NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तंग्रिएका बाबुराम, फैलिरहेको गाई फार्म

काठमाडौं । मध्य चैतको दिउँसो। सुन्दरीजलस्थित ओजस्वी एकीकृत कृषि फार्ममा दूध दुहुने बेला भएको छ । २ सय २५ गाई रहेको फार्ममा २८ जना कामदार एकसाथ काममा जुटेका छन् । कृषक बाबुराम कार्की भने कामको निगरानी गरिरहेका भेटिए ।

फार्मभन्दा केही परतिर अर्को संरचना बन्दै छ, जसमा केही समयपछि दूध डेरी खुल्दै छ । त्यसको पनि व्यवस्थापन हेर्नुपर्ने भएकोले उनलाई भ्याइनभ्याई छ । केही दिन व्यस्तताले भेट्न नभ्याएका कार्कीले हामीलाई भेटेपछि भने, ‘के गर्नु उता भवन बन्दै छ । यता काम भइरहेको छ । फुर्सद नभएर तपाईंहरुलाई पनि कुराउनु पर्‌यो ।’

आफूलाई फार्मको मालिकभन्दा पहिले कृषकको रुपमा चिनाउने कार्कीले अब फार्म मात्रै नभएर आफ्नै डेरी सञ्चालन गर्ने सोच बनाएका छन् । फार्मछेउ बनिरहेको संचरनामा केही समयपछि फार्मकै दूधले पनिर र चिज बन्नेछ । कार्की भन्छन्, ‘आफ्नै फार्मलाई हरेक तवरले आत्मनिर्भर बनाउन लागिपरेका छौं ।’

तीन वर्षअघि उनको फार्ममा आगलागी भएको थियो । त्यसबेला गोठमा बाँधिएका गाईको दाम्लो फुकाल्न भ्याएनन् । अधिकांश गाई मात्र मरेनन्, दुःखजिलो गरेर ठड्याएको फार्म नै खरानी भयो, सपना पनि जल्यो ।

फार्ममा गाईको स्याहारमा लागेकाहरूको दैनिकी बिहान ३ बजेबाट सुरू हुन्छ । ११ बजेसम्म सबै काम सकाएर कामदार आराम गर्नतिर लाग्छन् । तीन वर्षअघि काम सकेर कामदारहरु आराम गरिरहेका बेला विद्युत सर्ट भएर आगलागी भएको थियो । कार्कीलाई त्यो घटना फेरि सम्झिनु नपरोस् जस्तो लाग्छ । हाम्रो आग्रहपछि त्यस दिनको क्षतिबारे उनले सुनाए, ‘करिब ३ मिनेट मात्रै आगो लागेको हो । ९७ वटा गाई आँखाैअघि जलेर मरे । केही गाई दाम्लो चुँडाएर भागेर बाँचेछन् ।’

उनका अनुसार आगलागीबाट झन्डै साढे ४ करोड बराबरको क्षति भयो । उनलाई सम्पत्ति खरानी भएकोमा त्यति दुःख लागेन, जति दिनहुँ स्याहार गर्ने गरेका गाईंहरु जलेर मारिँदा लाग्यो । त्यतिबेला घाइते भएका केही गाई अहिले पनि फार्ममा छन् । ‘१ सय २२ वटा गाई थिए । जलेर घाइते भएका ९ वटा अहिले पनि यहीं छन्,’ गोठमा बाँधिएका गाईतर्फ इशारा गर्दै उनले भने, ‘दुई वटाले अहिले पनि दूध दिँदैनन् । तीन वटाको नियमित जाँच गराइरहनु पर्छ ।’ ति गाईको नियमित स्याहारमा खटिँदा हरेक दिन उनी उही स्मृतिमा पुग्छन् र बिथोलिन्छन् ।

विस्तारै सम्हालिँदै बाबुराम फेरि उही स्थानमा नयाँ फार्म खोल्न लागिपरेका छन् । फार्मले आकार पनि लिँदै छ । पहिलेको भन्दा धेरै गाइ र बाख्रा छन् । नजिकै घाँस पनि रोपेका छन् । फार्मबाट संकलन हुने मललाई सदुपयोग गर्न केही जमिनमा तरकारी खेती पनि गरेका छन् ।

कार्कीले परिवारको जीविका धान्न गाई पाल्न सुरु गरेका थिए । दुई वटा गाईबाट सुरु गरेको फार्मले पछि व्यावसायिक रुप लियो । ओखलढुंगाबाट आएर काठमाडौंको चाबहिलमा बसेको कार्की परिवारले थालेको गाईपालनको तरिका पछि थुप्रै परिवारसम्म पुग्यो । ‘आफ्नो घरका लागि भनेर गाई पाल्न थालेका थियौं । पछि छिमेकीले पनि गाई किन्न थाले । मलाई पनि थप्न मन लाग्यो । विस्तारै-विस्तारै आकार बढ्दा यहाँसम्म आइपुगिएको छ,’ उनले भने ।

चाबहिलपछि उनले खरिपाटीमा व्यवसाय फैलाए, ७ वटासम्म गाई पाल्न थाले । ‘मिल्कमाण्डु’ नामको कम्पनीले उनको फार्मबाट उत्पादित दूध किन्न थाल्यो । कार्की भन्छन्, ‘त्यसपछि त माग ह्वात्तै बढ्यो ।’ अब त्यही ठाउँ सानो हुन थाल्यो । व्यवसायलाई ठूलै आकार दिने सोचले उनले सुन्दरीजलमा जग्गा भाडामा लिए र संरचना बनाए । गाई थप्दै गए । आगलागी हुँदा उनको फार्ममा १२२ वटा गाई थिए । व्यावसायिक रुपमा फार्म सञ्चालनमा ल्याएको दुई वर्ष पनि पुगेको थिएन, बाबुरामलाई बज्रपात पर्‌यो । भन्छन्, ‘अहिले त्यो घटना सम्झिन पनि मन लाग्दैन ।’

आगलागीले फार्म र गाई खरानी भए तर उनमा रहेको सीप र लगन उस्तै थियो । पछिल्ला ३ वर्षमा त्यो घटनालाई पाठ सिक्दै उनले यसअघि गरेका गल्तिलाई सच्याएका छन् । त्यत्तिबेला उनले ७० वटा गाईको मात्रै बिमा गराएका थिए । बाँकी गाई र फार्मको भने बिमा थिएन् । अहिले उनको फार्ममा रहेका सबै गाइ, बाख्राको बिमा छ । ‘फार्मको बिना नगर्ने त झन् कुरै भएन,’ कार्की भन्छन्, ‘त्यो बेला बिमा गरेको भए केही राहत हुन्थ्यो । आगलागीको त्यो घटनाले पाठ सिकाएको छ ।’

कार्की समय, रहर र बाध्यताले बनेका कृषक हुन् । त्यो भयावह क्षणबाट गुज्रिएपनि उनमा गाई पाल्ने रहर यथावत थियो । भन्छन्, ‘मसँग अनुभव थियो । चटक्कै यो पेशा छाडेर अर्कोमा लाग्न पनि सक्दैनथें । अर्कातिर सवा दुई करोड जति ऋण थियो । पछि हट्ने सम्भावना पनि थिएन । जागिरले नै ऋण तिर्ने अवस्था पनि थिएन । त्यसैले फेरि फार्ममै फर्किएँ ।’

उनी प्रध्यापक पनि हुन् । त्रिभुवन विश्वविद्यालयमा साताको दुई दिन ‘माइक्रो-इकोनोमिक्स’ पढाउँछन् । त्यसबाहेकको समय भने फार्ममै बित्छ ।

आगलागीपछि बिमाको रकम बापत उनले ६० लाख रुपैयाँ मात्रै पाए । तर तिर्नुपर्ने रकम त्यसको पाँच गुणा जति थियो । सरकारी राहतको लागि ढोका ढक्ढक्याए । तर राहतको रुपमा मात्र ४ लाख रुपैयाँ पाए । ‘त्यो ४ लाखले के हुन्थ्यो र ? मरेका गाइ पुर्नै १० लाख लागेको थियो,’ उनले गुनासाे गरे । राहतका लागि दिनहुँजसो सरकारी कार्यालयमा धाएका कार्की ती दिन सम्झिदाँ पश्चाताप गर्छन् । ‘त्यहाँ जानुको साटो मैले गाईकै उपचार गरेको थिएँ भने धर्म हुन्थ्यो । बेलैमा गाइहरु तंग्रिने थिए,’ उनले भने ।

कृषिमा आत्मनिर्भर हुन चाहनेका लागि यस्ता घटनाले उर्जा हैन राज्यको लापरबाहीको असली अनुहार उजागर गरिदिएको उनको भनाइ छ । ‘कृषिप्रधान देश भन्छन् । प्रधानको अर्थ के हो ? सबै छोडेर प्राथमिकता दिनु हैन र ? तर वास्तविकता त तपाईं हामीलाई थाहै छ,’ उनले निराशा व्यक्त गरे ।

कुराकानीकै बीच फार्ममै बनेको दही हाम्रो लागि आइपुग्यो । घाममा बसेर दही खाँदै उनले भने, ‘आजसम्म कुनै किसानलाई राज्यले राम्रो काम गरेवापत सम्मान गरेको सुन्नु भएको छ ? जसरी अस्पतालको इमर्जेन्सीमा बिरामीलाई पुर्‌याउँदा डाक्टरले एक शब्द पनि नसोधी उपचार थालिहाल्छ, त्यसैगरी कृषिप्रधान भनेपछि अरु सब कुरा छोडेर कृषिलाई नै प्राथामिकता दिनु नि ।’

बाबुरामलाई राज्यसँग चरम गुनासो त छ । तर राज्यले नसुने पनि उनलाई फरक पर्दैन । मात्र देखावटी र प्रचारको लागि कृषिप्रधान नभनिदिए हुन्थ्यो भन्ने आकांक्षा भने उनको मनमा छ । दहीको अन्तिम घुट्की लगाउँदै उनले भने, ‘हामी कृषकलाई थाहा छ देश कृषिप्रधान छ की छैन भनेर । कसैले प्रधान भन्दैमा प्रधान हुँदैन । व्यवहारमा हुनुपर्थ्यो तर भएन ।’

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७, १६:४६:५६