NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सानो पार्टीले साधनस्रोत जुटाउनै नसक्ने भएपछि एमाले रोजेँ : सिंह

काठमाडौं । संविधानसभा कार्यकालमा साना दलसँग मिलेर दुई पटक महत्वपूर्ण मन्त्री पद हत्याउन सफल भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले आफूसँगै सिंगो पार्टीलाई एमालेमा विलय गराएका छन् ।

मंगलबार एमाले केन्द्रीय कार्यलय थापाथलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहको पार्टीलाई एमालेमा विलय गराएका थिए । समाजवादी जनता पार्टीका अध्यक्ष रहेका उनीसँग २७ जना केन्द्रीय सदस्य रहेको उनले दावी गरेका छन् ।

भक्तपुरका पुराना वामपन्थी नेता नारायणमान बिजुक्छेँलाई आदर्श मानेका सिंहले नेपाल मजदूर किसान पार्टीबाट आफ्नो राजनीति यात्रा तय गरेका थिए । सिंहले पञ्चायतकालमा कर्णालीका लोकप्रिय वामपन्थी नेताको छवि बनाएका थिए । राजनीतिमा चतुर नेता रहेका सिंह तत्कालीन माले हुँदै एमाले प्रवेश गरेका थिए । उनी ०५६ मा एमाले कर्णाली इन्चार्ज रहेका थिए । त्यसबेला भएको संसदीय निर्वाचनमा उनले कार्णाली अञ्चलको सबै जिल्लालाई एमालेमय बनाएका थिए ।

०५३ मा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा पहिलो पटक कानून मन्त्री भएका उनी संविधानसभाको दुई कार्यकालमा कानून, न्याय तथा संसदीय व्यवस्था र खानेपानी तथा सरसफाइ मन्त्री बनेका थिए । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा कालिकोटबाट समानुपातिक सदस्य रहेका थिए । ०५४ मा पार्टी विभाजनपश्चात् एमालेमै रहेका सिंह शाही सरकार ढलेपछि एमाले छोडेका थिए । बहुविवाह गर्ने वामपन्थी नेताको रूपमा पनि उनी निकै चर्चित छन् ।

यसै विषयमा पुनः एमालेमा विलय हुनुको औचित्यबारे सिंहले नेपालवाचसँग छोटो प्रतिक्रिया दिएका छन् :

तपाईंले सिंगो पार्टीलाई नै एमालेमा विलय गराउनुभयो किन ?

सानोतिनो पार्टी चलाएर पनि केही गर्ने स्थिति छैन । चुनाव भनेको सामान्य हुँदैन । त्यत्रो साधन स्रोत आवश्यक पर्छ । सबै क्षेत्रमा एमाले–कांग्रेसकै दबदबा छ । राज्यका साधनस्रोत उनीसँगै छ । सामाजिक संघसंस्थाहरू उनीहरूकै पक्षमा छन् । निर्माण व्यवसायी उद्योगहरू उनीहरूकै हातमा छ । साना दलहरूले साधनस्रोत नै जुटाउन सक्दैन नि । यस हिसाबले अहिले भइरहेकै दलहरू मध्ये कुनैमा जानुपर्छ भन्ने लाग्यो । त्यसैले एमालेसँग पार्टी मर्ज गर्न लागेको हो ।

पार्टी त धेरै छन् तर चुनावको मुखमा तपाईंले एमाले नै रोज्नु भएको छ किन ?

एमाले रोज्नुको मुख्य कारण बहुदलीय शासन प्रणाली जति भनिएपनि व्यवहारमा दुई दलीय शासन प्रणाली भएको छ । अहिले जो जति राजनीतिक दलहरू भएपनि कालान्तरमा दुई पार्टीबाहेक अन्य हुने अवस्था देखिनँ । त्यस्तो अवस्थामा कि कांग्रेस, कि एमाले रोज्नुको विकल्प छैन । मेरो पृष्ठभूमि पनि एमाले भएका कारणले मलाई एमालेमै सहज हुने भएकाले एमाले रोजेको हुँ ।

संविधानसभाको समयमा तपाईंको पार्टी सानो भएपनि दुई पटक मन्त्री बन्नु भयो एमालेसँग पनि आगामी दिनमा सांसद वा मन्त्री पद लिने कुनै सहमति भएको हो ?

होइन मैले त्यस्तो कुनै कुरा गरेको छैन । खाली पार्टी प्रवेश मात्रै हो । भोलि पार्टीले आवश्यक परेको बेला कहाँ कुन ठाउँमा कुन जिम्मेवारी देला त्यो पार्टीको जिम्मा हो । अहिले मैले कुनै बार्गेनिङ गरेको छैन ।

आगामी दिनमा एमालेको भविष्य राम्रो देखेर पार्टी प्रवेश गर्नुभएको हो ?

पार्टीको भविष्य हेरेर मैंले एमाले रोजेको होइन । यो पार्टीमा मेरो पनि लगानी छ । मेरो पृष्ठभूमि नै एमाले भएकाले पार्टी प्रवेश गरेको हुँ । आगामी दिनमा एमालेले नै देशको नेतृत्व गर्छ । त्यो स्वभाविक प्रकृया हो ।

निर्वाचन आयोगमा ०६२ निर्वाचन आयोगमा दर्ता भएको हो । समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल थियो । ०६७ सालमा बैठकले नाम परिवर्तन गरेको हो । २७ जना केन्द्रीय सदस्य रहेका छन् ।