NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते
जनगणना

जनगणनामा परिएन भन्नेलाई विभागको जवाफ : ‘यो सामान्य हो’

काठमाडौं । सिन्धुपाल्चोकस्थित चौताराको साँगाचोकगढी नगरपालिका ४ का बासिन्दा धनञ्जय शर्माले जननगणनाका लागि खटिएका गणकको पर्खाइमा बस्दा–बस्दै जनगणनाको प्रारम्भिक रिपोर्ट आएको पत्तै पाएनन् । बुधबार तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांंक जारी गरेपछि उनी सोच्न बाध्य भए, ‘मेरो घरमा गणक कहिले आए ?’

सिन्धुपाल्चोकका स्थायी शर्मा हाल ललितपुरस्थित हात्तिवन बस्दै आएका छन् । वरपर छिमेकमा गणकहरू आए पनि उनी बसेको घरमा भने उनीहरू पुगेका छैनन् ।

सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा यतिबेला अधिकांशले आफ्नो घरमा गणक नै नपुगेको गुनासो पोख्न थालेका छन् । आफ्नो तथ्यांक नै नसमेटिइ जनगणना सार्वजनिक भएकोमा आफूहरू सबै चकित भएको उनीहरूको वृतान्त छ ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार काठमाडौंमा कतिपय ठाउँका व्यक्ति आफैं सम्पर्कमा आउन चाहेनन् । जनगणनामा सहभागी हुन नखोजेपछि तथ्यांक लिनेकोमात्रै दोष नभएर दिनेको पनि दायित्व रहने उनी बताउँछन् ।

कवि तथा संगीतकार राजन मुकारुङ पनि आफू जनगणनामा छुटेको बताउँछन् । जनगणना सार्वजनिक भएको दिन फेसबुकमा उनले कटाक्ष गरेका छन्, ‘तीन करोड जनसंख्या किन पुगेन ? किनभने, संगीतकार शान्तिराम राई, मलगायत जनगणनामा छुटेका छौं, त्यसैले ।’

उनी फेरि लेख्छन्, ‘गणकहरू हामीकहाँ आएनन्, हामीले पनि बोलाएर दुःख दिनु उचित ठानेनौं अनि हामी नै छुट्यौं । चाहँदा स्थानीय तहले मिलिकमै काम तमाम गर्ने कुरा हो जनगणना ।’

पत्रकार चन्द्र खाकीले झन् अर्को महत्वपूर्ण प्रश्न तेस्र्याएका छन् । ‘०७८ साल संसिर १० गते दिउँसो १२ः२६ मा तथ्यांक विभागको वेबसाइटले जनाएअनुसार त्यतिखेरको जनसंख्या ३ करोड ५ लाख ३८ हजार ४०४ थियो । अहिले वेबसाइट खुल्दैैन । पछिल्लो जनसंख्या २ करोड ९१ लाख भनियो । दुई–अढाई महिनाको अन्तरालमा करिब १४ लाख नेपालको जनसंख्या कुन महाप्रलयमा हरायो ?,’ उनले प्रश्न गरे ।

नयाँ जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको छ । महिलाको जनसंख्या १ करोड ४९ ललाख १ हजार १६९ पुगेको छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ । यसअघि २०६८ मा भएको जनगणनामा नेपालीको संख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

त्यस्तै काठमाडौंको जनसंख्या २० लाख १७ हजार पुगेको छ भने मनाङमा सबैभन्दा कम ५ हजार ६५४ जनसंख्या रहेको जनाइएको छ । विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ ।

तर, यतिबेला अधिकांशले जनगणनामा आफू नसमेटिएको गुनासो गर्न छोडेका छैनन् ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईं जनमानसबाट आफू छुटेको गुनासा आउनु स्वभाविक भएको बताउँछन् । उनको अनुमानमा काठमाडौंमा रहनेले यस्तो गुनासो गरेको हुन सक्छन् ।

काठमाडौंबाहिर भने पटक–पटक गणक पुगेको उनको दाबी छ । उनका अनुसार काठमाडौंमा कतिपय ठाउँका व्यक्ति आफैं सम्पर्कमा आउन चाहेनन् । जनगणनामा सहभागी हुन नखोजेपछि तथ्यांक लिनेकोमात्रै दोष नभएर दिनेको पनि दायित्व रहने उनी बताउँछन् ।

अझ कतिपय ठाउँमा घरबेटीले गणक आउँदा ढोकासमेत नखोलेको पनि उनले बताए । ‘कतिपयले गणहरू जाँदा ढोका नखोलेको पनि गुनासो आयो । यस्तोमा कसरी तथ्यांक लिने ?’ उनले भने, ‘यो दायित्व त लिनेकोमात्रै नभएर दिनेकोे पनि त हो ।’
अमेरिकाजस्तो विकासित मुलुकमा पनि जनगणना गर्दा दुईदेखि तीन प्रतिशत जनता छुटेको उदाहरण पस्किदैंं उनले यस्तो हुनुलाई स्वभाविक मान्नुपर्ने बताए ।

सरकारले गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्मको समयलाई गणनाको लागि तोेकेकोे थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:४१:००