NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

एमालेको विज्ञप्तिप्रति सभामुखको आपत्ति, दिए पुष्टि गर्न चुनौती

काठमाडौं । अमेरिकी परियोजना एमसिसी पारित भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार आफ्नो धारणा सार्वजनिक गर्यो । सो क्रमामा एमालेले एउटा विज्ञप्तिमा जारी गर्यो ।

‘एमसिसी प्रस्ताव संसद्मा टेबुल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको’ अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो ।

सोहीबारे सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका छन् । उनले आज सचिवालयमार्फत एक प्रेस नोट जारी गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा सभामुखले आफूमाथि लगाइएको आरोपलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

‘बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तबरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

संघीय संसद् सचिवालय
सम्माननीय सभामुखज्यूको सचिवालय

प्रेस नोट
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।

नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।

उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।

आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।
१८ फागुन २०७८ ।