NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्वदेशी कफीको ब्राण्डिङ गर्दै रेडमड

‘कफी भेट गरौं न ।’
‘कफी पिउँदै कुराकानी गरौंला ।’
‘कफी पिउने होइन ?’

सहरी दुनियाँमा अब यस्तो प्रस्ताव सामान्य भइसक्यो । सहरी क्षेत्रमा विकास भएको ‘कफी कल्चर’को सूचक हो यो । आरामदायी क्याफेमा बसेर कफी र प्रियजनसँग घण्टौं बिताउन रुचाउने बढेकै छन् । त्यही रुचिलाई ध्यान दिएर कफी क्याफे प्रशस्तै खुलेका छन्, खुल्दैछन् ।

त्यही मेसोमा जन्मिएको हो– ‘रेडमड कफी’ । जो, लण्डनमा चार्टर्ड एकाउन्टेन्सी सकेर फर्केका प्रवेश हुमागाईंले कोरेको सपनाको आकार हो । उनको सपनामा जोडिएका अर्का युवा थिए– अमेरिका पढेर आएका आशिष अधिकारी । विदेशमा देखिएका अनेकन सम्भावनालाई छोडेर देशभित्रै उद्यम गर्न हौसिएका नजिकका नातेदार तथा साथी यी दुई युवाले कफीसहितको आरामदायी बिसौनी बनाएका छन् ।
No description available.

रेडमड र प्रवेशसँगको साढे ६ वर्षको व्यावसायिक सहयात्रा आशिषले तीन वर्षअघि टुंग्याए । त्यसपछि रेडमडको विस्तार र व्यवस्थापनको जिम्मेवारी प्रवेश एक्लैले उठाएका छन् ।

सिए छाडेर कफी

लाखौं खर्चिएर सिए पढेका प्रवेश कसरी लागे व्यवसायमा ? उनको पारिवारिक वातावरणले यसको जवाफ दियो । प्रवेशका बुबा जयन्द्रप्रसाद हुमागाईं आयातनिर्यातको व्यवसाय गर्थे । उनको पुख्र्यौली घर विराटनगर । लण्डन छँदै नेपाल फर्केर केही व्यवसाय गर्ने उनको सोच थियो । फर्केपछि आशिषसँग भेटेर छफफल गर्न थाले । त्यसैक्रममा थापाथलीको ट्रेड टावरमा भएको कफीसपमा पुगिरहन्थे । एकदिन उनीहरूले सोही कफी सप किनेर रेडमड बनाए । उनी ६ वर्ष अध्ययनको सिलसिलामा बसेर सन् २०१२ मा नेपाल फर्केका हुन् । लण्डन बस्दा रेष्टुराँमा काम गरेको अनुभवले उनलाई नयाँ बाटोमा हिँड्न मार्गनिर्देश गर्‍यो ।

उनलाई लाग्यो, आफ्नै देशको स्वादको ब्राण्डिङ किन नगर्ने ? उनको यही उर्जा लिएर एक दशकअघि रेडमड क्याफेले यात्रारम्भ गर्‍यो

संसारमा तेलपछि सबभन्दा बढी बिक्ने वस्तु मानिन्छ कफी । विश्व बजारमा कफीको धेरै पारखी छन् भन्ने प्रवेशलाई थाहा थियो । उनले रेडमड सुरु गर्दा मानिसमा कफी पिउने संस्कार बिस्तारै विकास भएको अनुभव गरे । पहिलो पाइलामै अवसरमा हात हाल्नु ठिक देखे । फेरि नेपालमै कफी उत्पादन पनि राम्रै मात्रामा हुन थालेको थाहा पाए । हावापानीका हिसाबले नेपालको कफी विश्वमै उच्च गुणस्तरमध्ये मानिने पनि जानकारी पाए । यद्यपि, नेपाली बजारमा ठूलो मात्रामा विदेशी कफी पनि आउँछ ।

उनलाई लाग्यो, आफ्नै देशको स्वादको ब्राण्डिङ किन नगर्ने ? उनको यही उर्जा लिएर एक दशकअघि रेडमड क्याफेले यात्रारम्भ गर्‍यो ।

यात्रामा थाकेपछि बिसौनी लाउन चौतारो खोजिन्छ । तर यात्रा सुरु नहुँदै बिसौनी खोजे त्यहीँ हराउने डर हुन्छ । प्रवेशलाई पनि यस्तै लाग्यो । विदेशबाट केही गरिहालौं भन्ने उत्साह भएकै बेला तुरुन्तै केही गर्न जुटेका थिए । उमेर र अनुभव आलोकाँचो थियो, तर देशभित्रै केही गर्ने दृढता भने मनमा बलियो थियो । छोटो अध्ययनपछि नै उनले व्यवसायमा हात हाले । उनलाई लाग्यो, गर्दै गए सिकिन्छ ।

क्याफे खोल्दा सुरुका दिनमा ललितपुरको एउटा फार्मबाट कफीका दाना ल्याए । तर, त्यहाँको उत्पादन र गुणस्तरसँग लामो समय उनी विश्वस्त हुन सकेनन् । त्यसपछि रेडमडका लागि नुवाकोटको बट्टार नगरपालिकास्थित प्लान्टेक फार्म भ्रमण गरे । त्यहाँको कफी प्रयोग गर्नुअघि फार्ममै गएर उत्पादन, प्रोसेसिङ अध्ययन गरे, जुन भरपर्दो लाग्यो । उनले भने, ‘गुणस्तरको विश्वसनीयताका लागि कफी रोस्टिङमा भने हामी आफैं इन्पुट दिन्छौं, एउटै फार्मको उत्पादन प्रयोग गर्छौं । गुणस्तर राम्रो भएकाले नै हामी स्वदेशी कफी प्रबद्र्धनमा लागेका हौं ।’

उसो त, आफूले गर्ने काममा आफैं विश्वस्त हुनु जरुरी छ । त्यसैले व्यवसाय थालेपछि उनीहरूले कफी फार्महरू भ्रमण गरे, नेदरल्याण्डबाट कफी विशेषज्ञहरू नेपाल बोलाएर तालिम पनि लिए ।

चिया खोज्दै आउनेलाई कफी

यो एक दशकको बीचमा उनले नेपाली बजारमा कफी पारखी ह्वात्तै बढेको पाएका छन् । सुरुवाती दिन सम्झदै भन्छन्, ‘हामीले रेडमड खोल्दा चिया पिउन पाइन्छ भनेर क्याफे छिर्नेहरू प्रशस्तै हुन्थे । क्याफेमा आउनेहरू पनि मेनु हेर्थे र सबैभन्दा कम मूल्य देखेपछि एस्प्रेसो अर्डर गर्थे । तितो स्वाद पाएपछि आत्तिएर कराउने ग्राहकको पनि उनले सामना गरे । दिनमा पाँच/सात जना ग्राहक त्यस्ता आउँथे । अब त्यो अवस्था रहेन ।’
No description available.

कफी पारखीको स्वाद अझ रूपान्तरित भएको पाउँछन् उनी । पछिल्लो दुई–चार वर्षदेखि बिनाचिनी कालो कफी पिउने युवा जमात बढेको छ । कफीको वास्तविक स्वाद लिन त्यसरी पिउनेहरू बढेको बुझाइ छ । भन्छन्, ‘म आफैं पनि कफी पारखी हुँ, बिनाचिनी पिउँछु । यसरी कफी पिउनुको मज्जै बेग्लै ।’

कफी पारखी युवापुस्ताले कफी कसरी र कस्तो पिउने भन्ने राम्रो ज्ञान लिइसकेको उनको बुझाइ छ ।
८०० जनाले एकसाथ कफी पिउने ठाउँ

रेडमडको स्वाद रुचाउने ग्राहक बढेपछि उनीहरूले व्यवसाय विस्तार गरे । अहिले ललितपुरको झम्सिखेलमा एउटा सिंगै घर लिएर चलाएका छन् । नक्साल, दरबारमार्ग, पानीपोखरी, अमेरिकी दूतावास, सफ्टवेरिका कलेज र नयाँ बानेश्वरमा गरी आठ आउटलेट छन् । क्याफेको लजिस्टिक सेन्टरसहितको कर्पोरेट कार्यालय रातोपुलमा छ ।

मनाङमा पनि उनले सेवा विस्तार गरेका छन् । यही उत्साहले उनी स्वदेशी उत्पादनसहितको रेडमडको ब्राण्ड विस्तारमा खटिरहेका छन्

सुरुवाती चरणमा ट्रेण्ड टावरमा २४ जनाजति अटाउने ठाउँ थियो । प्रवेशका अनुसार, अहिले सबै आउटलेट र फ्रेञ्चाइजीहरूमा गरी करिब ८ सय जनाले एकसाथ कफी पिउन सक्ने ठाउँ रेडमडले बनाएको छ । २० लाख रूपैयाँ लगानीबाट थालिएको व्यवसायमा लगानी नै १३ करोड रूपैयाँ पुगिसकेको छ ।

रेडमडमा ६ वर्षअघि नेदरल्याण्डस्को कम्पनी पर्पल फिल्ड इन्भेष्टमेन्टको लगानी पनि थपिएको छ । एउटा अन्तर्राष्ट्रिय लगानीसम्बन्धी प्रतिष्पर्धामा छनोट भएपछि उनले पेश गरेको व्यावसायिक योजनासहितको प्रस्तावनाबाट बाह्य लगानी जुटाउन सफल भए । यसले पनि आफूमा थप उत्साह जागेको उनी बताउँछन् ।

अनि, उनी खुसी हुन्छन्

उनको कफी स्टेशनमा कोही जोडी आउँछन्, कोही साथीसंगीको समूह, त कतिपय बैठक, भेटघाट र छलफलमा घण्टौं बिताउँछन् । थरीथरीका स्वादका कफीको चुस्की लिँदै गफिइरहेका ग्राहकको हँसिलो अनुहार देख्दा प्रवेश मनमनै खुसी हुन्छन् ।

ट्रेड टावरको सानो स्पेशमा सुरु गरिएको कफी व्यवसायले राजधानीका कफी पारखीमाझ राम्रो छवि बनाएको छ । पहिलो आउटलेटमा प्रवेश र आशिष दुवै जना आफैं खट्थे । उनीहरूसहित जम्मा चार जनाले सर्भिस दिन्थे । त्यसरी शुरु गरेको रेडमडमा अहिले भरिभराउ ग्राहक हुन्छन् । प्रत्यक्ष–परोक्ष गरी करिब चार सय जना रोजगार छन् ।

धेरै वर्षबाहिर बसेर फर्किएका नेपालीहरू पनि रेडमड आइपुग्छन् । नितान्त स्थानीय माटोमा फलेको कफी पिएपछि उनीहरूको ‘फिडब्याक’ले थप उर्जा मिल्छ उनलाई । ‘नेपालको कफी स्टार बक्स (अन्तर्राष्ट्रिय कफी ब्राण्ड)भन्दा पनि राम्रो रैछ है भन्ने फिडब्याक दिनुहुन्छ, त्यो चाहिँ मलाई खुबै राम्रो लाग्छ । हामी किन नेपाली कफीको प्रबद्र्धनमै लागेका छौं भन्ने कुरा चाहिँ उहाँहरूको फिडब्याकले जस्टिफाइ गर्छ,’ उनी भन्छन् ।

भूमण्डलीकरणको जमाना, आफ्नै देशमा उत्पादित वस्तु मात्रै प्रयोग गर्छु भनेर नहुने । उसै त निर्यातको धेरै गुणा बढी आयात हुँदा व्यापार घाटा खेप्दै आएका हामी नेपाली । विभिन्न देशबाट तयारी कफी नेपालमा भित्रिन्छन् । तर, रेडमडले आफ्नै ठाउँमा फल्ने कफीको प्रयोग गरिरहेको छ । प्रवेश यसमा गर्व गर्छन् ।

स्तर निर्धारण नहुँदा राम्रो लगानी गर्नेहरू मारमा परेको उनको अनुभव छ । लगानी, गुणस्तर र सेवा–सुविधाका आधारमा व्यवसायको स्तर निर्धारण हुनुपर्नेमा उनको जोड छ

रेडमडले एउटै फार्मको वार्षिक नौ टन कफीको दाना खपत गर्ने गरेको छ । प्रवेशले भने, ‘हामी चाँडै नै २५ देखि ३० टनसम्म खपत हुने गरी व्यवसाय विस्तार गर्दैछौं । हाम्रो सेवा र ब्राण्डप्रति ग्राहकले दिएको माया र विश्वासकै कारण रेडमडको व्यावसायिक यात्रालाई फराकिलो बनिरहेको छ ।’

संसारमा जुनसुकै देशमा पनि उद्यम गर्नसजिलो छैन । यहाँ पनि छन् केही असहजता । तर, उनी आफूले रोजेको क्षेत्र भएकोले ती अप्ठ्याराको सामना गर्दै व्यवसायमा रमाइरहेका छन् । तर, स्तर निर्धारण नहुँदा राम्रो लगानी गर्नेहरू मारमा पर्ने गरेको उनको अनुभव छ । लगानी, गुणस्तर र सेवा–सुविधाका आधारमा व्यवसायको स्तर निर्धारण हुनुपर्नेमा उनको जोड छ ।

भन्छन्, ‘बजारको स्तर निर्धारण छैन । एउटा ग्यास चुल्हो राखेर खोलिएको खाजाघर पनि रेष्टुरेन्ट, करोडौंको लगानी भए पनि रेष्टुरेन्ट । एउटा मापदण्ड पूरा गरेपछि मात्रै त्यो रेष्टुरेन्ट भनिने भन्ने केही छैन । यसले जोखिम लिएर ठूलो लगानी गर्ने व्यवसायलाई मारमा पार्छ । यस्तै, नीतिगत असहजता पनि छन् । तर कामै गर्न नसकिने वातावरण भने हैन । आफ्नो उत्पादन भनेपछि अझ बेसी माया गर्ने नेपाली ग्राहकको स्वभावले पनि हामीलाई प्रेरित गर्छ ।’

यद्यपि, विदेशमा लगानी गरेर काम गर्दा जोखिम जति उच्च हुन्छ, आफ्नो देशमा त्यसको दर कम हुने उनको भनाइ छ ।
विदेशमा नाफा पनि उच्च दरमा हुने तर जोखिम पनि त्यति नै ।
No description available.

व्यवसायले छलाङ मार्दै गर्दा नै कोभिड–१९ को प्रकोप खेप्नु पयो । सारा उद्योग–व्यवसाय ठप्प हुँदा लामो समय रेडमडका आउटलेटहरू पनि बन्द रहे । तर, सरकारले त्यस्तो अप्ठ्यारो परिवेशमा पनि नहेर्दा भने उनी ‘कर केका लागि तिरिरहेका छौं’ भन्ने प्रश्न गर्छन् । भन्छन्, ‘मेरा धेरै साथीहरू बेलायतलगायत युरोपका विभिन्न देशमा छन् । लण्डनमा व्यवसाय गर्ने एउटा साथीका अनुसार महामारीका बेला आफ्नो रेष्टुरेन्टमा कार्यरत स्टाफको ८० प्रतिशत तलबसमेत सरकारले तिरिदियो । करलगायतमा पनि सहयोग गर्‍यो । यसो भएपछि टिक्न सहज हुने भयो । यहाँ चाहिँ खल्तीबाट हालेर चल् भन्ने जस्तो देखियो, जुन हाम्रो लागि पक्कै उत्साहजनक वातावरण हैन ।’ बिक्री शून्य रहेको त्यो अवधिमा व्यवसाय टिकाउन निकै हम्मे पर्‍यो । तर त्यो लगानीलाई उनी आफ्नो व्यवसायमा गरिएको अतिरिक्त पुँजी लगानीका रूपमा लिएर चित्त बुझाइरहेका छन् ।

व्यवसायिक लक्ष्य हासिल गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छन् । धेरै सोचिरहने भन्दा कार्यान्वयनमै उत्रिन रुचाउने बानी छ उनको । एक दशकको व्यावसायिक यात्रा पार गरिसक्दा उनले व्यवसाय आफ्नो लतका रूपमै विकास भएकोजस्तो लाग्छ उनलाई ।

रेडमडको ब्राण्डिङ कथा

कसरी रह्यो क्याफेको नाम ‘रेडमड’ ? यसको कथा कफी र माटोसँग जोडिन्छ । नेपालमा प्रायः रातो माटो हुने भू–भागमा कफी उत्पादन हुने गर्छ । रातो माटो भएका पहाडी तर गर्मी ठाउँमा बढी उत्पादन हुने गरेको छ । त्यही भूगोललाई प्रतिबिम्ब गर्ने गरी प्रवेश र आशिषले नाम जुराएका हुन्– ‘रेडमड कफी’ ।

प्रवेश बिहान नौ बज्दा कर्पोरेट अफिस पुग्छन् । १२ देखि १ बजे उनी आउटलेटतिर निस्कन्छन् । घर फर्कदा रातिको नौ बजिसकेको हुन्छ । यसरी सरदर १२ घण्टा उनी रेडमडमै बिताउँछन् ।

सिए पढेर आए पनि उनलाई आफैं व्यवसाय गर्न मन लागेको थियो । उनी लण्डनमा चेन रेष्टुरेन्टको प्रबन्धक पदमा काम गर्थे । त्यहाँ रहँदा उनले वित्त विभागमा जान खोज्दा आफ्ना क्षेत्रीय वरिष्ठ क्षेत्रीय प्रबन्धकले दिएको सुझाव आज पनि सम्झन्छन् । भन्छन्, ‘उनले भनेका थिए, वित्त विभाग सम्हालेकाले कम्पनीको सञ्चालनको जिम्मेवारी निकै राम्रो सम्हाल्न सक्छ, जुन क्षमता तिमीसँग पनि छ ।’

हुन पनि उनको रेडमड सहरका कफी पारखीका रोजाइको स्थान बनिसकेको छ नै । अहिले त उनले मनाङमा पनि सेवा विस्तार गरेका छन् र उत्साहित छन् । त्यही उत्साहले उनी स्वदेशी उत्पादनसहितको रेडमडको ब्राण्ड विस्तारमा अहोरात्र खटिरहेको छन् ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८, ११:५७:००