जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेको बताए ।
‘मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिइएको छ’, उनले भने, ‘यसर्थ, महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।’
मन्त्री कार्कीले संविधानसँग बाँझिएका कानूनलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि सरकारलाई सुझाव दिएको पनि जानकारी दिए ।
सत्ता गठबन्धनको बैठक आज दोस्रोपटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित चार दलका शीर्ष नेता सहभागी छन् ।
बैठकमा राष्ट्रिय जनमोर्चा (राजमो)का प्रतिनिधि भने थिएनन् ।
पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको बालुवाटारनिकट स्रोत जनाएको छ ।
यद्यपि, पछिल्लो समय एमसिसीलगायत केही विषयमा राजमोभित्र असन्तुष्टि छ । यसर्थ, कतै राजमो गठबन्धनबाट अलग त भएको होइन ? भन्ने प्रश्न भने उठेको छ ।
प्रतिक्रिया