रुस–युक्रेन युद्ध : ५०० नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं । रुस–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।
युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ ।
युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौं पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाए ।
समितिको बैठकमा जानकारी दिँदै उनले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताए ।
समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले भने युक्रेन छाड्न नसकेको जानकारी दिए । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या अब कम हुँदै गएको बताए । उनले अझै केही नेपाली नागरिक युक्रेन युद्धमा हराइरहेको आशङ्का रहेको जनाए ।
स्लोभाकियाका सङ्घ प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेस्टुरेन्टमा सेल्टर बनाएर नेपाली, भारतीय, बङ्गलादेशी र सेनेगलका नागरिकलाई राखेको सङ्घले जनाएको छ । कतिपय देशमा पुगेका नेपाली नागरिकका लागि आर्थिक सहयोग जुटाउन सङ्घले पहल गरिरहेको छ । गोरखापत्रमा खबर छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया