अभाव छिचोल्दै उदाएका उद्यमी

सुखसयलको खोजीमा पहाडबाट मानिसहरू सुगम स्थान बसाइँ सरिरहेका थिए । जंगल फँडानी गरेर तराईमा बस्ती बसाल्न मान्छेको ताँती छुट्दै थियो, पहाडबाट ।
पहाडका बासिन्दालाई तराईले लोभ्याइरहेका बेला मनोज अग्रवालका बाबुलाई झापा विरक्त लागिरहेको थियो ।
झापा र कैलालीको भूगोल अनि सुमगता तुलना हुनै सक्दैन । र पनि मनोजका बाबु झिटीगुन्टा च्यापेर कैलाली उक्लिए ।
किन त ?
त्यसको कारण निकै मर्मस्पर्शी छ ।
मनोज सानो छँदाको कुरा हो । उनीहरूको परिवार ठूलो थियो । आम्दानी भने सीमित । दुई हातमुख जोड्नै मुस्किल ।
बुवाले झापामा टिक्न अनेक जुक्ति लगाए । व्यापार गरे, व्यवसाय चलाए । तर चुलो बाल्नै हम्मे ।
जीवन गुजारा गर्ने त्यही आशाको त्यान्द्रो खोजीमा मनोजको परिवार ०३७ सालमा झापाको त्यो सुगमता छाडेर सुदूरपश्चिमको कैलाली उक्लिएका थिए ।
अग्रवालहरूको खानदानी पेशा हो, व्यापार व्यवसाय । देशभर छरिएका अग्रवालको व्यापार–व्यवसायमा दबदबा छ । यही समुदायका मनोज कुनै बेला आर्थिक विपन्नताबाट पिल्छिए । तर निरन्तरको मिहिनेत, लगन र धैर्यताले सुदूरपश्चिमको कैलालीबाट एक सफल दाना उद्योगीका रूपमा उनको उदय भएको छ ।
मनोज सफलताबाट सन्तुष्ट छन् । तर उनको गन्तव्य यति मै सकिएको छैन । अझै बाँकी छ, सफलतारूपी सगरमाथाका टाकुरा चुम्न ।
सफल दाना उद्योगीको छवि बनाउन पार गरेका कुइँनेटा कम्ता रोमाञ्चक र प्रेरणादायी छैन ।
०३३ सालमा झापामा जन्मिएका मनोजको स्कुलिङ उतै सुरु भयो । तर उनीसँग त्यताको अब घुर्माइलो स्मृति मात्र बाँकी छ ।
मनोजका अनुसार, झापाबाट धनगढी आएपछि उनले यही औपचारिक शिक्षा लिए । यो सिलसिला स्नातक तहसम्म चल्यो ।
बि.कम उत्तीर्ण मनोजको अग्रवाल समूदायका नसानसामा व्यवसाय बहेको हुन्छ । त्यसैले आफ्नो पनि सुरुदेखि कै लक्ष्य व्यापार रहेको मनोज सुनाउँछन् ।
एक त परिवारको विपन्न आर्थिक अवस्था । अर्को समुदायको लिगेसी । उनीसँग व्यापारमा हेलिनुको कुनै विकल्प थिएन । तर सजिलो पक्कै थिएन । पहिलो त कुन व्यवसायमा हात हाल्ने द्विविधा थियो । अर्को सकस थियो, लगानीको । किनभने, विपन्न परिवारका उनीसँग पर्याप्त लगानी थिएन ।
सुरुमा मनोजले सप्लायर्सको काम गरे । भारतबाट विभिन्न खाद्यान्न आयात गरेर बिक्री वितरण गर्थे । यो आठ वर्षअघिको कुरा हो । यो क्रम ०७१ सम्म जारी रह्यो । त्यो खाद्यान्नले उपभोक्ताको धीत मा¥यो, तर उनको कुस्ता कमाइ गर्ने धीत मरेन ।
सप्लायर्सको काम गर्दा गर्दै धेरैसँग उनको चिनजान भयो । कतिपय हितैसी बने ।
सप्लयार्सको काम गर्दा मनोज आफैंले धेरै कुरा सिकिरहेका थिए । कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भनेर सिक्ने एउटा खुला पुस्तकजस्तै थियो उनको त्यो सप्लयार्सको काम ।
नेपालमा पोल्टी क्षेत्र एउटा उदीयमान उद्योगका रूपमा फस्टाउँदै थियो । यही उद्योगलाई टार्गेट गरेर केही काम गर्ने सोचमा थियो एउटा उदीयमान व्यवसायी युवा ।
उनले साथी–सर्कलमा कुखुराको दाना उद्योगको सम्भावनाबारे छलफल चलाए । अधिकांशले उनलाई यसमा हात हाल्न सुझाए ।
‘पोल्ट्री क्षेत्र डे बाई डे ग्रोथ भइरहेको थियो,’ दाना उद्योगमा लगानीबारेको जिज्ञासामा मनोज विगत फर्किए, ‘यो क्षेत्र राम्रो होला कि भनेर लगानी गरेको हुँ ।’ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकाले पनि आफूलाई यो क्षेत्र रोज्न थप उत्साहित पारेको उनी बताउँछन् ।
अनि मनोजले जन्माए, वेस्टर्न फिड । यो उनी एक्लैको लगानी रहेको उद्योग हो ।
कुनै पनि काम गर्नुपूर्व मानिसले सोच बनाउँछ । जसले मानिसलाई उत्तिकै रोमाञ्चक बनाइदिन्छ ।
तर व्यवहार र परिकल्पनाबीच कहिलेकाहीँ तादम्यता हुँदैन ।
मनोजको उद्योगको व्यावसायिक उडान जारी छ । भुइँदेखि संघर्ष गरेर टुकुटुकु हिँड्न सक्ने अवस्थामा पुगेका उनलाई कतै रोकिनु छैन, सगरमाथाको टाकुरो चुम्नु छ । उनी यो सफलताबाट खारिएका मनोज यसमा खुसी छन् । तर यो क्षेत्रमा हात हाल्नु पहिलेको सोच र व्यवहारमा भने फरक रहेको बताउँछन् ।
‘हामीले सोचेको कुरा ठ्याक्कै हुँदैन, केही न केही फरक भइहाल्छ,’ उनले भने ।
मनोजको उद्योग वेस्टर्न फिडले अहिले दुई किसिमका दाना उत्पादन गर्छ । एउटा हो, ऊर्जा र अर्को दिव्य । ऊर्जा पहिल्यैदेखिको उत्पादन हो भने दिव्य पछिको ।
मनोजले विगतमा देशभर आफ्नो उत्पादनको सञ्जाल विस्तार गरेका थिए । तर त्यसले अपेक्षित लाभ दिन सकेन । त्यसैले अहिले उनको उद्योग सुदूरपश्चिम र मध्यपश्चिममा केन्द्रित छ ।
पोल्ट्री क्षेत्र अनेक उल्झनमा फस्दै आइरहेको छ । प्रायः बर्डफ्लूजस्ता रोगले यो क्षेत्रलाई हायलकायल बनाउँछ । कोरोना महामारीले पनि आत्मनिर्भर यो क्षेत्र उत्तिकै प्रभावित रह्यो । तथापि, पछिल्लो समय यसले लय पक्डिन थालेको व्यवसायी बताउँछन् ।
मनोजका अनुसार, पोल्ट्री क्षेत्रमा परेको असर यसमा सिधा पर्छ । बर्डफ्लू आउँदा होस् या कोरोना महामारीमा, दाना उद्योग प्रभावित भएको मनोजको अनुभव छ ।
फिड मिल खुलेको खुल्यै छन् । मनोज धेरै दाना उद्योग सञ्चालनमा आएकाले क्लालिटीका लागि लडाइँ हुने बताउँछन् । ‘धेरै दाना उद्योग अहिले सञ्चालनमा आएका छन्,’ उनले भने, ‘कति दाना उद्योग सञ्चालनमा आए भन्दा पनि कसले क्लालिटी दियो भन्ने कुरा मुख्य हुन्छ ।’
उपभोक्तालाई क्वालिटीयुक्त दाना उपलब्ध गराइरहेको र यसको निरन्तरताका लागि केन्द्रित रहेको उनको भनाइ छ । ‘बजार यस्तो भइसक्यो कि जसले क्वालिटी दिन्छ त्यही सरभाइभ गर्छ,’ उनले भने, ‘हामी पनि अहिले त्यसैमा फोकस छौं कि क्लालिटी फिड कसरी उत्पादन गर्ने ।’
वेस्टर्नको दाना प्रयोग गर्नुपर्ने कारण के छन् ?
प्रश्न भुइँमा खस्न नपाउँदै उनले आफ्नो उद्योगले उत्पादन गरिरहेको दानाको विशेषता सुनाए ।
मनोजका अनुसार, दानामा प्रयोग हुने सबै तत्त्व नम्बर वान प्रयोग हुने गरेको छ । कतिपय दाना उद्योगले बिनापरीक्षण बजारमा दाना पठाउँछन् । तर वेस्टर्नले ल्याब परीक्षणपछि मात्र बिक्री अनुमति दिन्छ । त्यसका लागि उसको आफ्नै ल्याब छ ।
०००
कुनै बेला मनोजका बाबुलाई परिवारको हातमुख जोड्नै सकस थियो । यही सकस टार्न बसिराखेको थातथलो छाडेर कैलाली उक्लिएका थिए ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको परिवारमा जन्मिएका मनोजको नेतृत्व क्षमता, भिजन र कुशल व्यवस्थापनले अहिले उद्योग फस्टाउँदै गएको छ । मनोजका अनुसार, उनको उद्योगले प्रत्यक्ष १०० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रूपमा अझै धेरैलाई रोजगार दिएको उनको हिसाब छ ।
‘एउटा उद्योगको धेरै च्यानलसँग लिंकेज हुन्छ,’ उनले भने, ‘प्रत्यक्ष १०० जना र अप्रत्यक्ष पनि उत्तिकै मानिसले रोजगारी पाइरहेका छन् ।’
मनोजको उद्योगले उत्पादन गर्ने दाना अहिले प्रदेश ५, ६ र ७ का किसानको मुख्य रोजाइमा पर्दै आएको छ । तैपनि मनोज सन्तुष्ट छैनन् । नवीनतम् प्रयोग गरेर दानालाई सर्वव्यापी बनाउने उनको सोच छ ।
मनोजको योजना मुखबाट फुत्तिकेबित्तिकै हामीले सौध्यौं, ‘त्यस्तो नवीनतम सोच के हो ?’
मनोजका अनुसार, अहिले पोल्ट्री क्षेत्रले अपेक्षित लय समात्न सकेको छैन । कोरोना भाइरस महामारी, बर्डफ्लजस्ता समस्या झेलिरहेको छ । यसको सिधा असर कुखुराको दानामा स्वभाविक रूपमा पर्छ । तर अहिले अवस्थामा सुधार आएको मनोज सुनाउँछन् ।
‘कोरोना भाइरस महामारीको पहिलो र दोस्रो लहरबाट दाना उद्योग व्यापक प्रभावित भएका थिए,’ उनले भने, ‘अहिले यो अवस्था निकै सुधारिएको छ । तथापि, यसको असर पूर्णतः निस्तेज भइनसकेको छैन ।
०००
उद्योग धन्दाले देशको विकासमा टेवा पुयाइरहेको हुन्छ । यसले राज्यलाई कर मात्रै तिर्दैन रोजगारी सिर्जनालगायत कार्य गरेर अर्थतन्त्रलाई नै चलायनमान बनाउँछ ।
त्यसैले उद्योगी र व्यवसायीले राज्यसँग केही अपेक्षा गरेका हुन्छन् । दाना उद्योगीले पनि राज्यसँग केही आशा राखेको मनोज बताउँछन् ।
मनोजका अनुसार, दाना निर्माणका लागि आवश्यक अधिकांश कच्चा पदार्थ भारतबाट आयात हुन्छ । यसरी आयात हुने मकै, पिना, भट्मासको कर उच्च छ ।
करका कारण उत्पादन लागत बढ्ने र किसानले खरिद गर्दा महँगो पर्न जाने उनले सुनाए । यसले भारतीय दानासँग प्रतिस्पर्धा गर्न पनि अप्ठ्यारो परिरहेको छ । त्यसैले दाना उद्योगीले कच्चा पदार्थ आयातमा राज्यबाट सहुलियतको अपेक्षा निकै लामो समयदेखि राखेका छन् । तर राज्यले यसतर्फ गम्भीरता नदेखाएको उनले गुनासो गरे ।
‘कुखुराको दानामा प्रयोग हुने अधिकांश दाना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसरी आयात गरेर ल्याइने भट्मास, पिनाको कर राज्यले बढाएको छ । यसको कर घटाइदिने हो भने किसानले कम मूल्यमा कुखुरालाई दाना खुवाउन सक्थे ।’
अग्रवाल विगतमा दिइएका अन्य सुविधा र सहुलियत पनि राज्यले विस्तारै हटाउँदै लगेको बताउँछन् ।
प्रतिक्रिया