NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अपाङ्गता भएकाको गुनासो : गाउँमा सिंहदरबार पुग्यो, सरकार पुगेन

सुनिल मण्डेल, बझाङ । बझाङ जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूले सिंहदरबारको अधिकार गाँउ–गाँउमा आएको अनुभुति गर्न नपाएको गुनासो गरेका छन् । सामाजिक विकास कार्यालय, चैनपुरले आयोजना गरेको २ दिने नेतृत्व उद्योमशीलता र ५ दिने सिपमुलक अचार बनाउने तालिममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूको अधिकार पनि स्थानीय सरकारले कुण्ठित गरेको आरोप लगाए ।

कार्य विष्नादेवी दमाईले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था ज्युँका त्युँ रहेको र कुनै पनि परिवर्तन नभएको आफूहरूले पाएको बताइन् ।

‘सिंहदरबारको अधिकार गाँउ–गाँउ आएको भनेर भनेका छन् तर अपाङ्गता भएका व्यक्तिहरूले सो कुराको अनुभुति गर्न पाएका छैनन् । अपाङ्गता भएका व्यक्तिभन्दा सामान्य अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिका नाममा फाइदा लिई रहेका छन्,’, उनले भनिन्, ‘स्थानीय सरकारले पनि अपाङ्गता भएका व्यक्तिका लागि कुनै पनि काम गर्न सकेका छैनन् ।’

भौतिक संरचनाहरू पनि अपाङ्गतामैत्री नभएकोलगायत अन्य धेरै कारणले गर्दा आफूहरूलाई सरकारले अझै पनि अपहेलना गरेको अनुभुति भएको उनले बताइन् ।

No description available.

तर, सिपमुलक तालिम तथा नेतृत्व विकास तालिमले आफूहरूको अधिकार कसरी लिनु पर्छ र कसरी अघि बढ्ने भन्ने विषयमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि हुँदै पहिलेको तुलनामा भने धेरै फरक भएको उनले स्वीकारिन् ।

‘अहिले पनि बझाङका केही स्थानीय तहका जनप्रतिनिधिहरूले आफूजस्ता अपाङ्गता भएका व्यक्तिलाई भ्रममा पार्ने र अलमलाउने काम गरी रेहेका छन्’, उनले भनिन् ।

उक्त कार्यक्रममा कमलराज जोशीले आफूहरूजस्ता अपाङ्गता भएका व्यक्तिहरूले पनि समाजमा केही सिप सिकेर स्वावलम्बी बन्न सक्छन् भन्ने कुरा तालिमबाट अनुभुति भएको बताए ।

‘सिप सिकेर मात्रै नभएर व्यवहारमा लागु गर्नका लागि भने अनुदानस्वरुप तालिममा सहभागीलाई प्रति व्यक्तिलाई २० हजार रुपैयाँ अनुदान दिएका कारण हामीले तालिममा सिकेका विषय व्यवहारमा लागु गर्न थप हौसला र प्रेरणा मिलेको छ’, उनले भने ।

साथै अपाङ्गता व्यक्ति तथा कार्यक्रममा सहभागी ईश्वरबहादुर दमाईले अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्न जरुरी रहेको भए पनि स्थानीय सरकारका प्रमुख तथा जनप्रतिनिधिहरूले यसप्रति चासो नदिएको आरोप लगाए ।

‘जसरी सामाजिक विकास कार्यालयले सामान्य रुपमा नेतृत्व विकास तथा उद्योमशीलता सम्बन्धि तालिमको आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको छ,’, उनले भने, ‘ठीक त्यसैगरी स्थानीय सरकारले तथा बझाङ जिल्लामा रहेका १२ वटै पालिकाहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्न जरुरी रहेको भए पनि स्थानीय सरकारका प्रमुख तथा जनप्रतिनिधिहरूले यसप्रति चासो दिएका छैनन् ।’

साथै, उनले तालिममा सिकेका विषय आफ्नो व्यवहारमा लागु गर्ने र अरु सहभागीलाई पनि व्यावहारमा लागु गर्न अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा अपाङ्गता सुरक्षा सञ्जाल बझाङका सचिव पदमबहादुर रावलले स्थानीय सरकारको प्राथमिकतामा अपाङ्गता भएका व्यक्तिहरू नपरेको बताए ।

‘यहाँ पहुँच हुनेको नै हालीमुहाली भएको पाइन्छ । जसरी सामाजिक विकास कार्यालयले नेतृत्व विकास र उद्योमशीलतासम्बन्धी सिप दिएको छ,’, उनले भने, ‘यति मात्रै स्थानीय सरकारले गरेको भए पनि अपाङ्गता भएका व्यक्तिहरू सिप सिकेर जीविकोपार्जन गरी आफ्नो खुट्टामा उभिनसक्ने हुने थिए ।’

No description available.

यद्यपि, अपाङ्गता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन् भन्ने समाजका जानेबुझेका र केही जनप्रतिनिधिको साेंचका कारण आफूजस्ता अपाङ्गता भएका व्यक्तिले स्थानीय सरकारको अनुभुतिसम्म गर्न नपाएको र यस्ता व्यक्तिको अवस्थामा कुनै पनि परिवर्तन नआएको उनले गुनासो गरे ।

साथै, उनले यसमा सुधार गर्न सबैले लाग्न जरुरी रहेको र अपाङ्गता भएका व्यक्तिलाई घृणा नभइ माया गर्नु पर्ने बताए ।

सामाजिक विकास कार्यालय, बझाङका प्रमुख वीबहादुर धामीले लोक कल्याणकारी राज्यले अपाङ्गता भएका व्यक्तिदेखि दलित, पिछडिएका तथा सबैको मानवअधिकारको रक्षा गर्ने उदेश्यले अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगारमुलक तथा सिपमुलक र नेतृत्व विकास तालिम दिइएकोे बताए ।

‘जबसम्म कुनै व्यक्ति स्वावलम्बी तथा आफ्नो खुट्टामा आफैं उभिन सक्दैन तबसम्म समाजको तथा परिवारको अपहेलना भएर बाँच्नु पर्ने परिस्थिति रहन्छ,’ उनले भने, ‘सिप सिकेर आर्थिक आर्जन गर्न सके, आफ्नो खुट्टामा आफै उभिन सके, सबैले माया गर्ने र अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन हुन्छ । साथै, अपाङ्गता भएका व्यक्तिले केही पनी गर्न सक्दैनन् भन्ने सोंच पनि चिर्न सकिन्छ । यो तालिम त्यसैका लागि हो ।’

तालिममा बझाङ जिल्लाका १२ वटै पालिकाका केही अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । फागुन २६ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा आज सकिएको हो । तालिममा सहभागीहरूले अर्गानिक अचार बनाउन सिकेका छन् ।