NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘आधुनिक समाज पनि छोरीको पक्षमा देखिएन’

कल्याणकारी दृष्टिकोणः छोरी बचाउने केका लागि ? भात भान्सा गर्नका लागि

‘एमएसम्म नपढाइ छोरीहरूको बिहे गर्दिन्नँ’, परिवार र समाजसँग बाबुआमाले अडान लिए । त्यही बलमा ‘बहिनी उमेरकाको बिहे भइसक्यो, के हो यसको ताल ?’ भन्ने समाजसँग आँखा जुधाउँदै शरू जोशीले राजनीतिशाश्त्रमा स्नातकोत्तर गरिन् ।

धरानको एक निम्नवर्गीय संयुक्त परिवारका सदस्य उनका बाबुको पुष्पलालसँग संगत थियो । माक्र्सवादी स्कुलिङ्गका उनी छोरीलाई भन्थे, ‘तिमी गरिबहरूको न्यायाधीश बन्नुपर्छ !’

शरू जोशी छाेरी अभिश्रीसँग । तस्विर सौजन्यः शरू जोशी
शरू बा–वचन शिरोपर गरिरहेकै छिन् । कहिले यूएन वुमनको सिनियर प्रोग्राम स्पेसलिस्ट भएर त कहिले इकोनमिक इम्पावरमेन्ट हेड बनेर । त्यहाँ स्ट्राटेजिक पार्टनरसीप हेड बन्दा होस् या अहिले नेपाल पोलिसी इन्स्टिच्यूटको ‘थिंक ट्यांक’ हुँदा ।त्यसकै निरन्तरतामा फेक्ट नेपालकी कार्यकारी बोर्ड मेम्बर छिन् र अन्तरपुस्ता महिलावादी मञ्चकी सह–संयोजक पनि ।

पढ्ने र करियर बनाउने सपनाको पछि दौडिरहँदा बिहे र गर्भ त्रासदी थियो उनका लागि । रगताम्य हुनु, ज्यान जोखिममा पार्नु, मर्नसमेत तयार हुनु– कसरी सोच्नु ! कोही गर्भवती देखे वा बच्चा पाउने कुरा कसैले गरेमात्रै पनि डरले मुटुको चाल बढ्थ्यो ।
उनी अहिले सोच्छिन्, ‘त्यति ठूलो जोखिम लिने मानसिक परिपक्वता आइसकेको थिएन त्योबेला ।’ तर, समय र परिस्थितिले त्यसका लागि तयार बनाइछाड्यो । उनी आमा बन्ने भइन् ।

थाहा पाउँदा अलिअलि डर, बाँकीचाहिँ खुसी र लाजको मिश्रित अनुभूति थियो उनीभित्र । एमए सकेर समाज कल्याण परिषद्मा अनुसन्धान अधिकृत बनेपछि जब नेपाली सेनाका क्याप्टेन प्रदीप श्रेष्ठसँग मागी विवाह भयो, तब उनको गर्भकथा सुरु भएको थियो ।

अपरेसन ? सिरियस्ली !
ठूलो सलले पेट छोपेर हिँड्न थालिन् उनी । गर्भावस्थालाई लोकलाजजसरी लिन्थ्यो समाजले, अहिलेजस्तो सेलिबे्रेटको त सोचै थिएन ।

परिषद्मा उनीनिकट अधिकृत कमला थापा (पूर्व प्रधानसेनापति प्यारजंग थापाकी पत्नी)लाई मात्रै थाहा थियो ।
चार महिनासम्म हरदिनजसो तारन्तार बान्ता हुँदा पनि कसैले भेउ पाएनन् । त्यसमा परिषद् (हालको उपराष्ट्रपति भवन)को सफा र फराकिलो बाथरूमलेसाथ दियो । ‘बोराले छोपिएको शौचालयसम्म नहुने ठाउँका गर्भवतीको हालत के थियो होला ?’, सम्झिँदा उनी झस्किन्छिन् ।

गर्भावस्थाको नियमित जाँचका क्रममा अल्ट्रासाउण्डपछि डाक्टर वसन्तलाल श्रेष्ठले सरूका श्रीमानलाई सोधे, ‘आफ्नो बच्चाको लिंग जान्न चाहनुहुन्न ?’ श्रीमान केही बोलेकै थिएनन्, डाक्टरले फ्याट्टै भन्दिए– छोरा छ ।

२०४८ साल पुष उनले आफ्नो गर्भलाई संसारमा ल्याउने महिना थियो । सोही सन्दर्भमा उनको कार्यालयका हाकिमसँग संवाद भयो ।
शरूः सर म बिदा लिन्छु ।
हाकिमः ‘ठिक छ ।’
हैन सर म अलिक लामो बिदा लिन्छु ।
‘ठिक छ, लिनुस् न । तर के भयो ? कतै जानु हुँदैछ ?’
हैन सर ।
‘ए, के कोही बिरामी हुनुहुन्छ ?’
हैन, बिरामी त कोही हुनुहुन्न सर ।
‘अनि के भयो त ? घर जाने ?’
त्यो पनि हैन सर ।
‘अनि किन त लामो बिदा ?’
मेरो अपरेसन छ सर ।
‘अपरेसन ? सिरियस्ली ? किन के भयो र अपरेसन हँ ?’
सर, मेरो बच्चा हुँदै छ ।
‘साँच्चै ?’

शरू जोशी छोरी अभिश्रीसँग । तस्विर सौजन्यः शरू जोशी
समाज कल्याण परिषद्मा त्यतिबेला विभागीय प्रमुख थिए– राजु श्रेष्ठ, उनी छक्क परे । बधाई र बिदा एकैपटक दिए ।
त्यति गोप्य थियो उनको गर्भावस्थालाई । नौ महिनाको भइसक्दा पनि प्रसव व्यथा सुरु नभएपछि दुई दिनपछि अपरेसनका लागि अस्पताल जानु नै थियो । ‘त्यतिबेलासम्म पनि थाहा नपाउनुमा राजु सरको दोष थिएन । एकातिर कामकाजी महिला पनि गर्भवती हुन्छिन् र ! भन्ने सोच, अर्कातिर गर्भावस्था लुकाइराख्नुपर्ने सामाजिक बाध्यता, दुवैको उपज थियो’, शरू सम्झिँदै विष्लेषण गर्छिन् ।

लिंग भन्ने हतारो
गर्भावस्थाको नियमित जाँचका क्रममा अल्ट्रासाउण्डपछि डाक्टर वसन्तलाल श्रेष्ठले सरूका श्रीमानलाई सोधे, ‘आफ्नो बच्चाको लिंग जान्न चाहनुहुन्न ?’ श्रीमान केही बोलेकै थिएनन्, डाक्टरले फ्याट्टै भन्दिए– छोरा छ ।
‘किन फ्याट्ट भन्न पर्या होला !’, उनलाई लाग्यो ।

के जन्मेला भन्ने उत्सुकता अगाडि नै नष्ट भएकोमा खुसी थिइनन् । तर श्रीमान् भने डाक्टरको कुराले मख्ख परेको महशुस गरिन् । ‘उहाँको अनुहार उज्यालिएको थियो । परिवारलाई खबर सुनाउन हतारिनुभएको थियो ।’
के छोरी हुने खबर भएको भए पनि श्रीमान् र परिवार यति नै खुसी हुने थिए होलान त ? उनको मनमा प्रश्न उठेको थियो ।

लेबर रूपमा पुरुष
शल्यक्रियाको लागि ‘लेबर रुम’ लगियो । पुरुष डाक्टरको समूह पो प्रवेश गर्छ हुरुरु, उनी उनी लाजले अत्तालिइन् । सलले अनुहार फनफन्ती बेरिन् ।

डा. भोला रिजाल समूह नेता थिए । भने, ‘शरूजी किन पञ्जाबीले जस्तो फेटा गुथ्नुभएको ? शरीरलाई रिल्याक्स पोजिसनमा छोड्नुहोस् ।’ तर ‘अपरेसन थिएटर’ नपुग्दासम्म उनी लाजले डल्लिइरहिन् ।

संयोग, अपरेसन थिएटरमा धराने साथी बिन्दु श्रेष्ठलाई नर्सको रूपमा भेटिन्, उनी छक्कमात्रै परिनन्, अलिकति लाजले खुम्चिन्, अलि धेरै आँटले ढुक्क भइन् । । विन्दुले जिस्क्याइ पनि हालिन्, ‘यो त केही दुःख नपाई अप्रेसन गरेर नक्कली आमा हुने भई ।’
साथीको ठट्टाले भने उनलाई चस्स बिझ्यो ।

छोरा र ‘आँगन’को लड्डु
सरूको अपरेसन हुँदै गर्दा भने श्रीमान साथ थिएनन् । अस्पतालले सम्भावित अवस्थाको जानकारी समयमा दिन सकेन, उनी हेलिकोप्टरबाट प्याराजम्पको अभ्यास गर्न गएका थिए ।

अचानक लेबररुम लैजानेभन्दा सँगै गएकी बहिनी सबिनाले अक्क न बक्क हँुदै ढाडसस्वरुप ‘अल द बेस्ट’ भनेकी थिइन् ।
अपरेसन भयो, झण्डै दुई घन्टापछि विस्तारै होस आउँदा साँढे तीन किलोको छोरा नर्सहरूले छातीमा राखिदिएका थिए । उनी आफ्नो सिर्जनाबोधले हर्षविभोर भएकी थिइन् ।

छोरी अभिश्री र छोरा देवाशिष बुबाआमाको तस्विरका साथ । तस्विर सौजन्यः शरू जोशी
पछि श्रीमान आइपुगे र ‘आँगन’ ब्राण्डको लड्डु ल्याएर छेउछाउका वार्डमा बाँडे । हस्पिटलका केही कर्मचारीबाट छोरा पाएपछि खुसी मनाउने, नगद तथा जिन्सी उपहारसम्म पाउने गरेको बखान सुनिन् ।

हृदय निचोरेर करियरको बाटो
बच्चा दुई महिनाको भएपछि शरू जागिरमा फर्किइन् । सुरुका केही महिना दिउँसो एकपटक घर पुगेर बच्चालाई दूध खुवाउँथिन् । त्यसपछि ल्याक्टोजिन, घिउ र मह मिसाएको चिउराको लिटो खुवाउन थालिन् ।

उनलाई करिअरको पनि त्यतिकै चिन्ता थियो । छोरा एक वर्षको हुँदा एक महिनाको लागि तालिममा थाइल्याण्डको बैंकक जानुपर्यो । आफ्नी आमालाई छोरा जिम्मा लगाएर उनी गइन् । फर्केपछि सबैले सुनाए, ‘तिमी अफिसबाट फर्किने बेला दिनैपिच्छे बाबुले त बाहिर मात्रै हेरिबस्ने ।’ त्यो कुरा थाहा पाउँदा उनी हृदयबाट निचोरिएकी थिइन् । आमा हुनु र एक कामकाजी व्यक्ति बन्नु कति गाह्रो हुन्छ भन्ने बोध गरिन् ।

श्रीमान्सँग पहिलेकै डाक्टरकहाँ अल्ट्रासाउण्ड गराउन गइन् । त्यो पटक भने डाक्टरले केही पनि भनेनन् । डाक्टरले नभनेपछि उनलाई छोरी नै होला भन्ने आशा जाग्यो । तर, उनमा प्रश्न भने रहिर्यो, ‘छोरा हुँदा नसोधे पनि भन्न हतार लाग्ने, अनि छोरी देख्दा चुप रहने ? कस्तो दृष्टिकोण !’

छोरा तीन वर्षको भएपछि उनले ‘जेण्डर एण्ड डेभलपमेण्ट’ विषय अध्ययनका लागि छात्रवृत्ति पाइन् र नेदरल्याण्डस् जाने सुर कसिन् । लामो समय बच्चा छोड्ने कुराले मन भने अत्तालिएको थियो । तर, ससुराले भीमबहादुर श्रेष्ठले ढाढस दिए, ‘बच्चा मिलिक्कै हुर्किजान्छ नि हात हातै, त्यत्रो मौका छोड्नु हुँदैन, दुलही ।’

त्यो प्रोत्साहनले उनलाई ठूलो भर गर्यो । बच्चाले आमाबाट पाउने माया–स्याहार चुडाएर उनी पढ्न गइन् । त्यही अध्ययनले नै उनलाई संयुक्त राष्ट्र संघमा नेपालको नेतृत्व गर्ने बाटो खुलायो ।

नेदरल्याण्ड्समा उनलाई पढाइको निकै चाप थियो । हरेक हप्ता आमा र श्रीमानको चिठी पुग्थ्यो, फुलस्केपका ६ पाना भरिएका ।

चिठीमा छोराकै बखान हुन्थ्यो । उनलाई भने चिठी पढ्न र जवाफ लेख्नै पनि मुस्किल थियो समयको चापले ।

उनी सम्झन्छिन्, ‘आमा भनेको धरती मात्रै हैन, आकाश पनि रहेछ । छोरा कति विरामी पर्दोरहेछ । तर, मलाई पिर नहोस्, पढाइ नबिग्रियोस् भनेर सधैँ बच्चाको राम्रो कुरा मात्रै लेखिपठाउनु हुन्थ्यो आमाले । हाँस्यो, यसरी खेल्यो, बोल्यो भनेर लेखिएको हुन्थ्यो । सायद, बच्चा बिरामी परेको खबर पाएको भए पढाइ छाडेर फर्किन्थें होला ।’

हाल उनका छोरा देवाशिष अष्ट्रेलियाको पर्थमा बिजनेश म्यानेजमेन्टमा स्नातक सकेर एउटा कम्पनीमा ‘ट्रेनिङ डेभलपमेण्ट म्यानेजर’ छन् ।

छोरी जन्मिँदा दबेको डाक्टरको स्वर
पढाइ सकेर उनी फर्किंदा छोरा छ वर्ष पुगिसकेका थिए । उनी फेरि गर्भवती भइन् । ‘जेण्डर’ विषय पढेर आएपछि उनको छोरीलाई हेर्ने दृष्टिकोण नै बदलिएको थियो । गर्भ रहेदेखि नै उनले छोरीको चाह गरिन् ।

संयोग, श्रीमान्सँग पहिलेकै डाक्टरकहाँ अल्ट्रासाउण्ड गराउन गइन् । त्यो पटक भने डाक्टरले केही पनि भनेनन् । डाक्टरले नभनेपछि उनलाई छोरी नै होला भन्ने आशा जाग्यो । तर, उनमा प्रश्न भने रहिर्यो, ‘छोरा हुँदा नसोधे पनि भन्न हतार लाग्ने, अनि छोरी देख्दा चुप रहने ? कस्तो दृष्टिकोण !’

सपरिवार पाथिभरामा । तस्विर सौजन्यः शरू जोशी
महिना पुग्यो, उनी फेरि अस्पताल पुगिन् । पहिलो बच्चा अपरेसनबाट जन्मिएको हुँदा दोस्रो पनि प्राकृतिक तरिकाले हुन नसक्ने जानकारी डाक्टरले गराए । त्यसो हुँदा त्यही बेला बन्ध्याकरण गर्न पनि डाक्टरले सुझाव दिएका थिए । उनले अनुमति पनि दिएकी थिइन् । अ

परेसनपछि होस आउँदै गर्दा अर्धचेत अवस्थामै उनले छोरी जन्मेको थाहा पाइन् र खुसी भइन् । तर डाक्टरहरूको कुरा सुनेर भने चकित परिन् ।

पहिलो डाक्टर– उहाँको बन्ध्याकरण पनि गरिदिनुपर्छ ।
दोस्रो – हैन नगरिदिऊँ, छोरी जन्मेको छ ।
पहिलो – छोरी जन्मेर के भो त, पहिले छोरा भइसकेको छ ।
तेस्रो – हैन यो बच्चा छोरी हो, के थाहा ? अर्को पाउने पो हो कि ?

डाक्टरहरूले बन्ध्याकरण नगरिकनै पेट सिलाइदिए । उनले केही भन्न सकिनन् ।
छोरीलाई हेर्ने दृष्टिकोण त डाक्टर, नर्समै पनि कति विभेदपूर्ण रहेछ भन्ने त्यही दिन थाहा पाइन् ।

केही समयपछि एउटी सफाइ गर्ने महिला आइन् र रैथाने लवजमा सोधिन्, ‘के पायो ?’
उनी बोल्न सक्ने हालतमा त थिइनन्, तैपनि सकेसम्म टाठो स्वर बनाउने कोशिस गर्दै भनिन्, ‘छोरी ।’

ती महिलालाई मलिनो स्वरमा भनिन् – ‘के गर्नु आफ्नो हातमा हुँदैन, दैवको लीला, हात थाप्नै प-यो ।’

काँपिरहेको उनको शरीर झन् थर्थरायो । भन्छिन्, ‘बाफ रे ! छोरी भए घर उज्यालिन्छ भन्ने यही समाज छोरी जन्मिँदा किन यति कालो अनुहार लाउँछ ? आफूचैं छोरी पाएर कस्तो खुसी थिएँ । तर मेडिकल पर्सनहरूसम्मको त्यस्तो संकुचित दृष्टिकोण देखेर अचम्मित भएँ । छोरी हुर्काउने जंग पनि आमाहरू एक्लै लड्ने रहेछन् ।’

छोरीको तौल दुई दशमलव नौ किलोग्राममात्रै थियो । यसै त छोरीलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ, झन् शारीरिक रूपमा पनि कमजोर भए के होला भन्ने सोचेर दुई बर्षसम्म स्तनपान गराइन् । छोरीको हुकाइ, स्वास्थ्यप्रति बढी नै सचेत बनिन् । उसो त परिवारलाई कमै समय दिन भ्याउने उनका श्रीमान् पनि छोरीको हुकाइमा भने निकै सचेत थिए ।

उनका श्रीमान्को सोच भने अलिक फरक थियो । भन्छिन्, ‘मेरो श्रीमान् भावनात्मक अभिव्यक्ति दिन जान्नुहुन्न । बच्चाहरूलाई आमाबुबाले संस्कार सिकाउने, प्रेमले हुर्काउनु आवश्यक हुन्छ । तर, बच्चाले इच्छाएको कुरा किनिदिनु वा गर्न दिएपछि भइहाल्छ भनेजस्तो बुझाइ छ उहाँको । बोल्ने, खेल्नेमा समय त्यति नबिताउने । सायद आर्मी भएकैले उहाँ त्यस्तो कडा स्वभावको हुनु भएको हो कि !’

हाल उनकी छोरी अभीश्री अष्ट्रेलियाको पर्थमै चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत छिन् र काम पनि गर्छिन् ।

उनीहरूले छोरा देवाशिषलाई कक्षा चारदेखि बुढानीलकण्ठ स्कूलमा आवासीय पढाइका लागि राखे । सानो छँदा पनि धेरै समय छोडेर विदेश गइन् । तर, साथमा राख्न नपाउँदा उनलाई छटपटी हुन्थ्यो नै ।

श्रीमानका साथ । तस्विर सौजन्यः शरू जोशी
उनको सक्रियताले उनलाई स्कूलसँग जोडिने अवसर मिल्यो । उनी स्कूल अभिभावकहरूको समूह ‘फ्रेण्डस् अफ बुढानिलकण्ठ’ हुँदै बुढानिलकण्ठ स्कूलको सञ्चालक समितिको सदस्य भइन् । त्यही मेसो महिनामा दुई तीन पटक स्कूल पुग्दा यसो बच्चा भएकै बाटो हिँड्थिन् । त्यतिले पनि बच्चालाई अभिभावकको न्यानो बोध होला भनेर उनलाई सादर मिल्थ्यो ।

महिलाको शरीरमा पितृसत्ताको शासन
पहिलो बच्चाको पालाको कुरा थियो । शल्यक्रियाबाट होसमा आएपछि एकजना महिला डाक्टरले भनिन्, ‘शरुजी, मैले तपाईलाई सकेसम्म तल अपरेशन गर्देको छु, पछि तपाईंले जति नाइटो देखाएर सारी लगाए पनि हुन्छ !’

अलिक जोडले स्वास फेर्दासम्म घाउ दुख्दै थियो । उनी बहस गर्ने अवस्थामा थिइनन् । त्यो बेला सानो स्वरमा हाँस्न मात्र सकिन् । भन्छिन्, ‘आज पनि महिलाको हकमा यो समाज ठान्छ कि उसको स्वास्थ्य, स्वाभिमान, पहिचान वा अधिकारभन्दा माथि यही सामाजिक संरचनाले तोकेको सौन्दर्यको मानकमा ऊ अब्बल प्रमाणित भइदेओस् । ताकि ऊ जुनकुनै कोणबाट बजारले तोकेजस्तो सुन्दर देखिनुपर्छ ।’

अध्ययन सकेर उनी नेदरल्याण्डबाट फर्किंदा सरकारले महिला मन्त्रालय खडा गरिसकेको थियो । उनी उपसचिव तहमा बढुवासहित जिम्मेवारीमा आइन् । दुई वर्षपछि फेरि समाज कल्याणमै गइन् । तर, त्यहाँ उनले पढेर आएको ज्ञान उपयोग हुने वातावरण पाइनन् ।
उनी संयुक्त राष्ट्र संघको ‘आप्रवासी महिला कामदारको सशक्तिकरणका लागि एशिया प्रशान्त क्षेत्रीय कार्यक्रम’मा काम गर्न थालिन् । त्यसपछि उनलाई थाहा भयो कि महिलाको गर्भमाथि पनि पित्तृसत्ताले शासन गर्ने रहेछ । यो महिलाको परिचयसँग जोडिएको हुन्छ ।

जन्मन पाउने अधिकार बच्चालाई भएपनि असुरक्षित अवस्थाको हकमा पहिलो अधिकार आमासँग हुन्छ भन्ने पक्षमा उनले जिम्मेवार निकायको तर्फबाट लामै समय वकालत गरिन् । तर, यही अधिकारलाई दुरुपयोग गर्दै लिंग पहिचान गरी छोरी भएकै कारण गर्भपतन गर्नु भने अपराध हो ।

गर्भमा एक पटक वा बारम्बार छोरी रहेकै कारण भ्रुण हत्या गरिने वा धेरै वटी छोरी जन्माएको कारण आमा अपमानित, बहिष्कृत भएका छन् । धेरै छोरी पायो भने पुरुषलाई अर्को विवाह गरेर छोरा जन्माउने छुट समाजले दिएको थियो ।

श्रीमतीले बच्चा पाउन नसकेमा श्रीमानले अर्को विवाह गर्ने छुट यसअघिको मुलुकी ऐनले नै दिएको थियो । तर श्रीमान्को तर्फबाट हुन नसक्ने अवस्थाको हकमा न समाजलाइ न कानुनलाई वास्ता थियो । यस्ता विभेदपूर्ण कानूनी तथा सामाजिक व्यवस्थाविरुद्ध उनले युएन प्रतिनिधिको हैसियतबाट धेरै काम सहित वकालत गरिन् ।

सैन्य पोशाकका श्रीमान छोरीका साथ खेल्दै । तस्विर सौजन्यः शरू जोशी
गर्भपतनसम्बन्धि कानून आउँदा घोर विरोध भयो । तर, त्यो महिलाको इच्छा विपरित बसेको गर्भ वा असुरक्षित गर्भका हकमा थियो । त्यो बेला महिला मन्त्रालय नै महिलालाई बिगार्न लाग्यो भन्ने कोणबाट पत्रपत्रिकाले पनि वकालत गरेको उनले पाइन् ।

गर्भावस्था र महिलाको अधिकारमाथि त्यो बेला चर्को विवाद उठेको थियो । ‘गर्भ महिलाको अधिकारको कुरा हो’ भन्ने तर्कका विरुद्ध आमाले गर्भपतन गर्न पाउने अधिकार हुन्छ भने बच्चाको पनि जन्मिन पाउने अधिकार हुन्छ भन्ने कुरा उठ्यो ।

जन्मन पाउने अधिकार बच्चालाई भएपनि असुरक्षित अवस्थाको हकमा पहिलो अधिकार आमासँग हुन्छ भन्ने पक्षमा उनले जिम्मेवार निकायको तर्फबाट लामै समय वकालत गरिन् । तर, यही अधिकारलाई दुरुपयोग गर्दै लिंग पहिचान गरी छोरी भएकै कारण गर्भपतन गर्नु भने अपराध हो । हाम्रो समाजमा पनि लुकिछिपी छोरीलाई गर्भपतन गराउने गरेको पाइन्छ ।

छिमेकी देश भारतमा यस गलत प्रचलनका शिकार भ्रूणमा भएका धेरै छोरीहरू हुँदै आएका छन् । उनी भन्छिन्, ‘भारतीय सहरका गल्ली–गल्लीमा खुलेआम भित्तामा पोस्टर टाँसिएको हुन्छ– आपका लड्की गिराना हे ? तो डा. फलानो का सम्पर्क किजिए । लड्की से आपको तंग आ चुके हो ? तो सम्पर्क किजिए । यो कानुनले मान्यता दिएको जघन्य अपराध हो ।’

यसरी छोरीको भ्रूण हत्या संस्कार नै बनेपछि भारतमा एक समय छोरीको जनसंख्या कम भयो । यो देखेपछि युनिसेफले पञ्जाबमा ‘बेटी बचाओ’ अभियान नै चलाउनु परेको थियो । चीनमा एउटा मात्रै सन्तान जन्माउने कानूनी व्यवस्था भएपनि पहिलो सन्तान छोरी भए दोस्रो पाउन अनुमति दिइने र सो बच्चाको लालनपालन पनि सरकारले नै गर्ने व्यवस्था रहेछ ।

भन्छिन्, ‘युएनमा काम गर्दै जाँदा देखेँ, गर्भपतनको सवालमा युरोपेली तथा अन्य विकसित देशहरू पनि रुढिवादी छन् । बरु कानूनी व्यवस्था भइसकेको हुनाले नेपाल अग्रमोर्चामै देखियो ।’ अर्को कुरा, जति पनि गर्भनिरोधकहरू बनेका छन्, ती अधिकांश महिलाले प्रयोग गर्नुपर्ने र महिलाको जिउ जोखिममा पर्ने खालका बनेका रहेछन् ।

छोरीका साथ शरू जोशी । तस्विर सौजन्यः शरू जोशी
युएन वुमनको तर्फबाट केन्दी्रय तथ्यांक विभागमा काम गर्दा २०६८ सालको जनगणनामा काठमाडौंसहित शहरी र तराइ गरी १२ जिल्लामा छोरीको जनसंख्या कम देखियो । शहरी जिल्लामा पढालेखा, प्रविधिमा पहुँच र आर्थिक रुपमा बलियो रहेकाहरूले गर्भमा छोरी देखे भ्रुण हत्या गर्ने धेरै भेटिए । यसरी हेर्दा अशिक्षा, अज्ञानता मात्रै नभई आधुनिक समाज पनि छोरीको पक्षमा देखिएन, यसमा सामाजिक मूल्य मान्यता र माइन्ड सेट मुख्य देखियो ।

छोरीप्रति कल्याणकारी दृष्टिकोण
मधेसी जिल्लामा छोरी जन्मिनेबित्तिकै एक लाख रुपैयाँको बीमा गरिदिने सरकारी व्यवस्था गरियो । तर, के त्यति नै काफी छ त ? प्रश्न छ ।

‘कैसे खाओगे बेटीकी हातके रोटिया
अगर नहीँ बचेगी बेटिया’

हाम्रो कल्याणकारी दृष्टिकोण यस्तो छ । यहाँबाट पुष्टि हुन्छ कि छोरी बचाउने केका लागि भन्दा रोटी खानका लागि अर्थात् भात भान्सा गर्नका लागि ।

छोरी गर्भदेखि नै असमान स्थानमा छ । ‘सरोगेसी’ गरेर बच्चा जन्माउने प्रचलन पनि बढेको छ । सरोगेसी गर्ने महिलाको पाठेघर गर्भका लागि व्यापारिक प्रयोजनमा दुरुपयोग भएको पाइएको छ ।

साँच्चै आफ्नो गर्भ छोपेको त्यो सल अहिले कहाँ छ होला ? के अहिलेका हाकिमहरू आफ्ना महिला कर्मचारीको स्वास्थ्योवस्थाका जानकारी राख्छन् होला ? छोरी जन्मँदा बधाई दिने बेला के हाम्रा डाक्टरहरूको स्वर दबेकै हुन्छ होला ?

होला, बच्चा नहुने जोडीको लागि कल्याण भएपनि गर्भ लिने महिलाको शरीर भाडामा प्रयोग भइदियो । यसरी गर्भ महिलाको सिंगो जीवन चक्र र पहिचानसँग जोडिएको मुद्दा हो । यो मुद्दामा आफू निरन्तर डटिरहने उनको प्रण छ ।

मलाई बेहास पार्दिनोस्
खाडी मुलुकबाट फर्किएकी एक गर्भवती युवतीको कथाले आजसम्म पनि उनको दिमाग हल्लाइरहेको छ । वैदेशिक रोजगारीबाट नेपाल फर्कंदा उनको गर्भ १२ हप्ता नाघिसकेको थियो । गर्भपतन गर्न मिलेन । बिनाविवाह, बिनाबाबु बच्चा लिएर गाउँ पुगे न परिवार, न समाजले नै उनलाई स्वीकाथ्र्यो । बच्चा त्याग्नुको उनीसँग विकल्प थिएन ।

बच्चा जन्माउन्जेलसम्म उनलाई एक संस्थामा आश्रय दियो । बच्चा जन्माउने बेला उनले डाक्टरसँग अनुरोध गरिन्, ‘डाक्टर साब, बच्चा जन्माउनुअघि मलाई बेहोस गराइदिनुहोस् । ताकि म मेरो बच्चाको पहिलो रुवाइ नसुनूँ । आवाज सुनिसकेपछि त आफ्नो बच्चा कसरी छोडेर जान सकुँला ? यो समाजले मलाई स्वीकार्दैन, लिएर पनि जान सक्दिनँ ।’ त्यसो भन्दै उनले आँसु झारिन् ।

शरू जोशी । तस्विर सौजन्यः शरू जोशी

यो एक उदाहरण मात्रै हो । गर्भका कारण यस्ता दुर्दान्त हालतमा कति महिला देशभित्रै छन्, कति विदेशबाट फर्कन्छन् । तर राज्यले अहिले पनि महिलाको गर्भलाई ठिक ढंगले सम्बोधन गर्न सकेको छैन ।

उनको मनमा तर्क–वितर्क चलिरहन्छ, ‘साँच्चै आफ्नो गर्भ छोपेको त्यो सल अहिले कहाँ छ होला ? के अहिलेका हाकिमहरू आफ्ना महिला कर्मचारीको स्वास्थ्योवस्थाका जानकारी राख्छन् होला ? छोरी जन्मँदा बधाई दिने बेला के हाम्रा डाक्टरहरूको स्वर दबेकै हुन्छ होला ? आगामी जनगणना २०७८ मा अरू जिल्ला पनि छोरीलाई गर्भमै तुहाउनेमा थपिन्छन कि ?’

पछिल्लो समय हाम्रो समाजमा पनि मातृत्व उत्सव अर्थात् ‘प्रेग्नेन्सी सेलिब्रेसन’को प्रचलन बढेको छ । यसलाई उनी महिलाले गरेको आत्मनिर्णय र विद्रोहका रुपमा लिन्छिन् । प्रत्येक गर्भवतीको हकमा यसलाई उत्सव बनाउने हो भनेचाहिँ समाजको जरादेखि नै महिलाप्रतिको दृष्टिकोण र व्यवहारलाई सच्याउन उनी जरुरी ठान्छिन् ।
०००

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८, १३:३३:००