NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते
काेराेनाप्रति बेपर्वाह नेता

केपी ओलीलाई हुनसक्छ १० वर्ष कैद र एक लाख जरिवाना !

काठमाडौं । संक्रामक रोगको संक्रमण भएको कुनै पनि व्यक्ति सार्वजनिक समारोहमा सहभागी हुन मिल्दैन । अन्यलाई पनि संक्रमण हुने भएका कारण यस्ता संक्रमित व्यक्तिहरू आइसोलेसनमा बस्नुपर्ने हुन्छ । जानाजान वा लापरबाही गरेर संक्रमण सार्न पनि हुँदैन ।

यसका लागि संक्रामक राेग ऐन र मुलुकी अपराध संहिताले संक्रमित व्यक्ति सार्वजनिक सभामा जान, अरूमा सर्ने खालकाे गतिविधि गर्न निषेध गरेकाे छ । तर, यस्ता नियम त सर्वसाधारणका लागि मात्र लादिन्छन् नेपालमा ।

अझ भनौं नेपालमा कानून तोड्नेहरू कानून बनाउने नै अग्रपंक्तिमा छन् । आफैं कानून बनाउने अनि आफैं उल्लंघन गर्ने त नेपाली राजनीतिक दलका नेता अघि छन् ।

केही दिनअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको थियो । तर, उनी संक्रमित भएर पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो आएपछि सर्वत्र ओलीको आलोचना भएको छ । जिम्मेवार व्यक्तिबाटै संक्रमण सार्ने काम भएको भन्दै राजनीतिक दलका नेताले समेत विरोध जनाएका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त जनताको जीउधनको जिम्मेवारी लिन समेत चुनौती दिएका छन् ।

नियम उल्लंघन गर्नेलाई कस्तो कारबाही हुन्छ ?

मुलुकी अपराध संहितामा कडा कारबाहीको व्यवस्था गरिएको छ । जानाजान संक्रामक रोग फैलाउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरीवाना हुने उल्लेख छ ।

यस्तै, लापरबाहीपूर्वक त्यस्तो कार्य गरेको भए ५ वर्षससम्म कैद र ५० हजार रुपैयाँ जरीवाना हुने उल्लेख छ । साथै हेलचक्य्राइँ गरेको पाइएमा भने तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरीवाना तोकिएको छ ।

यस्तै, संक्रामक रोग ऐन २०२० (संशोधित २०७५) ले स्पष्ट नियमन गर्ने निकाय र कारबाही तोकेको छ । ऐनअनुसार यो ऐन उल्लंघन गर्नेलाई एक महिनाको कैद र एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै, यो ऐन कार्यान्वयनमा बाधा उत्पन्न गराउने व्यक्तिलाई भने एक महिनासम्मको कैद वा ६ सय परिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

यस्ता प्रकृतिका मुद्दामा कारबाही र किनारा गर्ने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई नै दिइएको छ । यस्तै ऐनमा दफा ५ भने बचाउको विकल्प पनि राखेको छ ।

यो ऐन अन्तर्गत अधिकृत व्यक्तिले कुनै आफ्नो कर्तव्य पालाना गर्दा असल नियतले कुनै कामकारबाही गरेको खण्डमा भने कारबाही नहुने उल्लेख छ ।

नेपालका नेता लिच्चड छन् : डा. मरासिनी

जनस्वास्थ्यविद डा. बाबुराम मरासिनी नेपालका कानून बनाउने नेताहरू नै कार्यान्वयन गर्ने पाटोमा अटेरी रहेको बताउँछन् । विदेशतिर यस्तो गतिविधि गर्नेलाई हदैसम्मको कारबाही हुने गरे पनि नेपालमा त्यो स्थिति नभएको उनको भनाइ छ ।

‘नेपालमा कानून नभएको होइन । मुलुकी अपराध संहितामा त कडा कारबाही गरिएको छ नि !’, नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘तर, सरकार र प्रतिपक्ष सबै उस्तै छन् । विरोधका लागि मात्र विरोध हुन्छ । हाम्रा नेता त लिच्चड नै हुन् नि । आफैं कानून बनाउने र आफैं त्यसको धज्जी उडाउने संस्कार नै भइसक्यो ।’

यस्ता संवेदनशील कुरामा जनताले नै कुरा उठाउनुपर्ने उनको भनाइ छ । नेताहरूले जे गरे पनि जनता मौन बस्ने प्रवृत्तिका कारण नेताहरूको आचरण बिग्रेको उनी बताउँछन् ।

‘विदेशतिर त संक्रमित व्यक्ति अरुको घरमा पनि जाँदैन । तर, हाम्रोमा हेर्नुहोस् त नैतिकता नै कति गिरेको । संक्रमित नै सार्वजनिक कार्यक्रममा जान्छन्, अझै मेला नै गर्छन् । अब जनताले नै तह नलगाउँदासम्म कानून केवल किताबै सिमित हुन्छ’, उनी भन्छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १८:५३:००

ताजा अपडेट

नेपालवाच विशेष