NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

देशभरका जेलमा २ हजार बिरामी कैदीबन्दी, एचआईभी लागेकादेखि मानसिक रोगीसम्म

काठमाडौं । नेपालका अधिकांश कारागार (जेल) यति भद्रगोल र अव्यवस्थित छन् कि त्यहाँ सामान्य स्वास्थ्य अवस्थाका कैदीबन्दीले समेत निकै सकस व्यहोर्नुपर्ने अवस्था छ । जोखिमपूर्ण संरचना, साँघुरो आवास तथा अन्य आधारभूत सेवासुविधाको अभाव लगायतका कारण कैदीबन्दीकाे बसाइँ सुरक्षित छैन । यस्तोमा असामान्य र रोगी अवस्थाका कैदीबन्दीले व्यहोरिरहेको सास्ती भनिसाध्य छैन ।

लामो समयदेखि दीर्घरोगबाट पीडित कैदीबन्दीलाई पनि अन्यसँगै एकै ठाउँमा कोचाकोच हुनेगरी राखिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार सामान्यदेखि जटिल र दीर्घरोगीसम्म गरेर मुलुकभरका जेलमा हाल २ हजार बिरामी कैदीबन्दी छन् । देशभरका जेलहरूबाट रोगी पहिचान भएका कैदीबन्दीलाई काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा ल्याइन्छ । अहिले त्यहाँ ६ सय १३ रोगी कैदीबन्दी रहेका कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।

उनका अनुसार विभिन्न एक दर्जनजति रोग लागेका कैदीबन्दीहरु यहाँ राखिएका छन् । जसमध्ये सबैभन्दा बढी रक्तचापका बिरामी छन् । त्यस्तै, मानसिक रोग, क्यान्सर, मुटु रोगदेखि एचआईभी एड्ससम्मका बिरामी जेलमा छन् । रक्तचापका १८२, मानसिक रोग लागेका १५२, श्वासप्रश्वाससम्बन्धी ७३ र मधुमेहका ६३ बिरामी छन् । एचआईभी एड्स र पक्षघातका ३७/३७ र छारेरोगका २६ जना कैदी जेलमा छन् । हेपाटाइटिस ‘सी’ का १७ र हेपाटाइटिस ‘बी’ का १२, क्षयरोगका ५, मुटु रोगी ४, मिर्गौलासम्बन्धी रोग भएका २ र क्यान्सरपीडित एक जना कैदीले पनि उपचारसहित जेलजीवन काटिरहेका छन् ।

यस्ता, रोगी कैदीबन्दीको उपचारका लागि सरकारले केन्द्रीय कारागार अस्पताल सञ्चालनमा ल्याएको छ । यहीं रोगी कैदीबन्दीको औषधि उपचार हुने बाँस्कोटा बताउँछन् । केन्द्रीय कारागार अस्पतालबाट उपचार नहुने र विशेषज्ञ सेवा चाहिने रोगका हकमा भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पाटन अस्पतालसँग सम्झौता गरिएको छ । ‘त्यहाँ पनि उपचार हुन नसके अन्य सरकारी अस्पतालमा उपचार गरिन्छ,’ बाँस्कोटाले भने ।

स्वास्थ्योपचार सुविधाबारे कानुनले नै निर्दिष्ट गरेकोले छुट्टै अस्पताल सञ्चालनमा ल्याइए पनि उचित सेवा नपाएको गुनासो कैदीबन्दीको छ । लम्बेतान र सरकारी प्रक्रियाको ढिलाइका कारण आपत्‌कालीन स्थितिमा जेलमा रहेका बिरामी कैदीबन्दीको ज्यानै जाने गरेको राष्ट्रिय मानव अधिकार आयोग, महान्यायाधिवक्ता कार्यालयलगायतले गरेको अनुगमनले पनि देखाएको छ ।

छैन बिरामीको व्यवस्थापन, संक्रमणको उच्च जोखिम

कारागारभित्र कैयौं बिरामी कैदीबन्दी रहे पनि तिनको उचित व्यवस्थापन गरिएको छैन । बाँस्कोटाका अनुसार एउटै हलमा ‘ब्लक’ बनाएर उनीहरुलाई राखिएको छ । रोगको प्रकृति र बिरामी कैदीबन्दीको अवस्थाअनुसार वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्नेमा त्यसो गरिएको छैन । जसका कारण संक्रमणको जोखिम उच्च छ । सर्ने रोग लागेका बिरामीका हकमा छुट्टै व्यवस्थापन हुने भए पनि संक्रमणको जोखिम भने रहने जेलर बाँस्कोटा स्वीकार्छन् ।

महान्यायाधिवक्ता कार्यालयको हिरासत तथा कारागार अनुगमन प्रतिवेदन, २०७६ अनुसार कतिपय कारागारमा स्वास्थ्यकर्मीको पद रिक्त रहेको तथा औषधिको उपलब्धता पर्याप्त नभएको औंल्याएको थियो । नियमित रुपमा कैदी तथा थुनुवाको स्वास्थ्य परीक्षण हुने गरेको नदेखिएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

रोगी कैदीलाई छुटाउने कानुनी व्यवस्था कार्यान्वयनमा आएन

कारागार नियमावली, २०२० मा रोगी कैदीबन्दीलाई रिहा गर्न सकिने व्यवस्था छ । नियमावलीको दफा २९ को २ (क) मा दुवै आँखा नदेख्ने वा अंगभंग भई दुवै खुट्टा नचल्ने, ओछ्यानमै रहनुपर्ने तथा निको नहुने दीर्घरोगीका हकमा सरकारी चिकित्सकले सिफारिस गरेको आधारमा बाँकी कैद सजाय छोट्याउन सकिने व्यवस्था छ ।

जगन्नाथ देवल कारागारमा नियमावलीले किटान गरे अनुसारका रोगीको संख्या हाल ३० जना रहेका बाँस्कोटा बताउँछन् । तर यस्ता बिरामीलाई सजाय मिनाहा गर्ने अभ्यास र तयारी नभएको उनको भनाइ छ । उनीहरुको औषधि उपचारको खर्च भने सरकारले नै व्यहोर्दै आएको छ ।

र यो पनि :
जेलमा कोचाकोच : क्षमताभन्दा ६ गुणासम्म धेरै कैदी, सुत्नबस्न पनि आलोपालो

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७, १८:३५:००