NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

१५ दिनमै २१ रूपैयाँ बढेर आयो पेट्रोलको मूल्य, निगमलाई ५ अर्ब ३० करोड घाटा

काठमाडाैं । फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमले आज एक विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पेरेशन (आईओसी)बाट मूल्य बढेर आएको जानकारी दिएको हो ।

आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा पनि फेरी मूल्य बढ्ने देखिन्छ । मूल्य बढेर आएको भए पनि आयल निगमले भने बढाइसकेको छैन ।

नयाँ मूल्य अनुसार पेट्रोलमा १६ रूपैयाँ ३७ पैसा, डिजेलमा  २४ रूपैयाँ ४९ पैसा बढेर आएको छ । त्यस्तै हवाइ इन्धन १८ रूपैयाँ ८९ पैसा बढेर आएको छ ।

रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भएर उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार निगम १५ दिनमा ५ अर्ब ३० करोड रुपैयाँ नोक्सानीमा जाने निगमले जनाएको छ।

सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख रूपैयाँ , डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्याँसको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्याँस प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ ।  निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय) बाट  १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ ।

काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५० रूपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १३३ रूपैयाँ, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १३६ रूपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ५७५ रूपैयाँ रहेको छ ।

सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ ।

No description available.