NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

गुगलले देखाइदियो २२ वर्षअघि बेपत्ता युवकको शव

 

काठमाडौं । ‘गुगल’ नामक सर्च यन्जिनमा विश्वका धेरै सूचना संग्रहित छन् । अचेल कुनै पनि जिज्ञासा हुनासाथ गुगल प्रयोग गर्ने गरिन्छ । यति मात्र होइन, पृथ्वीका जुनसुकै कुनामा गुगल अर्थ एपमार्फत हामी पुग्न सक्छौं । आफू बसिरहेको घर पनि गुगलमार्फत माथिबाट नियाल्न सक्छौं ।

गुगल कुन हदसम्म चामत्कारिक हुनसक्छ भन्ने एउटा अदभूत उदाहरण अमेरिकामा घटित एक बेपत्ता पुरुषसँग सम्बन्धित घटनाले पुष्टि गर्छ । गुगल अर्थमा देखिएको एउटा तस्बिरमार्फत २२ वर्षअघि बेपत्ता पुरुष चढेको कार र नर कंकाल फेला पारिएको घटनालाई अपराध अनुसन्धान क्षेत्रमा विश्वकै दुर्लभ मानिन्छ ।

यो घटना २५ वर्षअघिको हो । ४० वर्षीय विलियम मोल्ड्ट अमेरिकाको फ्लोरिडा शहरनजिकै एक वेलिंगटन आइसल्याण्डमा बस्थे । सन् १९९७ नोभेम्बर ७ मा साँझपख उनी आफ्नो घरबाट बाहिर निस्किएका थिए र बियर बारमा पुगेका थिए ।

हल्का बियर पिएर उनी बारबाट बाहिर आए । राति साढे ९ बजे उनले आफ्नी गर्लफ्रेण्डलाई फोन गरे ।

‘म तिमीलाई भेट्न केहीबेरमै तिम्रो घर आउँदैछु,’ उनले भने ।

गर्लफ्रेण्ड विलियमको प्रतीक्षा गरिरहेकी हुन्छिन् । साथै, उनका माता/पिता पनि उनको प्रतीक्षा गरिरहेका हुन्छन् । तर राति अबेरसम्म पनि उनी घर पुग्दैनन् । घर परिवारले यसलाई खासै गम्भीरतापूर्वक लिएनन् । विलियम आफ्ना साथीहरूसँग होलान् या गर्लफ्रेण्डकै घरमा बसेका होलान् भन्ने उनीहरूले ठाने ।

विज्ञान र प्रविधिको यो यस्तो बरदान साबित भयो, जसले कम्तीमा हराएको आफ्नो छोरालाई जिउँदै नल्याए पनि, उनको शव त उपलब्ध गरायो । आजीवन छोरा कहाँ होला भन्ने नमिठो कौतुहलबाट आफन्तलाई मुक्त गरिदियो र विलियमको पनि यथोचित अन्तिम संस्कार हुनसक्यो 

त्यो रात बित्छ । ८ नोभेम्बरमा पनि विलियम घर नआएपछि माता पिता र परिवारका अन्य सदस्यलाई चिन्ता लाग्न थाल्छ । किनकि, विलियमको मोबाइल फोनमा पनि सम्पर्क हुन सकिरहेको थिएन । ब्यापक खोजी गर्दा पनि उनको अत्तोपत्तो नलागेपछि आफन्तजनले वेलिंगटनस्थित प्रहरी चौकीमा खबर गर्छन् र बेपत्ताको खोजी गरिदिन रिपोर्ट लेखाउँछन् ।

खोजीका क्रममा प्रहरीहरू विलियम अन्तिम पटक गएको बियर बारमा गएर त्यहाँका स्टाफसँग सोधपुछ गर्छन् । स्टाफले बताए अनुसार विलियम राति करिब साढे ११ बजे नै बारबाट निस्किसकेका थिए । उनको हालत सामान्य थियो र आफैंले गाडी हाँकेर सुरक्षित रूपमा त्यहाँबाट गएको प्रत्यक्षदर्शीको बयान थियो ।

यसरी भए बेपत्ता

पाम बिच कन्ट्री सेरिफ कार्यालयका अनुसार, विलियमले कार ड्राइभिङका क्रममा आफ्नो नियन्त्रण र सन्तुलन गुमाए । आत्तिएर उनले आफ्नो घरनजिकै रहेको तलाउमा कार हेलिदिए, जहाँ कारसँगै डुबेर उनको मृत्यु भयो ।

यो निष्कर्ष पनि २२ वर्षपछि मात्र सरकारले निकालेको हो, जब उनको कार भेटियो । तर २२ वर्षसम्म यो घटना रहष्यकै पर्दाभित्र रह्यो । विलियमको कार र शव त्यही तलाउमा डुबेको थियो, तर कसैले भेउ पाएनन् ।

फ्लोरिडा र वेलिङटनमा प्रहरीले चोकचोकमा मार्‍यो । उनकी गर्लफ्रेण्डसँग पनि पुछताछ गरियो । बारबाट निस्किएपछि विलियम आफ्नो घरमा आउन लागेको, तर धेरै प्रतीक्षा गर्दा पनि नआएको बयान गर्लफ्रेण्डको थियो । गर्लफ्रण्डको घर र आसपास सर्च गरियो, तर बेपत्ता मान्छेको कुनै सुराक भेटिएन ।

हुन त, फ्लोरिडामा यस्ता घटना पहिला पनि भएका थिए । युवाहरू घरबाहिर जान्थे, धेरै दिनसम्म फर्कंदैनथे । कतिपय अभिभावक त कतै अन्य शहरमा गयो होला भनेर वास्ता पनि गर्दैनथे । तर विलियम मोल्डटको कुरा अर्कै थियो । उनको पछिल्लो रेकर्ड स्वच्छ थियो । उनी त्यसअघि कहिल्यै घरबाट यतिका दिनसम्म गायब भएका थिएनन् । यसर्थ घरका आफन्तलाई शंका हुन थाल्यो, पक्कै विलियममाथि कुनै अनिष्ट भएको हुनुपर्छ ।

प्रहरीलाई दुर्घटनाको कुनै प्रमाण फेला परिरहेको थिएन । एक वर्ष बितिसकेको थियो, कुनै चुरो पत्ता नलागेपछि प्रहरीले विलियम बेपत्ता प्रकरणको फाइल बन्द गरिदियो । छोराको शोकमा परिवार, प्रेमीको शोकमा गर्लफ्रेण्डले दिनहरू काट्दै गए । विलियम बेपत्ता भएको पनि हेर्दा हेर्दै २२ वर्ष पूरा भयो ।

गुगल अर्थको चमत्कार

कुनै बेला वेलिङटनको ग्रिन आइसल्याण्डमा एक युवा बस्थे । उनले त्यहाँ लामो समय बिताएका थिए । केही समयपछि उनी आइसल्याण्डबाट अली पर वेलिङटनकै अर्को क्षेत्रमा बस्न थालेका थिए ।

केही वर्षपछि उनलाई आफू पहिला बसेको ठाउँ र घरको अवस्था हेर्न मन लाग्यो । त्यति बेलासम्म प्रविधि धेरै विकसित भइसकेको थियो । ती युवाको मनमा गुगल अर्थमा गएर आफू बसेको घर र त्यहाँ बस्ने मानिसका बारेमा जान्ने जिज्ञासा पलायो । सन् १९९७ अगस्त ७ मा उनी गुगल अर्थको माध्यमबाट त्यही ठाउँमा पुगे, जहाँ पहिला बस्ने गर्थे ।
गुगल अर्थमा उनले घरको छेउको तलाउ देखे । त्यो तलाउ उनले बाल्यकालदेखि बिर्सिएका थिएनन् । नोस्टाल्जिक भावका साथ उनले तलाउलाई अझ गहिरो गरी नियाल्न जुम गरे । अचानक उनको स्क्रिनमा त्यो तलाउभित्र एउटा कारजस्तो कुनै वस्तु देखियो ।

सुरुमा त उनलाई त्यो कारजस्तो वस्तु देखेर आश्चर्य पनि लाग्यो, तर उनले ठाने त्यो कुनै फलामको पाता हुनसक्छ । युवकले फेरि एक पटक त्यो ठाउँलाई हरेक कोणबाट जुम गरेर हेरे । अब भने उनले तलाउभित्र एउटा कार नै भएको ठम्याए ।

ती युवाका लागि त्यो एउटा अनौठो दृष्य थियो । बाल्यकालमा जुन तलाउमा उनी र साथीहरू घण्टौं समय बिताउँथे, त्यहाँ थोत्रो कार डुबिरहेको थियो ।

आफू पहिला बस्दै आएको आइसल्याण्डको त्यो घरका छिमेकीलाई युवाले फोन गरे, जसलाई उनले उतिबेलादेखि नै चिन्थे । बाल्यकालदेखिका ती छिमेकी साथीहरू चाहिँ त्योबेला पनि त्यहीँ बसिरहेका थिए ।

‘मैले गुगल एपमार्फत आफ्नो क्षेत्रको पूरै नक्सा हेरेँ । तिम्रो घरको छेउमा रहेको तलाउलाई जूम गरेर हेर्दा पानीभित्र एउटा कार देखियो,’ उनले भने ।

छिमेकीले आश्चर्य मान्दै भने, ‘यतिका दिनदेखि म यहाँ छु, धेरै पटक तलाउको छेउबाट हिँडेको छु । तर अहिलेसम्म मैले तलाउमा कुनै कारजस्तो वस्तु देखिनँ ।’

गुगल एपमा कार देखेका युवाले केही तस्बिरहरू पनि छिमेकी र अन्य साथीहरूलाई पठाए । छिमेकका मित्रले त्यो तस्बिरको सत्यता पुष्टि गर्न ड्रोनबाट तलाउको निरीक्षण गर्ने सोच बनाए । आइसल्याण्ड क्षेत्रमा प्रायः मानिसहरू ड्रोन क्यामरा प्रयोग गर्ने गर्छन् । तर त्यसका लागि कानूनी अनुमति चाहिन्थ्यो ।

गुगलमा कार देखेका युवाका छिमेकी मित्रले पहिला त तलाउमा गएर हेर्ने कोसिस गरे, तर केही देखेनन् । अन्ततः उनले तलाउमाथि ड्रोन उडाए । जब तलाउको जुम तस्बिर प्रकट भयो, छिमेकीले पनि त्यहाँ कारको आकृति देखे । तलाउ वरिपरि धेरै घरहरू बनिसकेका थिए र हजारौं मान्छे बसोबास गर्थे । तर अहिलेसम्म कसैले पनि त्यो कारको आकृति नदेख्नु आश्चर्य थियो ।

तत्काल प्रहरी चौकी पुगेर उनले ड्रोन तस्बिर र कारका बारेमा जानकारी दिए । उनको कुरा सुनेर प्रहरी पनि आश्चर्यचकित भए । त्यसपछि प्रहरी टोली तलाउमा पुग्यो । ड्रोन तस्बिरबमोजिम जहाँ कार देखिएको थियो, त्यहाँ खोजतलास सुरु गरियो ।

कर्मचारीलाई कारबाहिर निकाल्न तलाउमा पठाइयो । नभन्दै कार भेटियो । सबै छक्क परे । कारलाई क्रेनले तानेर बाहिर निकालियो । जसै कारलाई बाहिर निकालियो, प्रहरीको दृष्टि कारको नम्बर प्लेटमा पर्‍यो । नम्बर प्लेटको अनुसन्धानपछि पत्ता लाग्यो, त्यो कार उनै विलियमको थियो, जो सन् १९९७ नोभेम्बर ७ देखि बेपत्ता थिए ।

२२ वर्षसम्म पानीमा डुबेकाले खिया लागेर कारको ढोका जाम भएको थियो । सिसाबाट पनि केही देखिँदैनथ्यो । आइरन कटरको सहायताले कारको ढोका काटियो । जब प्रहरीले कारभित्र चिहाए, तब उनीहरू स्तब्ध भए । कारमा चालकको सिटमा एउटा नर कंकाल थियो ।

नम्बर प्लेटबाट त त्यो कार विलियमकै भएको पत्ता लागिसकेको थियो, तर कंकालचाहिँ विलियमको हो कि होइन, पत्ता लगाउन बाँकी थियो । प्रहरीले कंकाललाई बाहिर निकालेर त्यसलाई परीक्षण प्रक्रियामा लगे । परीक्षणका लागि कंकालको डिएनए आवश्यक थियो । अब विलियमका परिवारजनसँग सम्पर्कको कोसिस गरियो । तर परिवार भने विलियम बेपत्ता भएयता त्यो ठाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका थिए ।

प्रहरीले गहिरो छानबिन गरे । कार आखिर कसरी तलाउमा डुब्न पुग्यो भन्ने प्रश्नको पनि हल खोज्नु थियो । केही समयपछि प्रहरी के निष्कर्षमा पुग्यो भने, ७ नोभेम्बरको रात बारबाट निस्कँदा विलियम सायद अत्यधिक मातेका थिए । तलाउनेर एउटा मोडमा कारमाथिको उनको नियन्त्रण गुम्यो र कार तलाउमा हेलियो । कार तलाउमै फस्यो । मदिराको मात र विस्तारै डुब्दै गएकाले निसास्सिएर विलियमको मृत्यु भयो । कार पनि विस्तारै तलाउको पिंधमा गयो ।

पाम बिच काउन्टी सेरिफ कार्यालयले सन् २०१९ अगस्त १२ मा विलियमको कारलाई ‘हेभिली क्लासिफाइड’का रूपमा वर्गीकृत गरेर यसलाई अपूर्व घटनाका रूपमा रेकर्ड गर्‍यो । मेडिकल परीक्षक कार्यालयले परीक्षणपछि कारमा भेटिएको कंकाल ४० वर्षीय विलियम मोल्ड्टकै भएको पुष्टि गर्‍यो । कंकालको अन्तिम संस्कार उनका आफन्तले पूर्ण रीतिरिवाजका साथ गरे, यो नै एउटा सन्तोषको कुरा थियो । आखिर विलियम बेपत्ता रहेनन्, श्वास नभेटिए पनि लास भेटियो ।

आश्चर्य त के भने, विलियमको कार उनको घरबाट दुई/तीन सय मिटर पर तलाउमा थियो, तर २२ वर्षसम्म प्रहरीदेखि अन्य कसैलाई थाहा भएन । विश्वकै यो पहिलो घटना हो, यस्तो घटनाको अर्को कुनै उदाहरण अहिलेसम्म फेला परेको छैन ।

यसरी २२ वर्षपहिला बेपत्ता भएका एउटा युवक विलियमको कार र शव गुगल अर्थको चमत्कारले फेला पर्‍यो । विज्ञान र प्रविधिको यो यस्तो बरदान साबित भयो, जसले कम्तीमा हराएको आफ्नो छोरालाई जिउँदै नल्याए पनि, उनको शव त उपलब्ध गरायो । आजीवन छोरा कहाँ होला भन्ने नमिठो कौतुहलबाट आफन्तलाई मुक्त गरिदियो र विलियमको पनि यथोचित अन्तिम संस्कार हुनसक्यो ।

(एजेन्सीहरूको सहयोगमा)

 

 

ताजा अपडेट

नेपालवाच विशेष