NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सम्झिने छौं, ‘बाचुञ्जेलीलाई…’

जब लताको गीत सुनेर जवाहरलाल नेहरूसमेत रोए

काठमाडौं । संगीतमा शितल छहारी दिँदै आएको एउटा पिपल वृक्ष ढलेको छ । कलाकारहरूको शिरमा आशिर्वाद दिइरहने एउटा हात अब रहेन । ‘भारतकी नाइटिंगेल’ महान् गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण एसिया र विश्वभरिका संगीत अनुरागी, स्रोता मात्र होइन, सिंगो पूर्वीय मानव सभ्यता यतिबेला स्तब्ध छ ।

‘प्राकृतिक सुर’ कि धनी लताको स्वर भारतीय चलचित्रको पाश्र्व गायनमा फिमेल भ्वाइसको पर्याय नै बन्न पुगेको थियो । लतापछिका हरेक गायिकाले लताकै सुर परम्परा पछ्याए र पछ्याइरहेकै छन् । यस हिसाबले लताको निधन एउटा होइन, दुइटा युगको अन्त्य हो ।

खासमा बडे गुलाम अली खाँले लताले कहाँनेर बेसुरा गाउँछे भनेर सुनेका रहेछन्, कतै बेसुरा नभएपछि त्यसो भनेका रहेछन्

एउटा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) चलचित्रको युग, अर्को रंगीन चलचित्रको युग । मीनाकुमारी, नरगिस दत्त, वहिदा रहमान, आसा पारेखदेखि पछिल्ला माधुरी दीक्षित र काजलसम्मका नायिकामा आफ्नो स्वर फिट गराउन सक्ने महान् गायिका लताको निधनले भारतीय संगीतमा एउटा रिक्तता महसुस गराएको छ ।

नेहरूलाई रुवाउने लता

भारत स्वतन्त्र भएपछिका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूमा समेत लताको स्वरको प्रभाव परेको इतिहास छ । नेहरू सार्वजनिक स्थानमा हतपत्त नरुने र अरूले पनि रोएको देख्न नसक्ने स्वभावका नेता थिए ।

सन् १९६३ जनवरी २७ मा नेहरू समेत उपस्थित रहेको एक कार्यक्रममा लता मंगेशकरले ‘ए मेरे बतन के लोगो, जरा आँखो मे भर लो पानी (हे मेरो देशका मानिस हो, आँखामा आँसु भर)’ बोलको कवि प्रदीपले लेखेको गीत गाइन् । यो गीत सुन्नासाथ प्रधानमन्त्री नेहरूका आँखाबाट बर्रर आँसु खसे ।

गाइसकेपछि लता मंगेशकर स्टेज पछाडि गएर कफी पिइरहेकी थिइन्, निर्देशक मेहबुब खानले आएर लतालाई भने, ‘तिमीलाई पण्डितजी (नेहरू) ले बोलाउनु भएको छ ।’

निर्देशक मेहबुबले लतालाई नेहरूसमक्ष लगेर भने, ‘यिनै हुन् हाम्री लता । तपाईंलाई उनको गीत कस्तो लाग्यो ?’

नेहरूले भने, ‘बहुत् उम्दा, यी नानीले मलाई रुवाएरै छाडिन् ।’

यति भन्दै नेहरूले लतासँग स्नेही अंकमाल गरे ।

तत्काल लताले त्यो साँझ गाएको गीतको मास्टर टेपलाई रेडियो विविध भारतीको स्टेशन पुर्‍याइयो । एचएमभी (हिज मास्टर्स भ्वाइस) नामक कम्पनीले यो गीतलाई बजारमा पुर्‍यायो र पूरै भारतभरि ‘ए मेरो बतन के लोगो’ राष्ट्रभाव झल्काउने आइकन गीत बन्न पुग्यो ।

आफैं आफ्नो प्रतिस्पर्धी

सन् १९४९ मा चलचित्र ‘अन्दाज’ प्रदर्शनमा आएपछि हिट गीत सूचीको पहिलोदेखि पाँचौं नम्बरसम्मको स्थान सदा लताकै नाममा रह्यो । तर लताको पाश्र्वगायन यात्राले त्यसबेला तीव्र उडान भर्‍यो, जब उनले सन् १९४९ मै बनेको राजकपुर र नरगिशदत्त (संजयदत्तकी आमा) अभिनीत चलचत्रि ‘बरसात’को चर्चित गीत ‘बरसात मे हमसे मिले तुम सजन, तुम से मिले हम’ गाइन् ।

तिनताक लताका अन्य प्रतिस्पर्धी गायिका थिए, गीता राय, समसाद बेगम, जोराबाई अम्बालावाली, पारुल घोष, अमिर बाई कनांटकी । तर सन् १९४८ मा चलचित्र ‘महल’ प्रदर्शनमा आएपछि उनका यी सारा प्रतिस्पर्धी गायिका एक–एक गरेर किनारा लागे, लताको सुर उपस्थिति सबैलाई भारी भयो । लता आफ्नो प्रतिस्पर्धी आफैं भइन् । एकपछि अर्को उत्तिकै हिट गीत गाउनुपर्ने चुनौतीमा उनी खरो उत्रँदै गइन् ।

जब सन् १९५० मा लताले आफ्नो हिट नम्बर ‘आएगा आनेवाला’ गाइन्, त्यो बेला अल इण्डिया रेडियोमा चलचित्र संगीत प्रसारण गर्न निषेध थियो । त्योबेला रेडियो सिलोनको प्रसारण सुरु भइसकेको थिएन । भारतवासीले पहिलो पटक रेडियो गोवाबाट लताको आवाज सुने । किनकि, गोवा त्योबेला पोर्चुगलको कब्जामा थियो, जसलाई भारतीय सेनाले सन् १९६१ मात्र स्वतन्त्र गराएका थिए ।

‘कमबख्त, कहिल्यै बेसुरा नगाउने भई’

चर्चित शास्त्रीय संगीतकार पण्डित जसराजले लताका बारेमा एउटा रोचक प्रसंग सुनाएका थिए । एकपटक पण्डित जसराज अर्का उस्ताद बडे गुलाम अली खाँ साहबलाई भेट्न अमृतसर गएका थिए । दुवै उस्तादबीच कुराकानी हुँदै थियो, ट्रान्जिस्टरमा लताले गाएको ‘यही जिन्दगी उसी की है, जो किसिका होगया’ सुनियो ।

‘गुलाम अली खाँ साहब कुरा गर्दा–गर्दा एकाएक मौन हुनुभयो, जब गीत समाप्त भयो, अनि खाँ साहबले भन्नुभयो, कमबख्त, कहिल्यै बेसुरा नगाउने भई’, पण्डित जसराजले आफ्नो अन्तर्वार्तामा भनेका छन् ।

खासमा बडे गुलाम अली खाँले लताले कहाँनेर बेसुरा गाउँछे भनेर सुनेका रहेछन्, कतै बेसुरा नभएपछि त्यसो भनेका रहेछन् ।

‘पुरिया धनाश्री’बाट सुरु भएको यात्रा

लताले पाँच वर्षको उमेरदेखि नै गाउन थालेकी हुन् । नसरिन मुन्नी कविरको किताब ‘लता इन हर ओन भ्वाइस’मा स्वयं लताले भनेकी छिन्, ‘म मेरा पिताजी दीनानाथ मंगेशकरले गाइरहेको देख्थेँ, सुन्थेँ । तर उहाँको सामुन्ने गाउने ममा हिम्मत हुँदैनथ्यो । एकपटक पिताजी आफ्ना चेलालाई राग पुरिया धनाश्री सिकाइरहनुभएको थियो । केहीबेरका लागि उहाँ कोठाबाट बाहिर जानु भयो । म बाहिर खेलिरहेकी थिएँ । मैले पिताजीका चेलाले गाइरहेको सुनेँ । मलाई लाग्यो, चेलाले सही ढंगले गाइरहेका छैनन् । म उसको छेउ गएँ, अनि आफैंले गाएर बताएँ कि यसरी गाउनुपर्छ । जब पिताजी आउनु भो, ढोकानेर उभिएर मैले गाएको सुन्नु भो । अनि मेरी मातालाई बोलाएर भन्नु भो, मलाई अहिलेसम्म थाहा थिएन कि हाम्रो घरमा एउटी कुशल गायिका छिन् भनेर ।’

अर्को दिन बिहान ६ बजे उनका पिताजीले लतालाई उठाएर भने, ‘तानपुरा उठाऊ, आजबाट तिमी गाउन सिक्नेछौं ।’

यसरी पाँच वर्षको उमेरबाटै प्रारम्भ भएको थियो, लताको संगीत यात्रा । संगीत प्रशिक्षणको प्रारम्भ त्यही पुरिया राग धनाश्रीबाट भएको थियो । सरगम, अलंकार त पछिको कुरा भयो ।

यसरी सिकिन् गाउने टेक्निक

हुन त, लताले कैयौं संगीतकारहरूसँग काम गरेकी छन् । तर, संगीतकार गुलाम हैदरका लागि उनको मनमा विशेष स्थान थियो । हैदरले लतालाई एउटा गायन कला सिकाएका थिए । त्यो थियो, बिटमा आउने शब्द उच्चारणमा विशेष जोड दिनुपर्छ । उठाउँदाको शब्द र बैठानको शब्दमा पनि विशेष दम भर्नुपर्छ । बीचका शब्दहरूलाई चाहिँ लताझैं लहरिन दिनुपर्छ ।

अर्का संगीतकार अनिल विश्वासले रेकर्डिङ कला सिकाउँदै भने, ‘लता, माइकमा गाउँदा दुइटा शब्दको बीच ग्यापमा स्वास लिनुपर्छ । स्वास लिँदाको क्षण मुखलाई माइकबाट अली पर लैजाऊ, गाउँदा फेरि नजिक ल्याऊँ ।’

तन बुढो, स्वर तन्नेरी

लता मंगेशकर नै यस्ती गायिका हुन्, जसको उमेर त बढ्दै गयो, तर स्वर भने जवान हुँदै गयो । लताकै स्वरमा अभिनय गर्ने पुराना नायिकाहरू अधवैंशे भइसक्दा पनि लताको स्वरचाहिँ भर्खरका सोह्र सत्र वर्षे नवनायिकाहरूको अभिनयमा फिट भइरहेको थियो । अर्थात् तन बुढो भए पनि स्वर तन्नेरी ।

त्यसैले त सन् १९६१ मा प्रदर्शित चलचित्र ‘जंगली’मा लताले नवोदित नायिका सायरा बानोका लागि ‘काश्मीरकी कली हुँ’ बोलको गीत गाइन्, जसमा कलिलो केटीले गाउनेजस्तो स्वर छ ।

‘काश्मीर की कलि हुँ’ गाउँदा लताको स्वरमा जुन मादकता थियो, त्यही मादकता १२ वर्षपछि अर्की नयाँ नायिका जया भादुडीका लागि गाउँदा पनि थियो । चलचित्र ‘अनामिका’मा ‘बाहोंमा चले आओ’ बोलको गीत गाउँदा लताको स्वर झन् तरुण सुनियो ।

हुँदा–हुँदा सन् १९८५ पछि माधुरी दीक्षित, काजोल, प्रिति जिन्टाजस्ता नयाँ नायिकाको अभिनयमा पनि लताको स्वर उत्तिकै फिट भयो ।

लता र नुरजहाँको अदभूत मिलन

लतासँग जोडिएको एउटा प्रसंगले संगीतमा सीमाको भेद हुँदैन भन्ने सार्वभौम सत्य उदघाटित गर्छ । यो प्रसंग हो, लता मंगेशकर र अर्की महान् गायिका नुरजहाँको पुनर्मिलन ।

पहिला भारतमा रहेकी र पछि पाकिस्तान गएकी गायिका नुरजहाँ र लताबीच घनिष्ठ मित्रता थियो । लामो समय भएको थियो, दुई सखीको भेट नभएको । सन् १९५२ मा लता एक पटक अमृतसर पुगेकी थिइन् । उनलाई नुरजहाँसँग भेट्न मन लाग्यो, जो अमृतसरबाट दुइघण्टा पर लाहौरमा बस्थिन् ।

तत्काल फोन सम्पर्क गरियो, लता र नुरजहाँले घण्टौं फोनमा कुराकानी गरे । अनि दुवैले सल्लाह गरे, भारत र पाकिस्तानको सीमामा एकआपसमा भेट्ने ।

प्रख्यात संगीतकार श्री रामचन्द्रन आफ्नो आत्मकथामा लेख्छन्, ‘मैले आफ्नो सम्पर्क सूत्रबाट लता र नुरजहाँको भेटघाटको तारतम्य मिलाइदिएँ । त्यो भेटघाट वागह सीमा नजिक त्यो क्षेत्रमा भएको थियो, जसलाई सैन्य भाषामा ‘नो म्यान्स ल्याण्ड’ भनिन्छ । जसै नुरजहाँले लतालाई देखिन्, उनी दौडँदै आइन् र कुनै विछोडिएको मित्रझैं झ्याप्प अंकमाल गरिन् । दुवै महान् गायिकाको आँखाबाट आँसु बर्सिरहेको थियो । हामीले पनि आफ्नो आँसु रोक्न सकेनौं । हुँदा–हुँदा भारत र पाकिस्तान दुवैतर्फका सेनाहरू पनि रुन थाले ।’

नुरजहाँले लताका लागि लाहोरबाट बिरयानी र मिठाइ उपहार ल्याएकी थिइन् । यो घटनाले बताउँछ कि संगीतमा कुनै पनि कुराले बाधा हाल्न सक्दैन ।

लता र मोहमद रफीको झगडा

लताले धेरै गायकहरूसँग गाइन्, तर मोहमद रफीसँग गाएका गीतलाई स्रोताले धेरै मन पराए । साठीको दशकमा आफूले पाउने गीतको रोयल्टीलाई लिएर लता र मोहमद रफीबीच मतभेद भयो । यो लडाइँमा गायकहरू मुकेश, तलत महमुद, किशोर कुमार र मन्नाडे लताको पक्षमा थिए । तर आश्चर्य, गायिका आशा भोषले चाहिँ मोहमद रफीको पक्षमा थिइन् ।

चार वर्षसम्म लता र मोहमद रफी दुवैले एकअर्कालाई ‘बाइकट’ गरे । दुवैले एकसाथ कुनै गीत गाएनन् । अन्ततः संगीतकार सचिनदेव बर्मनले दुवैलाई मिलाए, संगीतका दुई महाशक्ति कलाकारबीचको शीतयुद्ध समाप्त भयो । अनि त भारतीय पार्श्व संगीतमा यो गायन जोडीले एकपछि अर्को गीत दिँदै गयो, इतिहास लेख्दै गयो ।

सम्झिने छौं, ‘बाचुञ्जेलीलाई…’

गायिका लता मंगेशकरसँग नेपालको पनि उत्तिकै घनिष्ठ साइनो छ । हालसम्म ३६ वटा भाषामा गीत गाएकी लताले नेपाली गीतमा पनि स्वर दिएकी छन् ।

उनले गाएको अन्तिम नेपाली गीत रामकृष्ण ढकालसँगको युगल गीत हो । आनन्द अधिकारीले रचेको ‘बाचुञ्जेलीलाई’बोलको यो गीतमा लताको तरुणकालीन मिठास त छैन, तर इतिहासको यो अनुपम रेकर्डचाहिँ हो ।

एक ताका रेडियो नेपालमा खुबै बज्थ्यो, ‘आकाशको तिरमिर तारा म गन्न सक्दिनँ’ । मबिबी शाह (राजा महेन्द्र) ले लेखेको यो गीतमा हेमन्तकुमारको संगीत छ । लताले गाएको यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ ।

मबिबी शाहकै शब्दमा लताले ‘जुन माटोमा जन्मेऊ हामी’ गाएकी छन् । योचाहिँ नेपाली चलचित्र ‘माइतीघर’को गीत हो, जसमा जयदेवको संगीत छ ।

(एजेन्सीहरूको सहयोगमा)