प्रधानमन्त्रीले चासो नदिँदा एआइजीको दरबन्दी रोकियो

काठमाडौं । नेपाल प्रहरीमा विगत दुई महिनादेखि (प्रहरी अतिरिक्त महानिरीक्षक) एआइजीको दरबन्दी थप्ने र बढुवा हुने चर्चाले बढुवाका आकांक्षीहरूको दौडधुप तीव्र छ । हरेक मन्त्रिपरिषद्को बैठकमा एआइजीको दरबन्दी थपको विषयलाई लिएर प्रहरी अधिकारीले चासो व्यक्त गर्छन् ।
तर, दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयबाट अघि बढेकै छैन । दुई महिनाअघि नै प्रहरी प्रधान कार्यालयले तीन एआइजीको दरबन्दी थप्ने प्रस्ताव अघि बढाएकोमा मन्त्रिपरिषद्मा पुग्न सकेको छैन । संगठन तथा व्यवस्थापन समितिबाट समेत स्वीकृत भइसकेको छैन ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यो विषयमा चासो नदिँदा दरबन्दी थप्ने निर्णय हुन नसकेको हो । दरबन्दी थपको प्रक्रिया लम्बिँदा यसले बढुवाका आकांक्षीबीच चलखेल बढाएको छ ।
एआइजीको तीन मात्र दरबन्दी थप हुने तर त्यसका लागि एक दर्जन डिआइजी आकांक्षी छन् । त्यसकारण कसलाई बढुवा गर्ने तय भइसकेको छैन । बढुवा हुनेहरू तय नभई दरबन्दी थप्ने निर्णय नहुने गृह मन्त्रालय सोत बताउँछ ।
‘यो विषयमा छलफल गर्न प्रधानमन्त्रीले भ्याउनुभएको छैन,’ ती अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीले चासो राख्नेबित्तिकै दरबन्दी थप र बढुवाको निर्णय हुन्छ ।’
गठबन्धन सरकार भएकाले एआइजी बढुवामा भागबण्डा हुने सम्भावनासमेत देखिएको छ ।
डिआइजीको बढुवामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचबाट घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, प्रकाश अधिकारी, गणेश ऐर, पुरुषोत्तम कँडेल, मुकुन्द आचार्यलगायत छन् ।
त्यसपछिको ब्याचका धीरजप्रताप सिंह, रवीन्द्र धानुक, वसन्त लामा, उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी पनि दौडधुपमा लागेका छन् । दुईवटा ब्याचका डिआइजीबीच बडुवामा प्रतिस्पर्धा हुँदा पनि यसमा सहमति हुन नसकेको हो ।
प्रतिक्रिया