैलिएका उनको चेन रेष्टुराँमा दुई हजार ६ सय जना जति रोजगार छन् । उनको आफ्नै लगानी रहेका पाँच वटा रेष्टुराँले सरदर मासिक दुईदेखि पाँच लाख रूपैयाँसम्म राज्यलाई कर मात्रै बुझाउने गरेको उनले बताए ।

भुइँचालोको परकम्पन आइरहेकै थियो, रेष्टुराँको भुइँमा कामदारहरू टायल लगाउँदै थिए । भर्खर टाँसेको टायल नै उक्किन्थ्यो । बाटो हिड्नेहरू हामीलाई छक्क पर्दै हेर्थे । तर अप्ठ्यारोमै थालेको यात्राले यहाँसम्म आइपुगें ।

रातदिन खटेर यहाँसम्म ल्याइपु¥याएको स्टेशनहरूमा हुरूरू ग्राहक आउँदा, तिनले खुसीको उत्सव मनाएको देख्दा उनलाई मनैदेखि आनन्द आउँछ । फेरि धेरैजसो साथीहरु यसमै संलग्न भएर सँगै भइरहन पाउँदा थप आनन्द लाग्ने बताउँछन् । उनका रेष्टुराँमा प्रायः आफ्नै गाउँठाउँका युवाले रोजगारी पाएका छन् । ६ वर्षकै अन्तरालमा उनको व्यवसायले यस्तो उचाइ लिएपछि उनीसँग व्यावसायिक आइडिया सिक्न आउनेहरू पनि प्रशस्त छन् ।

आफ्नै टिमले गर्छ गुणस्तर व्यवस्थापन

भनिन्छ, पकाउनेको हात सँधै उस्तै हुँदैन । अर्थात्, एकै जनाले पकाएको स्वाद पनि बेला–बेला फरक हुन्छ । तर, उनको सबै रेष्टुराँमा सकेसम्म उही गुणस्तर र स्वाद पस्कने प्रयास गरेका छन् । मेनु पनि एउटै, दररेट उस्तै ।

ब्राण्डको समान गुणस्तर कायम गर्न एउटा टिम नै खटाएका छन् । वसन्त भन्छन्, ‘एउटा टिम निरन्तर निगरानीमा सबैतिर पुगिरहन्छ । समय मिलेसम्म म आफैं पनि पुग्छु । यति हुँदाहुँदै पनि शुक्रबार र शनिबार ग्राहकको दोब्बर भिड हुने हुँदा गुणस्तरमा केही तलमाथि हुने गरेको गुनासो आउँछ । तर, वाध्यता छ, कि हामीकहाँ विदेशमा जस्तो विदाको दिनलाई मात्रै थप कर्मचारी पाउने अवस्था छैन, भएकैले धान्नु पर्दा यस्तो हुने गरेको छ ।’

No description available.

उनी प्रायः बौद्धको स्टेशनमा भेटिन्छन् । घर पायकपर्ने यस क्षेत्रमा धेरै साथी जमघट भइरहने हुँदा अलिक धेरै समय यतै बित्ने उनी बताउँछन् । बिहान ६ बजे उठ्ने उनी राती १० बजेमात्रै घर पुग्छन् । उठेर जिम जाने, तयार हुने अनि आठबजे बौद्ध स्टेसन पुग्छन् । त्यसपछि क्रमैसँग राजधानीका अन्य स्टेसनसम्म । कुनै एउटै स्टेसनमा बसेर एप्स् र अनलाइन प्रणालीमार्फत् व्यवसायिक गतिविधिको नियन्त्रण तथा निगरानी गर्न सक्छन् । तर, आफू उपस्थित हुँदा कर्मचारीमा उत्साह र सतर्कता दुवै हुने हुँदा उनी दौडिरहन्छन् ।

उद्योगतिर फड्को

अहिलेसम्म अरुकै उत्पादनमा सबै रेष्टुराँ चलाइएको थियो । व्यवसायको मात्रा बढेपछि उनलाई लाग्यो, उत्पादनमा पनि आफैं लागे थप आत्मनिर्भर हुन सकिन्छ । उनले बौद्धको स्टेसन छेवैमा बेकरी उद्योग सुरु गरे । मिट प्रोसेसिङ, ससेज उद्योग भैरहवामा छ । विस्तारै अन्य आवश्यक वस्तुको उत्पादन पनि आफैं गर्ने योजना छ ।

कम छ मुनाफा

आधुनिक बत्तीको झिलिमिली, अनेक आकर्षक सजावट, ग्राहकका लागि मिठा खानाका परिकार, वेटरले टेबुल–टेबुलमा सर्भ गरिरहँदा उनी उज्यालो अनुहार बनाउँछन् । तर, अरुले आँकलन गरेजस्तो पैसाको वर्षा नै चाहिँ हुन गाह्रो हुने उनको अनुभव छ । वसन्त भन्छन्, ‘मान्छेले सोच्छन्, यस्तो मान्छेको भिड लाग्छ, कमाएको पैसा कहाँ राख्ला । तर, सबै वस्तु महँगो छ, बजारसँग कडा प्रतिस्पर्धा छ । राज्यले सुविधा दिने कुरा छैन । हामीले मुस्किलले २५ प्रतिशत नाफा बसाउँछौं । यति हो कि यो जे गरिरहेका छौं देशमै बसेर गर्न पाएका छौं, मेरो खुसी यति हो ।’

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, २०:३४:००

ताजा अपडेट

नेपालवाच विशेष