NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १५ गते

गृहमन्त्रीको पक्षमा किन उत्रियो सिंगो कांग्रेस ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिषामा अन्य मुलुक जान लागेका नेपाली युवाहरूसँग अनधिकृत असुलीमा संलग्न अध्यागमनका कर्मचारीको साँठगाँठ गृह मन्त्रालयसम्मै रहेको खुलेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ । प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले गृहमन्त्री गम्भीर प्रकरणमा मुछिएकाले त्यसबाट राजीनामा दिनुपर्ने माग सघन बनाएका छन् । मंगलबार मात्रै उनीहरूले गृहमन्त्रीको राजीनामा र उनीमाथि संसदीय छानबिनको माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरे । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक प्रबन्ध भएकाले प्रतिपक्षी दलको यो अवरोधले सरकार अप्ठ्यारोमा परेको छ ।

आफू गृह मन्त्रालयको नेतृत्वमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सुरेश पन्थीलाई चार महिनामै सरुवा गरेर विवादास्पद छविका तीर्थराज भट्टराईलाई छानेर पठाउनु, लगत्तै अन्य कर्मचारीहरू पनि परिवर्तन गरिनु, गृहमन्त्री, उनको सचिवालयसँग भट्टराईको हिमचिम हुनु, भट्टराईबारे अनुसन्धान गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा छापा मार्ने तयारी गरेपछि गृहमन्त्रीले सुटुक्क भट्टराई र आफू आएपछि त्यहाँ पठाएका कर्मचारीलाई मन्त्रालय तान्नुले गृहमन्त्री रमेश लेखकको नियमतमाथि गम्भीर संशय पैदा गराएको छ । विवादास्पद सहसचिव गृह मन्त्रालयमा आउँदा गृहमन्त्रीले उनीप्रति अतिश्य महत्त्व दिने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । भिजिट भिसाका नाममा गरिएको असुली प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष आबद्धता हालसम्म पुष्टि भइनसके पनि माथि उल्लिखित गतिविधिहरूले त्यसमा उनको आबद्धता थिएन भन्न सकिने अवस्था देखिँदैन । त्यसैले यी संशयको निवारण गर्न पनि गृह मन्त्री लेखकमाथि विशद् छानबिन हुनुपर्ने आवाज उठिरहेको छ ।

गृहमन्त्रीले छानबिनलाई सघाउन नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा सार्वजनिक रूपमा उठिरहे पनि नेपाली कांग्रेसका एकाध नेताबाहेक बाँकी सबै लेखकको बचाउमा उत्रिएका छन् । स्रोतका अनुसार गत सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले पार्टीलाई अप्ठ्यारो पर्ने हो भने आफू राजीनामा दिन तयार भएको बताएका थिए । तर सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगनकुमार थापासम्मका नेताहरूले उल्टै लेखकको पक्ष लिँदै राजीनामा दिन नपर्ने ठहर सुनाएका थिए । उदेकको कुरा त, गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर यथार्थ ओकल्ने केही नेतालाई पनि कांग्रेसले अनुशासनको कारबाही गर्ने धम्की दिएको छ । राजनीतिक विश्लेषकहरू कांग्रेस निर्माण गर्ने परिवारका सदस्यलाई नै अघि सारेर सुशासनका कुरा गर्नेलाई अनुशासनको कारबाही गर्ने धम्की दिइनुले कांग्रेसभित्रको भ्रष्टीकरण तीव्र गतिमा हुँदै गएको संकेत गरेको बताउँछन् ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिँदा छानबिनमा तानिएका व्यक्ति पदमा बस्न नहुने भन्दै संसद्को कामकारबाही ठप्प पारेर राजीनामा मागेको कांग्रेस उस्तै प्रकृतिको प्रश्नले आफ्ना मन्त्री घेरिँदा किन बोली परिवर्तन गरिरहेको छ ? सिंगो कांग्रेस किन एउटा विवादास्पद मन्त्री बचाउन लागिपरेको छ ?
जानकारहरू यसमा एकभन्दा बढी फ्याक्टरले भूमिका निर्वाह गरेको बताउँछन् ।

देउवाको विश्वासपात्र

गृहमन्त्री रमेश लेखक कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनले देउवाको सुख–दुःखमा अनवरत साथ दिँदै आइरहेका छन् ।

सट्टामा देउवाले पनि उनलाई च्याप्न कुनै कसर बाँकी राखेका छैनन् । अवसर आउँदा देउवाले लेखकलाई अघि सार्नुको कारण यही हो । एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने भएपछि देउवाकै चाहनामा लेखक गृहमन्त्री बनाइएका थिए ।

देउवाले अहिले लेखकलाई नच्यापिदिने हो भने उनको राजनीतिक करिअर धरापमा पर्ने खतरा रहन्छ । देउवाले सहयोग नगरेकै कारण बालकृष्ण खाँणले गम्भीर धक्का खाएका छन् । त्यसैले देउवा कृतघ्न बनेर आफ्ना सहयात्रीलाई अप्ठ्यारो परेका बेला नपन्छिएका हुनसक्छन् ।

त्यसो त, खाँणलाई संकट परेका बेला देउवाले बचाउने प्रयास नै नगरेका होइनन् । तर त्यतिबेला परिस्थिति उनको काबुभन्दा निकै बाहिर पुगेको थियो । देउवाले नचाहेर भन्दा पनि नसकेर खाँण गिरफ्तारीमा परेका थिए । तर कतिपय कांग्रेसीहरूमा देउवाले खाँणलाई बचाउने प्रयास नै नगरेको बुझाइ अद्यपि कायम छ । यसले देउवा आफ्ना नजिककालाई अप्ठ्यारो परेका बेला समेत सहयोग गर्दैनन् भन्ने सन्देश प्रवाह भएको छ । यसबारे जानकार देउवाले लेखकलाई परेका बेला साथ दिएर आफूबारे व्याप्त धारणा गलत सावित गरेको कांग्रेसीहरूको बुझाइ छ ।

देउवा कांग्रेस सभापतिमा आगामी कार्यकाल दोहोरिने मनस्थितिमा छैनन् । र पनि उनी आफ्नो समूहलाई भने सँगालेर अघि बढाउने सोचमा छन् । लेखकलाई नजरअन्दाज गरेर अघि बढ्दा आफ्नो समूहलाई धक्का लाग्ने भएकाले पनि देउवा उनको बचाउमा उत्रिएको बताइन्छ ।

लहरो तान्दा पहरो तानिने डर

नेपालमा सत्ताको आडमा हुने अनियमितताको तार राजनीतिक नेतृत्वसम्मै पुग्ने गरेको विषय नयाँ होइन । निर्वाचन लड्न आर्थिक स्रोत जुटाउनुपर्ने भएकाले पनि सत्तासीन हुनेबित्तिकै दलहरूले जनविश्वासमाथि कुठाराघात गर्दै गलत बाटो प्रयोग गरेर उपार्जनमा चासो देखाउने गरेका छन् ।

विमानस्थलमा भिजिट भिसाका नाममा भइरहेको असुलीबारे गहिराइमा पुगेर छानबिन गरेको खण्डमा धेरै रहस्यहरू बाहिरिने जानकार बताउँछन् । ‘गृहमन्त्रीमाथि छानबिन गर्दा पहरो थर्कने अवस्था नआउला भन्न सकिँदैन,’ स्रोत भन्छ, ‘यही प्रलय छेक्नका लागि पनि कांग्रेसले छाँद हालेर विवादास्पद व्यक्तिलाई च्यापेको हुनसक्छ ।’

विगतको अभ्यास र दागीको बोलवाला

नेपाली कांग्रेसका धेरै नेताहरूमाथि नैतिकताको प्रश्न विगतदेखि नै उठ्दै आइरहेको छ । अहिले नै पनि कांग्रेसका धेरै मन्त्रीहरू विभिन्न काण्डमा मुछिएका छन् । विजयकुमार गच्छदारदेखि मोहनबहादुर बस्नेतसम्म आउँदा त्यसको सूची निकै लामो बन्न सक्छ ।

आफ्ना नेताहरू गम्भीर आर्थिक अपचलनजस्तो विषयमा मुछिने गरे पनि कांग्रेसले भने अहिलेसम्म त्यस्ता नेतालाई कारबाही गरेको उदाहरण पाइँदैन । भ्रष्टाचारी पुष्टि भएकादेखि अभियोग लागेका सम्मका नेतालाई पार्टीभित्रै राख्दा कांग्रेसको छविमा गम्भीर धक्का लागेको छ । सार्वजनिक रूपमा यस्तो मत प्रकट हुने गरे पनि कांग्रेसले त्यसलाई अनदेखा गर्दै आइरहेको छ । जनताप्रति जवाफदेही हुन नपर्ने भाष्य स्थापित भएकै कारण कांग्रेसले लेखकलाई खुलेरै समर्थन गरेको हो भन्दा अत्युक्ति हुँदैन ।

लेखकको पक्षमा कांग्रेस उभिनुको अर्को कारण पनि छ । त्यो के भने ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट सहभागी अन्य मन्त्रीमाथि पनि प्रश्न उठेका छन् । ऊर्जा मन्त्री दीपक खड्काले स्काउटको जग्गा भाडामा लिएर अनियमितता गरेका छन् । देउवा पत्नी आरजु राणा भुटानी शरणार्थी प्रकरणमा मुछिँदा मुछिँदै पनि छानबिनको दायरामा आएकी छैनन् । लेखकलाई हटाउँदा अन्य मन्त्रीका विषयसमेत उप्किन सक्ने खतरा भएकाले पनि कांग्रेस सभापति देउवा लेखकलाई हटाउन चाहँदैनन् ।

देउवासँग बढ्दो गगनको साँठगाँठ

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पार्टीभित्र फरक धारको नेतृत्व गर्दै आएका थिए । विगतमा पार्टीमा यस्ता विषय उठ्दा थापा आमनागरिकको पक्षमा खडा हुने गरेका पनि पछिल्लो समय गगनको यो चिरपरिचित स्वभावमा नाटकीय परिवर्तन देखापरेको छ ।

थापा अहिले पार्टी सभापति शेरबहादुर देउवासँग निकै नजिक भएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा देउवाबाट सघाउने बचन पाएकाले थापाको क्रान्तिकारी छवि भुत्ते हुँदै गएको चर्चा राजनीतिक वृत्तमा छ । देउवासँगको सामीप्यताका कारण थापाले यो विषयलाई अनदेखा गरेकाले पनि देउवालाई विवादास्पद मन्त्री बोक्न सहज भएको छ ।

दुई तिहाइको दम्भ

एमाले नेतृत्वको सरकारप्रति क्रुद्ध रहँदै आएका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाउने तयारी गरेका छन् । मंगलबार बसेको संसद् बैठकमा उनीहरूले त्यसको छनक दिइसकेका छन् ।

संसद्मा अहिले कांग्रेस एमालेसँग झण्डै दुई तिहाइ मत छ । संसदीय गणितले उनीहरूलाई यति साथ दिएको छ कि विपक्षीको विरोधले तात्विक असर गर्ने अवस्था छैन । गृहमन्त्रीमाथि कारबाही गर्नुपर्ने मत राख्ने कांग्रेसका एक नेता लेखकमाथि कारबाही गर्न छाडेर संरक्षणतिर लाग्नुमा संसदीय उपस्थितिले पनि काम गरेको बताउँछन् । यसबाहेक गृह मन्त्री प्रकरणमा एमालेको साथ, कांग्रेस पार्टीमा बढ्दो भ्रष्टीकरण, जवाफदेहिताको कमीले पनि गृहमन्त्रीले अभयदान पाउने खतरा बढेर गएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष