NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

युवा नेतृत्वलाई खबरदारी : टिकट किन्ने प्रणालीको अन्त्य गर्नोस्

प्रजातान्त्रिक आन्दोलनमा बिपी कोइरालासँग संगत गरेका कृष्णकिशोर घिमिरेको राजनीतिक यात्रा कथा :

पार्टीको सदस्यता पाउने मापदण्ड के–के हुन् ? जुँगाको रेखी पनि बसिनसकेको एउटा ठिटोले बिपीलाई अचानक सोधे । बिपी एकछिन अन्यमनस्क देखिए । भेटघाटका सहभागीबाट अचानक उनको ध्यान ठिटोतिर सोझियो । उनले मुसुक्क हाँस्दै ठिटोलाई नजिक बस्न संकेत गर्दै भने– ‘तपाईं जेल जान तयार हुनुहुन्छ ? कि हुनुहुन्न ?’

ती हेर्दै धक लाग्ने नेताको प्रतिप्रश्नले ठिटो एक निमेष चुप भए । तर तुरुन्तै जवाफ फर्काए– राम्रो कामका लागि भए तयार हुन्छु ।’
बिपीले फेरि भने – ‘हो, यो एउटा मापदण्ड हो ।’

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासँग ठाडो संवाद गर्ने २० वर्षे ती ठिटो थिए दाङका कृष्णकिशोर घिमिरे । ०३१ सालतिर भारतको बनारसमा भेट्दा उनले बिपीलाई यसरी प्रश्न गरेका थिए ।
No description available.
युवाकालमा कृष्ण किशाेर

बिपीलाई भेट्नु पाँच वर्षअघि नै उनले कांग्रेसको सदस्यता पाएका थिए । ती ठिटो अहिले ६७ वर्षका भएका छन् । उनी उमेरको यो खुट्किलोमा आइपुग्दा कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मालगायत युवापुस्ता नेतृत्वमा आइसकेको छ । तर, पार्टी चलाउने ढर्रा खासै फेरिएको छैन । हालै सम्पन्न १४ महाधिवेशनबाट उनी पार्टीको खुलातर्फका ३५ जना भित्रका केन्द्रीय सदस्यमा निर्वाचित भए । आज पनि उनी पार्टीमा उही सवाल गरिरहेका छन्– ‘पार्टीले टिकट दिने प्रावधान के हो ?’

पार्टीमा होस् या संसद, विधि र प्रणालीको मुद्धामाथि बहस गरिरहन्छन् उनी । खासगरी आर्थिक पारदर्शीता बिना सरकार वा देश त के परिवार पनि ठीक ढंगले नचल्ने उनको मान्यता छ । उनी दाङ क्षेत्र नं.३ बाट ०५६ सालमा संसद् सदस्यमा निर्वाचित भएका थिए ।
०००

के कांग्रेसले अब देशलाई हाँक्न सक्छ ? केही दिनअघि राजधानीको एक भेटमा उनीसँग यसरी सुरु भएथ्यो कुराकानीको श्रृंखला ।

भेटमा उनी सेतो पोशाकमा थिए । आमाको निधनको बरखी बोकेका उनको शीरमा पनि सेतै क्याप थियो । सेतो क्यापबाट उम्किएका उनका कपाल पनि सेतै थिए । शान्त भावमा मुसुक्क हाँस्दै उनले आफ्नो राजनीतिक यात्राका कथा शुरु गरे । क्रान्तिकालीन कथाको पोयो खुल्दै जाँदा भने उनको अनुहारको रंग फेरिँदै गयो ।
०००

सानैछँदा पारिवारिक वातावरणले कृष्णकिशोरलाई राजनीतितर्फ आकर्षित गर्‍ यो । उनका बुवा ऋषिराम शर्मा जयतु संस्कृतम् अभियानमा पनि संलग्न थिए । ०१५ सालको आम निर्वाचनताका उनी चार वर्षका थिए, बुवाले घोडामा राखेर गाउँ डुलाएको मधुरो सम्झना छ । उनी सानै थिए, घरम भूमिगत रुपमा कांग्रेसका नेताहरूको आउजाउ हुन्थ्यो । ती मान्छे प्रायः बुवासँग बसेर साउतीका स्वरमा बात मार्थे, उनी बुझ्दैनथे । ती मानिस आएको कुरा कतै नगर्न आमाले सुझाउँथिन् ।

उनका भान्दाजु छविकुमार शर्मा र गणेशकुमार शर्मा पनि कांग्रेसको राजनीतिमा क्रियाशील थिए । ०१८ सालमा उनीहरूको समूहले दाङमा तत्कालीन पञ्चायती सरकारलाई व्यावधान गर्न विमानस्थल खनेर भत्काएको आरोपमा समातिएका थिए । उनका काका वासुदेव घिमिरे विश्वविद्यालयका उत्कृष्ट छात्र थिए । प्रशासनले उनलाई विद्यार्थी राजनीतिमा संलग्न भएको आरोपमा पक्रेर थुन्यो । कृष्णकिशोरको बालमनमा पर्‍यो– ‘राम्रो पढ्ने मान्छेलाई थुन्यो, सरकार ठीक होइन ।’

हुर्किँदै गए, उनले बुवाहरूको साउतीको भाषा अलिअलि बुझ्न थाले । कक्षा सातमा पढ्दै उनी विद्यालयको सांस्कृतिक गतिविधि गराउने युनियनको सभापतिमा चुनिए ।

बिपीले बडो आत्मिय पारामा भन्नुभयो– यो पढ्नेले उमेर हो, हतारिएर राजनीतिमा लाग्ने निर्णय गर्ने बेला होइन । यो लामो यात्रा हो, यसमा निरन्तर योगदानको जरुरी हुन्छ ।’

एकसमय उनीहरूको घरमा कांग्रेस र कम्युनिस्ट दुवै पक्षका मानिस आउजाउ गर्ने क्रम रह्यो । दाङका पुराना नेता नारायणप्रसाद शर्मा, पछिल्लो चरण को–अर्डिनेशन केन्द्रका मानिस अलिकपछि नेकपा (माले)का नेता वासुदेव शर्मा, नेत्रलाल अभागीहरू पनि निरन्तर सम्पर्कमा थिए ।

संगतले बुझ्दै जाँदा प्रजातन्त्र अपरिहार्य रहेछ भन्ने उनलाई बोध भयो । प्रजातन्त्रका लागि कांग्रेस नै ठीक हो भन्ने पर्‍यो । यसरी उनी कांग्रेसको राजनीतिमा जोडिए ।

०३१ सालमा उनी भान्दाइसँग गोरखपुर पुगेका थिए । त्यहाँ काशीनाथ गौतम, नीलाम्बर पन्थीहरु बस्थे । त्यहीँ उनको गणेशमानहरूसँग भेटघाट भयो । त्यही टोली बिपीलाई भेट्न बनारस पनि पुग्यो । बिपीलाई भेट्ने इच्छाले उनी मनमनै खुसी थिए । उसो त उनले बिपीलाई पहिलोपल्ट ०१७ सालमा दाङमा नै भेटेका थिए । प्रधानमन्त्री भएपछि बिपी राजा महेन्द्रसँग देश भ्रमणका क्रममा दाङ पुगेका थिए । बुवाको साथ लागेर उनी बिपीलाई हेर्न दाङको झिङनी गएका थिए ।
No description available.
विसं २०५६ सालकाे निर्वाचनमा दायाँबाट बलदेव शर्मा मजगैंया, कृष्ण किशाेर घिमिरे र खुमबहादुर खड्का

त्यतिन्जेलसम्म कृष्णकिशोर प्रजातान्त्रिक आन्दोलनमा डटेर लाग्ने सोचमा पुगेका थिए । त्यही भएर उनले बिपीसँग भनेथे, ‘सान्दाजु, मलाई पनि पार्टीको जिम्मेवारी दिनुपर्‍यो अब म पनि लाग्छु । क्रियाशील सदस्यताको मापदण्डबारे भनेपछि उहाँले बडो आत्मिय पारामा भन्नुभो– यो पढ्नेलेख्ने बेला हो, हतारिएर राजनीतिमा लाग्ने निर्णय गर्ने बेला होइन । राजनीति त लामो यात्रा हो । यसमा जीवनभरको त्यागको जरुरी हुन्छ ।’ बिपीले भनेको ठीकै थियो । तर, उनलाई राजनीतिको रस भिजिसकेको थियो । बिपीलाई मनाए । फर्केपछि उनले पार्टी सदस्यता लिए ।

सदस्यता पाइसकेपछि उनी झनै खरो ढंगले संगठनतिर होमिए । अग्रज नेताहरू जस्तै उनी पनि प्रशासनको नजरमा परे । ०३१ पछि उनी बारम्बार पक्राउ खाने, छुट्ने भइरह्यो । ०३५ जेठमा कांग्रेसको दाङ जिल्ला समिति गठन भयो । समिति बन्नुअघि गिरिजाबाबुले त्यो भेगका कार्यकर्तालाई गोरखपुर बोलाएर ७ जना युवालाई पार्टीको जिम्मेवारी दिएर पठाए । यसरी २४ वर्षको उमेर उनी पार्टीको जिल्ला सभापति भए ।

आदर्श बिपी

सानो छँदा देखेका बिपी उनका लागि सिनेमाका हिरोजस्तै थिए । तर, राजनीति बुझ्दै जाँदा भेटेका बिपीले भने उनलाई आजसम्म हिड्ने बाटो देखाए । बनारसको त्यो भेटमा बिपीबाट पाएको सान्निध्यले उनलाई आजसम्म पनि जनताको राजनीति गर्न प्रेरित गर्‍यो । आफू राजनीतिमा सक्रिय भएपछि भने उनले बिपीलाई धेरैपटक भारतकै विभिन्न ठाउँमा भेटे । ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर मुलुक फिर्नुअघि पनि बिपीसँग बनारसमा भेट भएको सम्झन्छन् । ‘उहाँलाई भेट्दा ठूलो नेताभन्दा पनि नजिकको मानिस भेटेजस्तो न्यानो बोध हुन्थ्यो,’ उनले भने ।

०००

दरबारमार्गको एउटा क्याफेमा कफीको चुस्की लिँदै घिमिरेले केहीबेर बिपीबारे नै ब्याख्यान दिइरहे ।

बनारस वा सारनाथको रथयात्राको डेरा होस्, बिपीलाई त्यहाँ पनि भेट्नेको जमघट बाक्लो हुन्थ्यो । बिपी हरेक भिजिटरका जिज्ञासालाई ध्यानपूर्वक सुन्ने र त्यसको गहिरो व्याख्यान दिने रहेछन् । उज्याला आँखा भएका ती नेताको शालिनताले उनलाई बडो प्रभावित गर्‍यो । निरन्तर संगतबाट बुझे– बिपी अभूतपूर्व नेता थिए, विचार दिन सक्ने, आफ्नो विचारले अरुलाई गहिरो प्रभाव छोड्न सक्ने । बिपी त गाली पनि हाँसेर सुन्ने मिजासका रहेछन् ।

बिपीको कुरा थियो– प्रजातन्त्रको प्रभाव जनताको दैनन्दिन जीवनमा वोध हुनुपर्छ । मुलुक संयुक्त परिवार हो । जसमा सम्पत्तिमाथि परिवारका सबै सदस्यको बराबरी हक हुन्छ । यद्यपि, अर्थोपार्जन सक्षम सदस्यले गर्छ । यो संस्था सहअस्तित्वमा चलेको हुन्छ । यसरी नै सम्पत्तिमाथि पहुँच हुनेहरूले अर्थतन्त्र विकासका लागि लगानीको वातावरण पाउनुपर्छ । अर्कातिर साधनस्रोत नहुनेले पनि व्यक्तित्व विकास गर्न पाउनु पर्छ ।

सम्झौताभन्दा जेल ठीक

०३७ जेठ १ गते जनमत संग्रहको परिणाम घोषणा भयो, सुधारिएको पञ्चायतले जित्यो । अब सुधारिएको पञ्चायतअन्तर्गत संविधानमा के-के व्यवस्था भयो भने आगामी निर्वाचनमा भाग लिने ? वा, नलिने भन्ने सवालमा देशभरीबाट अभिमत संकलन गर्न पार्टी सर्कुलर गरेको थियो । यही सवालमा नेपालगञ्जमा पार्टीको सम्मेलन थियो । सम्मेलनकै क्रममा विभिन्न छलफल चलिरहेको थियो । घिमिरेले बिपीसँग प्रश्न गरेथे, ‘पञ्चायतसँग भिडेर जनतामाझ पुग्दा यदि राम्रो नतिजा ल्याउन सकिएन भने के होला ?

बिपीले एउटा उदाहरण दिए– ‘जेल परेको एउटा क्रान्तिकारीले जेलबाट बाहिरिएर क्रान्तिलाई थप योगदान दिने प्रण गर्छ भने निस्कनु ठीक हुन्छ । तर, आफ्नो जीवन रक्षार्थ क्रान्तिलाई गद्दारी गर्दै सम्झौता गर्छ भने त्यो गलत हो । त्यसरी गद्दारी गर्नु वा सम्झौताको बाटो रोज्नुभन्दा चुपचाप जेलभित्रै बसेर आदर्शलाई बचाउनु ठूलो कुरा हो । त्यसले बाहिर रहेर क्रान्तिमा संलग्न हुनेलाई प्रेरित गरिरहन्छ ।’ यसरी जनमत संग्रहबाटै देशलाई नेतृत्व गर्न सक्ने वातावरण बन्ला भन्ने बिपीले तर्क थियो ।

संगठनमै गद्दार निस्किए

नभन्दै केहीसमय पछि नै गद्दार र क्रान्तिकारीको भेदबारे बिपीको भनाइको परीक्षण गर्न उनीहरू बाध्य भए । दाङमा जिल्ला कार्य समिति गठन प्रक्रिया चलिरहेको थियो । उनीहरूका सूचना प्रशासनमा पुगेको थाहा पाए । कहाँबाट सूचना बाहिरियो ? सुक्ष्म खोजी भयो । थाहा भयो, जेलबाट भर्खरै निस्किएका जिल्ला समितिका एकजना सदस्यले नै प्रशासनको सम्पर्कमा पुगेका रहेछन् ।

चन्दा दिनेलाई पार्टीले टिकट दिने वा आर्थिक हैसियतकै आधारमा टिकट किन्ने प्रणाली संस्थागत हुँदै गएको छ । एउटा प्रजातान्त्रिक पार्टीको हकमा यो चरम अराजनीतिक सवाल हो ।

यता जेल बसेर निस्किएको भनेपछि संगठनले उनलाई बैठकमा बडो सम्मान जाहेर गरिरहेको थियो । तर उनी सुराकी भइसकेका रहेछन् । जिल्ला तथा इलाका कार्य समिति गठनलगायत सांगठनिक संरचनाबारे अञ्चलाधीश कहाँसम्म रिपोर्ट पुर्‍याइसकेका रहेछन् । जेठमा समिति गठन भयो, असारमा बैठक बस्यो ।

बैठकमा ती व्यक्ति पनि आए । मिटिङमा एजेण्डा प्रस्तुत हुनुपूर्व भनियो, ‘हाम्रो कमिटीमा सरकारको सुराकी पनि छ, त्यो को हो आफैं स्वीकार गरोस् । होइन भने, अलिकति नराम्रो होला ।’

उनले भने– ‘त्यो म हो ।’

संगठनले स्पष्टीकरण माग्यो– ‘किन यस्तो गद्दारी गर्नुभयो क्रान्तिलाई ?

उनले भने– ‘मेरो पाइन्टको गोजीमा क्रियाशील सदस्यताको फर्म थियो । त्यो बहिनीले पाइन्ट धुनेबेलामा फर्म भेटेर बुवालाई दिइन् । बुवाले अञ्चलाधीशलाई दिनुभएछ । मलाई अञ्चलाधीशले बोलाएर सोधपुछ गर्ने क्रममा उनीहरूले मबाट जानकारी पाएका हुन् ।’ उनको जवाफ बैठकका अन्य सदस्यलाई बनावटी लाग्यो ।

तत्कालीन समयमा क्रियाशील सदस्यता दिनुअघि साेधिन्थ्याे, ‘तपाईं जेल जान तयार हुनुहुन्छ कि हुनुहुन्न ? तपाईंको जागिर जानसक्छ, त्यसका लागि तयार हुनुहुन्छ कि हुनुहुन्न ?’ यी विषयमा प्रतिवद्धता खोजिएको हुन्थ्यो ।

दाङको ललौरा गाउँमा पर्ने ग्वार खोलाको किनारमा बैठक बसेको थियो । खेतको बीचमा पर्ने ठाँटी (दुईतले कटेरो)मा उनीहरू भेला भएका थिए । त्यहाँबाट बगर, खोला र गाउँका टाढाका दृष्य हेर्न सकिन्थ्यो । बर्खामास, खोलामा बाढी पनि आइरहेको थियो । वर्षौंअघिको घटना सकेसम्म मिहीन पारामा सम्झँदै थिए–

‘अब तपाईंलाई के सजाय दिने त ?’

उहाँले बाढीतिर औंल्याउँदै भन्नुभयो– ‘मेरो अपराधका हिसाबले बोरामा बाँधेर यही बाढीमा बगाइदिए पनि हुने हो । अब तपाईंहरु जे भन्नुहुन्छ, म सहुँला ।’

मैले भनेँ– ‘ठीक छ, यसबीचमा तपाईंले संगठनको दुई/तीनवटा बैठक देखिसक्नु भएको छ । आज हामी कहीँ जाँदैनौं । तुलसीपुरमा नयाँ जेल बनेको छ । त्यसले मात्रै पुग्नेवाला छैन । कमसेकम चार-पाँच सय मानिसलाई थुन्न सक्ने सामर्थ्य भए हामीलाई हात हालोस् । यो कुरा आजै, अहिल्यै गएर अञ्चलाधीशलाई सूचना गर्नोस् ।’ त्यसपछि उनी निस्केर गए ।

बयानको तयारी

बैठक सकिएपछि पनि उनीलगायत १०-११ जना साथीहरू खेतको आसपासकै घरमा बास बस्यौं । नभन्दै राति प्रहरी आएर घर घेर्‍ यो । उनीहरूलाई पक्राउ गर्‍यो ।

बेलुकै थाहा थियो कि प्रक्राउ पर्ने सम्भावना छ । पक्राउपछि संगठनका सबैको बयान मिलोस् भन्नाका खातिर उनीहरूले केही पूर्वतयारी गरे ।

भन्छन्, ‘हामीले केही पूर्वसंकेत तयार गर्‍यौं । पहिलो बयान दिनेले फर्किदाँ एउटा मात्रै औंला देखायो भने बुझ्नु कृष्णकिशोरसँग कोही आफन्तको विवाहमा सामेल हुन आएका थियौं ।

दुईटा औंला देखाइयो भने, कृष्णप्रसाद भट्टराई मुलुकभरी घुम्दै हुनुहुन्छ, उहाँ दाङ पनि आउन चाहनुभएको छ । यही खबर लिएर कृष्णकिशोर आए, हामी पनि यसो सघाउन एक-दुइपटक जुट्यौं । तर अहिले उहाँ नआउने हुनुभयो, कुरै सिद्धियोे ।

तीन वटा औंला देखाए– कमिटिको कुरा गर्‍यो, पदाधिकारीबारे सोध्यो भन्ने जान्नु । तर, सो पदाधिकारी भट्टराईकै भ्रमण व्यवस्थापनका लागि बनाएको, नआउने भएपछि स्वतः खारेज भयो भन्ने ।

यदि, पाँच वटै औंला देखायो भने यो प्रणाली ठीक छैन, परिवर्तन जरुरी छ भनेर प्रजातन्त्रका लागि भनेर कांग्रेसमा आवद्ध रही हामीले यो संगठन बनायौं ।

चलाख अञ्चलाधीश

तर आफ्नै जिल्ला सदस्यले बैठक प्रयोजनबारे सुराकी दिइसकेका थिए । प्रहरीले सिधा कृष्णप्रसादको भ्रमणबारे नै सोध्यो ।

तत्कालीन अञ्चलाधीश दिगम्बर झाले बडो चलाख्याईँपूर्वक सात जनालाई छोड्यो । शिवहरि शर्मा घिमिरे, ऋषिराज आचार्य र वीरकेशरी गौतमलाई सल्यान जेल पठायो । जेलमा उनीहरूलाई यातना पनि दिएन । उनी भन्छन्, ‘हामीलाई अलिकति यातना दिएको भए मुलुकभरी अर्को सनसनी फैलिन्थ्यो । त्यही डरले शुरुमै सतर्कता अपनाए । क्रियाशील सदस्यता भरेको कुराको प्रसंगै पो उठाएनन् ।’

सल्यान र दाङ गरी नौ महिना जेल राख्यो । त्यसपछि ०३६ सालको गतिविधि बढिसकेको थियो । त्यही वर्ष जेठमा जनमत संग्रहको घोषणा भयो ।

आदर्शको राजनीति

उसबेला पार्टीभित्र पदका लागि झगडा गर्ने संस्कार नभएको उनको मत छ । अहिले पदकै भागबण्डामा राजनीति घुमेको देख्दा दिक्क मान्छन् । केहीबेर उनी यही सेरोफेरोमा गफिन्छन् ।

जो जुन पदमा जहाँ रहे पनि धेरैभन्दा धेरै मानिसलाई संगठनमा जोड्ने नै पहिलो लक्ष्य हुन्थ्यो । नेतृत्व जसले गरे पनि आपसी सल्लाहबाट निर्णय लिइन्थ्यो । पार्टी भन्नु सामूहिक भावना र संयुक्त प्रयत्न हो भन्ने थियो । अहिले यो भावनामा क्षयीकरण भएको छ ।

०३६ पछि घिमिरे निरन्तर पार्टीको जिल्ला कार्यसमितिको सदस्य रहे । जनमत संग्रहको घोषणापछि बर्दियाको ढोंडरीमा त्यसक्षेत्रको पार्टी सम्मेलन भयो । खुमबहादुर खड्का अध्यक्ष बने, चैतु ज्ञवाली उपसभापति, बलदेव मजगैंया सचिव, घिमिरे चाहिँ सदस्य भएँ ।

जनमत संग्रहका बेला यमप्रसाद पाण्डेको अध्यक्षतामा बहुदलीय व्यवस्था प्रचारप्रसार समिति गठन गरियो। त्यतिबेला पदको लोभ खासै हुँदैनथ्यो।

अरु धेरै साथीहरू जोडिए । यसरी कहिले मुख्य नेतृत्वमा रहेर त कहिले साथीहरूको नेतृत्वमा रहेर काम गरे । जिम्मेवारी जहाँ जता रहे पनि उनले पार्टीको नीति, सिद्धान्त र विचारलाई ‘फलो’ गरिरहे ।

त्रिवेणी नेतृत्व

अब कसलाई नेता मान्ने ? यो अहिलेको राजनीतिको मुख्य प्रश्न हो । यसै सन्दर्भमा उनी त्यसकालका नेताहरूलाई सम्झन्छन् ।

‘बिपी रहुन्जेल उहाँ सिंगो नेतृत्व हुनुहुन्थ्यो, विचारको मियो नै हुनुहुन्थ्यो । तर, संगठनका हिसाबले एउटा पार्टी निर्माण हुन एकै जनाले नेतृत्व गरेर मात्रै पुग्दैन । जसरी वैचारिक रुपमा बिपी कोइरालाको स्थान छ, संगठन निर्माणमा गिरिजाबाबुको पनि उच्च योगदान छ । गणेशमान साहस र वीरताका मानक हुनुहुन्छ । आदर्श र दृष्टिकोण निर्माण र यसलाई जोगाउने सवालमा किसुनजीको उच्च योगदान छ । उहाँहरू कांग्रेसको त्रिवेणी हुनुहुन्थ्यो ।’

कृष्णकिशोरको बालमनमा प-यो – ‘राम्रो पढ्ने मान्छेलाई थुन्यो, सरकार ठीक होइन ।’

उनको यादमा किसुनजी आउँछन्– ‘पछिल्लो चरणमा सान्दाजुले सशस्त्र संघर्षको नेतृत्व पनि गर्नु भो । सुवर्णजीले राजासँग एउटा सहमतिमा काम गर्ने प्रस्ताव राख्नुभएको थियो । तर किसुनजीले कुनै कुरासँग पनि सम्झौता गर्न चाहनुभएन । त्यो आदर्शलाई दिगो राखेर शान्तिपूर्ण तरिकाले तत्कालिन सत्तासँग लडेर प्रजातन्त्र प्राप्त गर्न सकिन्छ भन्ने विचार राख्नुहुन्थ्यो ।

विधानमाथि टिप्पणी

घिमिरे जीवन रहेसम्म पार्टीको जिम्मेवारीमा युवा उर्जाले खटिरहन प्रतिवद्ध छन् । उनी पार्टीलाई चुस्त बनाउन आफ्नो तर्फबाट निरन्तर प्रयत्न गर्न चाहन्छन् ।

यसै सन्दर्भमा कांग्रेसको विधानले गरेको केही व्यवस्थाप्रति पनि उनका केही टिप्पणी छन् । क्रियाशील सदस्य संख्याको आधारमा पार्टीमा प्रतिनिधित्व रहने कुरा विधानले व्यवस्था गर्‍यो ।

तर उनको प्रस्ताव छ– ‘स्थानीय तहको निर्वाचनमा वडामा पार्टीले प्राप्त गरेको मत संख्याको आधारमा प्रतिनिधित्वको प्रणाली बनाउने । तिनै प्रतिनिधिले मतदान गरेर वडादेखि संसदसम्म सिफारिस गर्ने मोडेलमा जाउँ । होइन नेतृत्वले छान्ने हो भने निर्वाचन परिणामको जिम्मेवारी पनि लिनसक्नु पर्‍यो ।

निर्वाचनमा ५० प्रतिशतभन्दा बढी नतिजा आएन भने नेतृत्वले त्यसको जिम्मेवारी लिने र राजीनामा दिने प्रणालीमा जानुपर्छ । अहिलेसम्म निणर्य गर्ने, जिम्मेवारी नलिने गलत प्रवृत्ति पार्टीमा हाबी देख्छन् उनी ।

यसो हुन नसक्दा अहिले चन्दा दिनेलाई पार्टीले टिकट दिने वा आर्थिक हैसियतकै आधारमा टिकट किन्ने प्रणाली संस्थागत हुँदै गएको छ । एउटा प्रजातान्त्रिक पार्टीको हकमा यो चरम अराजनीतिक सवाल हो । यसबाट अगाडि नबढ्ने हो भने आउने दिनमा कांग्रेस फेरि चुक्नेछ ।
No description available.
बिपी स्मृती दिवसमा दाङको घोराहीमा वृक्षरोपण गर्दै

घाइतेलाई राहत आफूलाई सन्तोष

पार्टीले खटाएको जुन जिम्मेवारी पूरा गर्न हरदम तत्पर उनी ०६२-६३ आन्दोलनका घाइतेहरूको उपचार प्रयोजनार्थ बनेको जनआन्दोलन घाइते तथा उपचार व्यवस्थापन समितिको संयोजक थिए । सरकारले जिम्मेवारी दियो, काम गर्नु थियो । बैशाख ११ गते राती ११ बजे संसद पुनस्थापना भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार बन्यो ।

उनी भन्छन्, ‘१२ गते माधव नेपालले टुँडिखेलको भाषणमा गर्दिनुभोे– जनआन्दोलनका सहीद परिवारलाई रू.१५ लाखका दरले राहत उपलब्ध गराउने । घाइतेलाई रू.दुई लाखका दरले सहयोग उपलब्ध गराउने । तर, त्यतिबेला एक डण्डा नखाने र अश्रुग्यास नखाने कोही थिएन । को–को हुन् त घाइते ? मापदण्ड बनाउनु जरुरी थियो ।’

उनको टिमले पाएको जिम्मेवारी सजिलो थिएन । पचासौं हजार मानिसलाई एक-डेढ लाखको दरले राहत दिन राज्यले धान्न सक्ने कि नसक्ने ? कतिले गोलीको छर्रा जीवनभर बोकेर हिड्न पर्ला, अंगभंग हुने गरी हातखुट्टा काट्न पर्ला, त्यसलाई के गर्ने ? कोही दिसा धोइदिनु पर्ने, खुवाइदिनु पर्ने हालतमा छन्, तिनलाई दुई लाखले के गर्ने ?

कतिपय गम्भीर घाइतेलाई उसको परिवारले सबैथोक छाडेर स्याहार गर्नु पर्ने अवस्थामा तिनका छोराछोरीको भरणपोषण, शिक्षादीक्षाको जिम्मेवारीको सवाल के हुने ? प्रश्न थियो । अन्तरिम सरकारका अर्थमन्त्री डा.रामशरण महतले प्रधानमन्त्रीलाई भनिदिए– ‘अरबौं रुपैयाको कोष चाहिने हुँदा यसरी राहत दिन सम्भव छैन ।’

आवश्यकताको सिद्धान्तका आधारमा आफूले त्यतिबेला गरेको कार्यशैलीबारे चर्चा गर्छन्– ‘महतसँग मैले गिरिजाबाबुकै सामु बहस गरें, ढुकुटीको चिन्ता तपाईंलाई मात्रै छैन । म ५० करोडभन्दा बढी नघाउँदिन । यदि, तपाईंहरूलाई विश्वास हुँदैन भने म राजीनामा दिन्छु । र, सार्वजनिक रुपमा भन्छु, राज्यले घाइतेहरूका लागि लगानी गर्न सकेन, त्यसकारण म यो जिम्मेवारीमा बसेर काम गर्न असमर्थ छु ।’

गिरिजाबाबुले तीन पटक सोध्नुभयो– ५० करोड नघाउनुहुन्न ? साँच्चिकै ?

मैले भने– हो, साँच्चै त्यो दायरा नघाउदिनँ ।

गिरिजाबाबुले आदेशात्मक शैलीमा भन्नुभयो– ‘त्यसो भए सहीदहरूलाई भन्दा केही फरक गरौं । घाइतेको परिस्थिति मुताबिक १० हजारदेखि साढे नौ लाखसम्म र निर्वाह भत्ता मासिक चार हजार रुपैयाँ दिने व्यवस्था गर्नोस् । सोचीविचारी मापदण्ड बनाउनोस् र काम थाल्नोस् ।’

उनीहरुले काम थाले । घाइते पहिचान गरे र काम थाले । घाइतेका सन्तानको हकमा निर्वाहभत्ता स्वरुप क्याम्पस पढ्ने तहका भए मासिक दुई हजार रुपैयाँ, माध्यमिक तह पढ्नेलाई मासिक १५ सय रूपैयाँका दरले, प्राथमिक तहका भए एक हजारका दरले दिने निर्णय भयो ।

यदि, पाँचवटै औंला देखायो भने यो प्रणाली ठीक छैन, परिवर्तन जरुरी छ भनेर प्रजातन्त्रका लागि भनेर नेपाली कांग्रेसमा आवद्ध रही हामीले यो संगठन बनायौं ।

त्यही दिनको क्याबिनेट बैठकले त्यसलाई पारित गर्‍यो । त्यही कोषबाट अहिलेसम्म २० करोडदेखि २१ करोड रुपैयाँसम्म वितरण भयो होला भन्ने उनको अनुमान छ । ०६४ को संविधान सभाको निर्वाचनपश्चात् उनले जिम्मेवारी छोडे । तर, सोही कोषबाट अहिले पनि राहत वितरण जारी छ । आफूले गरेको यस कार्यप्रति उनलाई निकै सन्तोष छ ।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धि पारित गराउने अग्रणी

पार्टी होस् या संसद, विधि र प्रणालीको मुद्धामाथि बहस गरिरहन्छन् उनी । खासगरी आर्थिक पारदर्शीताविना सरकार वा देश त के परिवार पनि ठीक ढंगले नचल्ने उनको मान्यता छ । उनी संसद्मा हुँदा पनि व्यक्तिले आफ्नो सम्पत्तिको सार्वजनिकीकरण गर्नुपर्ने कानून नै निर्माण गर्नुपर्ने मत पेश गरिरहन्थे । आर्थिक अपारदर्शीताकै कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको ठहर छ ।

पछिल्लो समय चरम ढंगले राजनीति पैसाको वरिपरी घुम्न थालेको देख्छन् उनी । यसै सन्दर्भमा उनी भ्रष्टाचार विरुद्धको सांसदहरूको अन्तर्राष्ट्रिय संगठन (गोप्याक)को नेपाल च्याप्टरको संस्थापक सदस्य बने । जगन्नाथ खतिवडाको अध्यक्षतामा गठित संस्थाले संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरुद्धको महासन्धी नेपालले पारित गर्न दबाबमुलक भूमिका खेलेको थियो । सन् २०११ को फेब्रुअरीमा महासन्धि पारित गर्दै नेपाल पक्ष राष्ट्र भएको हो । यस कार्यमा कृष्णकिशोरले सक्रिय भूमिका खेलेका थिए ।

मैले गर्दै आएको राजनीति पनि इमानको बाटो नै हो । यो समितिमा नबस्दै पनि मैले संसदमा बढ्दो भ्रष्टाचार र यसमा राज्यस्तरबाट खेल्नु पर्ने भूमिकामाथि पटकपटक प्रश्न उठाइ नै रहेको थिएँ । पछि उक्त विश्वव्यापी सञ्जालमा जोडिने कुरा आयो ।

उनी प्रश्न गर्छन्– पार्टीहरूले टिकट दिने मापदण्ड के हो ? राज्यको उच्च ओहोदामा पदासिनदेखि कर्मचारीसम्मका सुविधाको सवालमा प्रश्न उठेका छन् ।

संघीयता नै जनताको टाउकोमा भारी परेको आवाज आइरहेका छन् । अझ मुख्य कुरा त, यी यावत् देखिएको खर्च खास ठूलो समस्या होइन । यसमा खबरदारी पनि हुन्छ तर, नदेखिने किसिमले प्रणालीको छिद्रहरूबाट हुने भ्रष्टाचार राष्ट्रको ठूलो समस्या हो । यसतर्फ निरन्तर खबरदारी जरुरी छ ।

संसद्को आधिकारिक सल्लाहकार समिति पूर्वसांसदहरूको मञ्चमा उनले प्रश्न उठाए– टिकट पाउनका लागि कति खर्च गर्नुपर्छ ? पार्टीबाट निर्वाचन लड्ने, सत्तामा पुग्ने एउटा कुरा होला, कार्यकर्ताको चाहना टिकट पाउने र चुनाव लड्ने पनि राजनीतिको एउटा महत्वपूर्ण हिस्सा हो ।

तर, जुन तरिकाबाट पैसा हुनेहरूले टिकट पाउने सम्भावना उच्च रह्यो, यो अवस्थालाई नै वैधानिक बाटो बनाउने हो भने यसले हाम्रो राजनीति कहाँ पुग्ला ? अहिलेको युवा नेतृत्वलाई उनी खबरदारी गर्छन् ।

आफ्ना साथीहरू खुमबहादुर खड्काहरूले राजनीतिमा ठूलै ठाउँ पाए, ठूलै मुद्धामामिला पनि खेपे । भन्छन्, ‘म जनताको तहको संगठन र व्यवस्थापनमै लाग्न रुचाउने मानिस, निरन्तर संगठन निर्माणमै छु । बहुदल आइसकेपछि नेतृत्वले सोधेको थियो– कुन जिम्मेवारीमा रहन चाहनुहुन्छ ? उनको जवाफ थियो – ‘जनताको सेवा गर्न म राजनीतिमा लागेको हुँ । म संगठन निर्माणमा खट्छु ।’ साँच्चै, आज पनि उनी आफ्नै राजनीतिक भूगोलमा कांग्रेसको संगठन निर्माणमा खटिरहेका भेटिन्छन् ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८, २१:१६:००

ताजा अपडेट

नेपालवाच विशेष