NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एक हात गुमाएका मियाँ जो साइकलमा व्यापार गरेर परिवार पाल्छन्

तिलचामले चुस्स दारी । एउटा मात्र हात । अनि बचेको एउटा हातले चलाइरहने उही पुरानो साइकल । अगाडि र पछाडि स–साना झोला र बोरीका थैला । प्याक गरिएका ल्वाङ, सुकमेल, जिरा, बेसार र सुपारीका प्याकेटहरू । यही हो, उनको चिनारी । अर्थात् कोहलपुर नगरपालिका–४, किरण नाला बस्ने ५६ वर्षीय करिमदिन मियाँ ।

उनको एउटा हातले उठाउँदै आएको छ, परिवार पाल्ने जिम्मेवारी । घाम झुल्कनु अगाडिदेखि सूर्यास्तसम्म नै करिमदिन व्यस्त देखिन्छन् । शहरीकरणउन्मूख कोहलपुर बजारदेखि गाउँघरका कुना कुनासम्म मसलाजन्य पोका बिक्री गर्दागर्दै दिन ढलेको पत्तै हुँदैन । शुरुमा सामान्य मानिसजस्तै देखिने करिमसँग कुरा गर्दै जाँदा पछि मात्र हात नभएको थाहा पाउँदा रहेछन् धेरै मानिसहरू ।

जन्मिएपछि आजसम्म सुख के हो थाहा छैन । उनी भावुक मुद्रामा सुनाउँछन् । हुन पनि, सल्यानको छायाछत्र गाउँमा जन्मिएका उनलाई ७ वर्षकै उमेरमा मातृ शोक पर्‍यो । घरभरि जहान भएर पनि उनलाई आमा नभएको घर रित्तोजस्तो लाग्थ्यो । त्यतै वरिपरि होलिन् आमा, बोलाउँदै आउलिन् आमा ! आमाको अभाव बुबालाई कति भयो होला, अरू दाजभाइ, दिदीबहिनीलाई कति भयो होला ? उनले भने निकै कलिलैमा आमाको न्यानो गुमाए । करिमदिल भन्छन्, ‘आमा सम्झिँदा अहिले पनि छाती चिसो भए झैं लाग्छ ।’

डाक्टरले हात काट्नुपर्ने सुनाउँदा उनलाई चिच्याएर रुन मन लागेको थियो । तर उनीसँग परिवार र आफ्नै खराब समय धिक्कारेर आफ्नै अंग काट्नुको विकल्प थिएन

हुर्किंदै जाँदा उनले पनि बोध गर्दै गए, अभावको चुहिने चुल्हो आमाले कसरी जोर्ने रहिछिन् !

घरमा साँझ बिहान खान निकै धौ–धौ थियो । त्यसरी नै समय बित्दो थियो, बुवाले एकदिन मधेश झर्ने कुरा गरे । मधेश भनेपछि नयाँ ठाउँ हेर्ने कौतुहलता पनि थियो मनमा । तर आमाको छाँया घुम्ने त्यो घर कसरी छोड्ने होला ? बसाइँ सर्ने बेला जम्मा ११ वर्षे बालामन अमिलिएको थियो । तर, छोराछोरीलाई पेटभरि खान र एक सरो लाउन दिने सपना बोकेर उनका बुबाले बाँकेको कचनापुरमा बसाइँ सारे । बुवाले २ बहिनी र ३ भाइलाई साथमा लिएर कचनापुर झरेको सम्झना आज पनि उनको दिमागमा ताजै छ ।

मनभरि आशा बोकेर मियाँ परिवार बसाइँ त सर्‍यो तर सपना भने सधैं अधुरा नै भए । उनको परिवार जंगल छेउको ऐलानी जमिनमा सानो झुप्रो बारेर बसेका थिए । दैनिक मजदुरी गर्नुपर्ने, जंगलको बास अनि जनावरको त्रास । ‘मरी मरी काम गर्दा पनि कहिलेकाही त भोकै सुत्नु पर्ने,’ पुराना दिन संझन्छन् उनी ।

परिवारको जिम्मेवारीले यसरी थिच्यो कि एउटै हातले साइकल चलाएर भए पनि पुरानै व्यापारमा फकिएँ

जुन आशा थियो, त्यो बिलायो । कनचनापुरमा भाइबैनीको उमेर मात्र बढिरहेको थिएन, खर्च पनि बढिरहेको थियो । यसैले मियाँ परिवार कचनापुर छोडी पुनः कोहलपुरमा बसाइँ सर्‍यो ।

कोहलपुरको नयाँ परिवेश । अपरिचित समाज । सीपबिनाको कामको खोजी । हुर्किंदो उमेरका उनलाई कतै कचनापुर छोडेर गल्ती त गरिएन भन्ने लाग्यो । अरूको काम खोजी हिड्नुभन्दा आफैंं केही गर्ने मनसायले घर गर्यो । आफै त गर्ने तर ठूलो लगानी गर्ने क्षमता उनीसँग थिएन । सानो लगानीमा पनि गर्न सकिने देखेर अहिलेको व्यवसाय छाने ।

संयोग नै भनौं, सोचेभन्दा राम्रो भयो । मसलाजन्य घुम्ती व्यवसायले हौसला थपिदियो । परिवारमा केही सहजता भयो । अव त केही राम्रो जिन्दगी बाँच्न सकिन्छ कि भन्ने आशा पलायो । हौसलाले मानिसलाई सहज गरी बाँच्ने ऊर्जा दिने रहेछ । उनी आफ्नो खुसीको क्षण सुनाउँछन् । साइकलमा गरिने मसला व्यवसायमा कहिले उनी पश्चिमको महेन्द्रनगर पुग्थे भने कहिले दाङको लमहीमा भेटिन्थे । उनले मधेशका बस्ती मात्रै चहारेनन्, दूरदराज हुम्ला, जुम्ला, अछाम जिल्लासम्म पुगेर व्यापार गरे । अब त सुखका दिन आउँछन् भन्ने विश्वास पलायो ।

बुढापाकाले भनेको सुनेका थिए– ‘दुर्घटना बाजा बजाएर आउँदैन ।’ तर आफू नै त्यसको शिकार हुनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । सहज हुँदै गइरहेको जीवनमा एक्कासि ठूलो बज्रपात भयो । उनी सडक दुर्घटनामा परे । ०५८ साल कात्तिक ५ गते आफ्नै पोकापन्तुरा बोकेर कोहलपुरबाट बर्दियाको बाँसगढीतिर सामान बेच्न जाँदै थिए । बर्दियाको बेलवा भन्ने ठाउँमा पुग्दा उनी चढेको बसलाई अर्को बसले ओभरटेक गर्ने क्रममा ठक्कर दियो । उनी अर्धबेहोसी अवस्थामा थिए, रक्तस्रावका कारण अत्यधिक पिडा थियो । उनलाई उपचारका लागि कोहलपुरको शिक्षण अस्पताल पुर्‍याइएछ । होस आउँदा उनी अस्पतालको शय्यामा थिए ।

दुर्घटनाका कारण उनको बायाँ भागमा गम्भीर चोट लाग्यो । डाक्टरले भने, हात काट्नुको विकल्प छैन । उनलाई चिच्याएर रुन मन लाग्यो । तर परिवार सम्झिए, आफ्नै खराब समयलाई धिक्कारे र बाँकी हात काट्न तयार भए ।

शल्यक्रियाबाट होस आउँदा उनको आधा हात थिएन । त्यसपछि न उनलाई रात बितेको थाहा हुन्थ्यो न त दिन नै । तर, जे हुनु भइसकेपछि रोएर वा निराश भएर पो के हुन्थ्यो र ? ६ महिनाको अस्पतालको बसाइँपछि घर आउँदा सबै विरानो जस्तै लाग्यो । उनी भन्छन्, ‘परिवार पाल्नुको पीडा त थियो नै, तर कसरी ? भन्ने पिरलोले मुटु खायो । यही पिरलोले ६ महिनासम्म रोएरै बिताएँ ।

दिनदिनैको पीडा, आफ्नो अशक्त जीवन, जताततै अँध्यारो । तर, परिवार, सहयोगी मनका छिमेकीको हौसलाले एउटा हातले साइकल चलाउन सिके ।

त्यो कहालीलाग्दो घटना सम्झँदै भन्छन्, ‘म गरीबसँग गरिखाने आँट, दुई खुट्टा र यिनै दुई हात त थिए, दुर्भाग्य, एउटा हात काटियो । तर जीवन त फेरि पनि सिंगै बाँकी थियो । परिवारको जिम्मेवारीको अघि मेरो निराशा र आँसुले धेरै समय टिक्न पाएन । एउटै हातले साइकल चलाएर भए पनि म पुरानै व्यापारमा फकिएँ ।’

कमाइले दुई हात मुख जोड्नै धौ छ । करिमदिनले एउटा आश पालेका छन्, ‘प्लास्टिकको हात फेर्न पाए साइकल चलाउन सजिलो हुुन्थ्यो कि

आखिर जीवन त जिउनु नै थियो । फेरि उनी आफू मात्र एक्लै पो कहाँ थिए र । उनीमाथि आश्रित परिवार थियो । अपाङ्गता भएका व्यक्ति समाजमा उनी मात्र एक्ला थिएनन् । आफूले वरिपरि देखेका त्यस्ता मानिसहरूले पनि काम गरिखाएको देखेका थिए । केही महिनामा उनको हातको घाउ भरियो । यस्तै कुराले केही गर्न सक्छु भन्ने आशा जगायो । उनी पुरानै कामलाई निरन्तरता दिने निर्णयमा पुगे ।

आजसम्म आइपुग्दा जिन्दगीले अनेकौंं पटक आफूसँग परीक्षा लिएको र आफू नहारेको कुरा बताउँछन् उनी । यसैले त दैनिक ५५ देखि ६० किलोमिटर एउटै हातले साइकल चलाएर आफ्नो परिवार पालेका छन् । मसला पोको पार्दा घरका सदस्यले सघाउँछन् । आफ्नै कमाइले छोराछोरीलाई पढाउन सकेका छन् । छोराछोरी किताब बोकेर विद्यालय जाँदा उनलाई गर्व लाग्छ ।

करिमदिनको जीवन अब एक हातमै अभ्यस्त बनिसकेको छ । दिनभरिको काम, आनन्दको निद्रा, अचेल जीवन राम्रै लाग्छ उनलाई । उनको कामको प्रशंसा गर्नेहरू पनि प्रशस्तै छन्, उनी धेरैका लागि प्रेरणा पनि बनेका छन् । परिवारको पेटमा माड हाल्न उनका लागि एउटै हात काफी छ । आफ्नो कमाइले घर खर्च धान्न ठीक्क छ । तर करिमदिनले एउटा आशा भने राखेका छन्, ‘प्लाष्टिकको हात फेर्न पाए साइकल चलाउन सजिलो हुुने थियो कि ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८, ०९:१८:००

ताजा अपडेट

नेपालवाच विशेष