NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

घाइते योद्धा भन्छन्–प्रकाश सपुतले ‘पिर’ गीतमा देखाएकोभन्दा दर्दनाक अवस्था भोग्दैछौँ

काठमाडौँ । जनयुद्धको योद्धाहरुका कथा बोकेको गायक प्रकाश सपुतको गीतका केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्धको योद्धालाई यौनकर्मीको रुपमा देखाएको गीतको अंशमाथि माओवादी कार्यकर्ताहरूको गम्भीर आपत्ति छ । तर युद्धमा घाइते योद्धाहरूकै बुझाई भने भिन्न छ । उनीहरू भन्छन्, ‘हाम्रो वास्तविक कथा यो भन्दा धेरै भयानक छ ।’

२०६० चैत्र ८ गते । लमजुङको तत्कालीन छैलुङ गा.वि.स. वडा नं ५, पाचोकमा शाही सेनाले घेरा हाल्यो । त्यहाँबाट भाग्ने क्रममा योद्धा गंगा लामा घुँडामा गोली लागेर घाइते भए । जनपरिचालन अभियानको कमाण्डर, गण्डक प्रदेश सदस्य लामाले त्यो दिनयता खुट्टाको सहारामा हिँड्न पाएका छैनन् । एउटा खुट्टा गुमाएका उनी ह्वीलचियर सहारामा हिड्नुपर्ने अवस्थामा छन् । सपुतको गीतले देखाउन खोजेको भन्दा कैयौँ गुणा कष्टकर दैनिकीसँग पौँठेजोरी खेल्नुपर्ने धेरैको विवशता छ ।

प्रकाश सपुतको ‘पिर’ गीतमाथि घाइते योद्धा लामाको टिप्पणी यस्तो छ

यो गीतले हामी घाइतेहरूको मन छोयो । तर एउटा महिला योद्धालाई यौनकर्मीको रूपमा प्रस्तुत नगरिदिएको भए हुन्थ्यो भन्नेचाहिँ लागेको छ । गीतमा केही परिकल्पना हुन्छन्, त्यसमा महिला योद्धालाई अपमान महसुस हुने विम्ब प्रयोग गरियो । तर समग्रमा गीतप्रति मलाई कुनै आपत्ति छैन ।

सामाजिक संजालमा धेरै घाइते योद्धाहरूले यो गीतलाई शेयर गरिरहनु भएको छ । यसको अर्थ हामीलाई यसले छोयो भन्ने हो । मेरो मुटु पोलेको छ । वास्तवमा हाम्रो वास्तविकता हेर्ने हो भने यहाँ एउटा सानो अंश मात्र देखाइएको छ । हामीले भोगिरहेको जीवनको वास्तविक अनुहार गीतमा देखाइएको छैन । देखाउन सकिएको छैन । यो भन्दा धेरै दर्दनाक अवस्था हामीले भोगिरहेका छौँ ।

म आफैँलाई हेर्छु । २०६० सालदेखि भोगेको जीवन यस्तो मात्रै छैन, कैयौँ गुण कष्टकर छन् । गीतमा प्रस्तुत गरिएको पात्र कम्तिमा अरब जानसक्ने स्थितिको समेत हुनुहुन्छ । हामी त त्यति पनि छैनौँ । हिड्डुल नै गर्न नसक्ने छौँ । हामीलाई न पार्टी नत सरकारले हेरेको छ ।
राजनीतिक चेतनासहित हामी सत्ता बदल्ने र नागरिकको अवस्था बदल्ने अभियानमा हिडेका सचेत मान्छे थियौँ । दुर्भाग्य हामी त्यो पार्टीको नेता हुन सकेनौँ । हामीले देखेको सपना अर्कै थियो । भोगाई अर्कै भइरहेको छ ।

फेरि यहाँ कस्तो पनि भयो भने, मैले आफ्नो पीडालाई समेटेर एउटा किताब निकालेँ । असह्य भएका आफ्ना अनुभूतिहरू किताबको रूपमा उतारेको थिएँ । माओवादीभित्रका साथीहरूले नै मेरो कितावले जनयुद्धलाई विकृत बनाउन खोज्यो भनेर आलोचना गरे ।

हामी घाइते योद्धाहरूले पार्टीको कार्यशैलीको विरोध गर्दा जहिल्यै पनि प्रचण्ड आसपासका मान्छेहरूले यसले जनयुद्धलाई विकृतीकरण गर्न खोजे भनेर आलोचना गर्ने, हामीलाई थप गाली गर्ने गरे । तर हाम्रो पीडा के हो भनेर चाहिँ कहिले बुझ्ने प्रयास गरिएन । हुन त हामीलाई जतिको यो पार्टीको माया कसलाई होला ? हामीलाई जति जनयुद्धको माया अरू कसलाई होला ? तर हामीले सामान्य जीवन पनि जिउन सकिरहेका छैनौँ ।

गीतमा देखाइएको जस्तो हाम्रो घाइते महिला योद्धाहरू यौन व्यवसायमा छन् जस्तो मलाई लाग्दैन । उहाँहरू सामान्य महिला होइन, त्याग संघर्ष गरेर आएका कामरेडहरू जस्तो सुकै परिस्थितिमा पनि आफ्नो इज्जत्, प्रतिष्ठाको ख्याल गर्ने मान्छेहरू हुनुहुन्छ ।

तर अर्कोतर्फबाट पनि हेरौँ, यहाँ कस्तोसम्म छ भने, पहिला जनमुक्ति सेनाको सेक्सन भिसीसम्म भएर काम गरेका महिला साथीको अवस्था फेसबुकमा भेटेको थिएँ । त्यहाँ ती कमरेडको शरीरमा पूरै लाज छोप्ने कपडा पनि थिएन । त्यस्ता धेरै योद्धाहरूको विजोग भएको छ । त्यसले हामीलाई थप पीडा महसुस गराएको छ ।

यसरी युद्धमा होमिएका योद्धाहरूको स्थिति यति डामाडोल हुँदा उनीहरूको व्यवस्थापन गर्नुपथ्र्यो । तर त्यस्तो भएन । हिजोका हाम्रा सहकर्मीहरूले करोडौँका गाडी चढेका छन्, मोजमस्तीमा छन् । त्यही युद्धमा अंगभंग भएका योद्धाहरूको यो हाल छ । मलाई पनि लाग्छ, २०६० सालमा यदि गोली लागेको थिएन भने अहिले म अर्कै अवस्थामा हुन्थेँ होला । त्यो सम्झँदाचाहिँ म प्रकाश सपुतलाई गाली गर्दिन । थोरै गुनासो, महिला यौद्धाहरूलाई यौनकर्मी नबनाइदिएको भए हुन्थ्यो कि ?

बाँकी कुरामा प्रकाश सपुतले उतार्न खोजेको हाम्रो भोगाईको तस्बिरमा मेरो सहमति छ । बरू अझै के लाग्छ भने, हाम्रो वास्तविक पीडा अझै गीतमा झल्किन सकेको छैन ।