NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

४५ काटेपछि रहर पछ्याएका नारायण

काठमाडौं । रहरले मानिसलाई कहाँ-कहाँसम्म डोहोर्‌याउँदैन ? पहिलो पटक क्यामेरा तब किने, जब उनको उमेरले चार दशक काटिसकेको थियो । पेशा-व्यवसायबाट अवकाश लिएर आरामतर्फ मोडिने बेला उनी जीवनको अर्को रचनात्मक अध्यायमा जोडिए । बाल्यकालदेखिको रहरले अन्ततः ५० वसन्त कटेपछि मात्रै स्पष्ट आकार लियो ।

अचेल नारायण न्यौपाने (५६) त्यही रहर पछ्याउँदै कहिले कीर्तिपुरको डाँडा पुग्छन् त कहिले बोसनडाँडा । घन्टौंसम्म टौदहको किनारमा बसेर क्यामेराको ‘आँखा’ बाट चरालाई हेर्छन् । साथीभाइसँग यात्रामा निस्कनु पनि उही रहरसँगै जोडिएको अर्को रहर हो उनका लागि । तर कहिलेकाहीं उमेर, स्वास्थ्य र मौसमको ठेस लाग्छ । ‘अब उमेर पनि पाको हुँदै गयो । स्वास्थ्यले पनि कहिलेकाहीँ साथ दिँदैन । घुम्न भनेर निस्किन्छु तर बाटोबाटै फर्किनुपर्छ,’ उनको भनाइमा मात्रै होइन अनुहारमा पनि निराश भाव झल्कियो ।

खासमा नारायण व्यापारी हुन् । सारीको व्यापार गर्छन् उनी । पसल छ इन्द्रचोक, असनमा । डिजाइनर पनि हुन् । ग्राहकले चाहे अनुसारको सारी डिजाइन गरिदिन्छ्न् । तर अहिले यो पाटोसँग उनी त्यत्ति नजिक छैनन् । ‘श्रीमती र छोरीले सम्हालेका छन् व्यापार,’ उनले भने ।
फोटोग्राफर नारायण न्यौपाने । तस्बिर : शालिक भट्ट ।

नारायणको उठबस अहिले उनको रहरसँग बढी छ । रहर अर्थात् फोटोग्राफी ।

जब रहरतर्फै मोडिए
काभ्रेबाट बालखैमा काठमाडौं आएका नारायणले त्यो बेला यहाँ प्रशस्तै फाँटहरु देखेका थिए । काठमाडौं अहिलेको भन्दा कहाँ हो कहाँ फरक थियो । चक्रपथ, न्युरोड, स्वयम्भू त गाउँजस्ता थिए । ‘मलाई सानै हुँदा फोटो खिच्न रहर हुन्थ्यो । घरमा भएको रिल क्यामेराले काठमाडौंका फाँटहरु खिच्थे,’ नारायण ती दिन सम्झिन्छन् ।

तर उतिबेलाका क्यामेरा कहाँ अहिले जस्तो हुनु, जति मन लाग्यो त्यत्ति वटा खिच्न पाउने ? उनी भन्छन्, ‘घरपरिवारको फोटो खिच्दा एउटा वा बढीमा दुइटा फोटो म प्रकृतिको खिचिहाल्थें ।’

रिलहरु महँगा हुन्थे । प्रायः कुनै उत्सव वा चाड पर्वको बेला घरपरिवारको फोटो खिच्नको लागि प्रयोग गरिन्थ्यो । नारायण त्यही मौकामा आफ्नो रहरलाई तस्बिरमा बदल्थे । कहिले उपत्यकाबाट देखिएको गौरिशंकरको तस्बिर लिन्थे, त कहिले खेत खलियानको । तर बाल्यकाल सकिएसँगै उनको फोटोग्राफी रहर केही दशकसम्म साथमा रहेन । मनभित्र या अवचेतनमा त कतै न कतै थियो रहर तर जीवन, जगत र व्यवहारको अभ्यासमा फस्दै गए । दिन, महिना र वर्ष बिते । समयक्रमसँगै उनी फैरि यही रहरतर्फै मोडिन पुगे ।
भँगेरा-भँगेरी । तस्बिर : नारायण न्यौपाने ।

२०६५/०६६ सालतिर उनले निर्णय गरे– अब फोटोग्राफीमै लाग्ने ।

‘२०६४ तिर फोटोग्राफीमै लाग्छु भन्ने सोचेको थिएँ । तर त्यो बेला क्यामेरा थिएन । सानो नोकिया फोनले नै फोटो खिच्थें । केही वर्षपछि क्यामेरा किनेर सबै समय यतैतिर लगाएँ,’ १२/१३ वर्षअघिको समय सम्झिँदै उनी भन्छन्, ‘क्याननको क्यामेरा त किनें तर कतै सिकेको थिइनँ, विस्तारै आफैंले आफैलाई सिकाउँदै खिच्न थालें ।’

क्याननको पावरसट पहिलो क्यामेरा थियो उनको । त्यत्तिबेला ४० हजार रुपैयाँ पर्थ्यो । मान्छेको पोट्रेट त पहिले पनि खिच्थे नै उनी । क्यामेरा किनेसँगै प्रकृतितर्फ तानिए । उक्त क्यामेराको जुम क्यापासिटी धेरै थिएन् । धेरै जुम गर्दा डिटेलहरु छुट्थे । उनी भन्छन्, ‘तर त्यही क्यामेराले पनि जानेजति खिचें । सुरुवातमा फोटोग्राफीमा लाग्नेलाई त्यो क्यामेरा ठीकै थियो ।’

कपडा व्यापार सुरु गरेको २० वर्षपछि उनी फोटोग्राफीतर्फ मोडिएका हुन् । पूर्णरुपमा तस्बिर नै खिच्न थालेपछि उनलाई आफ्नो बाल्यकालको काठमाडौं याद आउँथ्यो । ‘त्यो बेला अहिलेको जस्तो क्यामेरा हुन्थ्यो भने त कति धेरै वाइल्डलाइफका तस्बिर खिच्न सकिन्थ्यो । अहिलेजस्तो शहर थिएन् । हिँड्नलाई ट्रेलहरु हुन्थे,’ केहीबेर सम्झनाको बाटोबाट गुज्रिए उनी ।

चरासँगको संवादका लागि वन र डाँडातिर
नारायणको फोटोग्रापीप्रतिको मोह उनको परिवारलाई थाहा थियो । पूर्णकालीन फोटोग्राफर बन्ने रहरमा परिवारको साथसमेत थियो नै ।

क्यामेरा किनेपछि नारायणले स्वयम्भू, कीर्तिपुर, टौदहतिर आफूलाई निखार्न थाले । विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा गएर तस्बिर लिनु उनको दैनिकी थियो । एकदिन स्वयम्भूस्थित धारामा झुण्डिएर पानी खाँदै गरेको बाँदरको फोटो खिचे । त्यो फोटोलाई फेसबुकमा रहेको ग्रुप ‘नेपलिज इन फोटोग्राफी’ मा पोस्ट गरे । लाइक र कमेन्टको वर्षा हुन थाल्यो । नारायण भन्छन्, ‘त्यही २०६९/७० तिरको कुरा हो । फोटोमा एकैछिनमा हजार लाइक कट्यो । भर्खर फोगोग्राफी सिक्दै गरेको मलाई त कति धेरै सफलता पाएजस्तै भएको थियो ।’
टाैदहमा माछा खाँदै पानीहाँस । तस्बिर : नारायण न्यौपाने ।

त्यही फोटोमार्फत नारायणको भेट सुरजबहादुर गुरुङसँग भयो । सुरज फोटोग्राफीमा नारायणभन्दा केही सिनियर थिए, उमेरमा भने जुनियर । सुरजसँग भेट हुनुअघि ‘अटो सेटिङ’ मा फोटो खिच्ने नारायणले त्यसपछि ‘म्यानुअल सेटिङ’ बारे सिक्न पाए । क्यामेराकाे विशेषता, खिच्ने शैली, आकारलगायतबारे जाने । ‘सुरज भाइले मलाई २ घण्टाको ट्रेनिङ दिएको थियो,’ उनी भन्छन्, ‘त्यसपछि प्रकाश बुढा भइमार्फत क्यामेराबारे थप सिक्ने माैका पाएँ ।’

नेपालका विभिन्न ठाउँ घुम्ने टोली ‘घुमन्ते’ का एक सदस्य हुन प्रकाश बुढा । नारायणलाई उनले थप निखार्न मद्दत गरेका थिए । फोटो खिच्नमा निखारता आउन थालेपछि मात्रै उनी एकाग्र भएर लाग्न थालेका हुन् । प्रकृतिसँगै चराचुरुंगीको तस्बिर खिच्न थाले । रुखबिरुवा र किटपतंग पनि उनको लेन्समा अटाउँथे । उनी लाग्छ, ‘वाइल्डलाइफ’ फोटोग्राफी भनेको वन्यजन्तुको मात्रै तस्बिर खिच्नु होइन ।

चार वर्षअघिदेखि चरा र उनीहरुबारे जान्न चद्रागिरि, बोसनडाँडा जान थाले । पहिलो पटक फेसबुकमै देखेको आधारमा उनी चरा हेर्न र तिनको तस्बिर लिन चन्द्रगिरि गएका थिए हुन् । त्यसपछि निरन्तर हरेक हप्ता चराचुरुङ्गी हेर्न काठमाडौं वरिपरिका विभिन्न डाँडा, जंगल जाने क्रम चलिरहेको छ । अहिलेसम्म चरा हेरेर, उनीहरुको फोटो खिचेर नारायणले बुझेको एउटा महत्त्वपूर्ण कुरा छ- चराहरु पनि मान्छेलाई बुझ्छन् । संवाद गर्छन् । ‘आफ्नो पार्टनरलाई फकाउन गुँड बनाउनेदेखि मान्छेलाई बुझ्ने, मान्छेसँग संवाद गर्ने चराहरु पनि हुँदा रहेछन् भन्ने थाहा पाएको छु,’ उनले सुनाए ।

पहिले घरवरिपरि आउने चरा पनि कुन हो भन्ने नचिन्ने नारायणले अहिले ६० वटासम्म चराका प्रजातिलाई सजिल्यै खुट्याउन सक्छन् । आम मान्छेलाई त चरा भन्नाले रुप्पी, परेवा वा कागजस्ता चराको मात्रै याद आउँछ । तर नारायण चराको दुनियाँ यो भन्दा धेरै फराकिलो भएको महसुस गरेको बताउँछन् ।
ओरियन्टल म्यागपी रोबिन । तस्बिर : नारायण न्यौपाने ।

‘नेपालमै ८ सयभन्दा बढी प्रजातिका चरा पाइन्छन्,’ उनी भन्छन्, ‘वातावरणमा आएको सानो परिवर्तनले पनि चराचुरुंङ्गीमा कति ठूलो असर गरिरहेको हुन्छ भन्ने बुझ्न धेरै गाह्रो छ । मान्छेको अतिक्रमणले भोलि वातावरणमा चरा नै हराउलान् भन्ने अवस्था आइसक्यो अहिले त ।’ उनी थप प्रश्न गर्दै भन्छन्, ‘तर चरा नै नभएको संसार त कस्तो होला र? कल्पनै गर्न सकिँदैन नि । हिजोआज नै बिहान पहिलेजस्तो चराचुरुंगीको चिरबिर सुनिन छोडिसक्यो । काठमाडौंमा पहिले जताततै देखिने भंगेरा अहिले हराइसके ।’

चराचुरुंगीको तस्बिर खिच्न फोटोग्राफरले उनीहरुसँग संवाद गर्न सिक्नुपर्छ भनिन्छ । नारायणले पनि यो महसुस गरेका छन् । भन्छन्, ‘कुन चरालाई कस्तो वातावरण मन पर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण छ । हामी बर्ड वाचिङमा जाँदा पनि चुपचाप गएर कुन चरा हो थाहा पाएर त्यसकै प्रकृतिअनुसार व्यवहार गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, १५:१८:४०