सुर्योदय आधारभूत विद्यालय अब ‘तीनतारे नमुना’
सुनिल मण्डेल (बझाङ) –बझाङको छब्बीस पाथीभेरा गाउँपालिका–७ खोरीमा रहेको सुर्योदय आधारभूत विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ ।
आधारभूत विद्यालयले विभिन्न सूचक पूरा गरेपछि सोमबार एक कार्यक्रमका बीच तीनतारे नमुना विद्यालय घोषणा गरिएको हो ।

“तीनतारा नमुना विद्यालय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान“ भन्ने मुल नाराका साथ विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुविधायुक्त तीनतारा नमुना विद्यालय सुनिश्चितता कार्यक्रम भएको थियो ।
छब्बीस पाथिभेरा गाउँपालिकाअन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोगमा विद्यालयलाई तीनतारा नमुना विद्यालय घोषणा गरिएको बताइएको छ ।
ग्रामीण जलस्रोत परियोजनाले नमुना विद्यालय घोषणा गर्नका लागि निर्धारण गरेका सूचकमा खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन लगायत छन् । यी सबै सूचक पूरा गरेकाले विद्यालय नमुना घोषणा गरिएको गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।

कार्यक्रममा अध्यक्ष धामीले छब्बीस पाथिभेरा गाउँपालिकालाई ०७९ सालसम्म पूर्ण सरसफाइ गाउँपालिका घोषणा गर्ने आफ्नो लक्ष्य रहेको बताए । उक्त लक्ष्यअनुरुप विद्यालय सरसफाइ, टोल सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापनजस्ता १० वटा इन्डिकेटरलाई अगाडि बढाइरहेको उनको दाबी छ ।
“विद्यालयलाई तीनतारा घोषणा गर्नमा महत्वपूर्ण योगदान तथा अहम् भूमिका खेल्नुहुने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिन चाहन्छु र पूर्ण सफलताको कामना गर्दछु’, उनले भने ।
यस्तै उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले आफ्नो योजना नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै दुःख–कष्ट गरी निर्माण गरेका योजनाहरू पछिसम्म टिकाइ राख्न अनुरोध गरिन् ।
योभन्दा अगाडि खोरी टोललाई पूर्ण सरसफाइ टोल घोषणा गरिएको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बोहराको अध्यक्षतामा कार्यक्रममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना प्रमुख, संस्थामा आवद्ध कर्मचारी, गाउँपालिका भरीका वडाध्यक्षहरू, जनप्रतिनिधि, अभिभावकलगायतको उपस्थिति थियोे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया