NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातले विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ ।

हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए । विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन् ।

विद्युत् अवरुद्ध भए पछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत्का खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए ।

हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ । हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।