NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रेशमी रुमाल र लाहुरेको सम्झना

रेडियो काँधमा भिरेर ठूलो स्वरमा घन्काउँदै बजार डुल्दा उनीहरूको ठाँट नै अर्कै देखिन्थ्यो

काठमाडौं मास्तिरका डाँडातिर सल्लाका अग्ला रुखहरू भएतिर पुग्दा मलाई गाउँको सम्झना हुन्छ । सल्ला सुसाइले मलाई धनकुटाको याद आउँछ । वर्षौं भो घर छोडेको, तर जन्मेको ठाउँ, खासगरि बाल्यकालमा रमाएको परिवेश भने  सम्झनामा रहने रहेछ ।

दसैं सम्झदाबित्तिकै मेरो मन हुरुरु उडेर उतै गाउँमा पुग्छ । मेरो बाल्यकाल धनकुटाको सिरवानीमा बित्यो । बालखा छँदा सबैको लागि दसैं भनेको नयाँ लुगा लाउने, पिङ खेल्ने, मिठो खान पाइने भन्ने हुन्थ्यो । मेरो पनि त्यस्तै थियो ।

नयाँ लुगा, दक्षिणा पाएको नयाँ नोटको गन्धले त्यसै रोमाञ्चित भइदिने ! कहिले आउला दसैं भनेर आमाबुबालाई सोधिबस्ने ! त्यो रोमाञ्चक पर्वको पखाईमा हुन्थ्यौं हामी । तर समय चक्र सधैं उस्तै नहुने, कहालीलाग्दो एउटा दसैं कहिल्यै बिर्सन सक्दिनँ ।

मैले भर्खरै आमाले ल्याइदिनु भएको नयाँ जामा र अर्को एउटा अलिक पुरानो लुगा सुटुक्क त्यो इस्टेनीकी छोरीलाई दिएँ ।

दशैंको बेला थियो । म चार-पाँच वर्षको हुँदो हुँ । आमा टाइफाइडले सिकिस्त बिरामी हुनुभयो । दाजुहरू पढाउन जाने, दिदीहरू पनि काममा हुने । मचाहिँ आमालाई रुँघेर बस्थें । दिनदिनै आमा निको नहुने अवस्थामा पुगिसक्नु भएथ्यो । बैद्यले औषधि चलाएको थियो ।

आफन्त, छरछिमेकीहरू आमालाई हेर्न आउँथे र भन्थे, ‘कठै यो टुहुरी हुने भई ।’ पहिले त मलाई टुहुरो हुनुको अर्थ थाहा थिएन, तर पछि कसैले मलाई भनिदियो । आमालाई कसरी त्यसो भन्न सके ती मान्छेहरूले भनेर मलाई रिस र डर एकैपल्ट उठ्थ्यो ।

त्यो वर्ष दसैं आँसुसरि बित्यो । आमालाई हेर्न तरीमा(आमाको जेठानी) आउनुभएको थियो । आमा बेहोसीमै बर्बराउनथाल्नु भो, ‘थाल ले न भनेको, म टीका लाइदिन्छु ।’

देवरानीको त्यस्तो हालत देखेपछि तरिमाले बरर आँसु झार्नुभयो । विरामले थलिँदै गएपछि आमाको लट्टा परेको कपाल काटेर ठुटे पारिएको थियो । त्यसरी बाँच्दैन भन्ने हालतमा पुगेकी आमा बाँच्नुभयो । हाम्रो परिवारमा खुसी फर्कियो ।

हामी सातजना छोराछोरी, बुबाको एउटा जागिरले परिवारको खर्च धान्न मुुस्किल थियो । अलिकपछि ठुल्दाइले पनि एउटा कार्यालयमा जागिर पाउनुभयो । एकदिन घर फर्केपछि ठुल्दाइले भन्नुभयो, ‘अफिस गयो हाकिम साब सलाम सलाम, घर आयो मकै गर्याम-गर्याम ।’

त्यो बेला दुई छाकै भात पाक्न मुस्किल थियो घरमा । आमाले साँझ प्रायः मकै भटमास, गहुँको रोटी वा सिजनल फलाहार गराउनुहुन्थ्यो ।

आमा निकै कर्मशील हुनुहुन्थ्यो । घरमै तीनपाने रक्सी बनाउनुहुन्थ्यो । हाम्री आमाले बनाउनु भएको रक्सी धनकुटाबाट काठमाडौं राजदरबारसम्म आइपुग्थ्यो ।

गाउँमा कहिल्यै नदेखिने ठाँटबाँठका ती मानिस दरबारका लागि रक्सी लिन आएका हुन् भनेर उनीहरू गएपछि आमाले सुटुक्क भन्नुहुन्थ्यो । उनीहरूले पहिले रक्सी चाख्थे र अनि ठिक छ भनेपछि आमाले पठाइदिनुहुन्थ्यो ।

त्यो बेला कुनै ब्राण्ड हुने कुरा भएन, गुणस्तरप्रति विश्वासको कुरा हुन्थ्यो । सायद, अहिलेजस्तो भए त्यो ब्राण्ड बन्ने रहेछ । सानै थिएँ, राति नै आमा रक्सी पार्न उठ्नुहुन्थ्यो, म पनि आमासँगै उठेर छेउमा बसिरहन्थें ।

हिउँदको बेला आमाले मलाई न्यानो बर्को ओढाएर घुप्लुक्क पारेर चुला छेउमा राखेको आज पनि सम्झन्छु । दसैं तिहारको बेला झनै धेरै रक्सी पार्नुहुन्थ्यो ।

मलाई मासु निकै मिठो लाग्ने, तर काटमार गरेको भने हेर्न सक्दिनथें । घरमा एउटा कुखुराका ठूलो र निकै छिप्पेको भाले थियो, म त्यो सँग खेल्थें ।  एकदिन मलाई थाहा नदिई भाले काटेछन्, मैले त्यो भाले खै भनेर एक साँझभरी रुवाबासी गरेको पनि सम्झन्छु ।

धनकुटा ठूलो नेवार बस्ती भएको क्षेत्र, त्यहाँ दसैं आउनुअघि अनेक जात्राहरू हुन्थे । जात्राकै बेला हामी केटाकेटी एक जोर लुगा पाउँथ्यौं ।

दसैंका बेला लाहुरेहरू बिदामा घर आउँथे । रेडियो काँधमा भिरेर ठूलो स्वरमा घन्काउँदै बजार डुल्दा उनीहरूको ठाँट नै अर्कै देखिन्थ्यो ।

तर अलिक गाउँतिर वर्षमा एकपल्ट लुगा फेर्न मुस्किल पर्ने आर्थिक अवस्थाकै मानिस धेरै रहेछन् भन्ने ठूलो भएपछि बुझें । गरिबहरू बनिबुतो गर्ने, जंगलबाट दाउरा खोजेर ल्याएर बजारमा बेचेर गुजारा गर्थे ।

एकपटकको जात्राका बेला थियो, गाउँतिरबाट यसरी नै दाउरा बेच्न आएका इस्टेनीमध्येकी एउटीकी मैजत्री छोरी रहिछन् । त्यसका जिउमा आङ ढाकिने लुगा थिएन ।

मलाई साह्रै नरमाइलो लाग्यो । मैले भर्खरै आमाले ल्याइदिनुभएको नयाँ जामा र अर्को एउटा अलिक पुरानो लुगा सुटुक्क त्यो इस्टेनीकी छोरीलाई दिएँ । मलाई कस्तो खुसी लाग्यो । पुरानो जामा दिएको त आमालाई भनें । ‘ठिकै गरिस्’ भन्नुभयो । नयाँ दिएको त भन्न भएन ।

धेरै दिनसम्म मनमा डर पनि लाग्यो, केही गरी त्यो इस्टेनीकी छोरी मैले दिएको जामा लगाएर आई भने घरकाले मलाई मार्छन् । तर, त्यतिको नयाँ लुगा उसले जंगल जाँदा लगाइन र म बचें ।

बजारमा हाम्रो किराना पसल थियो । इस्टेनीहरू दाउरा बेच्थे र नुनतेल, चामल किनेर लैजान्थे । थोरतिनो पैसा ऋण पनि चलाइरहेका हुन्थे ।

ती अठपहरीया राई जातिका मानिसहरू बजारका साहुहरूलाई कोसेलीका रूपमा आफ्नो बारीमा फलेको भटमास, केराउ, बोडी र मास ल्याइदिन्थे । तर, क्वाँटी पूर्णिमाको बेलाउनीहरू तिनै गेडागुडी मिसाएको क्वाँटी किनेर लैजान्थे । क्वाँटी त्यस्तै गेडागुडी मिसाएर बन्छ भन्ने थाहा नपाउने उनीहरू कतिसम्म सोझा हुन्थे होला, म छक्क पर्थें ।

ती वर्गका मानिसलाई सम्झिँदा अहिले पनि मेरो मन कुँडिन्छ । ती गरिबहरू दसैंलाई ‘दशा’का रूपमा लिन्थे । हामी आफैं पनि सामान्य परिवारकै मानिस हौं । तर, गाउँका मानिसको आर्थिक अवस्था तुलनात्मक रूपमा निकै दयनीय हुन्थ्यो ।

रेशमी रुमाल र लाहुरे
हाम्रो गाउँठाउँका युवाहरू लाहुर जाने चलन थियो । दसैंका बेला लाहुरेहरू बिदामा घर आउँथे । ठूल्ठूला चेक सुटकेसको भारी बोकाएर फकन्थे ।

रेशमी रुमाल घाँटीमा बाँधेका, कालो चश्मा, चम्किलो लुगा लगाएका लाहुरेहरू देखिनु बजारकै रौनक हुन्थ्यो । रेडियो काँधमा भिरेर ठूलो स्वरमा घन्काउँदै बजार डुल्दा उनीहरूको ठाँट नै अर्कै देखिन्थ्यो । बजारभरि ती आकर्षणका केन्द्र हुन्थे ।

एकदिन म पसलमा थिएँ, एउटा लाहुरे आएर टर्च लाइट किन्यो र ब्याट्री पनि हाल्यो । पिलिक्क बालेर हे¥यो र भन्यो, ‘आबुई ! कस्तो मधुरो बलेको !’ मलाई फिस्स हाँसो उठ्यो । भनें, ‘तपाईंको चश्मा खोल्नोस् त ।’

उसले चश्मा खोल्यो र टर्च झलल बलेको देखेर जिल्लियो । वास्तवमा उसले कालो चश्मा लगाएको थियो । यो घटना सम्झेर त मलाई अहिले पनि खित्का छुटिन्जेल हाँसो लाग्छ ।

दशैं लागेपछि गाउँमा पिङ हालिन्थ्यो । म साथीहरू सरस्वती, लक्ष्मी, पार्वतीसँग बिहान उठेर पिङ खेल्न दौडिन्थें । पिङ खेल्नु खुब रमाइलो लाग्थ्यो । तर गाउँतिर छोरीलाई धेरै पढाउने चलन नै थिएन, ती साथी छुटिहाले ।

दसैं लागेपछि गाउँमा पिङ हालिन्थ्यो । म साथीहरू सरस्वती, लक्ष्मी, पार्वतीसँग बिहान उठेर पिङ खेल्न दौडिन्थेँ । पिङ खेल्न खुब रमाइलो लाग्थ्यो ।

नौ-दश कक्षा पढ्ने भएपछि नयाँ साथी बने । सातकक्षासम्म मैले राष्ट्रिय स्तरको नृत्य प्रतिस्पर्धामा भाग लिन्थें । राजपरिवारको जन्मोत्सवमा त्यस्ता प्रतिष्पर्धा गरिन्थ्यो । एकपटक मैले धिमाल नृत्य देखाएको, दोस्रो स्थान हासिल गरेको थिएँ ।

तर पछि नाच्न पनि छाड्दिएँ । पढाइमै बढी केन्द्रित भएँ । जति रमाइलो थियो, बाल्यकालमै थियो ।

दसैं हटिया
पहाडी भेगमा प्रायःवस्तु विनिमयका लागि हाटबजार लाग्ने प्रचलन अद्यापि कायम छ । हाम्रोतिर लाग्ने हाट दसैंका बेला विशेष हुन्थ्यो ।

फराकिलो क्षेत्रफल ओगटेर लाग्ने धनकुटाको हाट दसैंताका काठमाडौंको इन्द्रचोकभन्दा भीडभाड हुन्थ्यो । माछामासु, तरकारी, अदुवा, लसुन, लुगाफाटो, घिउ, खसीबाख्रा, कुखुरा, सुँगुर बेच्ने फरकफरक ठाउँ हुन्थ्यो ।

जाँडरक्सी, मासु, सेलरोटी पकाएर बेच्ने ठाउँमा देखि नै रसरंग अर्कै हुन्थ्यो । लाहुरेहरू सोल्टीनीहरूसँग रमाइरहेका हुन्थे ।मलाई लाग्छ, धनकुटाको हटिया नेपालभरि कै नमूना हो ।
(मोमिलासँग नेपालवाचका लागि शकुन्तला जोशीले गरेको कुराकानीमा आधारित) 

 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८, १०:५७:००