NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एकैपटक ठूलो जिम्मेवारी दिँदा युवाले थाम्नै सक्दैनन्

सत्तामा पुग्नेबित्तिकै लोकप्रिय नेता पनि बदनामीको पथमा पुग्नुमा मुख्यतः हामी जनताकै गल्ती छ । नेताको इमान्दारिता र क्षमताको परीक्षण नै नगरी हामी विश्वास गरिहाल्छौं । कोही नेताले राम्रो बोल्यो या कुनै युवा अगाडि आयो भन्नेबित्तिकै हामी आँखा चिम्लिएर विश्वास गरिहाल्ने प्रवृत्ति छ ।

युवा नेता भनेर धेरैले योगेश भट्टराईबाट आशा गरेका थिए । विद्यार्थी नेता हुँदै राजनीतिको अग्रमोर्चामा खटिएका उनी मन्त्री नियुक्त पनि भए । तर, उनको पहिलो कामचाहिँ श्रीमतीलाई नर्सिङ काउन्सिलमा भर्ती गर्ने भयो । आफैंले प्रस्ताव लैजाने ठाउँमा उनले यस्ता स्वार्थ बाझिने काम गरेकै हुन् । त्यसकारण, कसको इमान्दारिता कति छ भन्ने नबुझी केही भन्नै सकिँदैन ।

युवा नेता भनेर धेरैले योगेश भट्टराईबाट आशा गरेका थिए । विद्यार्थी नेता हुँदै राजनीतिको अग्रमोर्चामा खटिएका उनी मन्त्री नियुक्त पनि भए । तर, उनको पहिलो कामचाहिँ श्रीमतीलाई नर्सिङ काउन्सिलमा भर्ती गर्ने भयो । आफैंले प्रस्ताव लैजाने ठाउँमा उनले यस्ता स्वार्थ बाझिने काम गरेकै हुन् ।

नेताहरू सत्तामा पुगेपछि जानाजान बदनाम हुन्छन् या अन्जानमा भन्ने प्रश्न पनि छ । मेरो विचारमा पदमा पुगेपछि उनीहरू थाहा पाउँदा–पाउँदै पनि बदनाम हुन्छन्, थाहा नपाएर होइन ।सत्तामा पुगेपछि नै देखिने हो उनीहरूको असली रूप । पदबाहिर बसेर खरो टिप्पणी गर्न सजिलो छ, त्यतिबेला कुनै जिम्मेवारी हुँदैन । जब सत्तामा पुगिन्छ, त्यसपछि बल्ल जवाफदेहिताको परीक्षण हुन्छ ।

जनतालाई कहिलेकाहीँ नयाँ पुस्ता आए ठिक हुन्छ भन्ने पनि लाग्छ । तर, पछिल्ला घटनाले पुस्तालाई मात्रै आधार मानेर ठिक या बेठिक भन्नु गलत भएको प्रमाणित गरेका छन् । युवा पुस्ता पनि सत्तामा पुगेपछि के गर्छ भन्नेमै भविष्य भर पर्छ । योगेश भट्टराईकै उदाहरण लिऔं, उनले मन्त्री भएपछि उनले कस्ता व्यक्तिलाई सल्लाहकार बनाए र कस्ता व्यक्तिबाट सल्लाह लिए ? यसबाटै उनको यात्रा कस्तो थियो भन्ने थाहा लाग्छ ।

अर्को कुरा, के देखियो भने एकैपटक कसैलाई पनि पूर्ण अधिकार प्रयोग गर्न दिन नहुने रहेछ । उदाहरणको लागि पञ्चायतको अभ्यास हेर्न सकिन्छ । त्यतिबेला राजाले सहायकमन्त्री, राज्यमन्त्री गर्दै मन्त्रीहरूको बढुवा गराएर लैजान्थे । त्यसैले उनीहरूको मूल्यांकन गर्ने कसी निर्माण हुँदै जान्थ्यो । लोकतन्त्रमा मूल्यांकनको आधार अझ बलियो बन्दै जानुपर्ने हो । तर त्यस्तो भएन । बाहिर राम्रो देखेपछि झ्याप्पै मन्त्री बनाइदिने चलन बन्यो । भर्खर लोकप्रियताको ग्राफमा उक्लिँदै गरेका युवा नेताले एकैपटक जिम्मेवारी पाउँदा थाम्नै सकेनन् ।

यसै सन्दर्भमा कहिलेकाहीँ आफूले गर्ने काम कारवाहीमा ढङ्ग पुर्‍याउन नजानेर या कामअनुसारको क्षमता नभएर पनि बद्नाम भए कि भन्ने प्रश्न उब्जन्छ । तर, यसमा क्षमता भन्दा पहिले व्यक्तिको नियतको कुरा आउँछ । नराम्रो नियत भएपछि व्यक्तिले आफ्नै स्वार्थअनुकूल काम गर्छ । यस्तो भएपछि जति क्षमता भएपनि के काम ? यस्तोमा त क्षमतावान् व्यक्तिले चाह्यो भने झनै बदमासी गर्छ ।

नेताहरू सत्तामा पुगेपछि बद्नाम हुनुमा कर्मचारी पनि जिम्मेवार हुन्छन् । कहिलेकाहीँ कर्मचारीहरूले गम्भीर विषयमा सल्लाह दिए पनि मन्त्रीले नमान्दा गलत भएको हुन्छ ।

उदाहरणका लागि, निजामतीमा लामो समयसम्म काम गरेका भेषराज दाहालले नारायणहिटीमा होटल राख्न आफैंले मात्रै हिम्मत गरेर अनुमति दिए होला त ? त्यहाँ त पक्कै पनि सचिव या मन्त्रीसँग सल्लाह भएको छ । उनीहरूले पक्कै केही निर्देशन दिएका होलान् । यस्ता सन्दर्भमा सही परामर्श दिन नसक्ने कर्मचारी पनि जिम्मेवार हुन्छन् । यसैले, निर्णय प्रक्रियामा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा मन्त्रीले पनि बुझ्नुपर्छ र कर्मचारीले पनि राम्ररी परामर्श गर्नु आवश्यक हुन्छ ।

फेरि पनि, मूल कुरा त कामै नहेरी नेतामाथि जनताले अपेक्षा गर्नु गलत हो । मूल्यांकन नै हचुवाको भरमा भयो । कसैले बोल्दैमा उसलाई विश्वास गरिहाल्नु ठिक हुन्न । तर, काम गरेर देखाएपछि बल्ल विश्वास गर्ने प्रवृत्ति नै यहाँ देखिएको छैन। यसो हुँदा जनताबाट पनि छिट्टै ‘हिरो’ र ‘जिरो’ बनाउने काम काम भएको छ ।

समग्रमा भन्नुपर्दा, सत्तामा पुगेपछि आशा गरिएका नेता पनि बद्नाम हुने समस्या सामाधान नगरी सुखै छैन। मुख्यतः पार्टीभित्र यस्ता विषय हेर्ने संयन्त्र चाहिन्छ । कोही सत्तामा पुग्दैमा मनलाग्दी निर्णय गर्न नदिने काम पार्टीको हो।

जनता पनि यसबारे सचेत हुनुपर्छ । नेताले गरेका राम्रा कामको प्रशंसा र नराम्रो कामलाई दुरुत्साहन निष्पक्ष रूपमा गर्न सक्नुपपर्छ। पार्टीगत रूपमा नभइ नागरिकहरूले निष्पक्ष रूपमा दबाव सिर्जना गर्ने हो भने यस्ता समस्या आफैं ठिक हुन्छन्।
सम्बन्धित समाचार

आशालाग्दा नाम, सत्तामा पुगेपछि बदनाम

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८, १३:०७:००