NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

ओलीसँग निर्णायक छलफल नभएपछि सत्तारुढ दलको फेरि अर्को तयारी !

काठमाडौं । सत्तारुढ दलमा एमसिसीको विषयले विवाद बढाएपछि एमालेसँग वार्ता अगाडि बढाएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि सत्तारुढ दलसँग र आन्तरिक छलफल अगाडि बढाएका छन् ।

बिहीबार दुई चरणसम्म एमाले अध्यक्ष केपी ओलीसँग देउवाले एमसिसी पास गरेर जाने विषयमा छलफल गरेका थिए । संसद बैठक अघि अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्ने तयारी देउवाको थियो । तर ओली पोखरा हिँडेपछि यो वार्ता सम्भव भएन ।

बरु सत्तारुढ दल माओवादी र नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन जोगाउने हात देउवामै रहेको निर्णय गरेपछि देउवाले फेरि सत्तारुढ दलभित्रै संवाद अघि बढाएका हुन् ।

पछिल्लोपटक सत्ता गठबन्धन पनि जोगाउने र एमसिसी पनि पास गरेर जाने विकल्पमा सत्तारुढ दलबीच कुराकानी भइरहेको स्रोतको दाबी छ । यसैले समानान्तर शैलीमा वार्ता भएको जस्तो देखिए पनि सत्तारुढसँगको प्रयास अझै जारी राख्ने गरी छलफल भएको बुझिएको छ ।

सहमतिको प्रयास जारी रहेकोले संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित लगत्तै प्रधानमन्त्री देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । भेटमा सत्ता गठबन्धन पनि जोगाउने र एमसिसी पनि पास गरेर जाने विषयमा समझदारी बनेको बुझिएको छ ।

नेपालसँगको भेटलगत्तै देउवाले कांग्रेसको आन्तरिक छलफल डाकेका छन् । छलफलमा नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापासहितका नेता सहभागी भएका छन् ।

देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीका शीर्ष नेता पनि संवादमा जुटेका छन् । समाजवादी एमसिसी पास गर्नै हुन्न भन्ने पक्षमा छैन । संसोधनसहित पास पनि गर्ने र सत्ता गठबन्धन पनि जोगाउने गरी लचक मिलनविन्दुमा पुग्ने गरी सत्तारुढ दलबीच कुराकानी भएको हो ।

अझै पनि एमालेले राखेको सभामुखलाई हटाउनुपर्ने, नेकपा एसका १४ सांसदलाई कारवाही गर्नुपर्ने मागभन्दा सत्तारुढ दलबीच सहमति गरेर एमसिसीका केही विषयलाई संसोधनसहित पास गरेर जान देउवालाई पनि दबाब परेको कांग्रेसका एक नेता बताउँछन् ।

‘मिलिराखेको सत्तारुढ दलमा कुरा मिलाउन जति सहज हुन्छ विपक्षीका माग पूरा गरेर जान तत्काल धेरै सम्भव हुँदैन’ कांग्रेसका ती नेता भन्छन्, ‘माओवादी र समाजवादीले पनि अझै गठबन्धनप्रति आशा गरेकोले अन्तिम प्रयत्न गरेर गठबन्धन पनि बाँच्छ र एमसिसी पनि पास हुन्छ भने यो विकल्पमा पनि जाँदा राम्रो हुन्छ भन्ने सुझाव पनि पार्टीभित्र आएका छन् ।’

बिहीबार स्थगित भएपछि शुक्रबार कानुनमन्त्री दीलेन्द्रप्रसाद बडुको आग्रहमा संसद् बैठक स्थगित गरियो । मुख्यगरी एमसिसीलाई संसदमा ध्वनीमतका आधारमा अघि बढाउने कि मत विभाजनमा लाने भन्नेमा कांग्रेस र माओवादीबीच कुरा मिलेको छैन ।

कांग्रेस ध्वनीमतका आधारमा पास गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनमा फाटो आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको सहयोग लिएर एमालेसँग चरणचरणमा वार्ता गरेका छन् । तर अझै टुंगोमा पुगिनसकेकोले फेरि पनि सरकारकै आग्रहमा संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

अहिलेसम्म प्राविधिक रुपमा देउवा सरकारलाई बहुमत छ । तर एमसिसीले सत्ता गठबन्धमा विभाजन ल्याएपछि संसदमा टेबल भएको यो विषयमा सत्तारुढ दल माओवादीले नै मत विभाजनको माग गर्ने तयारी गरेको थियो । यसै कारण पहिलो दिनको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सत्तापक्षसँग बहुमत भएकोले सहजै सैद्धान्तिक छलफलमै कुनै विषय अस्वीकृत नहुनुपर्ने हो । तर एमसिसीले सत्तारुढ दलमै फाटो ल्याएपछि माओवादीले यसै छलफलमा मत विभाजन माग्ने तयारी गरेको थियो । प्रतिनिधिसभा ध्वनी मतबाट कुनै पनि विषयमा निर्णय लिइए पनि १० प्रतिशत अर्थात् २८ जना सांसद भए पनि मत विभाजन माग्न सक्छन् । यस्तोमा एमसिसीमाथि सामान्य छलफलकै क्रममा माओवादी पृष्ठभूमिका सभामुख अग्नी सापकोटाले मत विभाजन दिने तयारी गरेका थिए । यस्तोमा एमसिसीमा अन्तिम भोटिङ नै नहुँदै सरकार अल्पमतमा पर्ने देखिएपछि सरकारले संसद बैठक नै स्थगित गराएको हो ।

अब एमसिसीमा प्रष्ट बहुमत नपुग्ने स्थिति नबन्दासम्म सरकारले संसद बैठक डाक्ने विषयमा वातावरण नबनाउने देखिएको छ ।
यता एमालेसँग पनि निर्णायक वार्ता नहुने र माओवादीसँग पनि कुरा नमिल्ने अवस्था आएपछि संसद बैठक स्थगित गरेर देउवा फेरि संवादमा जुटेका हुन् ।
मिले सत्तारुढलाई नै मिलाउने नभए प्रतिपक्षीसँग मिलेर भए पनि एमसिसी पास गर्ने अडानबाट देउवा पछाडि हटिसकेका छैनन् । जसरी हुन्छ सत्तागठबन्धन पनि जोगाउँ र एमसिसी पनि पास गरौं भन्ने विषय पनि आएपछि देउवाले केही समय लिएका हुन् ।