NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बहुआयामिक बिपीलाई सम्झँदा

काठमाडाैं । म राजनीतिक परिवारमा जन्मेको हुँ । घरभित्र र नातागोता सबैतिर राजनीतिक माहोल देख्दै हुर्किएँ । सरकारी अड्डाका हाकिमदेखि प्रधानमन्त्रीसम्म हाम्रा नाताकै मानिस थिए । घरमा सँधैं हुने मानिसको आवतजावत, बुबा–काकाहरुको उहाँहरुसँगको बसउठ देख्दा मलाई रमाइलो लाग्थ्यो । धेरै सानो छँदा त नयाँनयाँ मानिसहरु आएको हेरेर रमाउने मात्रै हुन्थ्यो । तर, बुबाहरुको कुराकानी सुन्दासुन्दै केही शब्दावलीहरु मेरो लागि प्रिय बन्दै गयो । ती मध्ये थिए, कांग्रेस, क्रान्ति, प्रजातन्त्र र सान्दाजु अर्थात् विपी कोइराला । त्यो बाल्यकालमा मेरो मनमा बसेको यिनै शब्दावली मेरो जीवन हिड्ने बाटो बन्यो । आज म तिनै प्रजातन्त्रका प्रणेता बिपी कोइरालासँग जोडिएका सम्झनाका अनेकन पृष्ठमध्ये केही यहाँ पल्टाउँदै छु ।

हाम्रो घर उहाँकै गृहनगर विराटनगरमा थियो । २०२५ सालमा बिपी कोइराला जेलबाट छुटेर गृहनगर आउँदै हुनुहुँदो रहेछ । त्यतिबेलाको सञ्चारको एउटै माध्यम रेडियो थियो । रेडियोमा उहाँ प्रायः विविध भारती र बिबिसि सेवा सुन्नुहुन्थ्यो। बुबाको सारमा हामी पनि सुन्थ्यौं । एक दिन बुबाले रेडियोमा समाचार सुन्दासुन्दै उत्साहित भएर भन्नुभयो– बिपी छुट्नुभयो, यता आउँदैहुनुहुन्छ । त्यसपछि उहाँ उठेर घरबाहिर जानुभयो, सायद काकाको घरतिर हुनुपर्छ । त्यतिबेला म जम्मा ६ कक्षामा पढ्थें । त्यो समाचारले मलाई विपीबारे जान्ने कौतुहतलता जाग्यो–सँधैं नाम लिइरहने ती कस्ता मानिस होलान् !

त्यसको केही समयपछि बिपी विराटनगर आउने हुनु भयो । उहाँ विराटनगर आउनुभएपछि हाम्रो नातेदार काका महाप्रसाद रिजाल र दाजु चिरञ्जिविप्रसाद रिजाल जो पछि राष्ट्रिय सभाको उपाध्यक्ष पनि हुनु भो, उहाँहरुको घर अगाडि घडा राखेर स्वागत गर्ने तयारी भयो । हाम्रो घरमा किन चाहिँ किन घडा नराखेको होला ? मैले आमासँग सोधें ।

त्यतिबेला विराटनगरको बरगाछी राजनीतिको केन्द्र थियो । बिपी आउने भनेपछि ठूलाहरको पछिपछि म पनि बरगाछी गएँ । स्वागतका लागि दाइहरु मिलेर ध्वजापतका बनाइरहेका रहेछन् । अहिलेको जस्तो झकिझकाउ त केही हुन्नथ्यो, म पनि डोरीमा हालेर बनाउन लागें । मनमनै मख्ख थिएँ, म पनि केही खास काम गरिरहेको छु । सायद नजानिदो पाराले मेरो सामाजिक चेतना र महत्वकांक्षाको विजारोपण त्यही बेला भएको हुँदो हो । अलिकबेरपछि बिपी आइपुगेको भनेर सबै हतारिँदै विमानस्थलतिर लागे, म पनि उहाँहरुसँगै दौडिएँ ।

विमानस्थलमा निकै मानिस थिए । भिडमा मलाई महाप्रसाद काकाले झट्ट देख्नुभयो र नजिक आएर भन्नुभयो – ‘तँ पनि आइस् ?’ म झन मख्ख परें, लाग्यो, मैले साँच्चै गज्जब काम गरेछु, यत्रो ठूलो काकाले पनि मलाई सोध्नु भो ।

विमानबाट ओर्लिएर भिडभाडले घेरिदै एकजना गोरो, अग्लो कदको सबौलाई नमस्कार फर्काउँदै आइरहेका थिए । बिपी तिनै हुन् भन्ने मेसो पाउन गाह्रो थिएन । भिडमा सर्लक्क परैबाट छुट्टिने आकर्षक व्यक्तित्व, उहाँलाई हेरिरहँु जस्तो लाग्यो । तर म सानो फुच्चे, भिडमा पछाडि धकेलिएँ ।

जीवित छँदाका विपीलाई सम्झदाँ यतिको आकर्षक व्यक्तित्व अरु को होला र ! भन्ने जस्तो लाग्छ । शारीरिक व्यक्तित्वभन्दा पनि उहाँको चम्किलो आँखामा बडो गज्जबको ओज थियो ।

तर एकैछिन देख्दा पनि मेरो बाल मनमा हाँसिरहेको उहाँको अनुहार र चम्किला आँखाले एउटा प्रभाव छोड्यो । त्यतिबेला अगाडिबाट कसैले नारा लगायो– इन्क्लाब जिन्दावाद ! वीर विश्वेश्वर जिन्दावाद ! सबैको स्वरमा स्वर मैले पनि मिलाएँ । त्यहाँ अन्यत्रै कार्यक्रम थियो, उहाँलाई त्यता लगियो । त्यसपछि भने म ठूलो मानिसहरुसँग दौडिन सकिनँ क्यारे, म फर्किएँ ।
तस्बिर मीनेन्द्र रिजालको फेसबुकबाट

दायाँबाट बिपी कोइराला, मीनेन्द्र रिजाल, गोविन्दराज जोशी, पछिल्लो हारमा शेरबहादुर देउवा र मार्शलजुलुम शाक्य

म कांग्रेस रिजाल

मेरो पढाई राम्रो थियो, कक्षामा प्रथम छात्र । पारिवारिक वातावरणले राजनीतिप्रति केही सचेतना बढिसकेको थियो । बिपीलाई देखेपछि मलाई झन उर्जा मिल्यो । सोही साल स्कूलमा विद्यार्थी युनियनको चुनाव लडें । चुनावताका भारतको बनारसमा अध्ययन र राजनीति सँगसँगै अघि बढाइरहेका भिनाजु मोहनकुमार सापकोटा विराटनगर आइपुग्नु भयो ।

बुझ्दै जाँदा उहाँ डेमोक्रेटिक सोसलिस्ट युथ लिग (डीएसवाईएल)को राजनीतिमा हुनुहुँदो रहेछ । त्यो पालीको भेटमा भिनाजुले मलाई कांग्रेस रिजाल भन्न थाल्नुभयो । त्यो सम्बोधनले मलाई झनै उत्साहित बनायो । म वास्तवमै केही खास काम गरिरहेको छु विचार मनमा गढ्यो । मलाई लाग्छ, यिनै चेतनाले मलाई क्रमशः राजनीतितिर डोहोर्‍यायो ।

समय बित्दो थियो, म एसएलसीको तयारीमा थिएँ । नगेन्द्रप्रसाद रिजाल देशको प्रधानमन्त्री हुनुभयो । पञ्चायतकै तर्फबाट भएपनि उहाँ हाम्रो पारिवारिक नाताभित्रको प्रधानमन्त्री हुनुभो, खुसीको कुरा थियो । उहाँ प्रधानमन्त्री भएपछि उहाँका काका नारायणप्रसाद रिजालले बुबाहरुलाई आइसक्रिम खुवाउनु भएछ । घर फर्केपछि बुबाले भन्नुभयोे– ‘ नगेन्द्र प्रधानमन्त्री भएकोमा माइलाउ (नारायणप्रसाद रिजाल)ले आइसक्रिम खुवाउनुभयो ।’ मलाई झन गज्जब लाग्यो– यो त गज्जब रमाइलो चिज रहेछ ।

यसरी राजनीतिका प्रतिको अभिरुचि झनझन गहिरो भयो । राजनीतिप्रतिको अभिरुचीसँगै सामाजिक महत्वाकांक्षा, राजनीतिमा केही बनुँ कि भन्ने महत्वांक्षा अझ बढ्यो ।

नभन्दै म नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिदै गएँ । बिपीसँगको सान्निध्य पाउँदै गएँ । जीवित छँदाका विपीलाई सम्झदाँ यतिको आकर्षक व्यक्तित्व अरु को होला र ! भन्ने जस्तो लाग्छ । शारीरिक व्यक्तित्वभन्दा पनि उहाँको चम्किलो आँखामा बडो गज्जबको ओज थियो ।

यो ब्रम्हाण्डको एक कण पृथ्वी, पृथ्वीको कुनै एक कण हामी मानव, यो विराट भुमण्डलमा एउटा सानो ध्वनी वा भुसुना भएर उभिने मानवले सबै चिज बुझेको छु भन्नु भ्रम हो ।

उहाँ चाबहिल बस्नुहुन्थ्यो, त्यसपछि हामी नियमित चाबहिल जाने सम्बन्ध बन्यो । २०३५ सालदेखि ०३९ सालमा बित्नु अघिसम्म उहाँको हरेक दिनको पाएको सान्निध्यको न्यानो आजसम्म पनि बोध गर्न सक्छु । उहाँ यसरी मेरो मनमा परिभाषित हुनुहुन्छ ।

बिपीले भन्नु भो–प्रतिशोधको राजनीति नगरौं

मैले यसअघि कतै नगरेको कुरा, व्यक्तिगत राजनीतिसँग जोडिएको कुरा आज गर्दै छु । म नेपाल विद्यार्थी संघको उपसभापति छँदखेरी पार्टीका नेता गिरिजाबाबुसँग भने नजिक हुन सकिनँ । तत्कालिन पञ्चायती सरकारबाट आम माफी पाएपछि २०३७ साल बैशाख १ गते उहाँ नेपाल फर्किनु भयो । त्यसलगत्तै सात÷आठ महिना उहाँसँग नजिकै भएर काम गरें । पछि त्यो दूरी बढ्यो । म नेविसंघको उपसभापति, संगठनभित्रको केही कचरपचरले गर्दा दूरी बढ्दै गयो ।

त्यो बेला विमलेन्द्र निधि नेविसंघको सभापति हुनुहुन्थ्यो । निधिजीसँग मेरो राम्रै सम्बन्ध थियो । तर सभापतिका रुपमा उहाँका आफ्नै सिमाहरु थिए होलान् । युनियनको चुनावमा किर्तिपुर विश्वविद्यालयको सभापतिको उम्मेदवार छनोटमा भएको खटपटका कारण निधिजीले मलाई नेविसंघको साधारण सदस्य पनि नरहने गरी निलम्बन गर्नुभयो ।

विपी कोइराला बनारस हुनुहुन्थ्यो । गणेशमानजी, किसुनजी र गिरिजाबाबु गैंडाकोटमा कार्यक्रममा जानुभाथ्यो । निलम्बनजस्तो कारवाही मलाई उचित लागेन । सभापतिमा मेरा दाबी ठिक थियो या थिएन, वा अरु कसलाई बनाउने भन्ने मतभेद रहनु एउटा कुरा, त्यसकै आधारमा निलम्बनसम्मको कारवाही उचित थिएन ।

गणेशमानजीहरु काठमाडौं फर्किनुभएपछि म उहाँहरुलाई भेट्न गएँ । मैले भनें– ‘म माथि अन्याय भयो ।’ किसुनजीले भन्नुभयो– ‘हैन, यसरी हुँदैन, म विमलेन्दु (विमलेन्द्र)लाई भन्छु । उहाँले मलाई पार्टी कार्यालय लिएर आउनुभो । गणेशमानजी र गिरिजाबाबु बसेको ठाउँमा गएर किसुनजीले भन्नुभो– ‘उहाँहरूको नेविसंघको झगडा यति चर्को भयो, विमलेन्दुजीले उहाँलाई निलम्बन गर्नु भएछ गणेशमानजी । हाम्रो पार्टी त स्वयम्सेवा गर्ने पार्टी हो, यहाँ कसैलाई निलम्बन गर्ने त कुरै छैन ।’

केही साथीहरु बलियोगरी निलम्बनको पक्षमा पनि लाग्नु भएको थियो । त्यो दबाब पनि थियो होला निधिजीलाई ।

केही समयपछि विपी आउनुभयो । बिमलेन्द्र निधी र महामन्त्री दिलबहादुर घर्तीजीलाई बोलाएर भन्नुभो, ‘भेन्डेटा (प्रतिशोध)’को राजनीति ठिक होइन । उसलाई गरेको निलम्बन तुरुन्त फिर्ता लेउ ।’ उहाँको आदेशलाई नमान्ने कुरै थिएन ।

सबै मिलेर एउटा बाटो निकालियो । संगठनको केन्द्रीय समितिभन्दा पनि माथि अनुशासन तथा न्यायिक समिति हुन्थ्यो । समितिले मलाई निलम्बन गरेकै दिनदेखि कारवाही बदर हुने गरी निर्णय ग-यो । मेरो पनि धारणा थियो, नेपाल विद्यार्थी संघ मिनेन्द्र रिजालसँग झुक्नु हुँदैन । किनकि संगठन व्यक्तिभन्दा माथि थियो । विधि प्रक्रियाबाट नै मैले न्याय पाउनु पर्छ भन्ने थियो, सो भयो ।

मैले यहाँनेर जोड्न खोजेको कुरा, बिपीको विचार थियो– राजनीतिमा ‘भेन्डेटा’ अर्थात् प्रतिशोध हुनुहुँदैन । त्यसबेला म आफैं पनि झण्डै प्रतिशोधको राजनीतिबाट प्रताडित भएँ । विपीको त्यसविचार आज पनि ममा गहिरो गरी बसेको छ ।राजनीति वा व्यक्तिगत जीवनमा पनि मलाई प्रतिशोध मन पर्दैन । म चित्त नबुझेको सवालमा म बरु चर्को स्वरमा प्रतिवाद गर्छु । तर कसैप्रति पनि प्रतिशोधको राजनीति म मान्न तयार छैन ।

कांग्रेसभित्र अझै पनि हाम्रो अवस्था बिपीलाई अगाडि सारेर– साथीहरु ! बिपीले यसो भन्नु भाथ्यो भन्नु पर्छ ।

यस सवालमा म थप केही भन्छु । अन्यथा नलिनुहोला, राजनीतिमा प्रतिशोधले कति गहिरोसँग घर बनाउँछ, म एउटा उदाहरण लिन्छु । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई म बेलाबेलामा सचेत गराउने गर्थें– ‘तपाईमा विजयको उन्माद छ । उन्मादबाट लोकतन्त्र र संविधान जोगिन सक्दैन प्रधानमन्त्री ज्यू !’ अंगे्रजीमा एउटा भनाई छ– हम्बल इन भिक्ट्री, ग्रेसियस इन डिफिट अर्थात् विजयमा नम्र हारमा शालिनता ।’ यो भनाई जस्तै हुन सकिएन भने लोकतान्त्रिक हुन सकिन्न ।

जनताको स्वतन्त्रता हो लोकतन्त्र

बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ लोकतन्त्रलाई जनताको स्वतन्त्रताको रुपमा परिभाषित गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘प्रजातन्त्र स्वच्छन्दताको सीमालाई छिचोल्ने खालको हुनुपर्छ ।’ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सेनारोदेखि विश्वभरका दक्षिणपन्थी हुन् वा बामपन्थीहरु चुनाव जितेर सत्तामा आएपछि जबरजस्त आफ्नै कुरा मात्र लागू गरिरहेका छन् । तर विपीको कुरा थियो– ‘शासनमा को रहने ? अथवा चुनावमा कसले जित्ने ? भन्ने परिभाषाभन्दा मान्छेको व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नु ठूको कुरा हो, जुन मान्छेको स्वच्छन्दताको सीमालाई छिचोल्ने खालको चाहिन्छ, प्रजातन्त्रको मूल तत्व त्यो हो ।’

लोकतन्त्रलाई परिभाषित गर्ने उक्त तत्व मलाई यसकारण पनि महत्वपूर्ण लाग्यो कि मेरो जीवनसँग पनि जोडिएको केही सवाल छन् ।

संविधान निर्माणकालको सरकारमा म सञ्चारमन्त्री भएका बेला एकाध मिडियाले मेरा नकारात्मक समाचार लेखिरहे । मैले कल्पना गर्न नसक्नेसम्मका आरोप लाएर लेखियो । मेरो कार्यकालको अन्तिम पत्रकार भेटमा उहाँहरुकै सामु भनें, म त केही दिनमा यो जिम्मेवारीबाट विदा हुँदैछु, तपाईहरुलाई मजस्तै लेखिरहन पाउने अर्को सञ्चारमन्त्री पाउनुहोस् । यहाँ जोड्न खोजेको प्रसंग के हो भने, मेराबारे नकारात्मक कुरा लेखिए पनि मैले ती सञ्चार माध्यमहरुको लेख्ने स्वतन्त्रताप्रति कुनै कारबाही वा अंकुश लगाइनँ ।

यसरी स्वतन्त्रताको रक्षा गर्ने क्रममा तत्काल चित्त नबुझ्ला, तर त्यसले प्रजातान्त्रिक प्रणालीलाई जीवित राख्ने मानकलाई जोगाइराख्छ । तर, ओलीजी प्रधानमन्त्री छँदा म विपक्षमा बसेर बोलेको प्रभावको ब्याक फायर चाँडै सजिलै जाँदैन जस्तो लाग्छ ।

सत्य बहुआयामिक हुन्छ :

हाम्रो पूर्वीय शास्त्रअनुसार नरोत्तम भनिएका अर्जुनलाई सत्य बुझाउन कृष्ण भगवान्ले विराट स्वरुप देखाउनु परेको थियो । त्यसपछि मात्रै अर्जुन महाभारत युद्धका लागि तयार भएका थिए ।

आजको दिनमा इश्वरको नाममा सपथ लिन तयार नहुने कम्युनिष्टहरु पशुपतिमा सुनको झल्लर चढाउन चाहिँ तयार भए । तर जीवनलाई आध्यामिक चिन्तनबाट पनि विश्लेषण गर्ने बिपी कोइरालाले भने पशुपतिनाथलाई संग्राहलय बनाउने कुरा पनि गर्नुभएको थियो ।

सत्यबारे विपीले जेल जर्नलमा लेख्नुभएको छ– ‘सत्य बहुआयामिक हुँदो रहेछ ।’ जीवनको लामो आयु नै जेलमा बिताएको नेल्सन मण्डेलाले आफ्नो जीवनी ‘लङवाक टु फ्रिडममा लेख्नुभएको छ– सत्यमाथि कसैको एकाधिकार हुँदैन।’

उहाँहरु दुवैको यी भनाईले मूल लोकतान्त्रिक संस्कृतिलाई परिभाषित गरेको देखिन्छ । विपी कोइरालाले त्यत्रो जेलनेल, निर्वासन भोग्नु भयो । त्यस क्रममा ‘पूर्ण सत्य मैले नदेखेको पनि हुनसक्छ है !’ भनेर स्विकार्नु भयो । हाम्रा सीमाहरू छन्, मैले देखेको सत्यका लागि म लड्छु । तर कसैले त्यसलाई प्रतिवाद गर्छ भने उसको अधिकार पनि सुनिश्चित हुनुपर्छ ।

उहाँहरुको यी भनाईले मलाई सदैव मार्गनिर्देश गरिरहेको हुन्छ । मान्छेले आफ्ना सीमालाई स्विकार ग-यो भने सत्यलाई नजिकबाट बुझिन्छ । यो ब्रम्हाण्डको एक कण पृथ्वी, पृथ्वीको कुनै एक कण हामी मानव, यो विराट भुमण्डलमा एउटा सानो ध्वनी वा भुसुना भएर उभिने मानवले सबै चिज बुझेको छु भन्नु भ्रम हो । लोकतन्त्र त्यही बहुआयामिक सत्य हो । विपी कोइरालासँग मैले सिकेको कुरा त्यही हो ।

बहुआयामिक बिपी

बिपीलाई एउटा मात्रै आयामबाट बुझ्नु अपूर्ण हुन्छ । सात सालको क्रान्तिमा उभिएका बिपी, भारत निर्वासनमा रहँदै नेपालको स्वतन्त्रता, चीनसँगको सम्बन्धबारे बोल्ने बिपी अथवा क्यान्सरले थलिएको बेला नेपाल सरकारले पासपोर्ट नदिएपछि औषधोपचारका लागि एउटा ‘लेटर अफ इन्टरोडक्सन’ लिएर बेलायत पुगेका बिपी यस्ता अनेक ससाना अंशमा पनि उहाँलाई सम्झन सकिन्छ ।

देशमा प्रजातन्त्र ल्याउने क्रान्तिका नायक बिपी, प्रजातन्त्र जोगाउन तत्कालिन राजासँगको संघर्ष र मेलमिलाप दुवै नीति अपनाउने बिपी अथवा नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका लेखक बिपी ।

उहाँको व्यक्तित्वको कुरा गर्दा कसैले राजासँग बराबरीमा उभिने बिपी सम्झन्छन् त कसैले उहाँले भनेका कुराको एउटा अंशलाई मात्रै लिएर राजासँग गर्धन जोडेको भन्ने आरोप खेपेका बिपी । यसरी अन्तर्यमा नपसी हेर्ने हो भने बिपीको व्यक्तित्व पूर्ण रुपमा विरोधाभाषपूर्ण लाग्छ । तर उहाँको राजनीतिक व्यक्तित्वको विकास, त्यससँगै जोडिएको नेपालको राजनीतिक विकास क्रम समग्र हेर्ने हो भने बिपी एक गतिशील मानव हो । जो एउटा परिस्थिति, भावना, विचार वा सम्बन्धमा कैद भएर कहिले पनि बस्नु भएन । समयसँगै उहाँ हिडिरहनु भयो ।

बिपी कोइरालाले वास्तवमै समृद्ध जीवन बाँच्नु भयो । दार्शनिक धरातलमा उभिएर उहाँले आफ्नैबारे भन्नुभएको थियो– ‘आइ डाइ एज ए ह्याप्पी पर्सन ! मैले जीवनमा केही गर्न सकें भन्ने लाग्छ, मलाई असल मान्छे भनेर सम्झिदिए पुग्छ ।’

नेपालको राजनीति मात्र नभई विविध क्षेत्रमा बिपी कोइरालाको बराबरीको अर्को मान्छे उभिएको छैन । धेरैलाई लाग्न सक्छ, बिपी कोइराला धेरै बुढो भएर जानु भएको हो । उहाँ ६९ वर्षको उमेरमा बित्नु भएको हो । आजको राजनीतिका नेताहरुको तुलनामा हेर्दा उहाँ युवावस्थामै जानु भएको हो । तर उहाँले जीवनकालमा देशका लागि जेजति गरेर जानु भयो, त्यो १०० वर्ष बाँचेजसरी प्रभाव छोड्नु भयो । सात सालदेखि ०३९ सालसम्म उहाँले दिनुभएको योगदान त्यो उचाईको रह्यो । उहाँको गतिशीलताबाट, समयसँगै हिड्दै नेपालको राजनीति, विचार, साहित्य, समाजलाई लिएर हिड्नु भयो ।

आम मानिसको स्वतन्त्रता र स्वच्छन्दताको वकालत गर्ने बिपी आफ्नो जीवनमा यो दर्शनलाई लागू गर्नुभएको देखिन्छ । उहाँ अध्यात्मबारे कुरा गर्दै कतै भन्नुहुन्छ, मलाई बिहानै पशुपतिको घण्टीको आवाज सुन्दा अथावा गाउँघरमा गाईवस्तु हिडेको पदचाप सुन्दा बडो आनन्द आउँछ । आजको दिनमा इश्वरको नाममा सपथ लिन तयार नहुने कम्युनिष्टहरु पशुपतिमा सुनको झल्लर चढाउन चाहिँ तयार भए । तर जीवनलाई आध्यामिक चिन्तनबाट पनि विश्लेषण गर्ने बिपी कोइरालाले भने पशुपतिनाथलाई संग्राहलय बनाउने कुरा पनि गर्नुभएको थियो ।

यस्ता बहुआयामिक व्यक्तित्व भएका बिपीलाई एउटा सूत्रमा वा मालामा बाँध्न उहाँबारे निकै गहिरै अध्ययन चाहिन्छ । ती समग्र व्यक्तित्वका धनी बिपीका विचारले आजसम्म पनि त्यसरी नै प्रेरित गरिरहनु भएको छ ।

आज पनि कांग्रेसको नेता कोही पनि आफूलाई वा अर्को कसैलाई देखाएर नयाँ मार्गनिर्देश गर्न सकेका छैनन् । बिपीलाई अगाडि सारेर– साथीहरु ! बिपीले यसो भन्नु भाथ्यो भन्नु पर्छ । हाम्रो समाजको लागि उहाँले छोडेर जानु भएको छाप आज पनि उत्तिकै प्रभावशाली छ ।

(डा.रिजालसँग नेपालवाचकर्मी शकुन्तला जोशीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८, १७:०५:००