NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अन्यायमा पारिएकाको उत्थानमा काम गर्ने ‘अक्सफाम’ मा कर्मचारीमाथि नै शोषण !

काठमाडौं । चार दशकदेखि नेपालमा सामाजिक कार्य गर्दै आएको बेलायतको ‘अक्सफाम’ नामक गैरसरकारी संस्थाका कर्मचारीहरूले नेतृत्वबाट आफूहरुमाथि चरम शोषण भइरहेको आरोप लगाएका छन् ।

अक्सफामकी नेपालस्थित राष्ट्रिय निर्देशक साराह एलिजाबेथ ब्लिनमाथि त्यहाँ कार्यरत ३५ प्रतिशत कर्मचारीहरुले शारीरिक-मानसिक दुर्व्यवहार, लैंगिक विभेद, शोषणलगायतका दजर्नौं आरोप लगाएका छन् । ब्लिनले कर्मचारी छनोट, भर्नामा विभेद, वरिष्ठ र कनिष्ठ कर्मचारीबीच मानमर्दन गरेको समेत ४०.५ प्रतिशत कर्मचारीहरुको ठहर छ ।

ललितपुरको जावलाखेलमा केन्द्रीय कार्यालय रहेको अक्सफामले नेपालमा स्थापनाकालदेखि नै गरिब र अन्यायमा पारिएका वर्गको उत्थान, दिगो विकास, भूकम्पपछिको पुनर्निर्माण, खानेपानी, विभिन्न आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, स्वास्थ्य तथा जिविकोपार्जनलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

अक्सफामले कोरोना महामारीको कारण देखाई आर्थिक अनियमितता गरेको, नीतिनियम विपरीत नियुक्ति, सरुवा, बढुवा, घटुवा गरेको, मानसिक यातना दिएको, दुर्व्यवहार गरेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले समाज कल्याण परिषद्‌‌मा उजुरी नै दिएका छन् । उजुरीका आधारमा परिषद्ले अक्सफाममाथि छानबिन गरेको थियो । परिषद्ले संस्थाभित्र सुशासन र पारदर्शीता नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

अक्सफामका कर्मचारी आफूहरुमाथि शोषण भएकोलगायत विभिन्न आरोपसहित आएपछि परिषद्ले संस्थासँग केही अधिकारिक कागजात मागेको थियो । परिषद्‌का अनुसार कर्मचारी भर्ना, सरुवा, बढुवा, जनशक्ति कटौती, कर्मचारी सहुलियत तथा सुविधालगायतका कर्मचारी प्रशासन र संस्थागत सुशासन, सार्वजनिक खरिद ऐनअनुसार सामान बिक्रीका विधि, प्रक्रिया र अन्य विविध कार्यको विवरण मागिएकोमा अक्सफामले अपुरो र अस्पष्ट जवाफ दिएको थियो । त्यसै आधारमा परिषद्ले संस्थामा पारदर्शीता नभएको निष्कर्ष निकालेको हो ।

मागे जति विवरण दिन नसकेपछि परिषद् अक्सफाममाथि परेको उजुरीमाथि थप अनुसन्धानमा जुटेको छ । यसअघि अनुसन्धानको क्रममा परिषद्ले त्यहाँका कर्मचारीहरू बीचमा ‘सर्भे’ गरेको थियो । जसमा निर्देशक ब्लिनले कर्मचारीलाई दुर्व्यवहार गर्ने, धम्की दिने, परामर्श नगर्नेजस्ता आरोपमा त्यहाँ कार्यरत एक तिहाइभन्दा बढी कर्मचारीले सहमति जनाएका छन् । उनीहरूले संस्थाभित्र नेतृत्वले नै दूरभावना राखेर काम गरिरहेको बताएका छन् ।

कर्मचारीहरूले परिषद्‌मा विगतका वर्षदेखि नै गुनासाहरू पठाउने गरेकाे बताएका छन् । ४० वटा गुनासा पेश गरेकोमा गम्भीरतापूर्वक सुनुवाई नै नभएको उनीहरूको आरोप छ ।

गुनासो गर्नेलाई जागरिबाटै अवकाश

परिषद्को अनुसन्धानमा अक्सफामका कर्मचारीले आफूहरुमाथि भइरहेको उत्पीडनबारे गुनासो गर्नेलाई जागिरबाटै निकाल्ने गरेको बताएका छन् । ६ फेब्रुअरी २०२० मा संस्थाको पुनर्गठनसम्बन्धी बैठकमा एक कर्मचारीले पेशागत ओहोदाको बारेमा आफ्नो विचार राखेकै कारण उनको घटुवा गरिएको जवाफ कर्मचारीहरुले परिषद्लाई दिएका छन् ।

त्यस्तै, १४ अक्टोबर २०२० मा भएको बैठकमा कर्मचारी संघका अध्यक्षले कर्मचारीको हकहितबारे मत राखेका थिए । कर्मचारीहरुका अनुसार अध्यक्षले आफ्नो मत राख्न थालेपछि निर्देशक ब्लिन बैठक छाडेर हिँडेकी थिइन् । कर्मचारीका हकहितबारे कुरा राख्ने ति अध्यक्षलाई ब्लिनले पछि संस्थाबाटै हटाएको उनीहरूको भनाइ छ ।

अक्सफाम स्रोतका अनुसार संस्थाको छलफलमा ब्लिनले गरेको निर्णयमा सामान्य फरक मत राख्ने कर्मचारीलाई समेत उनले ‘नोटिस’ गर्छिन् । त्यस्ता कर्मचारीलाई उनले अर्को कुनै परियोजनामा राख्नुपरे वा अवसर हुँदाहुँदै पनि मौका नदिने गरेकी छन् ।

मापदण्डविपरीत कर्मचारी भर्ना, जबर्जस्ती वार्षिक बिदा

सक्षम र पुराना कर्मचारी हुँदाहुँदै संस्था पुनर्गठनका नाममा ब्लिनले कम अनुभवीलाई समेत उपल्लो तहको जिम्मेवारी दिने गरेको कर्मचारीको आरोप छ । लामो समयदेखि कार्यरत कर्मचारीलाई संस्थागत स्थान नदिई संस्था नै छाड्न बाध्य बनाउने गरेको उनीहरुको भनाइ छ । कर्मचारीहरुसँग प्रत्यक्ष सम्बन्धित विषयमा पनि समन्वयनबिना नै ब्लिनले एकल निर्णय लाद्ने गरेकी उजुरीमा उल्लेख छ ।

नेपालको श्रम ऐनअनुसार कर्मचारीको निश्चित सञ्चित बिदालाई नगदमा भुक्तान गर्ने प्रावधान छ । तर अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय स्तरको कम्पनी भएर पनि अक्सफामले यो ऐनको पालना गरेको नदेखिएको परिषद् स्रोतले बतायो । कर्मचारीलाई उद्धृत गर्दै परिषद्‌को प्रारम्भिक छानबिनमा प्रतिवदनमा भनिएको छ, ‘निर्देशक ब्लिनले हामीलाई अनिवार्य बिदा बस्न दबाब दिन्छिन् । उनले सञ्चित बिदाबारे भुक्तानी दिन आफू कुनै पनि हालतमा तयार नरहेको बताउने गरेकी छन् ।’ कानुनले दिएको सुविधा लिनबाट पनि वञ्चित गरिएकोमा कर्मचारीहरूको आपत्ति छ ।

परिषद्को स्वीकृृतीबिनै एउटा परियोजनाको रकम अर्कोमा खर्च

अक्सफामबाट सञ्चालित विभिन्न परियोजनाहरुमा अन्तराष्ट्रियस्तरबाट बजेट आउँछ । तर एउटा परियोजनाका लागि स्वीकृत बजेट अर्कोमा खर्च गर्नुपर्दा परिषद्‌बाट स्वीकृति लिनुपर्ने हुन्छ । अक्सफामभित्रको यथार्थ भने यस विपरीत रहेको त्यहाँका कर्मचारीहरूको दाबी छ ।

परिषद्लाई कुनै जानकारी नै नदिई, स्वीकृति नलिई एउटा परियोजनाका लागि छुट्याइएको बजेट अर्कोमा रकमान्तर गरी खर्च गर्ने गरेको कर्मचारीहरुले परिषद्‌मा दर्ता गराएको उजुरीमा उल्लेख छ । यस्तो गैरकानुनी काममाथि कर्मचारीहरुले प्रश्न गरेमा अक्सफामले भन्ने गरेको छ, ‘परिषद्लाई संस्थाको बजेटको स्रोत थाहा हुन जरुरी छैन । तर कुनै दिन परिषद्का कर्मचारी अडिटमा आए भने सतर्क हुनू ।’

निर्देशक ब्लिनले नेपालको नियम, कानुन उल्लंघन गरेकोमा त्यहाँका कर्मचारीको एक स्वर छ । परिषद्ले गरेको अनुसन्धानमा सहभागी २८ प्रतिशत कर्मचारीले ब्लिनले परिषद्को नीति, नियम, निर्देशन, आचारसंहिताको पालना नगरेको र नेपाल सरकारको मानमर्दन गरेकोमा सहमति जनाएका छन् ।

नेपालको कानुनअनुसार कुनै पनि विदेशीले नेपालको लागि स्वीकृत भई आएको परियोजना तथा कार्यक्रमबाट आफ्नो खर्चवापत तलब सुविधा लिन नपाउने व्यवस्था छ । तर ब्लिनले लिने सबै सुविधा यो कानुनी व्यवस्थाविपरीत भएको अक्सफाममा कार्यरत एक कर्मचारीले नेपालवाचलाई बताए ।

निर्देशक ब्लिनले निजी प्रयोजनका लागि समेत संस्थाको स्रोत-साधन दुरुपयोग गरेको २९ प्रतिशत कर्मचारीहरुको आरोप छ । उनीहरुका अनुसार निर्देशक ब्लिनले संस्थाका विभिन्न भौतिक सामग्रीहरु व्यक्तिगत प्रयोजनमा दुरुपयोग गर्दै आएकी छन् । ब्लिनका नाममा मात्र मासिक २२ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

नेपालको कानुनअनुसार कुनै पनि विदेशीले श्रम अनुमतिपत्र (वर्क पर्मिट) बिना यहाँ काम गर्न पाउँदैनन् । ब्लिनसँग नेपालमा काम गर्न पाउने अनुमति नभएपनि जबर्जस्ती काम गरिरहेकी कर्मचारीहरुले परिषद्‌समक्ष बयान दिएका छन् ।

कर्मचारीमाथि लैंगिक विभेद !

अन्तर्राष्ट्रिय स्तरको कम्पनीले कर्मचारीमाथि लैंगिक विभेद गरेको विषयसमेत अहिलेसम्म गुपचुप नै थियो । तर परिषद्ले छानबिन थालेपछि अक्सफामभित्र लैङ्गिक विभेद भइरहेको तथ्यसमेत बाहिरिएको छ । कम्पनीमा ‘फेमिनिस्ट लिडरसिप’ को नाममा पुरुष कर्मचारीलाई कामबाट हटाइएको कर्मचारीकै आरोप छ ।

संस्थाको एक बैठकमा ब्लिनले खुलेआम व्यवस्थापकीय समूहमा महिला मात्रै भएकोमा गर्व गरेपछि पुरुष कर्मचारीहरूको मनोबल गिरेको र यस्तो अभिव्यक्ति विभेदकारी भएको गुनासो अन्य कर्मचारीले गरेका छन् । त्यति मात्र होइन, अक्सफामको ‘कन्ट्री म्यानेजमेन्ट टिम’ मा ‘नियतवश’ पुरुषलाई स्थान दिइएको छैन । यस्तो हुनुमा पुरुष कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

कर्मचारीहरूले अक्सफाममा नियमविपरीत आर्थिक स्रोतको परिचालन भएको गुनासो गरेपछि परिषद्ले लेखा परिक्षण प्रतिवेदन माग गरेको थियो तर उसले उपलब्ध गराएको प्रतिवेदनमा लेखा परीक्षण स्पष्ट नभएको परिषद्को ठहर छ । परिषद्‌का अनुसार अक्सफामले दिएको आर्थिक प्रतिवेदन, कर्मचारीहरुको विवरण, भेटघाट गर्ने अवसर, व्यवस्थापकीय क्रियाकलापमा पारदर्शी विवरण छैनन् । जसले गर्दा संस्थामा आन्तरिक सुशासन कमजोर भएको निष्कर्ष परिषद्ले निकालेको छ ।

अक्सफामभित्र भइरहेको अनियमितता, शोषण, दुर्व्यवहारमाथि हाल राष्ट्रिय सर्तकता केन्द्रले समेत छानबिन गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७, १७:५३:२६