NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

विश्वमा रातभर के भए ?

काठमाडौं – रातको समय शान्त हुन्छ। मानिसहरू विश्राम लिन्छन्। र पनि घटनाहरू घटिरहन्छन्।

०७८ माघ १३ गते राति भने एकाध घटना, दुर्घटनाबाहेक देश शान्त रह्यो। विदेशमा पनि उल्लेखनीय घटना भएको समाचार प्रकाशमा आएका छैनन्।

दक्षिणी अफ्रिकामा आँधीबाट ७० जनाको मृत्यु

दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।

तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करमा ४१ जनाको मृत्यु भएको छ भने १८ जना मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।

जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।

अमेरिकाद्वारा युक्रेनबारे रूसी माग अस्वीकार

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रूसले युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रूसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेका हुन् । वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने उनले बताए।

ब्लिङ्कनले सङ्कट समाधानका लागि ‘गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने’ प्रस्ताव राख्दै रूसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच रूसी एक मन्त्रीले नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन् ।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो । त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न रूसले नेटोसँग माग गरेको थियो ।

चीन–भारत सीमा विवादमा तेस्रो पक्षको आवश्यकता छैन : चीन

काठमाडौं – चीनले बिहीबार भारतसँगको सैन्य तहको वार्तालाई ‘सकारात्मक र रचनात्मक’ भएको बताएको छ । सीमा समस्यालाई राम्ररी सम्हाल्न चीनले भारतसँग मिलेर काम गर्ने बताएको छ।

एक प्रश्नको जवाफ दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले भने, ‘चिनियाँ पक्षले यो चरणको वार्ता सकारात्मक र रचनात्मक भएको विश्वास गरेको छ र चीनले सीमा समस्याको उचित समाधानका लागि छलफल र परामर्श जारी राख्नेछ ।

यसैबीच, प्रेस सम्मेलनमा वु कियानले अमेरिकामा ह्वाइट हाउसका प्रवक्ता जेन साकीको टिप्पणीको कडा आलोचना गरे। साकीले चीनले भारत–चीन सैन्य वार्ता अघि छिमेकी देशहरूलाई धम्की दिन खोजेको आरोप लगाए ।

वु छियानले आफ्नो विज्ञप्तिमा भारत र चीनबीचको सीमा विवाद दुई देशबीचको मुद्दा भएको बताए । दुवै पक्ष तेस्रो पक्षको हस्तक्षेपको विरुद्धमा भएको उनको भनाइ छ ।

टेक्सासमा गोली चल्यो, तीन प्रहरी घाइते

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा गोली चलेको छ । प्रहरीलाई निशाना दागेर गोली प्रहार हुँदा जना घाइते छन् ।

घाइते प्रहरी अधिकारीलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीमाथि गोली प्रहार गरिनुको कारण खुलेको छैन भने आक्रमणकारी प्रहरी घेरा तोडेर भाग्न सफल भएका छन् ।

ह्यारिस काउन्टीका प्रहरी अधिकारीमाथि गोली प्रहारको पाँच दिनपछि पुनः प्रहरीमाथि आक्रमण भएको हो ।

हेण्डुरसले पायो पहिलो महिला राष्ट्रपति

काठमाडौं । हेण्डुरसले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । मध्य अमेरिकी मुलुक होण्डुरसमा ६२ वर्षीय शियोमारा कास्त्रो पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।

कास्त्रो राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य हुन् । उनका श्रीमान् म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म हेण्डुरसको नेतृत्वमा थिए । पछि उनलाई ‘कू’ गरेर अपदस्थ गरियो । पारिवारिक विरासत धान्न कास्त्रो यसअघि दुई पटक राष्ट्रपतिका रूपमा चुनावी मैदानमा खडा भएकी थिइन् । तर अघिल्ला निर्वाचनमा उनी जनताको रोजाइमा पर्न सकिनन् । नोभेम्बरमा सम्पन्न चुनावमा भने जनताले उनलाई रोजे ।

उनले बिहीबार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हेण्डुरस यतिबेला गरिबी र राजनीतिक संकटले आक्रान्त छ । विषम् परिस्थितिमा राष्ट्रपतिको नेतृत्वमा पुगेकी उनको सामु उत्तिकै अवसर र चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शपथ ग्रहण समारोहमा बोल्दै उनले सामाजिक न्याय र पारदर्शिता कायममा भूमिका निर्वाह गर्ने वाचा गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:२९:००