NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पार्टीभित्रको अन्तरसंघर्षलाई विभाजनको अर्थमा नबुझौं : लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी विभाजनको हल्लाको पछाडि नलागी सुझबुझ र धैर्यता कायम राख्न सबैसँग आग्रह गरेका छन् । संसद्बाट अमेरिकी सहयोग परियोजना एमसिसी प्रकरणलाई लिएर पार्टी नै विभाजन हुनसक्ने हल्ला चलेपछि धैर्यता राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘हाम्रो पार्टी माओवादी केन्द्रभित्र धेरै समस्य गुजुल्टिएर आएका छन् । संस्थागत छलफल र निर्णय नहुने प्रणालीले पार्टी सक्षात्मक हुनुकासाथै कार्यकर्ता निराश हुने प्रकृया एमसिसी प्रकरणसम्म आउँदा सतहमै देखिएको छ । यस्तो बेला पार्टी विभाजन हुने हल्लाले थप अन्योलको स्थिति बनेको छ । यतिबेला सबै नेता–कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम समस्याहरू आ–आफ्नो कमिटीको बैठकको आयोजना गरेर तिखो र जिवन्त बहस, छलफल र आलोचनाद्वारा हल गर्ने कोसिस गर्न जरुरी छ’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

उनले पार्टीभित्रका समस्यहरूको हल तुरुन्तै अर्को पार्टी बनाउने वा पार्टी छोड्ने वा अन्य पार्टीमा प्रवेश गर्ने नभएको प्रतिक्रिया दिएका छन् ।

‘पार्टीभित्रका समस्याहरूको हल तुरुन्तातुरुन्तै अर्काे पार्टी बनाउने, पार्टी छोड्ने, निस्कृय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन । नेपाली वाम आन्दोलनमा यस्तो चक्र धेरै चल्यो तर समस्याले हल दिन नसकेको तथ्य हामी धेरैले निर्माण गर्याै र गरिरहेका पनि छौं,’ उनले लेखेका छन् ।

तर, यसको अर्थ गलत चिजसँग आत्मसमर्पण गर्ने र त्यसैलाई वाम आन्दोलन भन्ने नभएको तर्क उनले गरेका छन् ।

‘संघर्षद्वारा उपलब्धिको रक्षा र नयाँ सम्भावनाहरूको खोजी गर्ने तरिका स्थापित गर्ने पनि हो । त्यसकारण साथीहरूलाई असन्तुष्ट र निराश भएर होइन, समस्य हल गर्ने उद्देश्यमा अझ सकृय बनौं’, उनले लेखेका छन्, ‘कमिटीगत निर्णयभन्दा बाहिरबाट हुने निर्णयहरूले पैदा गरेका कैयौं समस्या नैतिक धरातलमा टेकेको सामुहिक पहलले हल गर्न सक्छ भन्ने मान्यतालाई प्रयोगमा उतारौं ।’