NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सुर्योदय आधारभूत विद्यालय अब ‘तीनतारे नमुना’

सुनिल मण्डेल (बझाङ) –बझाङको छब्बीस पाथीभेरा गाउँपालिका–७ खोरीमा रहेको सुर्योदय आधारभूत विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ ।

आधारभूत विद्यालयले विभिन्न सूचक पूरा गरेपछि सोमबार एक कार्यक्रमका बीच तीनतारे नमुना विद्यालय घोषणा गरिएको हो ।

No description available.

“तीनतारा नमुना विद्यालय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान“ भन्ने मुल नाराका साथ विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुविधायुक्त तीनतारा नमुना विद्यालय सुनिश्चितता कार्यक्रम भएको थियो ।

छब्बीस पाथिभेरा गाउँपालिकाअन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोगमा विद्यालयलाई तीनतारा नमुना विद्यालय घोषणा गरिएको बताइएको छ ।

ग्रामीण जलस्रोत परियोजनाले नमुना विद्यालय घोषणा गर्नका लागि निर्धारण गरेका सूचकमा खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन लगायत छन् । यी सबै सूचक पूरा गरेकाले विद्यालय नमुना घोषणा गरिएको गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।

No description available.

कार्यक्रममा अध्यक्ष धामीले छब्बीस पाथिभेरा गाउँपालिकालाई ०७९ सालसम्म पूर्ण सरसफाइ गाउँपालिका घोषणा गर्ने आफ्नो लक्ष्य रहेको बताए । उक्त लक्ष्यअनुरुप विद्यालय सरसफाइ, टोल सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापनजस्ता १० वटा इन्डिकेटरलाई अगाडि बढाइरहेको उनको दाबी छ ।

“विद्यालयलाई तीनतारा घोषणा गर्नमा महत्वपूर्ण योगदान तथा अहम् भूमिका खेल्नुहुने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिन चाहन्छु र पूर्ण सफलताको कामना गर्दछु’, उनले भने ।

यस्तै उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले आफ्नो योजना नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै दुःख–कष्ट गरी निर्माण गरेका योजनाहरू पछिसम्म टिकाइ राख्न अनुरोध गरिन् ।

योभन्दा अगाडि खोरी टोललाई पूर्ण सरसफाइ टोल घोषणा गरिएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बोहराको अध्यक्षतामा कार्यक्रममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना प्रमुख, संस्थामा आवद्ध कर्मचारी, गाउँपालिका भरीका वडाध्यक्षहरू, जनप्रतिनिधि, अभिभावकलगायतको उपस्थिति थियोे ।