NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रुसविरुद्धको युद्धमा १३०० युक्रेनी सैनिक मारिए : जेलेन्स्की

काठमाडौं । रुसविरुद्धको युद्धमा हालसम्म आफ्ना १ हजार ३०० सैनिक मारिएको युक्रेनले सार्वजनिक गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकार सम्मेलनमा बोल्दै रुसविरुद्धको युद्धमा हालसम्म आफ्ना १ हजार ३०० सैनिक मारिएको बताए ।

जेलेन्स्कीका अनुसार, शुक्रबारसम्म ५००–६०० हाराहारीमा रसियन सेनाले युक्रेनसमक्ष आत्मसमर्पण गरिसकेका छन् । यद्यपि, युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।

रुसले १७ दिनदेखि युक्रेनविरुद्धको आक्रमण जारी राखेको छ । किभबाट मात्रै २५ किलोमिटर टाढा रसियन सेना आइपुगेको छ । उसले किभ आक्रमणका लागि चारैतर्फ सेना तैनाथ गरेको बिबिसी समाचारमा उल्लेख छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गरेका छन् । तर रुसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने सर्त राख्दै आएको छ । युक्रेन भने मर्न तयार हुने तर रुससामु आत्मसमर्पण नगर्ने पक्षमा छ ।

युद्ध लम्बिँदै जाँदा युक्रेनभित्र मानवीय संकट चुलिँदै गएका छन् । मारिपोलका नागरिकले बिना बिजुली चिसो तापक्रममा सीमित खाना र पानीले दैनिक गुजारिरहेको बिबिसीले लेखेको छ ।