मेडिकल कलेज सञ्चालक सुनिल शर्माको आठ अर्बको शंकास्पद कारोबार !

‘आठ अर्ब !’
नोबेल मेडिकल कलेज, विराटनगर र केएमसी (काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड), सिनामंगलका अध्यक्ष डा. सुनिल शर्माले तीन वर्षमा गरेको कारोबार रकम हो यो । उक्त कारोबार अस्वभाविक र शंकास्पद रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शर्मा परिवारको आयमाथि निगरानी बढाएको छ ।
मुलुक कोरोना भाइरसको संक्रमणले आक्रान्त थियो । सरकारले लकडाउन घोषणा गरिरहेको थियो । तर, त्यही मौकामा बिराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्माले केएमसीको बहुमत सेयर खरिद गरेका थिए ।
केएमसीका सञ्चालकहरू राधेश पन्त, रवीन्द्रराज (आर.आर) पाण्डे, शशीराज पाण्डे, शिवान्तराज पाण्डे, हेमाङ्ग दीक्षितलगायत हुन् । कोरोना त्रासले अस्पतालको व्यवसाय खस्कने हाउगुजी सिर्जना गरियो । यसपछि पन्त, पाण्डे, दीक्षितहरू र उनीहरूका परिवारका नाममा रहेकोसहित केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले एक अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका बताइएको थियो ।
केएमसीमा कुल सेयरको ४७.१ प्रतिशत र संस्थापक सेयरको ५१.३८ प्रतिशत खरिद गरेर शर्मा भित्रिएका थिए । केएमसीको नाममा संंस्थापक तीन सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) सात सय १८ जनाको ३० प्रतिशत सेयर थियो ।
मुलुक कोरोना भाइरसको संक्रमणले आक्रान्त थियो । सरकारले लकडाउन घोषणा गरिरहेको थियो । तर, त्यही मौकामा बिराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले केएमसीको बहुमत सेयर एक अर्ब ७० करोड रुपैयाँमा खरिद गरेका थिए ।
कुल ६० लाख नौ हजार पाँच सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख नौ हजार पाँच सय ५३ कित्ता र सर्वसाधारणका नाममा पाँच लाख कित्ता सेयर थियो । जसमध्ये शर्माले २८ लाख ३१ हजार ६७ कित्ता सेयर खरिद गरेको कागजात बनाइएको थियो ।
शर्माले खरिद गरेको सेयरको मूल्य प्रति कित्ता ६ सय रुपैयाँ निर्धारण गरिएको थियो । केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर खरिद गर्न शर्मालाई सिद्धार्थ, सानिमा, बैंक अफ काठमाडौंलगायत ११ वटा बैंकले ऋण लगानी गरेका कागजात तयार पारिएको छ ।
केएमसीको बहुमत स्वामित्व लिएसँगै शर्मालाई १५ भदौ ०७६ मा कर्मचारीमाझ अध्यक्षका रुपमा परिचय गराइएको थियो । शर्मालाई अध्यक्षका रुपमा कार्यकक्षमा सपथ खुवाउन सहभागी गराउनुअघि केएमसी मेडिकल कलेजकी कार्यकारी निर्देशक तथा प्राचार्य डा. चन्दा कार्की, मेडिकल डाइरेक्टर मुकुन्दराज जोशी, कर्मचारी युनियनका अध्यक्ष मेघराज खड्कालगायत अन्य कर्मचारी कसैलाई पनि कुनै जानकारी दिइएको थिएन । जबकि प्रा.डा. कार्की र खड्का त्यसबेला केएमसी मेडिकल कलेज सञ्चालक समिति सदस्यको जिम्मेवारीमा समेत थिए ।
सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार शर्माको परिवारभित्र तीन वर्षमा आठ अर्ब रुपैयाँ कारोबार भएको देखिए पनि गुपचुप रुपमा त्यो भन्दा ठूलो रकमको खेलोमेलोको संभावना छ । आठ अर्ब रुपैयाँको आय स्रोत के हो ? त्यो पनि स्पष्ट छैन । शर्माको नेतृत्वमा विराटनगरस्थित कञ्चनबारीमा नोबेल मेडिकल कलेज सञ्चालनमा छ ।
एमबिबिएस, बिडिएस, बिएसी नर्सिङ, विएनएसलगायत अध्ययरत विद्यार्थीबाट नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क असुल्नेमा नोबेल मेडिकल कलेज आलोचित र विवादित छ ।
गत माघमा मात्र एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि नोबेल मेडिकल कलेजले सरकारले तोकेभन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क माग गरेको थियो । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको पहिलो किस्ताको शुल्क विश्वविद्यालयको खातामा जम्मा गरेर नोबेल मेडिकल कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग अतिरिक्त रकम मागिएको थियो ।
नोबेल कलेजले एमबीबीएसमा एक सय जना विद्यार्थी अध्यापन गर्न पाउने अनुमति पाएको छ । प्रत्येक विद्यार्थीसँग २९ लाख १४ हजारका दरले अतिरिक्त रकम संकलन गर्दा कलेजले २९ करोड रुपैयाँभन्दा बढी असुल्छ । नोबेल मेडिकल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत चार लाख ४० हजार, नौ वटा सेमेस्टरको आन्तरिक परीक्षाका निम्ति ९५ हजारका दरले अतिरिक्त रकम मागिएको थियो ।
सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार शर्माको परिवारभित्र तीन वर्षमा आठ अर्ब रुपैयाँ कारोबार भएको देखिए पनि गुपचुप रुपमा त्यो भन्दा ठूलो रकमको खेलोमेलोको संभावना छ ।
त्यसैगरी साढे ५ वर्षको होस्टल शुल्क वापत सात लाख ३९ हजार ६ सय ५३ रुपैयाँ पनि नोबेल मेडिकल कलेजले भर्नाअगावै माग गरेको थियो । जब कि चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको संहिता अनुसार एमबीबीएस अध्ययन गर्दा होस्टलमा अनिवार्य बस्नुपर्ने प्रावधान छैन । नोबेल कलेजले होस्टल शुल्कबापत पहिलो र दोस्रो वर्षलाई क्रमशः एक लाख २० हजार, एक लाख २६ हजार मागेको थियो ।
तेस्रो, चौथो र पाँचौं वर्षका निम्ति क्रमशः एक लाख ३१ हजार, एक लाख ३८ हजार र एक लाख ४५ हजार भर्ना हुनु अघि नै मागेको थियो । विगत वर्षहरूमा पनि नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट मनलाग्दी शुल्क असुल्दै आएको थियो ।
नोबेल मेडिकल कलेजले अचाक्ली शुल्क असुल गरेको उजुरी परेपनि सरकारले कारवाही गर्न सकेको छैन । यद्यपि विद्यार्थीबाट असुल गरिएको रकमको कारोबार मात्र तीन वर्षमा आठ अर्ब हुनै नसक्ने सम्पत्ति शुद्धीकरण विभागको निश्कर्ष छ ।
‘त्यसैले विभागले आठ अर्ब कारोबारको वैधानिकता, गुपचुप कारोबारको संभावनालाई मिहिन ढंगले अनुसन्धान गरिरहेको छ,’ विभाग स्रोत भन्छ, ‘अनुसन्धानबाट ठूलो कैफियत भेटिएको छ । अब अनुसन्धान छिट्टै नै निश्कर्षमा पुर्याउँछौं ।’
नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक शर्माले ०६० देखि ०६३ सम्म घाईते माओवादी लडाकुहरूलाई उपचार गरिदिएर त्यस पार्टीका शिर्ष नेताहरूसँग मजबुत सम्बन्ध बनाएका थिए । कतिसम्म भने नोबेल मेडिकल कलेज सञ्चालक शर्माले त साझेदारको सेयर हत्याउन माओवादी नेताहरू प्रयोग गरेका थिए ।
शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेजले एमबिबिएस, बिडिएस, बिएसी नर्सिङ, विएनएसलगायत अध्ययरत विद्यार्थीबाट नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको भन्दै आलोचित र विवादित छ ।
नोबेल मेडिकल कलेज विराटनगरका सेयरकर्ताहरू डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई प्रचण्ड निवास नयाँबजारमा छलफलका लागि बोलाइएको थियो । उनीहरू सेयर विवादबारे शर्मासँग छलफल गर्न प्रचण्ड निवास आउँदै थिए । तर, १८ मंसिर २०६४ मा काठमाडौं विमानस्थल परिसरबाट शर्माले नेकपा (माओवादी) का तत्कालीन उपत्यका कमाण्ड इन्चार्ज वर्षमान पुन ‘अनन्त’ र वाइसिएलका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ लाई प्रभावमा पारी अपहरण गरेर काभ्रेको बल्थलीमा पुर्याई २७ घन्टापछि मुक्त गरेका थिए ।
तिनै शर्मा मंसिर ०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । उनका प्रतिस्पर्धी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल थिए । उनीहरूबीच करिव एक हजार नौ सय मत अन्तरले हारजित भएको थियो ।
नेपाली कांग्रेसबाट उम्मेदवार भए पनि शर्माले ०६४ यताका सबै निर्वाचनमा तत्कालीन एमाले, माओवादीलाई ठूलै थैली हात लगाएका थिए । त्यसैले सबै दलका नेतासँग उनको सम्बन्ध उत्तिकै सघन छ । त्यही सम्वन्धलाई उपयोग गरेर शर्मा सम्पत्ति शुद्धीकरणको छानविनबाट समेत उम्कने प्रयास गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७, १८:३९:४०
प्रतिक्रिया