NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

देउवालाई मुस्किलको बहुमतमा छैन भर, सरकार बने पनि डरैडर

सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि नयाँ सरकार गठनको ‘कोर्स’ तत्काल अघि बढ्ने अपेक्षा थियो। त्यतिखेर धेरैले संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्रीका रूपमा हेरेका थिए।

तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल १२ फागुनमा देउवा निवास पुगेर आगामी सरकारको नेतृत्व लिन सुझावसमेत दिएका थिए।

तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको आधिकारिकता विवादमा एमाले र माओवादीलाई ब्यूँताइदिएपछि परिस्थिति एकाएक फेरियो।
५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा प्रधानमन्त्री केपी ओली सबैभन्दा कमजोर बनेका थिए। एमाले र माओवादी ब्यूँतिएपछि भने उनी झन् शक्तिशाली हुँदै गए। परीणाम ओली आक्रामक र झन रक्षात्मक अवस्थामा पुगेको देखिँदैछ। ओलीलाई जसरी पनि पाखा लगाउन चाहने नेपाल समूह असन्तुष्टि एवं अपमानका बाबजुत कानुनी रूपमा उनीसँगै बस्न बाध्य छन्।

साविक एमाले र माओवादी ब्यूँतिएपछि ओलीको विकल्पमा सरकार गठन गर्न चाहिने १३८ सिट अन्य दलका लागि निकै सकस परिरहेको छ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका ओली जनता समाजवादी पार्टीलाई साथ लिएर सरकार टिकाउने ध्ययका साथ अघि बढिरहेका छन्। यसका लागि उनी नेतृत्वको सरकारले थारू समुदायका नेताहरू पनि छलफल गरेको छ।

ओलीले सके आफ्नै सरकार टिकाउने नभए, चुनावमा जाने दुई वटै विकल्पलाई खुला राखेका छन्। तर, कांग्रेस, जनता समाजवादी पार्टी दोधारमा परेका छन्। उल्टै जसपाको बहुमत हिस्सा ओलीतिर नजिकिएको छ। ओलीप्रति चरम असन्तुष्टिका बावजुत माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन। यसमा प्रदेश सरकार पनि जोडिन्छन्।

जसपा सत्तामा ठूलै भागवण्डाका साथ सहभागी हुन ओली र उनीविरुद्धका दलसँग संवादमै छ। तर, एमालेपछि सरकारका लागि सबैभन्दा पहिलो दाबेदारी गर्नुपर्ने कांग्रेसले अस्वभाविक मौनता साँधिरहेको छ।

कांग्रेस सभापति देउवाले सत्ता र शक्तिका लागि आफ्ना सबै प्रयासलाई खुल्ला भनिरहेका छन्। देउवा तिनै परिचित अनुहार हुन्, जसले अस्वभाविक मौनता साँधिदिएपछि ओली सरकारको विकल्प कठिन देखिएको छ। प्रतिनिधिसभामा एमाले १२१ सिट, कांग्रेस ६३ (२ सांसद निलम्बनपछि) ६१ सिट, माओवादी केन्द्र ५३ (४ सांसद एमालेतिर एक सभामुख (कानुनतः मतदान गर्न पाइँदैन) ४८ र जसपा ३४ (२ सांसद निलम्बनपछि) ३२ सिटको हैसियतमा छन्।

माओवादी केन्द्र सत्ताबाट बाहिरिए ओलीले आफ्नै नेतृत्वको सरकारको निरन्तरताका लागि जसपाको मात्रै समर्थन लिए पुग्छ। माओवादीले समर्थन फिर्ता लिए आफूतिर सकारात्मक जसपाको सिङ्गो टिमको सहयोग लिने, त्यो सम्भव नभए महन्थ ठाकुर र राजेन्द्र महतोलगायत साथ लिएर बहुमत पुर्याउने प्रयास ओलीले अझै छोडिसकेका छैनन्। यद्यपि नेपाल समूहले फ्लोर क्रस गरे ओलीका लागि यो भरपर्दो विकल्प होइन।

ओलीको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिँदा मात्र १३८ बुहमत प्ग्छ। यसकै लागि मंगलबार मात्र देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको छ। तर, यी तीन दल मिलेर सरकार बनाउने वातावरण अझै बनिसकेको छैन।

तीन दल मिल्दा पनि सरकार गठन गर्न आवश्यक पर्ने १३८ भन्दा तीन सिट मात्र बढी हुन्छ। यस अवस्थामा पहिलो कुरा देउवाले प्रधानमन्त्री बन्नै कठिन, बनि हालेमा टिकाउन झन् कठिन देखेका छन्।

सभापति देउवाका विश्वासपात्र एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत सरकार गठनका लागि बहुमत पुग्ने गरी गतिविधि नै नभएको बताउँछन्। जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग संवादमा रहेको भन्दै महतले विकल्पमा बहुमत जुट्नेमा आशंका व्यक्त गरे। ‘सरकार बनाउन संख्या (बहुमत) नभई हुँदैन। मधेसी दल उतै (ओलीतिरै) कुरा गरिरहेका छन्। उनीहरूले कार्यदल बनाएरै कुरा गर्नु भनेको उता नै सहज महसुस गर्नुहोला,’ महतले नेपालवाचसँग भने, ‘जसपा आउँदा बहुमत पुग्छ। बहुमत पुगेपछि मुस्किल भन्ने त हुँदैन। बहुमत पुग्दा हामी सरकार गठनका लागि तयार छौं भनेकै छौं। तर, जसपाका नेताहरु आउँदै आउँदैनन्। उनीहरुको एउटा समूह कांग्रेससँगको गठबन्धनको लागि तयार छैन।’

जससामा महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिर र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेसतिर नरम देखिएका छन्। जसपा अनिर्णित भएकोले बहुमत पुर्याउने गरी माहोल नै नबनेको महत बनाउँछन्।

बहुमत पुग्ने छैन भर, जेनतेन पुगे धेरै नटिक्ने डर
ओलीको विकल्पमा १३८ सिट पुर्याउन अहिले कांग्रेस र माओवादी केन्द्रलाई सकस परिरहेको छ। बहुमत पुर्याउन तीन दल मिल्दा बल्ल १४१ सिट पुग्छ। तर, पुरानो नजीरको ख्याल गरिरहेका देउवा यस्तो जोखिममा हाम फालिहाल्ने अवस्थामा छैनन्। कांग्रेसको एकल सरकार आफ्नै पार्टीको अन्तरविरोधले गिरेको इतिहासले पनि देउवा यसपटक अलि बढी नै डराएका देखिन्छन्।

२०४८ को चुनावपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतको सरकार गिर्दा छत्तिसे र चौहत्तरे समूह चर्चित थिए। कोइरालाको पक्षमा ७४ र विरोधमा ३६ जना सांसद थिए। नेपाली राजनीतिमा यस घटनालाई छत्तिसे र चौहत्तरे समूहको रुपमा चिनिन्छ।

त्यसबेला कोइरालासँग असहमत छ। छत्तिसे समूहले उनले ल्याएको नीति कार्यक्रममा भोट नहाल्दा सरकार नै गिरेको थियो। सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएपछि देश कोइरालाले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त सरकार गिराउँदा छत्तिसे समूहमा देउवा पनि थिए। त्यसबेलाको खेलको जानकार देउवा मुस्किलले बहुमत पुर्याएर सरकार बनाउन निकै जोखिम हुने र बने पनि टिकाउन उत्तिकै सकस हुने ठम्याईमा रहेका उनी निकटहरू बताउँछन्।

ओलीले आफ्नै दल नेपाली कांग्रेस वा जसपाका कम्तिमा ५÷७ जना मात्र सांसदलाई यताउती गरि दिए भने आफ्नो नेतृत्वमा सरकार नबन्नेमा देउवा उत्तिकै सचेत छन्। आफ्नो पार्टी कांग्रेस भन्दा पनि सत्तामा जान टुटफुटको लामो श्रृखला भोग्दै आएको जसपाबाट धोका पाइने खतरा देउवाले देखेका छन्।

असोज २०७२ कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीबीचमा प्रधानमन्त्रीमा प्रतिस्पर्धा भएको थियो। त्यो प्रतिस्पर्धामा ५८७ सभासदले मतदान गरेका थिए। जसमा ओलीले ३ सय ३८ मत प्राप्त गरे भने कोइरालाले २ सय ४९ मत मात्रै पाए। नेपाली कांग्रेसकै बद्री पाण्ड र जीवन परियार कोइरालालाई मत दिने बेलामा जुस पिउन अल्मलिएका थिए। यस पटक देउवालाई मत दिने बेलामा पनि आफ्नै सांसस ओली जादुमा परेर शुशील कोइरालाकै पालामा जस्तो जुसमा अल्मलिएलान कि भन्ने त्रास पनि देउवालाई उत्तिकै छ।

असोज ०७२ मा हार्ने प्रष्ट हुँदाहुँदै पनि कोइराला प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न राजी भएको विषय पार्टीभित्र निकै आलोचित बनेको थियो।
अहिले पनि मुस्किलले बहुमत पुगे पनि विभिन्न स्वार्थसामू झुक्दा सरकार गठन धरमर हुने बुझाई देउवाको छ। त्यसैले छोटो समयका लागि देउवा प्रधानमन्त्री बनिहाल्ने सोच नरहेका उनी निकटहरू बताउँछन्। देउवाले मुस्किलको बहुमतबाट प्रधानमन्त्री बन्नुभन्दा बरू अहिलेकै संक्रमणकालीन अवस्थालाई केही समय लम्ब्याएर देशलाई निर्वाचनसम्म लाने नीति पनि लिएका छन्। देउवाको यो शैलीलाई केहीले ओलीसँगको साँठगाँठ पनि भन्ने गरेका छन् ।

‘प्रष्ट बहुमतसहित आफू नेतृत्वको सरकार टिक्ने सुनिश्चित भए मात्रै सभापति प्रधानमन्त्री बन्नु हुन्छ,’ देउवा निकट स्रोत भन्छ, ‘अन्यथा यो प्रक्रिया लम्बिंदै गएपछि देश निर्वाचनमा नै जान्छ। त्यो निर्वाचनबाट कांग्रेसकै बहुमत आउँछ। देउवा त्यही बेला प्रधानमन्त्री बन्नु हुन्छ।’

यही कारण देउवाले ओलीविरुद्ध उभिनै परे माओवादी केन्द्र र पुरै जसपाबाट लिखित प्रवितवद्धता आएमात्रै प्रधानमन्त्रीमा अघि बढ्ने सन्देश दिइरहेका छन्। एमाले र माओवादी छुट्टिदा अब हुने चुनावबाट कांग्रेसलाई ठूलो दल बनाउन सकिने देउवाको दाउ छ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७, ०७:१९:१६

ताजा अपडेट

नेपालवाच विशेष