NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रुस-युक्रेन युद्धः दुई देशबीच वार्ता जारी, किएभ क्षेत्रमा शक्तिशाली विस्फोट

किएभ । युक्रेनमा रुसी आक्रमणको आज २० दिन पुगेको छ । दुवै देशबीच वार्ता जारी छ तर अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन । राजधानी किएभलाई नियन्त्रणमा लिन रुसले प्रयास जारी राखेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुस र युक्रेनबीच मंगलबार पनि छलफल जारी रहनेछ । यस युद्धमा चीनले रुसको सहयोग गरेमा परिणाम राम्रो नहुने चेतावनी अमेरिकाले चीनलाई दिएको छ ।

रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् ।

अमेरिकी रक्षा अधिकारीका अनुसार युक्रेनमा अहिले रुसी सेनाको आक्रमण रोकिएको छ । युक्रेनको राजधानी किएभको केन्द्रमा मंगलबार तर बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

यता बेलायतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएका १ सयभन्दा व्यक्तिमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । युक्रेनमाथि आक्रमण सुरु भएको तीन साता पछि पुरै देशमा विनाशका तस्बिर देखिएका छन् । संयुक्त राष्ट्र संघले २४ फेबु्रअरीमा रुसी आक्रमण सुरु भएपछि २५ लाखभन्दा बढी शरणार्थीले युक्रेनबाट विस्थापित भएको बताएको छ ।

पोलिस बोर्डर गार्ड एजेन्सीले युद्ध सुरु भएदेखि अहिलेसम्म १७ लाख ५० हजार मानिस भागेर पोल्यान्ड पुगेको जनाएको छ । युक्रेनको मरिउपोल सहरका अधिकारीले त्यहाँ फसेका मानिसलाई निकाल्न सफल भएका छन् । अधिकारीका अनुसार १६० जनालाई उद्धार गरिएको हो ।

रुसले युक्रेनमा आक्रमण गर्ने क्रममा चीनसँग कुनै सैन्य सहयोग नमागेको बताएको छ । केही अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा रुसले चीनसँग सैन्य एवं आर्थिक सहयोग खोजेको बताइएको थियो । अर्काेतर्फ अष्ट्रेलियाले रुसका ३३ अर्बपति कारोबारी र उनीहरुको परिवारलाई नयाँ प्रतिबन्ध लगाएको छ । यसमा कारोबारी रोमन एब्रामोविच पनि परेका छन् ।