NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कहिलेदेखि लाग्छ घाम ?

काठमाडौं – पछिल्ला केही दिनयता काठमाडौंलगायत देशभरको मौसम बदली भइरहेको छ । हुस्सु, कुहिरोले गर्दा देश चिसिएको छ ।

यो क्रम अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अझै केही दिन मौसम बदली हुनुका साथै चिसो कायम रहन्छ ।

‘पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल देशभरको मौसममा फेरबदल भइरहेको छ’ उनले भनिन्, भोलि केही सुधार हुने देखिएको छ, तर पर्सीबाट फेरि उस्तै हुने देखिन्छ ।’

उनका अनुसार शनिबार(भोलि) काठमाडौंलगायत केही स्थानमा मौसम सुधार हुने सम्भावना छ । यद्यपि आइतबार(पर्सी)बाट फेरि बदली हुनुका साथै मौसममा गडबढी हुने देखिन्छ ।

पछिल्लो समय देशभरको तापक्रम घटेको र यो क्रम केहीदिन जारी रहने मौसविद् शाक्यको भनाइ छ । आज काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ४.२ डिग्री थियो । आजको अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म रहन सक्ने छ ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराइका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा वााग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै, भोलि दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।

आज प्रदेश १ तथा वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ११:२०:००