NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

ऊर्जा मन्त्रीद्वारा न्यू बुटवल २२० केभी सबस्टेसन उद्घाटन

काठमाडौं । नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०–१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन भएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरेकी हुन् ।

मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।

रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए ।

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताइन् । उनले ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्ने बताइन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३–११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए ।

उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे । एसियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल सरकारकोको लागानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो ।

सबस्टेसन निर्माणका लागि ८ नेभेम्बर २०१७मा करिब एक अर्ब आठ करोड रुपैयामा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नेभेम्बर २०२१ मा सम्पन्न भएको थियो ।

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ ।
नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०मार्फ दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । बर्दबाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर ९बाँके० ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।