वैवाहिक बलात्कारको कसुरमा युवकलाई ३ वर्ष ६ महिना कैद

काठमाडौं । वैवाहिक बलात्कारको कसुरमा एक पुरुषलाई उच्च अदालत, दीपायलले तीन वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले सोमबार अछामका एक २५ वर्षीय युवकलाई तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।
आफ्नी विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी गरेका युवकलाई तीन वर्ष ६ महिना कैद सजाय सुनाइएको उच्च अदालत, दीपायलका इजलास अधिकृत वसन्त पाध्यायले नेपालवाचलाई जानकारी दिए । कैद सजाय सुनाइएका युवक बहुविवाह अभियोगमा पक्राउ परेर जिल्ला अदालत अछामबाट धरौटीमा रिहा भएका व्यक्ति हुन् ।
तारिखमा छुटेलगत्तै गर्भवती अवस्थाकी श्रीमतीलाई ती युवकले हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेका थिए । पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय अछामले औंल्याएको थियो । साक्षीहरूले समेत जबरजस्ती करणी गरेको वयान दिए पनि जिल्ला अदालत अछामले कसुर स्थापित नहुने जिरह गर्दै युवकलाई सफाइ दिएको थियो ।
त्यसपछि पीडित उच्च अदालत, दीपायल पुगेकी थिइन् । उच्च अदालत, दीपायलले सोमबार जिल्ला अदालत, अछामको फैसला उल्ट्याउँदै सजाय सुनाएको इजलास अधिकृत पाध्यायले जानकारी दिए ।
विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने व्यवस्था छ । त्यसैअनुसार ती युवकलाई ३ वर्ष ६ महिना कैद तोकिएको हो ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया