NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

शैलुङको डाँडादेखि चेन रेष्टुराँसम्म

नेपालको चेन रेष्टुराँ ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को विस्तारको कथा :

माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई

तुसारोले कठाङ्ग्रिएको काठमाडौंमा घामको पातलो न्यानो खस्न थाल्छ । युवा उद्यमी वसन्त लामालाई घामको न्यानो ताप्न बौद्धस्थित आफ्नै रेष्टुराँ ‘द बर्गर हाउस एण्ड क्रञ्ची फ्राइड चिकेन’मा पुग्न हतार हुन्छ । कुन्ती मोक्तानले गाएको चर्चित सोही गीतले सम्बोधन गरेको दोलखाको शैलुङ क्षेत्रमा जन्मिएका उनले ३३ वर्षमै फास्टफुड रेष्टुराँको चेन विस्तार गर्ने युवा उद्यमीको श्रेय कमाएका छन् । हाल उनका राजधानी र बाहिर गरी ९० वटा चेन रेष्टुराँ विस्तार भइसकेका छन् ।

उनको जन्मघर शैलुङको ग्रामिण भेगमा पर्छ । गीतमा भनेजस्तो चांैरी नचराए पनि उनी बाल्यकालमा भेडाबाख्रा चराउँदै हुर्किए । बुवा नेपाली सेनाका जागिरे घरमा आमा र दुई उनीभन्दा साना दुईजना भाइ थिए । गाउँघरमै खेल्दै हुकिँदै थिए । माओवादीको युद्धका बेला संकटकाल लागेपछि उनका बुवाले जागिर छोडे र परिवारसहित काठमाडौं आए ।

मकैका टुसा उम्रिए झैं यो ब्राण्डले सहर भर्दै गयो । उनी भन्छन्, ‘एउटा सफलताले अर्को यात्राको ढोका खोल्दो रहेछ, हामी यति एग्रेसिभ्ली अगाडि बढ्यौं कि त्यसपछि पछाडि फर्केर हेर्नु परेन ।

गाउँको खुला फाँट, देउरालीमा खेलिहिड्ने एउटा ठिटो एकाएक राजधानीको साँघुरो परिवेशमा आइपुगे । यता आएपछि उनलाई गाँउघरको, साथीहरूको यादले खुब पिरोल्थ्यो । गाउँ छोड्दा उनी १३ वर्षका थिए । यता आएर आमा–बुवाले स्वयम्भूमा सानो होटल चलाए । आफ्नै होटलमा उनले ममः, चाउमिन बनाउन सिके । त्यति कमाइले परिवारको गुजारा चल्ने छाँट देखेनन् । बुवा–आमा छोराले धेरै पढोस् भन्ने चाहन्थे । उनलाई भने जागिर गरे पैसा कमाइन्छ भन्ने लाग्यो । तर उनी एसएलसी उतीर्ण गर्ने बित्तिकै काम गर्न निस्कने सुर कसे । गाउँकै नातेदारको फास्टफुड रेष्टुराँमा काम गर्न उनी पाटनको मंगलबजार पुगे । आफन्तको रेष्टुराँ, उनले किचनमै प्रवेश पाए । खानाका विभिन्न परिकार बनाउन सिक्न अवसर पाए । तलब त मासिक दुई हजार रूपैयाँ पाउँथे, तर उनको लागि त्यो सीप सिक्ने थलो थियो, सिके । उनले पाटन क्षेत्रकै आफन्तहरूकै रेष्टुराँमा कररिब सातवर्ष काम गरे । कुकिङको तरिका, ग्राहकको स्वाद, आतिथ्य सत्कार र बजारको अवस्थमा पनि बुझ्ने मौका पाए ।

त्यही सीप बोकेर उनी ०६८ सालमा दुबई गए । त्यहाँ पनि ५०÷६० हजार कमाइ हुने, यति त नेपालमै कमाउन सकिन्छ, नौ महिनामै उनी नेपाल फर्किए । ‘परदेशमा अर्काको अरनखटनमा त्यति जाबो कमाइका लागि के अल्झिनु भन्ने लाग्यो । १० वर्ष बस्दा पनि नेपालमा एउटा घडेरी किन्ने पैसा जम्मा नहुने रहेछ विरलैले अलिक राम्रो कमाउँलान्, तर नेपालीको औसत कमाइ त्यस्तै देखें । अनि म फर्किएँ,’ उनले भने ।

No description available.

नेपाल फर्किने बित्तिकै उनले पेशामा बदले । भाइ ( काकाका छोरा)सँग मिलेर एउटा निर्माण व्यवसायसम्बन्धी कम्पनी दर्ता गरे । उनको कम्पनीले दोलखाकै नेता जिपछिरिङ लामाको कन्स्ट्रक्सन कम्पनी मातहत सब कन्ट्रयाक्टरको काम गरे ।

काठमाडौंको शंखमुल करिडोर बनाउन उनी दुईवर्ष खटिए । यो कामबाट राम्रै आम्दानी भयो । पेशाको हिसाबले उनको लागि रेष्टुराँ व्यवसाय नै ठीक थियो । निर्माणको काम चल्दाचल्दै उनले पाटनमा आफ्नै २२ लाख रूपैयाँमा मामाको फास्टफुट रेष्टुराँ किनेर चलाउन थाले ।

भूकम्पको पराकम्पसँगै नयाँ पाइला

समय एउटै गतिमा नहिड्ने, व्यवसाय राम्रै चल्दै थियो । त्यसैबीच, ०७२ बैशाखमा भुकम्प गयो । राजधानीमा धेरै ठूलो धनजनको क्षति भयो । भूकम्पले पाटनका पुराना बस्तीमा पनि निकै क्षति ग¥यो । मानिसहरूबीच हाहाकार थियो । कति मानिस घरबाट सडकमा, पालमुनि आइपुगे । उनलाई लाग्यो, मान्छे यस्तो प्राणी हो, उ कुनै पनि संकटलाई चिरेर अगाडि निस्कन चाहन्छ । नयाँ उज्यालोको खोजीमा निस्कन्छ । भूकम्पको आतेस र संकटबाट बाहिर निस्कन चाहिरहेका तिनै अनुहारलाई लक्षित गर्दै उनले पाटनकै सौगालमा असारमा ४० लाख रूपैयाँ लगानीमा अर्को रेष्टुराँ खोले ।

नाम के राख्ने त ? साथीहरूसँग छलफल चल्यो । कसैले के कसैले के सुझाए । तर उनलाई लाग्यो, बर्गर धेरैको रोजाइ हो, यसैलाई जोड्नु पर्छ । नाम राखियो, बर्गर हाउस एण्ड बार्बिक्यू स्टेशन । प्रायः लोकल रक्सी, भुटन चिउरा पाइने सामान्य खाजा मात्रै चल्ने त्यस क्षेत्रमा अलिक व्यवस्थित रेष्टुराँ चल्दैन भन्ने धेरैको सुझाब थियो । त्यसमा पनि भुइँचालो चलिरहेको र व्यवसाय डुबिरहेको बेला उनले गरेको दुष्साहसलाई केहीले पागलपन पनि भने । तर उनी बेपर्वाह लागिरहे ।

उनी भन्छन्, ‘भुइँचालोको पराकम्प आइरहेकै थियो, रेष्टुराँको भुइँमा कामदारहरू टायल लगाउँदै थिए । भर्खर टाँसेको टायल नै उक्किन्थ्यो । बाटो हिड्नेहरू हामीलाई छक्क पर्दै हेर्थे । तर अप्ठ्यारोमै थालेको यात्राले यहाँसम्म आइपुगें ।’

आफूले थालेको सानो फास्टुफुड रेष्टुराँ चेन व्यवसायका रुपमा सहरभरी विस्तार होला भन्ने सोचका थिएनन् । तर, आफ्नै देशमा केही गर्ने सपना, त्यसलाई फुलाउने लगन, निरन्तरता र मातहतका टिमवर्कले यस व्यवसायको क्षेत्रमा उनको छुट्टै पहिचान निर्माण ग¥यो ।

परम्परागत खाजाघरमाभन्दा फरक स्वादका परिकार खान पाइने, ग्राहकको खासै कमी भएन । दुईवटै रेष्टुराँ चलिरहेकै थियो, एकदिन पुराना साथी (दाइ) निकेश ताम्राकार भेटिएपछि व्यवसायिक यात्राले नयाँ फड्को मा¥यो । सौगालको रेष्टुराँ राम्ररी चलेपछि निकेशसँग सल्लाह भयो, मुख्य बजारमा नयाँ ब्राण्डसहित अर्को रेष्टुराँ खोल्ने । मानिसहरू नयाँ वर्षको उत्सव सेलिब्रेसनको योजना बनाइरहेका थिए । तीमध्ये केहीका लागि नयाँ स्टेशन बन्यो– बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन । निकेशले क्रन्ची फ्राइड चिकेन सुझाए, तर बर्गर जोड्दा पर्ने प्रभाव उनले बोध गरिसकेका थिए । नयाँ ब्राण्ड, नयाँ मेनुसहित सजिसजाउ नयाँ स्टेसन बानेश्वरको शंखमुल घुम्ती बन्यो । नयाँ वर्ष मनाउनेहरू आए ।

सँधै नयाँ वर्ष थिएन, फेरि स्टेसन अण्डरग्राउण्डमा थियो, झट्ट ग्राहकको आँखा नपुग्ने । कसरी भित्राउने ग्राहक ? कसरी बनाउने तिनका लागि हरेक दिन उत्सव ? उनको टिमले व्यवसायिक योजनामाथि दिमाग चलाउन थाल्यो ।

अर्को ६ महिनामा मध्य बानेश्वरमा खोले । त्यसपछि यसरी मकैका टुसा उम्रिए झैं यो ब्राण्डले सहर भर्दै गयो । उनी भन्छन्, ‘एउटा सफलताले अर्को यात्राको ढोका खोल्दो रहेछ, हामी यति एग्रेसिभ्ली अगाडि बढ्यौं कि त्यसपछि पछाडि फर्केर हेर्नुपरेन ।’

रेष्टुराँको वरिपरी विभिन्न कार्यालय तथा व्यवसाय थिए । ती नियमित ग्राहक आकर्षित गर्न मेनु र ब्रोसर वितरण गरे । आउने ग्राहकलाई मेनुमा कहिले बर्गर आइटम, कहिले क्रन्ची फ्राइड चिकेन फ्रिमा दिने त कुनैमा डिस्काउण्टजस्ता अनेक आकर्षण स्किम दिए । रेष्टुराँबाहिर स्लसी (गर्मीमा पिउने जुस) बेचेँ । कहिले फ्रिमै आइसक्रिम बाँडे । करिब ६ महिना यसरी मिहिनेत गरेपछि उनको रेष्टुराँको स्वादका नियमति पारखी बढे । उनको व्यवसाय विस्तार हुँदै गयो ।

सुरुवाती दिनमा १५ हजारदेखि २० हजारसम्मको व्यापार हुने रेष्टुराँमा अहिले एक लाख रूपैयाँसम्मका कारोबार हुन्छ । शुक्रबार र शनिबार भिडभाड हुने रेष्टुराँमा दुई लाख रूपैयाँसम्मको व्यापार हुने उनको भनाइ छ ।

No description available.

सहरभरी फैलिँदो चेन रेष्टुराँ

शैलुङको फाँटमा गाई चराउँदै हुर्केका वसन्तले आफूले थालेको सानो फास्टुफुड रेष्टुराँ चेन व्यवसायका रूपमा सहरभरी विस्तार होला भन्ने सोचका थिएनन् । तर, आफ्नै देशमा केही गर्ने सपना, त्यसलाई फुलाउने लगन, निरन्तरता र मातहतका टिमवर्कले यस व्यवसायको क्षेत्रमा उनको छुट्टै पहिचान निर्माण ग¥यो । भन्छन्, ‘यतै केही गरौं भन्ने सपना त विदेशबाट फर्किदा बोकेर आएकै थिएँ । तर, समयले पनि साथ दियो, म एक्लै हिड्न खोजिनँ, आफन्त, नातेदार र साथीहरूलाई समेत एउटै व्यवसायमा जोड्दै अघि बढें । यसले वरिपरीकै न्यानो साथ पाएँ । यो पहलले इस्र्या गर्ने र खुट्टा तान्ने मौका धेरैले पाएनन् । मेरो सफलताको कडी यही हो भन्ठान्छु ।’

शंखमुलमा राम्रो व्यापार भएपछि उनले ठमेलमा खोले । अहिले आफ्नै लगानीका पाँचसहित फ्रेन्चाइज लिएर खोलिएको गरी काठमाडौं उपत्यका र बाहिर गरी ८८ अवटा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन सञ्चालनमा छन् । दुईवटा खुल्ने तयारीमा छन् । सुरु–सुरुमा आफ्नो रेष्टुराँका ब्राण्ड बनाउनु थियो, आफन्तहरूलाई उनले सित्तैमा फ्रेन्जाइज दिए । केही समयअघि मेरो एक साथीले आफ्नो छोरीको जन्मदिन मनाउन आउने निम्ता दिइन् । कहाँ आउनु ? घरमा ? उनको जवाफ थियो, बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन गठ्ठाघर । पछिल्लोसमय यसरी जन्मदिन, विवाह उत्सव जस्ता विशेष उत्सव मनाउन वा साथीसंगी, जमघटको रोजाइ उनको चेन रेष्टुराँ बनेको छ । वसन्त भन्छन्, ‘डेकोरटेड स्पेश, आरामदायी बसाइ, सुपथ मूल्यका खाना यी हाम्रा विशेषता हुन् । बजारका अन्य स्थानमाभन्दा हाम्रो मेनुको विविधता र मूल्य पनि सहुलियतपूर्ण छ । हाम्रो स्पेश आम ग्राहकको पहिलो रोजाइ बनेको छ । ग्राहकलाई थप खुसी पार्न अझ सुविधा र विशेषता बढाउने सोच छ ।’

बजार हल्ला छ, फ्रेञ्चाइज दिँदा उनले ठूलै रकम लिन्छन् । तर, यथार्थ अलिक फरक छ । धेरैजसो चिनजानकै आउने हुँदा उनले एउटा फ्रेन्चाइज दिएबापत पाँचलाख रूपैयाँसम्म मात्रै लिने गरेका छन् । भन्छन्, ‘पैसै मात्र ठूलो होइन, कमाउन विदेश जानुभन्दा यतै केही गरुन् भन्ने मेरो सोच हो । त्यसैले कतिलाई पैसा नै लिइनँ, लिएकालाई पनि एकदम कम । राजधानी बाहिरको प्रस्ताव पनि आउन थालेका छन् । अब भने व्यवसायिक दर निर्धारण गर्नुपर्ला ।’ घर बाहिर खाने प्रचलन राजधानीबाहिर पनि मौलाएको छ । उनको चेन रेष्टुराँ पूर्वको दमकदेखि जनकपुर, भैरहवा, वीरगञ्ज, चितवन, पोखराहुँदै महेन्द्रनगरसम्म ३० वटा छन् ।

उनले अरुकहाँ काम गर्ने बेलासम्म पनि मानिस घरबाहिर निस्केर खाने प्रचलन कमै थियो । होटल, रेष्टुराँ जाने हैंसियत धनाढ्यहरूको मात्रै हुन्छ भन्ने थियो । तर, अब यो सोच भत्किएको छ । सामान्य आर्जन भएकाहरू एकअर्का मिलेर पनि जमघट हुन थालेका छन् । यो एक-डेढ दशकमा यस्तो प्रचलन ह्वात्तै बढेको छ ।

देशभर फैलिएका उनको चेन रेष्टुराँमा दुई हजार ६ सय जना जति रोजगार छन् । उनको आफ्नै लगानी रहेका पाँच वटा रेष्टुराँले सरदर मासिक दुईदेखि पाँच लाख रूपैयाँसम्म राज्यलाई कर मात्रै बुझाउने गरेको उनले बताए ।

भुइँचालोको परकम्पन आइरहेकै थियो, रेष्टुराँको भुइँमा कामदारहरू टायल लगाउँदै थिए । भर्खर टाँसेको टायल नै उक्किन्थ्यो । बाटो हिड्नेहरू हामीलाई छक्क पर्दै हेर्थे । तर अप्ठ्यारोमै थालेको यात्राले यहाँसम्म आइपुगें ।

रातदिन खटेर यहाँसम्म ल्याइपु¥याएको स्टेशनहरूमा हुरूरू ग्राहक आउँदा, तिनले खुसीको उत्सव मनाएको देख्दा उनलाई मनैदेखि आनन्द आउँछ । फेरि धेरैजसो साथीहरु यसमै संलग्न भएर सँगै भइरहन पाउँदा थप आनन्द लाग्ने बताउँछन् । उनका रेष्टुराँमा प्रायः आफ्नै गाउँठाउँका युवाले रोजगारी पाएका छन् । ६ वर्षकै अन्तरालमा उनको व्यवसायले यस्तो उचाइ लिएपछि उनीसँग व्यावसायिक आइडिया सिक्न आउनेहरू पनि प्रशस्त छन् ।

आफ्नै टिमले गर्छ गुणस्तर व्यवस्थापन

भनिन्छ, पकाउनेको हात सँधै उस्तै हुँदैन । अर्थात्, एकै जनाले पकाएको स्वाद पनि बेला–बेला फरक हुन्छ । तर, उनको सबै रेष्टुराँमा सकेसम्म उही गुणस्तर र स्वाद पस्कने प्रयास गरेका छन् । मेनु पनि एउटै, दररेट उस्तै ।

ब्राण्डको समान गुणस्तर कायम गर्न एउटा टिम नै खटाएका छन् । वसन्त भन्छन्, ‘एउटा टिम निरन्तर निगरानीमा सबैतिर पुगिरहन्छ । समय मिलेसम्म म आफैं पनि पुग्छु । यति हुँदाहुँदै पनि शुक्रबार र शनिबार ग्राहकको दोब्बर भिड हुने हुँदा गुणस्तरमा केही तलमाथि हुने गरेको गुनासो आउँछ । तर, वाध्यता छ, कि हामीकहाँ विदेशमा जस्तो विदाको दिनलाई मात्रै थप कर्मचारी पाउने अवस्था छैन, भएकैले धान्नु पर्दा यस्तो हुने गरेको छ ।’

No description available.

उनी प्रायः बौद्धको स्टेशनमा भेटिन्छन् । घर पायकपर्ने यस क्षेत्रमा धेरै साथी जमघट भइरहने हुँदा अलिक धेरै समय यतै बित्ने उनी बताउँछन् । बिहान ६ बजे उठ्ने उनी राती १० बजेमात्रै घर पुग्छन् । उठेर जिम जाने, तयार हुने अनि आठबजे बौद्ध स्टेसन पुग्छन् । त्यसपछि क्रमैसँग राजधानीका अन्य स्टेसनसम्म । कुनै एउटै स्टेसनमा बसेर एप्स् र अनलाइन प्रणालीमार्फत् व्यवसायिक गतिविधिको नियन्त्रण तथा निगरानी गर्न सक्छन् । तर, आफू उपस्थित हुँदा कर्मचारीमा उत्साह र सतर्कता दुवै हुने हुँदा उनी दौडिरहन्छन् ।

उद्योगतिर फड्को

अहिलेसम्म अरुकै उत्पादनमा सबै रेष्टुराँ चलाइएको थियो । व्यवसायको मात्रा बढेपछि उनलाई लाग्यो, उत्पादनमा पनि आफैं लागे थप आत्मनिर्भर हुन सकिन्छ । उनले बौद्धको स्टेसन छेवैमा बेकरी उद्योग सुरु गरे । मिट प्रोसेसिङ, ससेज उद्योग भैरहवामा छ । विस्तारै अन्य आवश्यक वस्तुको उत्पादन पनि आफैं गर्ने योजना छ ।

कम छ मुनाफा

आधुनिक बत्तीको झिलिमिली, अनेक आकर्षक सजावट, ग्राहकका लागि मिठा खानाका परिकार, वेटरले टेबुल–टेबुलमा सर्भ गरिरहँदा उनी उज्यालो अनुहार बनाउँछन् । तर, अरुले आँकलन गरेजस्तो पैसाको वर्षा नै चाहिँ हुन गाह्रो हुने उनको अनुभव छ । वसन्त भन्छन्, ‘मान्छेले सोच्छन्, यस्तो मान्छेको भिड लाग्छ, कमाएको पैसा कहाँ राख्ला । तर, सबै वस्तु महँगो छ, बजारसँग कडा प्रतिस्पर्धा छ । राज्यले सुविधा दिने कुरा छैन । हामीले मुस्किलले २५ प्रतिशत नाफा बसाउँछौं । यति हो कि यो जे गरिरहेका छौं देशमै बसेर गर्न पाएका छौं, मेरो खुसी यति हो ।’

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, २०:३४:००